ढोकाको कल बेलको आवाज सुनेर प्रणिताले सोची – “को हुन सक्छ यति बेला? बाबुछोरीको आउने बेला भएको छैन। साने पनि भर्खरै बाहिर गएको।”
उसले पहिलो घण्टीमा नै ढोका खोल्ने विचार गरिन र अर्को घण्टीको आवाज पर्खेर हातको कपडाले तखतामा सजिएका सामान समाएर टल्काउँदै गई। तर एकैछिनपछि दोश्रो पल्ट घण्टीको आवाज आयो।
प्रणिताले कपडालाई एक छेउमा राखी र छिटो चालाले गएर ढोका खोली। ढोका बाहिर उभिएको युवकलाई देखेर स्तव्ध भई हेरिरही र सो देखेर युवकले आफ्नो दौतरीलाई झैं अभिवादन गरेर भन्यो – “म, शेखर। भैरहवाबाट आएको। प्रणिता सिंहजीलाई एउटा चिठ्ठी दिनु थियो।”
प्रणिताले पुरै ढोका खोलेर भनी – “भित्र आउनोस् न।”
शेखरले असजिलो मान्दै भन्यो – “म यो चिठ्ठी मात्र पुर्या”उन आएको। वहाँलाई दिएर जान पाए भइहाल्थ्यो।”
प्रणितालेे उसबाट आँखा हटाएर जवाफ दिई – “ठीक छ दिनु होला नि। चिठ्ठी कहीं जाने छैन। ल आउनोस्भित्र।”
प्रणिता अघि लागी। पछि लागेको शेखरलेे नियालेर हेर्योठ। तीस बर्ष पनि ननाघेकी एउटी जवान स्वास्नीमानिस बिना कुनै हिचकिचावट अगाडि हिडिरहेकी थिई। काँध माथिबाट घुमाएर कम्मरमा बाँधिएका सारीले त्योे स्वास्नीमानिस कुनै काम गरिरहेकी थिई भन्ने प्रष्ट देखिन्थ्यो तर लवाई र बोलीचालीले घरकी नोकर्नी भन्न मिल्दैनथ्यो। फेरि कल्कलाउँदो मुलायम गर्धन र हातको छाला, केशविन्याश र अति सभ्य कपडाले पनि उसलाई मालिक्निहरूको दर्जामा नै राख्न सुहाउथ्यो। अतीव सुन्दरी भन्न नसकिए पनि सही बनोट, अनुहार, रङ, केश सबै मिलाएर हेर्दा सुन्दरी भन्न करै लाग्थ्यो। घाँटीमा भएको दुई लुङ पोतेले बिहे भइसकेको प्रमाणित नगरेको भए शेखरले उसलाई ‘मैंया’ भनेर सम्बोधन गरिदिने थियो। मध्य कद, मोटोभन्दा दुव्लैतिर ढल्किएको आयतन,बिनादागका गोल र्कुकुच्चाहरू शेखरका आँखा अगाडि चलिरहेका थिए र ऊ ती पाईला पछ्याएर हिडिरहेको थियो। समय १५।२० सेकेण्ड मात्र गयो होला तर उसले यति छोटो समयमा पनि प्रणिताको टाउकोदेखि खुट्टासम्म पुरै निरिक्षण गर्न भ्यायो र अन्ततः उसले सोच्यो – “घर मालिक्नीको व्यवहार गर्न सक्ने व्यक्ति यो घरकी बुहारी हुनुपर्छ।”
प्रणिताले उसलाई बैठकमा लगेर बसाली र ‘म आउँदैछु है’ भनेर बाहिरिई।
“घरमा कोही नभए पनि एउटा नचिनेको लोृग्नेमानिसलाई बुहारीले यस्तो आतिथ्य त कहीं पनि गर्दैनन्। यो घरको चाला नौलो रहेछ।” – शेखरले मनमनै भन्यो र वरिपरि आँखा घुमाएर हेर्न लाग्यो। केही मिनटमा नै प्रणिता बैठकभित्र पसी र सोफामा बस्दै भनी – “अनि काठमाडौं कहिले आइपुग्नुभयो?”
शेखरले देख्यो सारीको फुर्को कम्मरबाट फुस्काएर छाती ढाक्दै काँधमा अडेको थियो। अनुहारमा तनावको कुनै संकेत थिएन र त्यसमा फूलकोजस्तै नरमपन थियो। अनुहार हेरेर उमेर कति छ? भन्न गाहारो थियो मोनालिजाको अनुहार हेरेर मुस्कान कि विषाद भनेर छुट्याउन नसकेजस्तै एउटा उमेर नदेखिने अनुहार।
शेखर नबोलेको देखर प्रणिताले मुस्कुराएर भनी – “तपाई निदाउनु भयो कि क्या हो? मैंले सोधेकी कहिले आउनु भयो तपाई?”
वास्तविकतामा आएर शेखरले जवाफ दियो – “ए, म? हिजो आएको। आमाले ‘जाने बित्तिकै पस्नु है’ भन्नु भएको थियो। बल्ल आज फुर्सद पाएँ।”
“कहाँ बस्नु भएको छ त तपाई?” – प्रणिताले सोधी।
“अहिले त लजमा बसेको छु। डेरा पाएपछि सर्छु। अफिसमा साथीलाई ‘डेरा हेरि देओ’ भनेको छु।” – जवाफ दियो शेखरले।
नोकरले चिया बिसकुट लिएर आयो र प्रणिताको अगाडि राख्यो। प्रणिताले कपलाई प्लेटमा राखेर चिया शेखरको अगाडि राखि दिई र अर्को प्लेटको विस्कुट पनि सारि दिंदै भनी – “ल, चिया खाऊँ।”
प्रणिताले पनि चिया समाउकोले शेखरले कुनै आपत्ति गरेन र दुबै खान थाले। एक दिन नबोलेपछि प्रणिताले सोधी – “तपाई नर्वदा दिदीको छोरा हैन?”
“हो, नर्वदा मेरो सानिमा हो।” – शेखरले उत्तर दियो।
“अनि कस्तो छ नर्वदालाई? दुव्लाएकी छन् कि त्यस्तै मोटी छन्?” – प्रणिताले सोधी ।
“मोटै हुनुहुन्छ। कहाँ दुब्लाउनु? फेरि मोटो भएपछि सबै रोग खनिइहाल्छ। ब्लड प्रेसर त समाई सक्नु भयो। चिल्लो गुलियो खान छोड्न सक्नु हुन्न।” – शेखरले जवाफ दियो। “त्यस्तै छन् उनी जहिले पनि। खान अलि लोभ नै गर्ने। बलको काम गर्न नखोज्ने।” – प्रणिताले जवाफ दिई।
“आफूभन्दा ठूलालाई त अलि सन्मान गरेर बोल्नुपर्छ नि। अलि बढेकी छन् क्या रे यिनी।” – शेखरले मनमनै सोच्यो।
“साँची चिठ्ठी भन्नुहुन्थ्यो। खै कहाँ छ चिठ्ठी?” – प्रणिताले सोधी।
शेखरले खल्तीबाट झकेर प्रणिताको हातमा राखिदियो। उसले खामको एक छेउतिर च्याती र चिठ्ठी निकालेर पढ्न थाली।
यसरी अर्काको चिठ्ठी खोलेर पढ्न लागेको देखेर शेखरले असजिलो मान्यो र चिठ्ठीको मालिक्नी र चिठ्ठी खोल्ने आइमाई बीचको सम्बन्ध जान्नु आवश्यक ठान्यो। उसले सोध्यो – “तपाई यो घरको को?”
शेखरको प्रश्न सुनेर चिठ्ठी पढ्दै गरेकी प्रणिताले आश्चर्यसाथ आँखा उठाएर उसलाई हेर्दै भनी – “ए, त्यसोभए अहिले सम्म मलाई तपाईले चिन्नु भएन? म त चिन्नु भयो भनि ठानेर पो त केही नभनेकी। म त प्रणिता नि, यो घरकी मालिक्नी।”
प्रणिताको कुरा सुनेर शेखर पक्क परेर मुख हेरेको हेर्यैह भयो। त्यो देखेर उसले भनी – “किन पक्क पर्नु भयो? ढाँटीजस्तो लाग्यो कि के हो?”
शेखरले होशमा आएर असजिलो मुस्कान ओठमा ल्याएर जवाफ दियो -“ढाट्नु भयो भनिठानेको हैन। खालि मैले तपाईको जुन व्यक्तित्व कल्पना गरेको थिएँ त्यो अनरूप नपाउँदा अलमलिएँ म।”
प्रणिताले चिठीलाई काखमा राखेर शेखरलाई नियालेर हेर्दै भनी – “त्यसो भए तपाईले मेरो व्यक्तित्वको कल्पना पनि गर्नु भएको थियो। हैन? तर किन? कसरी?
“किनकि कसैलाई भेट्नु पर्दा त्यो मानिसको व्यक्तित्व कल्पना हुनु सामान्य कुरो हो। कस्तो व्यक्तित्व? भन्ने कुरा चाहिँ त्यो व्यक्तिका नातागोता, साथीभाई, ईष्टमित्र आदि हेरेर कल्पना गरिन्छ। तपाई मेरी सानिमाकी साथी। मेरी सानिमा पचास छुन लागेकी मानिस। त्यसै त होची , खानको परहेजबिना इखभच ध्भष्नजत भएकी। १।२ वटा रोगले समाएको कुरा त अघि नै भनि हालें। त्यही नै आधारमा कल्पना गरेको थिएँ मैंले।” – शेखर यस पटक खुलेर नै मुस्कुरायो।
“त्यसो भए तपाईले मलाई एउटी डल्ली, थसुल्ली, पैतालिस नाघेर अलि अलि जुँगा आएकी, चायाले गाला खाएकी देख्दै डरलाग्दी सुपर्णखा कल्पना गर्नु भएको थियो क्या रे। हैन?” – प्रणिताले हाँस्दै भनी।
“र तपाईलाई देख्दा मैंले तपाईलाई तपाईकै बुहारी ठानेर तपाईको छोराको डाही गरेको थिएँ।” – शेखर मुस्कुराएर थप्यो।
उसको कुरा सुनेर प्रणिताले भनी – “बढाई गरिदिएकोमा धन्यवाद तर तपाईको बढाइँले मेरो उमेर घट्ने हैन ”
प्रणिता मुस्कुराई नै रही।
“उमेर घटाउन बढाइँको आवश्यकता नै छैन। तपाई त यसै नै आफ्नो उमेरभन्दा धेरै कम देखिनु हुन्छ।” – यसपाली शेखर गम्भीर भएर भन्यो।
“नबिर्सनोस् कि मेरी वीस बर्षकी छोरी छ।” – प्रणिताले पनि गम्भीर भएर नै भनी।
“तर आमाको उमेर २७ देखिनुमा त्यो वीस बर्षकी छोरीको उमेरले रोकेको छैन।” – शेखरले पनि गम्भीर भएर नै जवाफ दियो।
पहिलो पल्ट चिनेको केटोसँग अनावश्यक विवाद सुरु भएको देखेर अवस्थालाई सँभाल्दै प्रणिताले कुरा अर्कोतिर लगी – “तपाई अहिले कुन पदमा?”
“शाखा अधिकृतमा।” – शेखरले छोटो उत्तर दियो।
“कति बर्ष भयो जागिर खान थालेको?” – प्रणिताले फेरी सोधी।
“तीन बर्ष भयो।” – फेरी छोटै उत्तर दियो।
“उमेर कति भयो नि तपाईको?” – फेरि कोट्याई।
“पच्चिसमा हिड्दै छु। अब बुढेसकाल लाग्यो।” – मुस्कुराई दियो।
एक छिन दुवै जना नबोलेपछि शेखरले भन्यो – “ल, म तपाई कहाँ आइहालें। अब सानिमाले ‘मेरो साथी कहाँ त किन जान्थिस्’ भन्न पाउनु हुन्न। टेलिफोन गर्दा भनि दिनु नि ‘आएको थिया’ भनेर। अब म विदा पनि हुन्छु।” – शेखरले उठ्दै भन्यो।
“हैन किन हतार नि? बाणी र बाणीको बुबा आइपुग्ने बेला भयो। एक छिन बसूँ न।” – प्रणिताले अनुरोध गरि।
“हैन के भो र? भेटघाट गर्नु नै त हो। अब काठमाडौंमा नै बस्ने भएपछि भेटघाट त भइहाल्छ नि। आउँला नि फेरि।” – यसपाली उसले जानमा नै जोड दियो। प्रणिताले पनि कर गर्न सकिन। बाबुछोरीको आउने ठेगान पनि थिएन। उसले यति मात्र भनी – “जाने नै भए अफिसको टेलिफोन दिएर जानु न त।”
शेखरले टेलिफोन टिपिदियो र विदा भएर निस्कियो।
प्रणिता र नर्वदासँगैका सहपाठी हैनन्। उमेरले पनि नर्वदा प्रणिताभन्दा ६।७ बर्ष जेठी नै थिई। वास्तवमा उनीहरू एकै ठाउँमा हुर्केका पनि हैनन्। उनीहरूको चिनापर्ची त घटनावस हुन पुगेको थियो।
करिव दश बर्ष अगाडिको कुरा हो। नर्वदाका लोग्नेस्वास्नी दुवै नै काठमाण्डौं सरुवा भएर आएका थिए। मोफसलका मानिसहरूलाई राजधानीको घुइँचो र होहल्ला मन नपर्नु स्वभाविक नै थियो। फेरि त्यसमा पनि छोराछोरी, घरैमा छोडेर आएका जोडीलाई डेरा पनि भूतघरजस्तो लाग्दथ्यो। त्यही समयमा अचानक नर्वदाले प्रणितालाई भेटी। पहिलो भेटमा नै त्यो फूलजस्ती आइमाई उसलाई मन पर्योर र प्रणितालाई पनि, किन हो कुन्नी?, त्यो पौरुषमयकी आइमाई आफन्तजस्तो लागी। दाजुभाइ, दिदीबहिनीबिनाकी एक्ली छोरी प्रणितालाई नर्वदामा दाजुभाई दिदीबहिनी सबैको अनुभव एकै पटक पाई। प्रणिता सुन्दर, प्रष्ट र उन्मुक्त थिई भने नर्वदा पुरुष अनुहारकी क्लिष्ट र सतर्क देखिन्थी। प्रणिताको अनुहारमा फुलेको फूलजस्तै फक्रिएको देखिन्थ्यो भने नर्वदा फल लागेको रुखजस्तै गम्भीर देखिन्थी। अर्थात्, दुबै जनालाईसँगै राख्दा उनीहरू एक अर्काका पूरक देखिन्थे स्वभावमा रूपमा र बुद्धिमा पनि। अझ यौन दृष्टिकोणले मात्र नहेर्ने हो भने उनीहरूलाई समलिङ्गी भन्न सुहाउँथ्यो र उनीहरू छोटो समयमा नै अति निकट हुन पुगे। प्रणिताको घर त्यहाँ भएकोले नर्वदा बराबर घरमा जाने गर्थी र यदाकदा प्रणिता पनि नर्वदाको डेरामा पुग्दथी। लोग्नेहरूले प्रणिता र नर्वदालाई त राम्रैसँग चिनेका थिए तर आपसमा भने सामान्य परिचय आदान प्रदान बाहेकको निरन्तरता कहिले पनि भएन। त्यही पनि प्रणिताको निम्तोमा घर भएको बेला।
नर्वदा र लोग्ने सरुवा भएर भैरहवा घरमा नै फर्किए तर नर्वदा र प्रणिताको मित्रता कायम नै रह्यो। उनीहरू सधैं चिठ्ठी आदानप्रदान गरिरहन्थे र टेलिफोनबाट सिधै सम्पर्क हुन थालेपछि त हप्ता, दुई हप्तामा आपसमा भलाकुसारी गरि नै रहन्थे। त्यही भलाकुसारीको प्रसङ्गमा प्रणिताले छोरीको बीहे गर्नु पर्ने कुरा उठाएर भनेकी थिई – “हेर न, नर्वदा। छोरी वीस लागिसकी। यसो उपयुक्त केटो हर्दै गर्नुपर्ने। कतैतिर यसो विचार गर न।”
२।४ दिन पछाडि नर्वदाले भनी – “सुन, प्रणिता। म तँ कहाँ एउटा केटो पठाउँदैछु मेरो चिठ्ठी लिएर आँउछ। कस्तो लाग्छ विचार गर। नाताले मेरी दिदीको छोरो हो। राम्रै जागिर छ। हेर्दा राम्रो पनि छ, देखी हाल्लिस्। कुलत पनि केही छैन।” र त्यही चिठ्ठी बोकेर आएको थियो शेखर। प्रणितालाई केटो त देख्ने बित्तिकै मन पर्योठ। केटामा केही कमी थिएन। रूप थियो, सुडोल शरीर थियो, काम गरी खाने जागिर थियो, पद थियो र सम्पन्न परिवारको थियो। छोरी दिन खोजिने यिनै चिजहरू त हुन् नि तर आफूभित्र भने छोरीले त्यसलाई म नपराए हुन्थ्यो भन्ने भावना थियो।
“तर नाटीकुटी गर्छन् बाबु छोरीहरू। कस्तो लाग्ने हो उनीहरूलाई?” – प्रणिताले मनमनै भनी।
प्रणिता मध्यमवर्गीय परिवारमा जन्मिएकी थिई।सही बाबु सम्पन्न नभए पनि आफ्नो अथक प्रयासले सम्पन्नता र सफलताको शिखरमा पुग्न सफल भएका थिए। हुन त पिण्डपानी दिने छोरो उनीलाई चाहना नभएको हैन तर दोश्रो विवाहले आफ्नो क्यारियर बिगार्ने हुनाले उनीलाई एउटी छोरीमा नै सन्तोष मान्न कर लाग्यो। जागिरको सफलताले उनीलाई असन्तुष्टि हुन पनि सक्दैनथ्यो।
प्रणिता र बाबुका बीचमा प्रगाढ प्रेम थिएन। त्यसैले उसलाई बाबुले पुल्पुल्याएनन्। एक्ली छोरी भएर पनि पुल्पुलिन नपाउनु भाग्य भने पनि हुन्थ्यो, दुर्भाग्य भने पनि। त्यसैले होला बिहे भएपछि सधैं माइतीतिर नै दौडन खोज्ने प्रवृत्ति उसमा भएन। घर पसेपछि घरलाई आफ्नो ठानी र सजिलैसँग घरको वातावरणमा समाहित भई। प्रणिताको बिहे सोर्ह बर्षमा नै भयो। सो उमेरमा नै बिहे गर्ने कुरामा बाबु आमाका बीचमा तर्क पनि चलेको हो। आमाले भनिथिन् – “केटाकेटी नै छैन र बीहे गर्नलाई?”
बाबुले जवाफ दिए – “दुई कुरा छन् बिहे गर्नमा। पहिलो, हाम्री छोरी यति राम्री छ कि समयमा नै बिहे नगरिदिए वरिपरि घुम्न आउने झंगा धपाउन तिमीले लाठो लिएर बस्नु पर्ने छ। त्यति गर्दा गर्दै पनि तिम्री छोरीलाई भिं्कगाले टोकिसकेको तिमीलाई पत्तो हुने छैन र पत्ता पाउँदा यति ढिलो भइसक्ने छ कि पछुताएर रुनु बाहेक अर्को विकल्प हुने छैन। रूप नै तिम्री छोरीको शत्रु हो। दोश्रो, अहिले मैंले यति राम्रो केटो पाएको छु कि त्यति राम्रो केटो फेरि कहिले पनि नपाउन सक्छु।”
बाबुको तर्क अकाट्य थियो। केटो अति सम्पन्न परिवारको एक्लो छोरो थियो र वन्दव्यवशायमा लागिसकेको। उमेर १२।१५ बर्ष फरक पर्न सक्थ्यो तर त्यो फरकले केही पनि गर्दैन भन्ने बाबुको धारणा थियो। उनीले त जीवनलाई धन, सम्पन्नता र पदको जोड घटाउ मात्र ठान्दथे। उनी आफैंले पनि जिन्दगीमा स्वास्नीलाई अँगालोमा बाँधेर म्वाइँ एकपल्ट पनि खाएका थिएनन् होला। यौन पनि उनको निम्ति त शारीरिक र मानसिक आवश्यकताभन्दा बढी सामाजिक आवश्यकता थियो। त्यसैले छोरीको बिहे गरि दिएर त्यो झंगा भन्कन सक्ने मासुको टुक्रा अर्को लोग्नेमानिसको जिम्मा लगाइदिन हतार थियो उनीलाई र जिम्मा लगाइदिए पनि।
प्रणिताको निम्ति लोग्ने र बाबुमा त्यति फरक देखिएन। एउटा सफल मानिसले उपयुक्त ठहर्याबएको अर्को सफल मानिस आचरणमा फरक हुन सक्दैनथ्यो र हुनु पनि हुँदैनथ्यो। फरक परे त असफलता देखा परि हाल्ने थियो। फरक थियो भने केवल एउटै कुरामा। बाबुले पदलाई महत्व दिएका थिए, लोग्नेले धनलाई महत्व दियो। तर ती विभिन्नता पनि एक अर्काका पूरक भए। एक अर्कालाई सफलतातिर चडाउने खुड्किल। बनाउने साधन भए। अब त बाबु जागिरबाट निवृत भइसकेका थिए र वाणी र बाबु सधैं बिहानीको सफरमा चिया खान उनीकोमा पुग्दथे। त्यो दिन पनि उनीहरू त्यतै गएका थिए र फर्कने कुनै निश्चित समय थिएन। प्रणितालाई भने, किन हो कुन्नि? घर छोडेर माइत जान मन हुन्नथ्यो। सुरुका दिनमै पनि लोग्नेले माइत पठाउन चाहेन, बाबुले ल्याउन चोहनन् र आमाको इच्छा चलेन र प्रणिताले पनि कुनै जोड गरिन। अहिले पनि बाबुको घर माइती कम र लोग्नेको ससुराली र उसकी छोरीको मावली बढी भएको थियो। आफ्ना घरका झ्याल ढोका, थाम मेच टेवल, सोफा, भाँडावर्तन, कार्पेट, जमिन, पुस्तक मूर्ति सबै आफ्नाजस्तो लाग्थ्यो र एक्लै हुँदा यिनीहरूसँगै बरबराउथी। आमा भन्ने गर्थिन् – “तँ कसरी बस्छेस् यो घरभन्दा बाहिर न निस्की? यसो हामीकहाँ आए पनि त हुन्छ।”
आमाको त्यो निमन्त्रणामा हार्दिक आत्मियता हुन्थ्यो तर पनि ऊ जान सक्दिनथी। लोग्ने र छोरीलाई पठाउँदा हुने भए उनीहरूलाई नै पठाइदिन्थी।
बाबुछोरी फर्केर आए। बाबुले हतारहतार नुवाइधुवाइ गरेर नास्ता गर्योप र आफ्नो अफिसतिर लाग्यो। छोरी आफ्नो कोठाभित्र पसेर पप संगीत बजाउन थाली।
बेलुका खानाको निम्ति सबै टेबलमा बसे। सबैजसो घरायसी कुराहरू टेबलमा हुने गर्दथे। घरको तीन सदस्यको भेला हुने ठाउँ नै त्यही डाईनिङ टेबल थियो, नत्र त जहिले पनि कि बाबुआमा कि बाबुछोरी मात्र जम्मा हुन सक्थे। त्यसैले छोरीसँग सम्बन्धित कुरा छोरीलाई पनि छनक दिनु आवश्यक ठानेर खाना खाँदै बीचैमा प्रणिताले लोग्नेतिर हेरेर भनी – “आज शेखर आएको थियो विहान।”
“को शेखर?” – लोग्नेले खान नछोडिकन भन्यो।
चम्चालाई प्लेटमा अड्याएर उसले भनी – “मैंले भनेकी थिएँ नि तपाईलाई नर्वदाकी दिदीको बारेमा। उनैको छोरो रहेछ। शाखा अधिकृत छ रे सरुवा भएर आएको।”
यसपाली टाउको सोझो पार्दै स्वास्नीलाई हेरेर भन्यो – “हामी आउन्जेल रोकेकी भए हुन्थ्यो नि तिमीले।”
“रोक्न त खोजेकी हुँ तर मानेन। फेरि खाएर अफिस जानु पर्ने मान्छे। ‘फेरि आउलाँ नि पछि’ भन्न थाल्यो। तपाईहरूको फर्कने ठेगान हुँदैन। उसलाई ढिलो होला भनेर कर पनि गर्न सकिनँ।” – प्रणिताले प्रष्ट्याई।
“जान त हामी कहाँ गएका थियौ र त्यही तिम्रा बुबामुमासम्म मात्रै हो तर अब ऊ गई हाल्यो। ‘आऊँछु’ भनेकै छ। आउला नि।” – लोग्नेले भन्यो।
“नबोलाई त कहाँ आउँछ अब? कुकुर पनि ‘च्यै’ नभनी आउँदैन। टेलिफोन नम्बर दिएको छ। एक पल्ट बोलाउने कि?” – प्रणिताले प्रस्ताव राखी।
“हुन्छ, बोलाउन। भइहाल्छ नि। किन नहुनु? म पनि बोलाउन सक्छु तर म नौलो मानिसले बोलाउनुभन्दा तिमी चिनेकीले निम्तो गर्दा अलि महत्व हुन्छ। त्यसैले तिमी नै बोलाउन छुट्टीको दिन पारेर।” – लोग्नेले सल्लाह दियो।
एकछिन कोही पनि नबोलेर खाना खाँदै गएपछि लोग्नेले सोध्यो – “केटो कस्तो लाग्यो तिमीलाई?”
प्रणिताले खाना खाँदै भनी – “राम्रै छ, उचाई, बनौट सबै मिलेकै छ, रङ पनि गोरो नै हो। कुरा गर्न फरासिलो छ। पढे लेखेको मानिस अधिकृत भएको। त्यहाँभन्दा कस्तो हुन्छ र लोग्नेमानिस?”
“त्यसो भए तिमीलाई ठीकै लाग्यो।” – लोग्नेले प्रश्नात्मक अभिव्यक्ति दियो।
“ठीक त पहिलो भेटमा नै कसरी भन्न सकिन्छ र? जोख्नु पर्योत, नाप्नु पर्योी, ठोकेर हेर्नु पर्योो। यी सब कुरा त बाँकी नै छन् नि र यो काम तपाई लोग्नेमानिसहरूको। त्यसैले त फेरि भेट्नु पर्योो भनेकी नि।” – प्रणिताले जवाफ दिई।
वाणीले या त बाबु आमाको कुरापिट्ट ध्यान दिएकी थिइन या चासो लिएकी थिइन। त्यसैले कुरा नबुझेर आमालाई सोधी – “को हँ? ममी त्यो मानिस?”
आमा पनि कसरी जवाफ दिने अलमलिर्ई र भनी – “खै को भनूँ? तैंले नर्वदालाई विर्सिहालिस् होला। मेरी साथीकी दिदीको छोरो।”
“वा ! साईनो पनि कस्तो? पाहुना आउने मानिस साथीको दिदिको छोरो। कस्ता कस्ता आउँछन् पाहुना पनि?” – बाणीले खिस्सी उडाई। वाणीको लवज र आचरण देखेर बाबुले मुस्कुराउँदै भनिहाल्यो – “अहिलेको साइनोले के गर्छ र? भविष्यमा यो घरको जुवाइँ नै बन्ने हो कि, के ठेगान?”
“डैडी ! मैंले भनिदिएकी छु है मलाई मन पर्दैन भनेर र।” – छोरीले लाडिएर रिस देखाई। छोरीको लाड र रिसपिट्ट पटक्कै ध्यान नदिएर प्रणिताले भनी – “त्यसो भए शुक्रबार बेलुका खान बोलाउँछु। तपाई अर्कोतिर व्यस्त नहुनोस् नि।”
लोग्नेले स्वीकृतिमा टाउको हल्लायो।
बेलुका नर्वदाले फोन गरेर सोधी – “शेखर आयो तँ कहाँ, प्रणिता?”
“आयो। आज बिहान आएको थियो।” – प्रणिताले उत्तर दिई।
“कस्तो लाग्यो त हाम्रो छोरो तँलाई?” – नर्वदाले ठट्टाको लवजमा भनी।
“वाणीसँग त भेट भएको छैन। मन पर्ने नपर्ने त उनीहरूको कुरा हो। मेरो दृष्टिमा अरू त ठीकै छ। आफूलाई अलि बढी ठान्छ कि जस्तो लाग्यो।” – प्रणिताले ठट्टा र वास्तविकताको बीचमा स्वर पारेर भनी।
“किन त्यस्तो केही पर्योव र?” – नर्वदा गम्भीर भई।
“त्यस्तो विशेष त केही छैन। उसले मलाई भेट्न आउँदा बाटो भरि जुन व्यक्तित्व कल्पना गरेको थियो त्यो व्यक्तित्व नपाउँदा उसलाई आफ्नो बुद्धि र चातुर्यतामा अलि ठेस लागेको आभास भएथ्यो।” – प्रणिताले प्रष्ट गरी।
“खै, मैंले तेरो कुरा बुझनँ।” – नर्वदाले भनी।
“हुन सक्छ म गल्ती हुँ। पहिलो भेटमा नै ऊबारे मैंले यति धेरै त न भन्नु पर्ने हो। तैंले सोधिहालिस् भनेर मनमा लागेको कुरा भनेकी हुँ। खान बोलाउँदैछु। त्यसपछि बढी चिनिएला नि।” – प्रणिताले कुरा अझ प्रष्ट पारी।
शेखर प्रणिताको घरबाट निस्कँदा दुई ज्ञानका कुरा सिकेर निस्कियो। पहिलो त, सुनेकै आधारमा कसैको व्यक्तित्व चित्रण गर्नु या कसैबारे धारणा निश्चिन्त गर्नु असम्भव रहेछ। प्रणिता सिंहको व्यक्तित्व ऊ देखेर पनि कल्पना गर्न सक्दैनथ्यो। सानिमाकी साथी वीस बर्षकी छोरीकी आमा प्रणिता सिहलाई हेरे दुवै कुरा सत्य लाग्दैनथे। यसको लागि त ऊ कम्तिमा पनि ३५।३६ बर्ष त हुनुपर्ने थियो र उसलाई २७ भन्दा बढी त कसै पनि दिन सकिन्नथ्यो। त्यसोभए कम्तीमा पनि १० बर्ष उमेर केले छोपी दियो त? त्यो घरमा बसेर प्रणिता सिंहको नामको चिठ्ठी नखोलेको भए उसले पटक्कै विश्वास गर्ने थिएन कि ऊ नै सानिमाकी साथी प्रणिता सिंह हो भनेर।
दोश्रो, जहाँ शौन्दर्य र शालिनता हून्छ त्यहाँ सबै चिज हुन्छ। त्यो घरकी लक्ष्मी त त्यस्ती छन् भने उनी सुहाउँदो लोग्ने र तिनीहरूबाट जन्मेकी छोरी शौन्दर्य र शालिनताकी उत्कृष्ट प्रतिमा हुनुपर्छ।
मूल सडकमा आई पुगेपछि शेखरले प्रणिता सिंह र परिवारको सबै कुरा विर्सदियो। त्यो स्वभाव थियो। जुन मानिस या बस्तुसँग लिनुदिनु केही थिएन त्यो बारे सोचिरहनु आवश्यक पनि थिएन। सानिमाको हल्कारा भएको थियो। चिठी पुर्याचइदियो, काम सिद्धियो। प्रणिता सिंह र परिवार शेखरको चासोको विषय पनि थिएनन्।
रेष्टुरेण्टमा खाना खाएर शेखर आफ्नो अफिसतिर लाग्यो। आधादिनसम्म काम मै व्यस्त रह्यो। दिनको दोश्रो भागतिर यसको टेलिफोन बज्यो र कसैले सोध्यो – “तपाईले घर भाडा खोज्नु भएको हो?”
“हो, तर कहाँबाट, को बोल्नुभएको? फेरि कसले भन्यो तपाईलाई?” – शेखरले एकैचोटी निकै प्रश्न गर्यो ।
“म रियलस्टेट एजेन्ट हुँ। कसलाई के चाहियो? कसले के खोज्यो? यो जान्नु नै हाम्रो पेशा हो। गोप्यभन्दा गोप्य कुरा त थाहा पाइन्छ भने तपाईले त सबैलाई डेरा खोजिदिनु भन्नु भएको छ। ल, जेहोस्, डेरा मिलेको छ। चार कोठाको फ्ल्याट हो, भाडा पनि सस्तो छ।”
रियल स्टेट एजेण्टले साँचै भनेको थियो। घर पनि उसलाई नजिकै पर्ने, फल्याट पनि राम्रो र भाडा पनि आय सीमाभित्रको। उसले एजेन्टलाई भन्यो – “भाडा कसलाई दिनु पर्ने नि?”
“भाडा यो खातामा जम्मा गरिदिनोस् र कुनै चिज या काम आवश्यक भए मलाई यो नम्बरमा टेलिफोन गर्नोस्।” – एजेण्टले नम्बर दियो।
“तर घर मालिकलाई पनि चिन्नु पर्योर नि त।” – शेखरले चासो देखायो।
“पात गन्ने काम हाम्रो। तपाईले गन्नु किन पर्यो”? उनीहरूलाई पैसा चाहिएको छ, तपाईलाई घर र हामीलाई कमिशन। तीनै थरीको चित्त बुझेपछि दायाँबायाँ हेर्नै किन पर्यो र?” – एजेण्टले सुझाव दियो। शेखरलाई घर मालिकसँग लिनुदिनु केही थिएन। खाली घरभाडा यति सस्तो थियो कि घरधनीले कुनै पनि दिन निकाल्न सक्लान् भनेर मात्र घरधनी चिन्न खोजेको थियो। एजेन्टको भनाइ उसले मान्यो।
भोलिपल्ट शेखरको टेबुलको टेलिफोन बज्यो। उसले हान्डसेट उठायो।
“शेखरजीलाई पाउँ्क न” – कसैले भन्यो। यसको कान स्वरको मधुरताले झमझम गर्योक।
“म शेखर बोल्दैछु।” – स्वर परिचित लागे पनि उसले अपरिचितलाई झै नै जवाफ दियो।
“म, प्रणिता। हिजो तपाई अरूलाई भेट नै नगरी जानु भयो। त्यसैले वाणीको बुबाले शुक्रबार बेलुका खानेगरी बोलाउनु भएको छ।” – प्रणिताले भनी।
प्रणिताको लोग्ने, छोरीसँग भेट्नु पर्ने आवश्यकता उसलाई थिएन तर सानिमाकी संगिनी प्रणिताको स्वरमा भएको अनुरोध उसले अस्विकार गर्न सकेन।
शेखर प्रणितको घर पुग्दा साँझ कटिसकेको थियो र घरभित्र र बाहिर सबैतिर बत्ति बलिरहेका थिए। शेखरको कलबेलको आवाज सुनेर नोकर केटोले आएर ढोका खोल्यो र वैठकमा लगेर बसाल्यो। भित्रबाट आएका आवाज सुनिन्थ्यो तर नोकर गएपछि निकै बेरसम्म कोही पनि आएन।
पहिलो पटक उज्यालैमा आए पनि शेखरले त्यो घरलाई त्यति ध्यान दिएको थिएन। अहिले सडकको मूल ढोकाभित्र पस्दै उसलाई त्यो घरको भव्यताको आभास भएको थियो। बत्तिको उज्यालोले दिनको प्रकाशले अझ भव्य बनाइदिएको थियो त्यो सजावटलाई।
“जसले यो भव्यता तर्जुमा गर्योई त्यो पक्का दक्ष नै हुनुपर्छ।” – उसले मनमनै सोच्यो।
घरभित्र जमिन भुवादार कार्पेटले छोपिएको थियो र जतिभित्र पस्दै गयो, भुवा त्यहाँ उति नै बाक्लो हुँदै गएको थियो। वैठकमा फर्निचरहरू पनि दामी थिए र वैठकभित्र रक्सीको बारदेखि लिएर मिल्न सक्ने सबै सुविधा र साधन राखिएका थिए।
“यी सब जुटाउन त यसै पनि खर्च लागि नै हाल्छ तर यो सम्भार गर्ने काम झन् गाहारो होला।” – शेखरको मनमा आयो।
आफ्नो सामाजिक दाजोमा शेखरको परिवार पनि सम्पन्न नै थियो तर मोफसलको सम्पन्नता राजधानीको सम्पन्नतासँग दाजिन सक्दैनथ्यो। त्यसमा पनि जमिनदारी नरहे पनि जमिन्दारी संस्कृति भएको घर परिवारमा घरभित्र नोकरचाकर भएर पनि काम नगर्नेको संख्या बढी हुन्थ्यो। घरमा बाजेका पालामा नोकर्नीहरू समेत थिए र उनीहरूको काम वर्तमानका कामदारहरूले गरेको कामको खोट देखाउनु बाहेक अरू हुन्नथ्यो। उनीहरू काम पनि गर्न सक्दैनथे, अरूले गरेको पनि चित्त बुझ्दैनथ्यो। त्यहाँको सम्पन्नता आफ्नो भकारीको अन्न, आफ्नो बारी बगैंचाको तरकारी, फलफूल र आफ्नो गोठको दुध, दही, घिउ खान र वरपरका आफ्ना शत्रु मित्रलाई रवाफ देखाउन प्रयोग हुन्थ्यो। राजधानीकोजस्तो सुखसुविधाका साधन जुटाउनमा होइन।
“सामन्त युगको मानसिकताबाट निस्कन सकेको छैन मोफसल।” – शेखरको मनमा फेरि उब्जियो।
२।४ मिनेट बित्यो, कोही आएन। शेखरले साइड टेबलबाट पत्रिका उठाएर पढ्न थाल्यो।
“माफ गनर्ेास है, शेखर बाबु ! म अलि भान्सामा अलमलिएँ। तपाई एक्लै पर्नु भो।” – प्रणिताले ढोकाबाट भित्र पस्दै भनी।
प्रणिता पस्दा शेखर पुस्तकमा मस्त थियो। त्यसैले स्वर सुनेर ऊ झस्कियो तर तुरुन्तै आफूलाई सम्हालेर भन्यो – “त्यस्तो जाबोको निम्ति पनि माफी मागेमा धन्यवाद त भन्नै पर्योन तर यो घरमा तपाई बाहेक अरू कुनै प्राणी छैनन् कि के हो?”
शेखरको स्वरमा ठट्टाको पर्याप्त मात्रा भएकोले भनाईलाई व्यंग्य भन्न सकिन्नथ्यो। त्यसैले प्रणिताले अर्को सोफामा बस्दै मुस्कुराएर जवाफ दिई – “प्राणीको त कमी छैन यो घरमा तर घरका मालिकको ताल यस्तै हो। एक घण्टा अगाडि नै आउछु भनेर कबोल गरेको हो। आउने बेला अझै एक घण्टापछि पनि हुन सक्छ। छोरीमैया पनि बाबु कहाँ पुगेकी छ रे। अब बाबुछोरीसँगै आउछन्। रह्यो नोकरचाकरका कुरा। छन् उनीहरू यही भित्रै तर त्यसो भन्दैमा तपाईसँग गफ गर्न त आउदैनन् नि।”
“त्यसो भए म निम्तो मान्न आएको कसको? तपाईको कि तपाईका श्रीमान्को?” – शेखरको ओठमा मुस्कान छँदै थियो।
“निम्तो त मेरो श्रीमानको हो तर जसको निम्ता भए पनि अतिथिलाई घरकी गृहिणीले सधै स्वागत गर्न कर लाग्छ।” – प्रणिताले भनाइलाई सामाञ्जस्यतामा ओराल्दै भनी। “यसलाई मैंले घर विशेषको विशेषता मानू कि सबै गृहिणी विशेषको?” – शेखरले पनि स्वरलाई सामान्यतामा ओराल्दै प्रश्न गर्योन।
“थाहा छैन मलाई अरूकोमा कस्तो हुन्छ तर यो घरमा त बाबुले निम्ता दिए पनि, छोरीले निम्ता दिए पनि आतिथ्य मैंले नै गर्नुपर्छ। उनीहरू ठान्छन् -आतिथ्य गर्ने काम गृहिणीको हो। तर जेहोस् उनीहरू आइदिन्छन् र आज त पक्कै आउछन्।” – प्रणिताले राय व्यक्त गरी।
शेखरले केही भन्न मुख बायो तर त्यही बेला नोकर किस्तीमा पेय र खाजा बोकेर भित्र पसेकोले चुप लाग्यो। प्रणिताले पहिले नै अर्हायएकी थिई होला। उसले शेखर र प्रणिता दुबैको सामु चिसो पेय राख्यो। खाने प्लेट भने शेखरको अगाडि मात्र राख्यो। त्यो देखेर शेखरले भन्यो – “अनि तपाईलाई खै त?”
“त्यसरी जुनसुकै समयमा पनि खान सक्ने भए यसरी दुव्लाएर बस्नु पर्थ्यो?” – प्रणिताले अस्वीकृति जनाई।
“डाइटिङ होला शायद।” – शेखरले प्लेटमा हात हाल्दै भन्यो।
“होइन। डाइटिङ साइटिङ केही गर्दिनँ म। यसैमा त बाबु छोरीसँग कुरा मिल्दैन मेरो। उनीहरू बल गरेपछि रुच्छ भन्छन्। म भन्छु – रुचे जति मात्रै खान सकिन्छ।” – प्रणिताले जवाफ दिई।
शेखर मुस्कुरायो मात्र, केही जवाफ दिएन। प्रणिताले एकछिनपछि भनी – “डेरा त पाउनु भयो होइन?”
प्रणिताले यसरी प्रश्न गरी मानौं उसलाई थाहा थियो। त्यो अनुभव गरेर शेखरले भन्यो – “तपाईले कसरी थाहा पाउनु भयो?”
प्रणिता असजिलो मान्दै जवाफ दिई – “तपाईले पाउनु भयो होला भनेर सोधेकी। पाउनु नै भएछ। काठमाण्डौंमा डेरा पाउनु सारै गाहारो छ भन्छन्।”
“कोही दाताले दिइदियो। किन दियो त्यति सस्तो? थाहा छैन। फेरि मोलतोलबिना सजिलैसँग दियो।” – शेखरले भन्यो।
“आफ्नो फाइदा नहेरी त्यसै पक्कै पनि दिएन किनकी आफू घाटा पर्ने स्वार्थ कसैको पनि हुँदैन। तर जे होस् पाउनुभयो र अब किन पाएँ? भनेर कारण खोज्नु कुनै अर्थ छैन। अब डेरा खोज्ने झन्झट उसले डेराबाट ननिकालुन्जेलसम्म टु195ि139यो। पछिको कुरापछि नै हुन्छ।” – प्रणिताले पुर्णविराम लगाइदिई।
शेखरले अनुभव गर्योद -प्रणिताको स्वर आधिकारिक थियो। शेखरमाथि कुनै अधिकार थिएन तैपनि ऊ अभिभावक, मित्र या प्रेमिकाजस्तै आधिकारिक भाषा प्रयोग गरिरहेकी थिई। सानीमाकी साथी भएकीले आधिकारिक बनेकी हुन सक्थी या यो आधिकारिक स्वभाव जन्मजात पनि हुन सक्थ्यो।
“के यो घरमा सबै निर्णयहरू आधिकारिक रूपमा तपााई नै निर्णय गर्नु हुन्छ?” – शेखरले प्रश्नात्मक दृष्टिले प्रणितातिर हेर्यो ।
“कस्तो निर्णय? कस्तो अधिकार? ” – प्रणिताले प्रतिप्रश्न गरी।
शेखरले आफूलाई सजिलो बनाउँदै भन्यो – “तपाईले भन्नु भयो – यो घरमा पस्ने सबैको आतिथ्य तपाईले नै गर्नुपर्छ। तपाई कै भनाइले बुझन्छ – कुनै बिषयमा पनि पूर्णविराम तपाई नै लगाउनु हुन्छ।”
“तपाईलाई त्यस्तो लागेको मात्रै हो। मेरो निर्णय सामान्यतः मान्य हुन्छ तर दुवै बाब छोरी त्यसलाई कार्यान्वयन गर्ने कुरामा पछि सर्छन्। मान्य हुनु तर कार्यान्वयन नगरिनु कुनलाई बढी आधिकारिक ठान्नु हुन्छ तपाई? अहिले नै हेर्नोस्, तपाईलाई खान बोलाउने प्रस्ताव मेरो लोग्नेको हो। मैंले त्यो पूरा गरिदिएकी मात्रै हुँ तर समयको पावान्दीलाई बिर्सेर ऊ हराएको छ र छोरी पनि त्यही कुरा समर्थन गरिरहेकी छ। उनीहरूलाई तपाईको उपस्थिति अप्रिय लागेर यो ढिलाई भएको होइन। उनीहरू चाहन्छन् – एउटा नौलो मानिसको सामु पर्नु पर्ने असजिलोपनको सामना म नै गरूँ र उनीहरू स्थिति सामान्य भएपछि मात्र देखा पर्न चाहन्छन्। उनीहरू आएपछि मैंले तपाईलाई उनीहरूसँग परिचय गराउनु पर्नेछ मानौं तपाई मेरो मानिस हो। तपाई नै भन्नोस्, अब मेरो बाध्यता आधिकार हो कि दायित्व? ” – प्रणिताले भनी।
“त्यो त बाध्य दायित्व हो। मैंले तपाईका पति र छोरीलाई देखेको छैन र उनीहरू बारे कुनै धारणा कायम गर्न सक्दिनँ तर तपाईसँगका यी दुई भेटमा तपाईको व्यक्तित्वबाट मैले आफू किचिएको अनुभव गरेको छु। म कसैको व्यक्तित्वबाट त्यति सजिलैसित किचिनु त के? प्रभावित सम्म हुने व्यक्ति पनि होईन। यसलाई म कसरी व्याख्या गरूँ?” – शेखरले प्रष्ट कुरा राख्यो।
“तपाईजस्तो सहज तन्देरी मैंले भेटेकी छैन तर पनि एक कुरा बिर्सनोस् कि म तपाईभन्दा धेरै बर्ष जेठी छु। ज्येष्ठताको दवाव यसै पनि थेग्न गाहारो हुन्छ। त्यसमा पनि म तपाइकी सानिमाकी साथी। यो तपाईको लागि अर्को ऋणपक्ष हो। तपाई जति नै सबल भए पनि यी दुई पक्ष तपाईको विपरित उभिएर तपाईको शिर झुकाउन लगाउँछन्।” – प्रणिताले तर्क पेस गरी।
“हुन सक्छ त्यो कुरा पनि कहिले कही तर ज्येष्ठता वरिष्ठता हो भन्ने म मान्न तयार छैन। वरिष्ठता भएको भए तपाईको पतिले यो घरभित्र तपाईको अधिकार स्विकार गर्नु पर्ने थिएन। वहाँ तपाईभन्दा पक्कै पनि जेठो हुनुहुन्छ होला। कुनै तपाईको मान्यजन तपाईका पतिका मित्र नै नभए पनि समकालिन होलान्। यो पुरुष वलवान समाजमा पनि लोग्नेद्धारा पीडित देखिनु हुन्न। तपाई आफ्नो घरकी महारानी हुनुहुन्छ भने ममा त्यो लघुताभासको ग्रन्थी उत्पत्ति हुनु स्वाभाविक ठान्नु हुन्छ कसरी?” – शेखरले कुरा राखिहाल्यो।
प्रणिताले जवाफ दिई – “शेखर बाबु ! तपाईमा लघुताभाष ग्रन्थी त मैंले देख्दै देख्दिनँ बरु आफू बाहेक अरू सबै हीन भन्ने वरिष्ठताभास पाउँछु म। स्वास्नीमानिसप्रति मात्रै यो धारणा भएको भए त तपाईलाई कुजातको लोग्नेमानिस भन्न सुहाउने थियो तर सबैप्रति भएकोले त्यसो भन्न त सुहाउँदैन। तैपनि मेरो कुरा सबै ठीक हो भन्ने धारणा भने त्यत्ति व्यवहारिक होइन। ‘म गलत छु कि?’ भन्ने सोचाईबाट थालेर आफूलाई सत्य प्रमाणित गर्न सक्नु पर्छ। सकारातमक प्रमाण देखाएर आफू ठीक हुँ भन्नुभन्दा नकारात्मक आधारलाई सप्रमाण असत्य ठहर्यारएर आफ्नो चिन्तन ठीक हो भनेर स्थापित गर्न सक्नु पर्छ। मेरो सोचाई यस्तो छ।”
शेखरले केही भन्न खोज्यो। प्रणिताले उसलाई रोक्दै भनी – “हेर्नोस्। विवाद र तर्क एउटा अन्त्यहीन प्रक्रिया हो र हामी यसलाई लम्ब्याएर आफ्नो मुडलाई नबिगारौं। बरु भन्नोस्, म तपाईलाई पिउन के दिऊँ? रक्सी त म दिन सक्दिन किनकि हामीभित्र एउटा पुर्वाग्रह छ कि रक्सी दिने र पिउने काम लोग्नेमानिसको हो। त्यसैले त्यो बस्तु मेरो पतिलाई छोडिदिउँ्क। तपाईलाई म नरम पेय दिन सक्छु । के दिऊँ?”
“जे दिए पनि मलाई केही फरक पर्दैन। खानमा परहेज छैन मेरो।” – शेखरले मुस्कुराउँदै जवाफ दियो।
प्रणिताले पेय ग्लासमा भरेर शेखरको अगाडि राखिदिई। त्यति बेला नै बाहिर गाडीको आवाज आयो। प्रणिताले खुला ढोकाबाट बाहिर आँखा लगाउँदै भनी – “बाबुछोरी आएजस्तो छ।”
प्रणिता उठेर बाहिरतिर गई। शेखर पेय पिउनु थाल्यो।
बाहिर नबुझने कुराकानी गरेको सुनियो। एक छिनपछि बाबुछोरी अगाडि लगाएर प्रणिता आइपुगी। वैठकमा छिरेपछि लोग्नेमानिसलाई देखाउँदै उसले भनी – “वाणीको बुबा, शेखर बाबु।”
शेखरले उठेर दुवै हात जोड्दै अभिवादन गयो। वाणीले पनि अगाडि आएर शेखरलाई नमस्कार गरी।
वाणीको बाबुले सोफामा बस्दै भने -“शेखर बाबु ! तपाईलाई कुनै अप्ठेरो त परेको छैन काठमाडौँमा?”
शेखरले भन्यो – “बाबुसरहको तपाईले मलाई ‘तपाई’ भन्दा असजिलो अनुभव गर्छु म। त्यसैले तिमी भन्दा हुँदैन तपाईले?”
“ठीक छ, शेखर बाबु। तिमी नै भन्छु म र मलाई रोशन अंकल भने हुन्छ। दुई लोग्नेमानिस बीच यस्तै सम्बन्ध सजिलो हुन्छ। त्यसमा पनि म तिम्रो सानिमाको साथीको लोग्ने। प्रणितासँग त पुरानै चिना पर्ची तिम्रो। सम्बोधन नाता पनि कायम भइसक्यो होला। वाणी त तिमीभन्दा सानी नै हो। ऊसँगको साइनो पनि ! तिमीभन्दा अर्को त हुन सक्ला।” – रोशनले एकै सासमा भन्यो।
शेखर मुस्कुरायो। पचास बर्ष नाघेको एउटा भोटेा मानिसले एकै सासमा यति कुरा भनिसक्दा सास फुल्नु स्वभाविक थियो। उसले आफूले सुरुमा थालेको कुरा पनि बिर्सिसकेको थियो। वाणीले पनि बिर्सिसकेकी थिई।
“तपाई के पिउने?”- प्रणीताले लोग्नेलाई सोधी।
“म ह्विस्की।” – रोशनले जवाफ दियो।
“वाणी?” – छोरीलाई सोधी।
“म आफैँ लिन्छु।” – वाणी उठेर आमा छेउ गई।
“तपाईलाई के दिउँ्क?” – ऊ शेखरतिर फर्की
शेखरले केही भन्नुभन्दा अगाडि नै रोशनले भन्यो -“मेरोतर्फबाट एक पेग ह्विस्की नै देऊ न। मलाई कम्पेनी पनि त चाहियो।”
प्रणिताले शेखरको राय खोजिन। उसले दुबैको अगाडि पेग राखिदिई।
रोशन तन्देरी थिएन। ऊ कुनै अल्गो मानिस पनि होइन र शरीरको मोटोपनले उचाइलाई अझ छोट्याइदिएको थियो। टाउकोको पछाडि खण्डमा केही रौँ नभएको भए उसको टाउको कुखुराको फुलजस्तै सफा देखिने थियो। असंयमित जिवनले शरीर त के अनुहारको छाला समेत खुकुलो बनाइदिएको थियो र यसो हेर्दा उसलाई प्रणिताको बाबु भनिदिँदा केही फरक पर्दैनथ्यो।
“यो जोडीको सामन्जस्यताको विन्दु कहाँ होला ?” – शेखरले मनमनै भन्यो।
“तिमीलाई काठमाडौंसित बानी बसाल्न गार्होल परेको छैन, शेखर।” – रोशनले शेखरलाई सोध्यो।
“छैन भनूँ भनेे जुन ठाउँमा पनि अमिल्दो पाउँछु म आफूलाई। छ भनूँ भने के असुविधा छ त्यो प्रस्ट छैन” – जवाफ दियो शेखरले।
रोशन हाँस्यो र भन्यो – “यो त बडो दार्शनिक जवाफ भयो। जता मिलाए पनि मिल्ने, जता बटारे पनि बटारीने, जसरी व्याख्या गरे पनि हुने। भविष्य वक्ताको उत्तरजस्तो।”
“वहाँ पनि बाठै हुनुहुन्छ नि।” – यसपटक वाणीको वणी फुट्यो।
शेखरले वाणीतिर हेरेर भन्यो – “तिमीले भाङ खाएकी छैनौ, त्यसैले तिमीलाई थाहा छैन। भाङ खाएर दुई दिन सुतेर विम्झँदा झट्ट सपना, विपना, दिन, रात, उज्यालो, अँध्यारो छुिट्टदैन। सबै सम्म लाग्छ। म पनि मोफसलको नसा लागेको मानिस। महानगर मेरो निम्ति भुलभुलैया भएको छ।”
रोशन हाँस्यो र प्रणीता पनि मुस्कुराई। वाणीले केही नबुझेर सोधी – “के हो त्यो मोफसलको नशा र भुलभुलैया भनेको?”
शेखरले व्याख्या गर्योो – “जविनभर सानो शहरमा बिताएको मानिसको नशा नै त्यो सानेा शहरको नशा हो। रगतमा मोफसलको त्यो सानो शहरको प्रकृति र प्रवृत्ति मिसिएको हुन्छ र महानगरमा आइपुग्दा आतिन्छ त्यो रगत कहीं हराउँछु कि भनेर केही डराउँछु।”
“साच्चै तपाईँ आत्तिएकै हुनुहुन्छ त?” – वाणीले चकित भएर भनी।
“आत्तिएकै त छैन तर अलमलिएको भने छ। यहीं हेर न। मलाई तिम्रो युवा चञ्चलतालाई विश्वास दिलाउन पनि छ। तिम्रो डैडीको व्यवहारिक तर्कलाइ काट्नु पनि छ र तिम्रो ममीको गम्भीरतालाई बुझ्न सक्नु पनि छ। यही घर नै महानगरको एउटा नमुना हो। मोफसलमा एउटै घरमा यति ठुलो विभिन्नता हुँदैन। घर घर, टोल टोेल, मानिस मानिस विचमा भेटिने यो भिन्नतालाई एउटा मानिसले बेहोर्नु यो सँस्कारसँग अपरिति मानिसको लागि त्यति सजिलो हुँदैन।” – शेखरले जवाफ दियो।
“तपाई त त्यस्तो अल्मलिएजस्तो पनि लाग्दैन। तपाईको सोचाइ र विश्लेषण यति स्पष्ट छ कि त्यहाँ अस्पष्टताको एउटा धर्सोसम्म पनि देखिँदैन” – प्रणीताले भनाइको विरोध गरी।
प्रणिताको चिन्तन वाणीकोजस्तो सतही हुन सक्दैनथ्यो र जवाफ पनि गहिरो हुनुपर्ने ठानेर उसले भन्यो – “मभित्र जो अनुभूति भइरहेछ त्यो म बाहिर व्यक्त गर्न सक्दिनँ र बाहिर व्यक्त गर्न पनि मिल्दैन। सानो कोठाबाट ठुलो वैठकमा बसाइँ सरेको रात कोठाको विशालताले छोप्छ र बालक आफू असुरक्षित ठान्दछ। सिरकले मुख छोपेर ऊ त्यो डरलाई पन्छाउन खोज्छ। म त्यो केटाकेटीजस्तो भएको छु जो आफ्नो डर लुकाउन आँखा चिम्लन्छ।”
गृहिणी तर्क गरेर बसिरहन सक्दिनथी। उसले प्रस्ताव राखी – “खाना लगाऊँ टेबलमा?”
रोशनले शेखरतिर हेरेर भन्यो – “अलिकति थपूँ कि?”
शेखरले जवाफ दिया े- “छ, अंकल। पुग्छ।”
शेखरको जवाफ सुनेर उसले भन्यो – “लगाऊ न त। गफ त टेबलमा गरे पनि हुन्छ।”
डाइनिङ टेबलमा बसेपछि कुरा जम्न सकेन। त्यसमा पनि प्रणीताले बिषयवस्तुलाई नसमाएकीले तर्क र विवाद उठेन। वाणी अलि केटाकेटी नै थिई र रोशन व्यावहारीक भए पनि बौद्धिक क्षमता व्यापारभन्दा अरूतिर थिएन। उसले शेखरसँग भैरहवाको बजारको भाउ बेसाहाको स्थितिको जानकारी लियो। त्यो आवश्यक थियो वा समय कटानीको निम्ति सोधेको थिया – शेखरले बुझेन।
खँादाखँादै शेखरले वाणीलाई नियालेर हेर्याा। शारीरिक बनोट आमातिरभन्दा बाबुतिर ढल्केको थियो र भविष्यमा शेखरकी सानीमाको बाटो समात्ने निश्चित थियो। तर बाबुछोरीको अनुहारमा समानता भने थिएन। खानामा पनि शोख राम्रै थियो जस्तो देखिन्थ्यो किनकी टेबलमा एउटा नौलो मानिसको उपस्थितिले खुवाइलाई त्यति असर नपरेजस्तो लाग्थ्यो।
“तिमी कहाँ पढ्छ्यौ नि?” – शेखरले वाणीलाई सोध्यो।
“मेरो मानविकीमा प्रमाणपत्र तह सिद्धियो।” – वाणीले जवाफ दिई।
“अरू पढ्ने होला नि?” – शेखरले भन्यो।
“पढ्ने त भनेको हो तर, खै, यो काठमाडौँमा त पढाइ नै राम्रो छैन। बाहिर जान्छु भनेकी ड्याडीममी मान्नुहुन्न।” – जवाफ दिई।
रोशन सिंहले बीचैमा टिपेर भन्यो – “भन त, शेखर। पढ्नेलाइ पढाइ राम्रो र नराम्रो हुन्छ? कक्षामा नपढाए आफै पनि पढ्न सकिन्छ। मानिसले प्राइभेट पढेर त पास गरेका छन्। नपढ्ने भएपछि धेरै कुरा।”
“मैले बाहिर जान्छु भन्यो कि ड्याडिलाई त्यसै जहर छुट्छ। के म घरैभित्र कोचिनु भन्ने छ?” – छोरीले रिस देखाई।
“तिमी डैडी, ममीको एक्ली छोरी। एक्लै त मावलसम्म पनि पठाउनु भएको छैन होला तिमीलाई अनि तिमीले विदेश जान्छुभन्दा डैडीलाई चित्त कसरी बुझ्छ?” – शेखरले सम्झायेा।
“अरूको घरमा आमा डराउँछन्, विरोध गर्छन्। हाम्रोमा त डैडीलाई डर लाग्छ सधैँ। ममीलाई त बरु म मनाउन सक्छु।” – वाणीले शान्त भएर भनी।
“यसो होइन , वाणी। ममीको मौन अभिव्यक्ति पनि डैडीको भनाइसँग सहमति हो। केवल पुरुष प्रधान समाजमा गृहिणीको अभिव्यक्ति मौन हुन्छ। यस्ते हुँदो हो त ममीले डैडीलाई पहिल्यै मनाइ सक्नुहुने थियो?” – शेखरले मुस्कुराएर भन्यो र एक दृष्टि प्रणितातिर दियो।
प्रणिताले शेखरको हेराइमा उसलाई चिढाउन खोजिएको कुरा झल्कन्थ्यो। रोशन सिंह खानामा नै मस्त थियो।
“हो ,हो। ममी पनि घुसघुसे हुनुहुन्छ। मलाई थाहा छैन र?” – वाणी शेखरको शब्द जालमा परी।
छोरीको भनाइ सुनेर रोशन सिंहले टाउको उठाएर हाँस्दै भन्यो – “देख्यौ, वाणी। मेरो मात्र भनाइ रहेछ त।”
शेखरले परीस्थिती यसरी घुमाइदियो कि प्रणिताले आफ्नो रक्षाका निम्ति नबोली सुखै पाइन। उसले भनी – “छोरी विदा गर्न मलाई गार्होख हैन। छोरी त एक न एक दिन आफ्नो घरबाट बिदा गर्नैपर्छ। तर छोरी कसको कसको संरक्षणमा पठाउने? भन्ने समस्या तेर्सिन्छ अगाडि। फेरी जुन विषय काठमाडौँमा छैन, त्यो विषय पढ्न पठाउन परेको भए एक कुरा। यहीँ पढ्न पाइने विषय पढ्न किन बाहिर जाने? भन्ने कुराले पो डैडीलाई चित नबुझेको।”
स्वास्नीले आफ्नोतर्फबाट वकालत गरिदिएकीले रोशन सिंहले पनि सही थाप्दै भन्यो – “त्यही भनेको मैले पनि।”
“ढिलो पढाइ हुन्छ नि त” – छोरीले अर्को आपति उठाई।
“के भो त ढिलो भएर। चाँडोचाँडो पढाइ सिध्याएर तिमीलाई कुन जागीर खान दौडनु परेको छ?” – बाबुले जवाफ दियो।
वाणीले बोलिन। शेखरले देख्यो प्रणिताका शब्द पनि त्यो घरमा अकाट्य थिए। या त बाबुछोरीमा कुरा काट्न सक्ने क्षमता थिएन या उसको व्यक्तित्वले उनीहरूलाई दबाएको थियो।
शेखर वाणीलाई त्यति सजिलै पराजित हुन दिन चाहदैनथ्यो। उसले वाणीको पक्ष लिइसकेको थियो। आधा बाटोमा उसलाई छोड्नु उचित थिएन। उस्ले मन्द मुस्कान ओठमा ल्याएर भन्यो – “तर, वाणी तिमी केटाकेटी त छैनौ नि। आफ्नो संरक्षण आफैँ गर्न सक्दिनौ र?”
वाणीलाई अडेस चाहिएको थियो। शेखरको समर्थन पाउने वित्तिकै उसले भनिहाली – “मलाई सधै केटाकेटी ठान्नुहुन्छ। अब त म पनि वीस लागिसकेँ। आफूलाई परेको आफैँ हेर्न सक्छु।”
रोशन सिंहलाई छुँदै नछोई आफूलाई मात्र आक्रमण गरेको देखेर प्रणीता विवाद गर्न तयार भई र भनी – “वयस्कता उमेरको मात्र हैन। वयस्कता सोचाईको पनि हो। चिन्तनमा पनि वयस्कता आउनुपर्योस।”
त्यो भनाई वाणीको निम्ति थिएन, शेखरको निम्ति थियो। त्यसैले शेखरले वाणी मार्फत बोल्नुपर्ने आवश्यकता नठानेर प्रत्यक्ष जवाफ दियो – “केटाकेटी लड्छ भनेर हिड्न नै नदिन त भएन नि। लड्न लाग्यो भने समाउने बन्दोबस्त गरिदिनु पर्योै। आमाबाबुको दायित्व हो त्यो। १।२ कुराको पथ प्रदर्शन गरि दिने मानिस भएपछि वाणी आफैं हिड्छिन्। उनीले अहिले पनि डैडीममीकी छोरी मात्र भएर बस्नु उपयुक्त देख्दिन।”
“कस्तो डैडी ममीकी छोरी भनेको?” – रोशन सिंहले स्पष्टिकरण खोज्यो।
“यही घरभित्र पस्यो ममीको संरक्षण, घर बाहिर सधैं डैडीको संरक्षण। यस्तै हो भने त भोली बिहे गरेर जान्छिन्, लोग्नेको संरक्षण भनेर एउटा कुनामा बस्छिन् र त्यहीं आफ्नो जीवन कुहाउछिन। तब वाणी भन्ने एउटी केटीको, एउटी स्वास्नीमानिसको स्वतन्त्र अस्तित्व, खै त, कहिले देखा पर्ने?” – शेखरले जवाफ दियो।
“आमाबाबु परिवारको सन्मान इञ्जत यी पनि त हेर्नू पर्योि नि छोराछोरीले” – रोशन सिंहले समस्या देखायो।
शेखरले हातको चम्चा प्लेटमा राखेर भन्यो – “आमाबाबुले छोरा छोरीलाई हुर्काउनु, बढाउनु, पढाउनु र असक रहुन्जेल संरक्षण दिनु उनीहरूको दायित्व हो किनकि छोराछोरी आफू माग गरेर आमाबाबुकहाँ आएका होइनन्। आमाबाबुले चाहेर उनीहरूलाई जन्माएका हुन्। सक भएपछि छोराछोरी स्वतन्त्र हुनुपर्छ, उनीहरूले चाहेको कुरा गर्न छोडि दिनु पर्छ। उनीहरू आफ्नो व्यक्तित्व विकास गरून्, आफ्नै संसार सिर्जना गरून्। हो, आमाबाबुले सल्लाहसम्म दिन सकिन्छ। आफ्नो इज्जत र सन्मानको निम्ति आमाबाबुले छोराछोरीको आकाङ्क्षा र व्यक्तित्वलाई बलिदान दिनु अपराध हो।”
शेखरको भनाई सुनेर प्रणिताले आफूलाई रोक्न सकिन र भनी – “यो तपाईको अराजकतावादी धारणा हो। सबै केटाकेटीलाई मन परी गर्न दिने हो भने त भोली समाजको कानुन र व्यवस्था भन्ने चिज रहँदैन। भोलि सन्तानले आमाबाबु प्रतिको जिम्मेवारी लिदैंनन्। व्यक्ति समाजप्रति जिम्मेवार हुन छोड्छ र हजारौं वर्ष लागेर बनेको सामाजिक परिवेश भताभुङ्ग हुन थाल्छ।”
“होला केही परिवर्तन तर समाज बालुवाको थुप्रो होइन जो जहाँ कुल्चियो त्यही फ्यास्स जाने। यो त दर्शन ढुङ्गा हो। हजारौं प्रहारपछि एउटा चोइटो निस्कन्छ र जहाँ चोइटो निस्कियो त्यही ठाउँमा बढी चमक हुन्छ। वाणी त त्यो दर्शन ढुङ्गाको एउटा कण मात्र हुन्। हजार वाणीले पनि एउटा विन्दु मात्र बन्छ। आमाबाबुको इञ्जत नरहे पनि वाणी सुखी हुन सक्छिन् भने उनीलाई सुखी हुने अधिकार छ र इञ्जतको परिभाषा उनीले अर्कै अर्थमा लिनेछन्। र त्यही अनुभव अनुरूप आफ्ना छोछोरीलाई ज्ञान दिनेछन्। यस्तै वद्रोह र परिवर्तनले नै हामी यो अवस्थामा आइपुगेका हौँ। नत्र हामी आदिम युगको समाज र त्यसको इज्जत धान्नैमा व्यस्त थियौँ।” – शेखरले भन्यो।
“त्यसो भए तपाई स्वच्छन्दताको पक्षपाती हुनुहुन्छ।” – प्रणिताले व्यङ्ग्य गरी।
रोशन सिंह दुई जनाको विवाद सुन्न तयार थियो। प्रणितासँग ऊ तर्क र विवाद गर्न सक्दैनथ्यो र एउटा लोग्नेमानिसले अझ त्यसमा पनि छोरो समान उमेरको मानिसले तर्कद्वारा लड्दा ऊ त्यो युद्ध हेर्न तयार भएर बस्यो। वाणी वाल्ल परेकी थिई। हुन त विवाद उसकै कारणबाट सुरु भएको थियो तर अहिले ऊ परोक्षमा पुगीसकेकी थिई।
“स्वच्छन्दता होइन , स्वतन्त्रता। स्वच्छन्दताले हुने भए कुनै समयमा मानिस स्वच्छन्द नै थियो तर त्यो काम लागेन। अहिले स्वतन्त्रता चाहिएको छ , समाजभित्र बसेर पनि आफ्नो स्वतन्त्र अस्तित्व देखाउन पाउने स्वतन्त्रता। अन्यथा आइमाई र लोग्नेमानिस त दुइटा भाले पोथी मात्र हुन पुग्छन् जसको काम पुस्तौँदेखि मानि आएका मान्यता बिना कारण शिरोधार्य गर्न र सन्तानोत्पादन गरेर वंश बढाउनु मात्र हुन्छ।” – शेखरले प्रणिताको व्यङ्यलाई बेवास्ता गर्दै भन्यो।
“तपाइको रायमा वाणीलाई आफूखुसी गर्न दिने?” – प्रणीताले ठोस राय खोजी।
“वाणी? वाणी त उपमा मात्र हो। यहाँ त लाखौं करोडौं वाणीहरू छन् जसको एउटी वाणीले प्रतिनिधित्व गरेकी छिन्। एउटी वाणी स्वतन्त्र हुन पनि धेरै ठूलो कुरा हो। वाणी उमेर पुगेर पनि हुर्कन सकिनन् किनकी तपाईहरूले उनीलाई हुर्कन दिएजस्तो मलाई लाग्दैन। सुस्त मनस्थितिकी आईमाई हुन पुगिन् वाणी।” – शेखरले आवेशसाथ भन्यो। “म सुस्त मनस्थितिकी होइन।” – वाणीले विरोध गरी।
शेखरले वाणीलाई मिठो मुस्कान दिदै भन्यो – “होइन, वाणी होइन। मैंले तिमीलाई सुस्त मनस्थितिकी भएकी भनेको होइन। तिमी त उपमा मात्रै हौ। उपमा त यहाँ अर्की केटी भएकी भए उसलाई पनि लिन सक्थें तर मैंले भन्न खोजेको कुरा तिम्रो डैडी ममीले बुझ्नु भएको छ र यसले तिम्रो भलाई गर्न सक्छ।”
“त्यसो भए वाणीलाई बाहिर पठाई दिऊँ त?” – रोशनले सोध्यो।
शेखरले सहज स्वरामा भन्यो – “पठाउनु पर्छ भन्न्े केही छैन तर पठाए पनि ‘किन पठाएँ’ भन्ने बुझ्नुपर्योक र नपठाए ‘किन जान सकिन?’ भनेर चित्त बुझ्नु पर्यो । छोराछोरीमाथि दाससँगजस्तो व्यवहार गर्न मिल्दैन।”
“त्यस्तो व्यवहार हामीले गरेको छैनौं।” – प्रणिताले फुलेर भनी ।
“नगरेको भए वाणी किन आजको वाणी भइन् त? अरू व्यक्तित्व किन विकास भएन यिनीमा? आमाको काख र बाबुको काखीमनि किन घुस्रनु पर्योल वाणीले?” – शेखरले तिखो प्रश्न गर्योन।
“अर्काकी छोरी बारे यो अलिबढि चासो भएन?” – प्रणिताले तितो व्यङग्य गरी।
प्रणिताको भनाइ सुनेर शेखर फणा फिजाएर ठुङन उठेको सर्प न्याउरीको प्रहारले जमिन धसिएजस्तै हुन पुग्यो। उसलाई आफ्नो स्थितिबोध भयो। ऊ त सानिमाका नाताले कसैको घरमा खान बोलाईएको पाहुना मात्रै थियो। अन्यथा त्यो घरसँग कुनै निकटता थिएन। उसले आफूले सिमा नाघेको थाहा पायो र तुरुन्त आफूलाई समेटेर सामान्य भएर अफ्ठ्यारोसँग मुस्कुराउँदै प्रणितातिर हेरेर भन्यो – “अवश्य वाणी मेरो चासोको विषय होइनन्। उपमा प्रशङ्गले मात्र मैंले वाणीलाई लिएको हुँ। यो हाम्रै विवाद पनि कुनै आवश्यक विवाद होइन। प्रशङ्ग छलफल मात्रै हो। यसमा कहीं सीमा अतिक्रमण भयो भने क्षमायाचना गर्छु।”
पराजयको पीडाले तिरमिर्याचएको बेला मुखबाट निस्केको वचनले शेखर क्षमापार्थी भएकोमा प्रणितालाई अपराध बेध भयो। घरमा बोलाइएको पाहुनालाई गृहिणी स्वयम्ले अपमान गर्नु गलत कुरा थियो। त्यो देखेर प्रणिताले आफ्नो भनाई सच्याउन खोज्दै भनी – “मैंले त्यसो भन्न खोजेकी हैन।”
तर शेखरले शुष्क स्वरमा भन्यो – “भईहाल्यो। यो विषय नै छोडिदिऊँ। अरू पनि त छन् नि विषय कुरा गर्न सकिने।”
रोशनसिंहले अरू प्रसङ्ग उठायो तर कसै गरे पनि कुरा जम्न सकेन। शेखर आफ्नो राय प्रकट नगरेर उनीहरूको कुरा मात्रै सुन्न थालेपछि जुनसुकै विषय पनि छोटो भयो। कफी खान थालेपछि रोशन सिंहले शेखरका आमाबाबु घरपरिवार बारे सोध्यो र उसको नोकरी बारेमा। शेखरले आफ्नो राय बिना नै सविस्तार व्याख्या गरिदियो। वाणी पनि उनीहरूको कुरा सुनेर बसिरही।
साँझ निकै ढल्केपछि शेखर रोशन सिंह र वाणीसँग विदा भयो। प्रणिता उसलाई विदा गर्न बाहिर निस्किन।
शेखरले डेरा के पाएको थियो उसको समस्या थपियो। फर्निचर, कार्पेट, पर्दा, ओड्ने ओछ्याउने, भाडाकुँडा यी सबै जुटाएर व्यवस्थित हुन नै २।४ दिन लाग्यो। घर भित्रको काम सिन्कोसम्म पनि नभाँचेको मानिसलाई ती सबै कुरा व्यवस्थित गर्न कठिन कुरा थियो। अफिसका पियनले आएर सहयोग गरिदिएका थिए तर उनीहरू पनि त यस विषयमा दक्ष नै कहाँ थिए र? चार दिनको जुधाइपछि बल्लबल्ल घर कामचलाउ स्थितिमा आयो र उसले एउटा काम गर्ने केटो राखेर घरैमा खान थाल्यो।
‘नांगो घर’ र ‘लाठेभान्सा’ जहिले पनि अस्तव्यस्त र स्वादविहीन हुन्छ। भँडारदेखि सडक सम्म एउटा केटोले धान्नुपर्ने र अर्हामउपराउ गर्ने कोही नभएपछि जे जहाँ लड्यो त्यहीं नै लड्न सक्थ्यो, जहाँ पोखियो त्यही नै पोखिएकै हुन्थ्यो। दाल, चामल, चिया, चिनि भान्साभरि छरिन्थ्यो। तरकारी कुहिन्थ्यो तर नयाँ तरकारी नआइपुगे दाल र भात खाएर उठ्नु पर्थ्यो। बाहिर कार्यालयमा जतिसुकै दक्ष मानिए पनि घरभित्रको काम ऊ गर्न पनि जान्दैनथ्यो र अर्हादएर काम लगाउन पनि। तर जे भए पनि एउटा थलो थियो जहाँ ऊ बास बस्न सक्थ्यो , जहाँ उसको भान्सा भन्ने कोठामा भद्रगोल भए पनि आफ्नो गाँस टिप्न सक्थ्यो।
एकदिन कार्यालयबाट घरभित्र पस्दा शेखरले घरको वातावरण नै अलग पायो। बाहिरदेखि नै कसिङ्गर सब बडारिएको थियो। जुत्ता, चप्पल यथास्थानमा राखिएका थिए। कति दिनदेखि नपुछिएको जमिन सफासँग पुछिएको थियो। शेखर आफ्नो सुत्ने कोठामा पस्यो। धुनुपर्ने लुगा एक कुनातिर थुपारिएका थिए र ओछ्यान राम्रोसँग मिलाइएको थियो। यो देखेर शेखरले विचार गर्योथ – “सानेले त पक्कै गरेको होइन यो। को आयो त यो घरमा यो सब मिलाउने?”
“साने !” – उसले सानेलाई करायो।
साने दौडदै आएर असको अगाडि उभियो। सानेलाई अगाडि देखेर उसले सोध्यो – “को आयो आज यहाँ?”
“साहेबनी” – सानेले डराएर जवाफ दियो।
“को साहेबनी?” – स्वास्नी भए पो साहेबनी भन्ने बित्तिकै उसकी स्वास्नी भन्ने अर्थ लाग्थ्यो। नहुनेले त सोध्नैपर्योस।
“मैले चिनेकी छैन।” – सानेले आत्तिएर जवाफ दियो।
“अनि नचिनेको जो पायो त्यसैलाई घरको कोठाभित्र पस्न दिनु हुन्छ त? वेवकुफ कहीको। जा चिया लिएर आइज।” – उसले रिसाएर अरायो।
साने निस्कियो र एकैछिन्मा प्लेटमा चमेना लिएर आयो। घरमा पकाएको सामान देखेर उसले सोध्यो – ” कहाँबाट ल्याइस् यो?”
“मैले पकाएको।” – सानेले मसिनो स्वरमा भन्यो।
“पकाउछस्, वेवकुफ, तैले यस्तो? तैले यस्तो देखेको त थिइस्?” – शेखरले नपत्याएर हप्कायो।
“पकाउन त मैले पकाएको हो । साहेबनिले त सिकाइदिएको मात्र।” – सानेलेे आफ्नो अडान लियो।
“भान्सामा पनि पुर्या।इस्, हैन, त्यो तेरी साहेबनीलाई त्यसोभए? चिन्नु जान्नु केही छेैन जो पायो त्यसैलाई घरभित्र छिर्न दियो, कोठामा, भान्छामा पुर्या यो। निकालिदिन्छु गधालाई अनि थाहा पाउलास्। जा लिएर म खान्न।” – शेखर पड्कियो।
साने विचरो प्लेट उठाएर लुरुलुरु फर्कियो।
“कस्ता आइमाई अर्काका घरमा पसेर मनपरी गर्ने पनि?” – ऊ रिसले बरबराउँदे ओछ्यानमा पल्टियो र आँखाा चिम्लियो।
केही क्षण मौनता छायो घरमा। तर क्षण भरमै नारी स्वर सुनेर शेखर तर्सियो।
“विचरा त्यो सानेलाई त्यसै सातो खानुभयो। हैन?” – ढोकैबाट प्रणिताले भनी।
शेखर जुरुक्क उठेर ओछ्यानमा बस्दै भन्यो – “तपाई?”
खाना र चियाका कप प्लेट कफी टेबलमा राख्दै प्रणिताले भनी – “हो, म। त्यो कोठा र भान्सामा पुग्ने साहेबनी ‘म नै हुँ’। ल खानुस् खाना।”
“तर सानेले भनेन।” – शेखरले आफ्नो असजिलोपन हटाउन स्पटिकरण दियो।
“के भनोस् विचरो साने ? उसले मलाई चिनेको छैन। मैले पनि उसलाई ‘म को हुँ ?’ भनेर कसरी व्याख्या गर्ने? हाम्रो बीचमा त गोरु बेचेको साइनो पनि छैन।” – प्रणिता नजिकैको कुर्सीमा बस्दै भनी।
शेखरले आउदै भन्यो -“तपाईलाई छैन नि त।”
“मेरो क्षुधा सारै कठोर छ। भरसक ऊ केही खान नपरे हुन्थ्यो भन्छ। चियासम्म खाने हो। त्यो सानेले ल्याउँछ। मैले भनेकी छु।” – प्रणिताले भनि नसक्दै साने पनि चिया लिएर भित्र पस्यो।
खानाकै सिलसिलामा शेखरले सोध्यो – “धेरै बेर भयो तपाई आउनुभएको?”
“भयो १ ।२ घण्टा। पहिले त साने मलाई छिर्न दिन तयार थिएन । तर तपाई भन्नुहुन्छ नि मेरो आधिकारिक स्वर भनेर हो त्यही आधिकारिक स्वर सुनेपछि विचरो लुरुक्क परेर बाटो छोडिदियो। मलाई अचम्म लाग्यो । कसरी बस्न सक्नुहुन्छ त्यसरी सुँगुरको खोर पारेर? त्यो सानेलाई दुई घण्टा लाग्यो भान्सादेखि बाहिरसम्म सफा गर्न। तै सिकाएपछि कामचाहिँ चै टिपिहाल्दो रहेछ , है।” – प्रणिताले भनी।
“कसरी थाहा पाउनुभयो त म यहाँ बस्छु भनेर?” – शेखरले सोध्यो।
“लौ। यत्रो ठुलो हाकिम बस्ने घर पनि पत्ता नलाग्न सक्छ र?” – प्रणिताले जवाफ दिई।
“हैन , ठट्टा हैन। साँच्ची कसरी थाहा पाउनुभयो तपाईले?” – शेखरले जोड गर्यो ।
प्रणिताले चियाको प्लेट स्टुलमा राख्दै भनी -“कार्यालयमा फोन गरेँ तपाईँ हुनुहुँदो रहेनछ। तब तपाईको डेरा सोधेँ। कसैलाई थाहा रहेनछ। बल्लबल्ल एउटा पियनले आएर भनि दियो।”
“‘तपाई को’ भनेर सोध्थे। सानिमा भनिदिएँ।”
“वाह ! त्यस्तो झुटो कुरा !” – शेखरले जिस्कायो।
प्रणिताले हाँस्दै भनी – “सानीमा नभए पनि सानिमाकी साथी त हुँ। अरू साइनो नभएकोले त्यही ‘सानीमा’ साइनो प्रयोग गर्न मिल्ने। अरूहरूले भए ‘अन्टी’ भनिसक्ने थिए। तपाईलाई मात्र किन हो कुन्नी गाहारो परेको त्यस्तो।”
शेखरले प्रणिताको प्रश्नको जवाफ नदिएर सोध्यो – “अनि केलाई आउनुभयो त तपाई? काम नपरी त पक्कै आउनुभएन।”
प्रणिताले सहमति जनाउदै भनी – “हो। काम परेर नै आएकी। काम नपरे यत्रो खोजी खोजी किन आउनु ुपर्थ्यो?”
“के काम पर्योख त्यस्तो?” – शेखरले उसमा आँखा गाडेर सोध्यो।
प्रणिताले आफ्ना आखाँ पर सारेर भनी – “तपाईले घरमा आगो लाइदिनुभयो। अब वाणीलाई बाहिर नगई भएन र जान नपाउनुको दोषी मलाई नै ठहराउछे ऊ। सात दिन भयो बोलेकी छैन। धुम्धुम्ती बसेकी छ। तपाई सम्झाइदिनोस् एकपल्ट।”
“जान दिनोस् न त उनीलाई। बेकार किन रोकेर मन दुखाउन लगाउनुहुन्छ।” – शेखर वाणीको पक्षमा गया।
“तपाई किन यस्तै कुरा गर्नुहुन्छ। कहाँ सक्छे त्यो एक्लै बस्न? घरबाट कहिले बाहिर निस्केकी छैन।” – प्रणिताले आपत्ति गरी ।
शेखरले विश्वास दिलाउन खोज्ने स्वरमा भन्यो – “हेर्नुस्। वाणी अब केटाकेटी छैनन्। तपाईहरू उनलाई केठाकेटीजस्तो व्यवहार गर्नुहुन्छ। त्यसैले पनि उनी आफूलाई वयस्क प्रमाणीत गर्न तपाईहरूबाट टाढा हुन खोज्छिन्। एक्लै बस्नु परेपछि आत्मविश्वास बढ्छ, साथी संगतको दायरा फराकिलो हुन्छ , ठीक बेठीक छुट्याउने क्षमता बृद्धि हुन्छ। उनको जति पढाइ र ज्ञानले संसारको कुनै पनि कुनामा पुग्न सकिन्छ। फेरि तपाईहरू उनलाई त्यसै फाल्ने त हैन। कसैको जिम्मामा संरक्षणमा छोड्नुहुन्छ।” प्राणीताले शेखरको कुरा काट्दै भनी – “कस्को जिम्मामा छोड्नु र?”
“छात्रावासमा थार्डेनको, कलेजमा प्राचार्यको संरक्षण लिन तपाईहरूसँग प्रसस्त पैसा छ।” – शेखरले सम्झायो।
“पैसाले मात्र त कहाँ होला र? पठाउनै भन्नुहुन्छ भने कहाँ पठाऊँ? त्यो पनि भनिदिनोस् न।” – प्रणिताले अनुरोध गरी।
“अंकलले निधो गर्नुहुन्छ नि त्यो त।” – शेखरले राय दियो।
“उसले निधो नगरेको भए तपाई कहाँ आउनुपर्थ्यो ? यस्तो कुरा ऊ कहिले पनि निर्णय गर्दैन। शिक्षापिट्ट ठूलो चाख भएन उसलाई र शिक्षाको कुरा गर्योन कि उसलाई हिनताबोध सुरु हुन्छ। ‘तिमी नै निधो गर’ भन्छ ऊ। छोरी पनि यतिसम्म त मेरै बलले पढी। अगाडि स्वतन्त्र हुन चाहन्छे ऊ र तपाई पनि ‘त्यो स्वतन्त्र दे’ भन्नुहुन्छ। सायद मसँग विकल्प पनि छैन। तर पहिलो खुटि्कलो त बनाइदिनु पर्योद हामीले। त्यसैले कहाँ पढाऊ? भनेकी।” – प्रणिताले भनी ।
“त्यो त वाणीको कहाँ पढ्ने इच्छा छ र यस निम्ति उनीले के सोचेकी छिन्? त्यही नै बुझ्नुपर्योक पहिले।” – शेखरले राय दियो।
“के थाहा छ त्यसलाई र भन्छे त्यसले? तपाई हामीले राम्रो ठाउँ हेरेर त्यहीँ पठाइदिने नी।” – प्रणिताले भनी।
“त्यही त तपाई गलत सोचाइबाट बाहिर निस्कन सक्नुभएको छैन। तपाई वाणीलाई बच्चै ठान्नुहुन्छ जब कि उनी वयस्क भइसकिन्। तपाईको यो उनी प्रतिको बच्चाकोजस्तो व्यवहार उनीलाई असह्य हुन थालिसकेको छ । विद्रोहको कारण पनि त्यही हो। उनको आफ्नो बाटो तय गर्न उनी आफैँलाई दिनोस्। उनीले ठीक निर्णय लिनेछिन्।” – शेखरले प्रणितालाई सम्झायो।
अन्तत प्र्रणीताले भनी – “तैपनि एकपल्ट तपाई वाणीलाई भेटेर कुरा गरिदिनोस् न। तपाईले बुझाएपछि बुझ्छे ऊ।
शेखरले खाउने आशवासन दिएर उसलाई विदा गर्योै।
दुई दिनपछि शेखर प्रणिताकहाँ पुग्दा उसलाई प्रणिताले नै स्वागत गरी र सधैँजस्तै बैठक रित्तै थियो। उसलाई बैठकमा बसाएर प्रणिताले भनी – “फोन गर्नु भएको भए हुने थियो नि।”
शेखरले जवाफ दियो – “आज म यता आउछु भनेर हिडेकै होइन। अर्कै काम गरेर यही बाटो फर्कनु पर्यो र तपाईको घर देखेपछि झलक्क ‘आउँछु’ भनेको कुरा सम्झेर पसि हालेको। अनि वाणी कहाँ छिन नि?”
प्रणिता अर्को सोफमा बस्दै भनी – “बाहिर गएकी छ। आउछे एकैछिनमा।”
“अब त बोल्न थालिन् तपाईसित?” – शेखरले कुरो उठायो।
“पठाइदिन्छु भनेपछि त बोल्न थालिहाली नि।” – प्रणिताले मुस्कुराएर जवाफ दिई।
“त्यसोभए पहिलो चरणको काम सििद्धएछ। अनि तपाई पतिपत्नि बीच सल्लाह भयो त यो बारे?” – शेखरल सोध्यो।
“हाम्रो बीच त्यस्तो सल्लाह नै हुदैन। एउटाले केही कुरा गर्छु भन्यो भने अर्कोले त्यसलाई स्विकृत दिन्छ त्यति हो।”
“अस्विकृत गर्नुपर्योि भने?”
“अस्वीकृति त मिठो भइहाल्यो नि। त्यहाँ त झन् छलफल र विवाद चल्दैन”
“अनि तपाईहरूको मिठोको चपेटामा परेकी छन् वाणी त्यसोभए।”
“त्यसो त हामी सबै सामाजिक मान्यता र मर्यादालाई पालना गर्छौ र हाम्रा बीचमा मतभिन्नता हुँदा वाणीलाई देखाउँदैनौ।”
“तर वाणी अबोध बच्चा त थोरै समय मात्र भइन्। अरू बेला त तपाईहरूले नदेखाए पनि अनुभव गर्थिन् होला उनी। घरमा आमाबुवाको मत भिन्नता छोराछोरीबाट लुक्न सक्दैन।”
“त्यो अर्थले हेर्ने हो भने त हो।”
“र उनी सधैँ तपाइँहरूबाट भागेर कहि टाढा जान चाहन्थिन्। तपाईहरू भने उनलाई उम्कन नदिन दुबैजना समाएर बस्नुहुन्थ्यो।”
“त्यसरी आरोप लगाउन त मिल्दैन।”
“मैले आरोप लगाएको होइन। मैत त वाणीले भोगेको कुरा भनेको हुँ। आमा बुबाको कुरा नमिल्ने घरमा सधैँ त्यस्तेै हुन्छ।”
“म चियासिया बनाएर ल्याऊँ?” – प्रणिता उठ्न खोजी।
शेखरले उसलाई रोक्दै भन्यो – “भइहाल्यो लेठो नगर्नोस्। म एउटा बैठकमा गएको त्यही टन्न खाएर आएको छु। बरु भन्नोस् – वाणीको के भनाई छ अब?”
“पठाईदिन्छु भनेपछि सन्तोष भई। शेखर बाबुसँग पनि कुरा गर। वहाँलाई विदेशबारे थाहा छ। भनेकी थिएँ। ‘हुन्छ’ भनेकी छ।” – प्रणिताले भनी।
“वाणीलाई के भन्ने त मैले अब?” – प्रश्न राख्यो शेखरले।
“थाहा छैन मलाई। के भन्नुपर्ने हो? तपाई नै तय गर्नुस्। म सबै जिम्मेवारी र अधिकार तपाईलाई नै सुम्पिदिन्छु।”
“वाणीका बाबु पनि हुनुहुन्छ नि।”
“यी कुरा बाबुले समाधान गर्न सक्दैनन्। त्यसैले अहिलेको क्षणलाई तपाई आफूलाई वाणीको बाबु पनि ठान्नुहोस्।”
“मिल्लार त्यत्रो ज्येष्ठता प्रदर्शन गर्न? वाणी झण्डै मेरो समकालिन हुन्।”
“मिल्छ। उमेरले समकालिन बनाए पनि वयस्कता तपाईमा उसका आमाबाबुकोभन्दा बढी छ। तपाईमा निर्णयात्मक क्षमता छ। आधिकारिक ओजस्विता छ। तपाईले मेरो निम्ति यो फैसला गरिदिनुर्छ।”
“हुन्छ। गर्नसक्ने त गरिदिन्छु।” – शेखरले भन्यो र एकछिनपछि फेरि थप्यो – “म नौलो मानिस। चिनपर्ची भएको नै पनि एक महिना मात्रै भयो होला तैपनि किन तपाई म माथि यत्रो विश्वास गर्नुहुन्छ?”
प्रणिता एकछिन घोरिएर आँखा नउठाई भनी – “कुनै वस्तु देख्दैमा मनपर्छ , कुनै देख्दैमा वाक्क लाग्छ। कसैले ‘किन’ भन्यो भने कारण दिन सकिन्न किनकी त्यो व्यक्तिको अनुभूति हो। त्यस्तै कोही देख्दैमा मन पर्छ , कोही दिक्क लाग्छ। किन? त्यहाँ पनि कारण हुन्न। ‘कसैप्रति एकै दृष्टिमा प्रेम हुन थाल्छ , कसैलाई सय पटक देखेर पनि उसको उपस्थितिको आभास हुन्न। पहिलो भेटमा नै मलाई तपाईप्रति विश्वास भयो। यहँा पनि ‘किन’ को जवाफ छैन।”
शेखरले प्रणितालाई हेर्योक। ऊ अँाखा लुकाइरहेकी थिई। यसको अर्थ थियो उसले शेखरबाट केही कुरा लुकाइरहेकी थिई।
बाहिर वाणीको बोली सुनियो। प्रणिताले उठ्दै भनि – “ल , म वाणीलाई पठाइदिन्छु। तपाई कुरा गर्नुहोला।”
एकछिन वाणीभित्र पसेर अभिवादन गरी। शेखरले अभिवादन फर्काउदै भन्यो – “बस न, वाणी। अनि तिमी कहँँा पुगेर आयौ त?”
“सानेलाई ले न भनेको कहिले पनि ल्याइदिएन। यो एउटा भिडियो सिडी लिन गएकी थिएँ।” – वाणीले उत्तर दिई र फेरी सोधी -“धेरैबेर भयो तपाई आएको?”
“यस्तै १०-१५ मिनेट भयो। अनि तिमी बाहिर जाने भयौ रे नि।” – शेखरले सोध्यो।
“खै, जाने त भनेको। ममीले पनि ‘हुन्छ’ भन्न्ाुभयो। डैडी त के भन्नुहुन्छ र त्यस्तो कुराको चासो नै छैन वहाँलाई?”
“छोरी त वहाँको पनि हो नि तिमी।”
“हो नि हुन त तर त्यसरी हेरिदिए समस्या नै पर्ने थिएन। ”
“तिम्रो डैडी त्यस्तो त लाग्दैन त मलाई।” – शेखरले भन्यो।
“यसै त मेरो डैडी सारै असल हुनुहन्छ। खाली ममी र मेरो बारेमा निर्णय लिनु पर्योड भने त्यसलाई वहँँा पन्साउनुहुन्छ। बाबु र आमाको सम्बन्ध हेर्दा त कहिलेकहीँ म उनीहरूकी छोरी नै हैन कि जस्तो लाग्छ।” – वाणीले भनी।
“भनिन्छ नि ‘अति सर्वत्र वर्जयत्’ त्यसैका परिणाम हो यो। उनीहरू तिमीलाई यति धेरै माया गर्छन् कि तिमीलाई अझै पनि बच्चै ठान्छन्। म पो झण्डै तिम्रो समकालिन र तिमीलाई हुर्केकी देख्छु। फरि एक पुस्तापछिकी तिमीले उनीहरूहो सम्बन्ध बुझ्न सक्दिनौ। उनीहरू तिम्रो सोचाईभन्दा परको समयदेखि आएका हुन् जहाँ तिम्रा हाम्रा मान्यता अस्तित्वमा थिएनन्। मेरै घरमा मेरो बुबाले मेरी आमालाई अहिलेसम्म नाम लिएर बोलाएको थाहा छैन। बोलाउनु पर्दा लाटीलाईजस्तै ‘ए,ए’ भन्नुहुन्छ।” – शेखरले मुस्कुरायो। वाणी पनि हाँसी ।
“छोडिदिऊँ उनीहरूको कुरा अब। बरु हामी के साइनो लगाउने? त्यो विचार गरूँ।” – वाणीले भनी।
“दाजु बहिनी। तिमीलाई कस्तो लाग्छ?” – शेखरले प्रस्ताव गर्योव।
“साईनो त राम्रोे नै हो तर उनीहरूले तपाईलाई यो घरमा सम्भावित ज्वाँइको रूपमा हुलेका हुन् नि।” – वाणीले हाँस्दै भनी।
“उनीहरू भनेको कोे?” – शेखरले पनि मुस्कुराउदै सोध्यो।
“मेरा ममी, डैडी। तपाईकी सानीमा। अझ तपाईको बाबाआमाको पनि सहमति छ कि? एक्लै सानीमाले त निर्णय गनर्ुृ नपर्ने।” – वाणीको ओठमा मुस्कान अझै थियो।
“अनि तिम्रा बा आमालाई कस्तो लागेँ म?” – शेखर हाँस्यो।
“बा आमालाई त सारै मन परेजस्ता छ।”
“तिमीलाई नि?”
“मानिस तपाई असल हो तर मेरो लोग्ने हुनलाई होइन। लोगनेको रूपमा मैले तपाईलाई स्विकार गर्न सकिनँ। सायद मेरो दुर्भाग्य होला तपाईजस्तो मानिस मेरो तर तपाईले भनेजस्तै ‘अति सर्वत्र वर्जयेत्’ भएकाले मेरोतर्फबाट तपाईँ अस्विकृत हुनुभयो। लोग्ने हुन निम्ति योग्य नहुनु। त्यो पदको निम्ति तपाई जति बढि योग्य हुनुभयो। तपाईका बारेमा त मलाई थाहा छैन तर मेरो अस्वीकृतिलाई उनीहरू कसरी लिनेछन् भन्न सक्दिनँ। ममी त नचर्कनुहोला तर डैडी पक्कै आवेशमा आउनुहुन्छ।” – वाणीले एकै समसमा भनी।
“म देखिनलाई यो घरमा पठाउको हो’ भन्ने कुरा त मलाई थाहा थिएन र थाहा भएको भए पनि म भन्ने थिएँ कि तिमी मेरो पत्नि हुन सक्दिनौ किनकी पहिलो भेटमै मलाई तिमी मेरी सानी बहिनीजस्तो लागेको थियो। बहिनीजस्ती मानिएकी केटी स्वास्नि बन्न सक्दैनन्। बनाए नै पनि त्यो सम्बन्ध टिक्दैन। ज्येष्ठता र लघुताभासाले चिराचिरा पारिदिन्छ त्यो सम्बन्ध। बरु हाम्रो दाजुबहिनीको सम्बन्ध बढी टिकाउ हुनसकछ। तिम्रा दाजुभाई छैनन् , मेरा दिदी बहिनी छैनन्। त्यो हिसाबले हामी एक अर्कामा पुरक हुन्छौँ। कस्तो लाग्छ तिमीलाई?” – शेखरले वाणीतीर हेरेर भन्यो।
वाणीले सहर्ष भनी – “तपाईजस्तै बुद्दिमान मेरो डैडी किन बन्न नसकेका,े हँ? तपाईसँग सबै चिजको समाधान छ। तपाईसँग छलफल गर्न पनि सजिलो छ। सजिलै कुरा बुझ्नुहुन्छ तपाई। उनीहरू बुझ्दै बुझ्दैनन्।”
“म तिम्रो पुस्ताको मानिस त्यसैले होला।” – शेखरले भन्यो।
“तर तपाईसँग उनीहरूको पनि कुरा मिल्छ।” – वाणीले विराध गरी।
“त्यसो भए म दुबैतिर कुरा मिल्ने दोसाँधको मानिस।” – शेखर मुस्कुराइदियो। वाणी हाँसी।
एकैछिनपछि शेखरले भन्यो – “अब तिमी कहिले र कहाँ जान्छ्यौ त?”
एकछिन वाणीले घोरीएर भनी – “अब त मलाई ‘जाउँ’ जस्तो पनि लाग्न छोड्यो। दाजु नहुनेको दाजु अत्यन्तै प्रिय हुन्छ।”
“त्यो त ठिक हो तर यति वर आइसकेपछि तिमीले ‘जान्नँ’ भन्न मिल्दैन। भोली तिम्रो कुरा ममी डैडीले नपत्याउन सक्नुहुन्छ। त्यसो हँदा बरु बस्नुको सट्टा १० -१५ दिन घुमेर आऊ। यसको निम्ति आफ्नो गर्व नघटाई प्रस्ताव राख। आमाबाबुले मान्छन्।” – शेखरले सम्झायो।
“नाइँ। म त्यस्तो गर्नै जान्दिनँ। तपाई नै मिलाई दिनोस्।” – वाणीले समस्या शेखरतिर पन्साई। स्वीकृति दियो शेखरले।
प्रणिता भित्र पस्दा प्लेटमा खाने कुरा र चिया लिएर नै पसि। त्यो देखेर शेखरले भन्यो।
“हरे, किन ल्याउनु भएको मैले खाएर आएको छु भनेपछि?”
“पहिलो त पाहुना घरमा आएपछि आतिथ्य गर्न खाएको छ कि छैन्ा त्यो हेरिदैन र दोश्र्रो, लोग्नेमानिसहरूको खुवाइ कस्तो हुन्छ? त्यो थाहा पाएकै कुरा हो।” – प्रणिताले शेखरलाई खाना राख्दै भनी।
“म यो खान सक्दिनँ।” – शेखरले खाने कुरातिर हेरेर भन्यो।
“ममीले माया गरेपछि यसरी नै कोच्याउनु हुन्छ। फेला पर्नुभयो आज।” – वाणी मरिमरि हाँस्न थाली।
“यो तिमीले समाइनौ भने, वाणी, म तिमीसँग बोल्दिन।” – शेखरले वाणीतिर हेरेर भन्यो।
“बहिनी बनाएको १५ मिनेट नबित्दै यत्रो सजाय। जे हास् आजचाहिँ सहिदिन्छु।” – वाणीले खानेकुरा समाई।
“बहिनी?” – प्रणिताले आश्चर्य मानेर शेखरतिर हेरी।
शेखरले मुस्कुराउदै भन्यो – “तपाईहरूको पोल पनि खुल्यो। हाम्रो कुरो पनि मिल्यो। त्यो निस्कर्ष यहि ठहर्यो” कि पतिपत्निको लागि त हामी अयोग्य ठहरियौँ। हामीले दाजुबहिनीको सम्बन्ध बढी उपर्युक्त र आवश्यक ठहर्या यौँ।”
प्रणिताले पनि मुस्कुराएर नै जवाफ दिई – “त्यसो भए वाणीको क्षयभन्दा लाभ बढी भयो। हैन?” व “कस्तो लाभ बढी?” – वाणीले प्रश्न गरिहाली।
“बिहे गर्ने उपयुत्त केटो पाउन गार्होी छैन तर दाजु पाउने कुरा त्यति सजिलो होइन। त्यो पनि बहिनीको सबै कुरा बुझ्ने दाजु पाउनु।” – प्रणिताले छोरीतिर हेरेर जवाफ दिई।
“फेरी वाणी १-२ दिनमा नै जान्छिन् रे। मन लागे बस्छिन्, मन नलागे घुमेर आउछिन् रे।” – शेखरले वाणीको भनाई राखिदियो।
“एक्लै?” – प्रणिताले प्रश्न गरि।
“हैन। कि बाबुछोरी, कि आमाछोरी। दिल्लीमा मेरो ठुलो बुवाकी छोरी छन्। म दिदीभिनाजुलाई लेखिदिन्छु। केही सहयोग चाहिए लिदा भइहाल्छ।” – शेखरले सम्झायो। प्रणिताले आपत्ति गरिन।
रोशन सिंह र वााण्ीा दिल्ली गएपछि शेखर आफ्नै काममा व्यस्त भयो र प्रणिताको हालखबर लिन गएन। फेरी त्यहाँ जानुपर्ने खास काम पनि परेन। त्यसैले १०-१५ दिन त्यसै नै बित्यो।
एकदिन अफिसमा सानिमाले फोन गरिन् र भनिन् -“शेखर ! प्रणितालाई सन्चो छैन रे। के भएको हो गएर हेर न एकपल्ट।” “के भएको हो सोध्नु भएन तपाईले?” – शेखरले सोध्यो।
“टेलफोन नोकर्नीले उठाएकी थिई। सोधेकी थिएँ। ५।७ दिन भयो बीरामी भएको भन्थी। प्रणीतासँग त कुरै हुन सकेन। कुरै भएको भए पनि ऊ आफ्नो व्यथा कसैलाई सुनाउदिन र भन्ने थिइन। लोग्ने र छोरी पनि छैनन् रे घरमा। त्यसैले त तँलाई ‘हेर्’ भनेकी।” – सानिमाले प्रष्ट्याइन्।
“सानिमा सार्हैत माया गर्नुहुन्छजस्तो छ प्रणितालाई।” – शेखरले मनमनै भन्यो र सानिमालाई जाने वचन दियो।
बेलुका प्रणिताको घर पुग्दा नोकरले ढोका खोल्यो। शेखरले साध्यो – “साहेबनी कहाँ?”
नोकरले जवाफ दियो – “साहेबनीलाई सन्चो छैन आफ्नै कोठामा सुतिरहनु भएको छ।”
“के भयो?” – उसले सोध्यो।
“जरो आएको छ। सीतादिदी भुंग्रोजस्तो छ भन्नुहुन्थ्यो।” – नोकरले सुनेको कुरा भन्यो।
“त्यसोभए सीतालाई बोलाउन।” – शेखर आदेश दिएर बैठकमा बस्यो।
५-७ मिनेटपछि सिता आइपुगी र भनी – “साहेबनीले ‘यतै कोठामा ल्या’ मर्जी भएको छ।”
शेखर उठेर सीताकापछि लाग्यो र प्रणिताको बेडरुमभित्र पस्यो। प्रणिता पलङमा सुतिरहेकी थिई र शेखरलाइ देखेर फिस्स हाँस्दै सोफा देखाएर भनी-“बस्नोस् न।”
शेखरले सोफामा बस्दै सोध्यो-“के भयो? अनि किन मलाई फोन नगरेको? मैले त सानीमाले फोन गरेपछि पो बिरामी भनेर थाहा पाएँ।”
“त्यस्तो केही हैन, जरो आएको। नर्वदाले फोन गर्दाचाहिँ निकै जरो आएको थिया। उठ्नै सकिनँ।”- प्रणिताले जवाफ दिई।
“डाक्टरले हेर्योि?”
“अँ हेर्योह। ब्लड कल्चर गर्न दिएको छ। डाक्टर फ्लु नै होला भन्छ। जरोले भने छाड्दैन।”
“अहिले कति छ त जरो?”
“अहिले अलि बढेजस्तो छ। नापेकै छैन। नाप्नुपर्ने।”
“खै कहाँ छ थर्मोमिटर?”
प्रणिताले इसाराले साइड टेबलतिर देखाई। शेखर टेबलको घर्राबाट डिग्री झकेर मुखमा लाइदियो र घडी हेर्यो । प्रणिता आँखा चिम्लेर सुतिरही। शेखरले असको अनुहार हेर्यो । प्रणिताको जरोले तातेको अनुहार गुलाबजस्तो रातो देखिन्थ्यो। अस्तव्यस्त कपालका मुन्द्राहरू निधारभरि छरिएका थिए र उसकोे छातीबाट आरनको फुकनीबाट निस्केको हावा झैँ सास निस्किरहेको थियो। ऊ थकित देखिन्थी। शायद जरोले थकाइसकेको थियो उसलाई।
‘उसले शायद आफूलाई एक्लो पनि अनुभव गरिहोली।’ – शेखरले सोच्यो।
जरो १०४ डिग्रीतिर पुगेको थियो। डिग्रीलाई खोलमा राख्दै शेखरले सोध्यो-“जरो त भयंकर छ। के औषधी दिएको छ डाक्टरले?”
“त्यही जरो ओराल्ने होला। अरू त केही दिएको छैन।”
“खान नि?”
“झोल खा – भन्छ। त्यो झोल पनि कति खानु?” – प्रणीताले मुख बिगारी। व सीता चिया चमेना बोकेर पसी। उसले त्यो टेबलमा राखेपछि शेखरले उसलाई भन्यो -“ठुलो बाटामा पानी लिएर आऊ।”
सिताले पानी लिएर आएपछि सानो तौलिया लिएर भिजायो र प्रणिताको निधारमा राख्दै उसलाई भन्यो -“ल यसरी नै भिजाउदै निचोरेर निधारमा राख्दै गर त यहाँ बसेर।” सीता स्टुल लिएर छेउमा बसी। शेखर बसेर खान थाल्यो। व औषधी र पानी पट्टीले जरो घट्दै गयो र आधा घण्टामा नै १०० डिग्रीभन्दा पनि तल ओर्लियो।
सीता बाटा उठाएर गएपछि शेखरले प्राणाीतालाई सोध्यो -“कस्तो छ अहिले?”
प्रणिताले भनी -“अहिले त टाउको हलुका भयो। अघि एकपल्ट फुट्ला नै जस्तो भएको थियो।”
शेखरले सीतालाई बोलायो र भन्यो -“राति तिमी यही सुत्नु। साहेबनीलाइ ज्वरो आयो कि पानी पट्टी दिनु, औषधी दिनु। फेरी दुई दुई घण्टामा झोल खाने कुरा दिने। साहेबनी जति रिसाएपनि गिलास नरित्तिउन्जेल छेउबाट हिड्दै नहिड्नु।”
फेरी प्रणितातिर हेर्दै भन्यो -“यो कुरालाई सीता भनेर नहेप्नु नि।”
सीता बाहिर निस्किई। शेखर आफ्नो ठाउँबाट उठ्यो र प्रणिताको छेउमा गएर उसकोे निधारमा हातले छोएर भन्यो -“जरो छैन अहिले। आए पनि औषधी खाने, पानी पट्टी लिने। झोल कुरा खान नछोड्ने। नत्र डिहाइड्रेसन हुन्छ। भोलि बिहान म फेरी आउँछु।”
प्रणिता शेखरको चिसो हातको स्पर्सले रोमाञ्चित भई र उसकोे मिठो भनाइले केही आश्वस्त भई।
शेखर विदा भएर निस्कियो।
भोलिपल्ट बिहान शेखर प्रणिताको बैठकमा पुग्दा सीताले चिया ल्याएर राखिदिई। सीतालाई देखेर शेखरले सोध्यो -“कस्तो छ साहेबनीलाई?
“आज त धेरै ठीक छ। राती निद्रा पनि पर्योो। हिजो अस्ति त पटक्कै केही नखाइदिने। हिजोदेखि त गाली गर्दै, मुख बिगार्दै भएपनि खान त खानुभयो।” – सीताले परिपाठ लगाई।
“अब त्यसरी नै पानी पट्टी दिनु, खुवाउनु। ठीक हुन्छ। फ्लु कै जरो हो जस्तो छ।”
“तिमी २-४ रात एक्लै नछोड साहेबनीलाई।” – शेखरले सल्लाह दियो।
“हजुरलाई ‘यहाँ ल्याउनु’ मर्जिएको छ।” – सीताले शेखर जान लागेको देखेर भनी।
शेखर सीताको पछिपछि कोठाभित्र पस्यो र ऊ बसेपछि सीता निस्किई। प्रणिता सिरानीको अडेस लागेर बसिरहेकी थिई। उसले प्रणितालाई सोध्यो-“कस्तो छ त अहिले?” “अहिले त ठिकै छ, ज्वरो छैन। तर यो सीताको खान्कीले पो मलाई दुख दिइरहेको छ। तपाईले के आदेश दिनुभएको थियो उसले काम पाइहाली। जिराही कस्ति छ भने ! त्यो झोल घाँटीबाट नछिरुन्जेल मुर्ति भएर उभिन्छे अगाडि। कालले छोड्ला छोडि्दन। – “-प्रणिताले सोझै विरोध प्रकट गरी।
शेखरले हाँसेर भन्यो -“पक्का नर्स रहिछ सीता त्यसोभए। र म उसको ड्युटी छुटाउने पक्षमा छँदै छैन। त्यो फ्लुलाई त खाएरै जित्नुपर्छ। टाइफाइड पनि हुन सक्छ भनेर डाक्टरले झोल मात्र खान दिएको हो। त्यही पनि नखाए त बाँच्न पनि गाहारो हुन्छ। बाबुछोरी फुर्कन्जेल सम्म त बचाएर राख्नै पर्योप नि उनीहरूकै निम्ति पनि।”
“अरूको निम्ति पर्दैन?”-प्रणिताले शेखरमा आँखा गाडी।
शेखरले हाँस्दै भन्यो-“नर्वदा सानिमा भन्नुहुन्थ्यो ‘प्रणिता आफैले कसैैलाई सुनाउदिन र लोग्ने र छोरी घरमा छैनन् रे’। सानिमा जति त तपाईलाई म चिन्दिन तर एक कुरा भन्न सक्छु कि तेश्रो व्यक्तिको अस्तित्व स्विकार गरेको भए त्यो मानिसलाई कहीँबाट पनि तपाईले आफ्नो अवस्थाको जानकारी दिनुहुने थियो तर दिनुभएन। त्यसैले म त्यो वेअस्तित्वको मानिसको अस्तित्व कहाँ खोजूँ?”
“तपाईको दृष्टिमा त्यो मानिस देखा पर्दैन?” – प्रणिताले अझै उसबाट आँखा हटाइन।
त्यो सुनेर शेखरलाई सामान्य स्थितिमा आउन कर लाग्यो। उसले भन्यो – “मेरो दृष्टिको कुनै महत्व छैन। त्यो व्यक्ति तपाईको दृष्टिमा महत्ववान् हुनुपर्योस। मलाई भन्नुहुन्छ भने म तपाईको स्थितिमा भइदिएको भए जसरी पनि म त्यो व्यक्तिकहँा सन्देश पठाइसक्ने थिएँ। त्यो व्यक्ति मेरो सिरानमा आएर बस्नुपर्छ। मेरो लागी उसले रोग त के? मृत्युसँग पनि लडिदिनुपर्छ। जसको निम्ति मैले बाँचिदिनुपर्छ मलाई बचाउनु त्यसकै दायित्व हो।”
“तपाई” – प्रणिताले केही भन्न खोजी।
“भइहाल्यो। यो वेअर्थको विवादले फेरी जरो बढाउँछ। विवाद र तर्कपछि ठीक भएपछि गरौँला। ल म जान्छु अहिले “- शेखरले भिटो लगायो।
“तपाई आउनुहुन्छ भरे बेलुका?”-प्रणिताले सोधी।
“तपाईलाइ अब ठीक हुँदैछ। भ्याए भने बेलुका आउछु, नत्र भोली बिहान पक्का आउँछु।” – शेखर जवाफ दिएर निस्कियो।
दिनभर शेखर कार्यालयको काममा व्यस्त भयो र अबेर गरेर घर फर्कियो। भोलिपल्ट बिहान पनि भेटघाट गर्न मानिस आएकाले ऊ निस्कन सकेन। प्रणितालाई पहिलेकोजस्तो भएको भए त ऊ जसरी पनि समय निकाल्ने थियो। ‘प्रणितालाई ठीकै छ’ भनेर ऊ व्यस्त नै भइरह्यो।
दोस्रो दिन कार्यालय छुटेपछि शेखर प्रणिताकहाँ पुग्यो र बैठकमा नै सीतालाई सोध्यो-“ठीकै छ हैन साहेबनीलाई?”
सीताले गम्भीर भएर भनी – “खै हजुर ठीकै थियो हिजो बेलुका सम्म त । रातिदेखि जरो आउन सुरु गर्योै। बिहानीदेखि त ज्युनार पनि केही भएको छैन। जरो पनि भुंग्रो छ।” “पानी पट्टी लाइनौ? खान दिइनौ?”-शेखरले सोध्यो।
“दिन खोजेकी साहेबनी रिसाएर कस्तो छुट्टी। त्यस्तो त कहिले रिसाएको देखेकी थिइनँ।” – सीताले चित्त दुखाएर भनी।
“भैगो नि त चित्त नदुखाउ। बीरामी छन् साहेबनी। त्यस्तो बेलामा होश हुँदैन मानिसको।” – शेखरले सम्झायो।
“हैन, हजुर, मेरो चित्त दुखेको हैन। साहेबनीलाई केही हुन्छ कि भनेर पीर लागेको। साहेब र मैंया पनि हुनुहुन्न।” – सीताले जवाफ दिई।
“केही हुन्न, पीर नगर। औषधि छन्, डाक्टर छन्, अस्पताल छन्। निको पारिहाल्छन् नि। के को पीर गर्नु? ल जाऊ। चियासिया बनाउ। म बीरामीलाई हेर्छु।” शेखरले ढाडस दियो सीतालाई।
सीता भान्सातिर गई र शेखर प्रणिताको कोठाभित्र पस्यो।
कोठा अस्तव्यस्त थियो र पलङमा प्रणिता लठ्ठ परेर सुतिरेहेकी थिई। उसका आँखा बन्द थिए र ऊ स्वाँ, स्वाँ गरेर सास फेरिरहेकी थिई र उसकोे छाती छिटोछिटो तलमाथि गरिरहेको थियो। शेखरले उसकोे छेउमा उभिएर निधारमा हात राख्यो। निधार आगोजस्तै तातो थियो। शेखरको चिसो स्पर्श पाएर उसले आँखा खोली र ट्वाल्ल परेर एक छिन नचिने झैं गरेर हेरी र फेरि आँखा चिम्लिई। शेखर आएर सीतालाई पर्खेर सोफामा बस्यो।
सीताले खाने कुरा लिएर आई र त्यसलाई समाउँदै उसले भन्यो – “म यो छिटो छिटो खान्छु। तिमी बाटामा पानी लिएर आऊ। फ्रिजमा भएको वरफ पनि हाल। अरू वरफ जमाउन पानी पनि राखिदिनु। सानो तौलिया पनि कहाँ छ हेर।”
शेखरले हतारहतार खाने कुरा सिध्याउँदा सीता पनि पानी लिएर आई। शेखर उठेर पलङको छेउमा बस्यो र बाटाको पानीमा तौलिया भिजाएर प्रणिताको निधारमा राखिदियो उसको आँखा खुल्यो र फेरि बन्द भयो। शेखरले छिटो छिटो त्यो प्रक्रिया दोहोर्या्उन थाल्यो र सीतालाई भन्यो – “तिमी अर्को कपडाले हात र खुट्टा चिसो पारिदेऊ त।
उनीहरूका हात मेसिनजस्तै चल्न थाले। आधा घण्टा चलेपछि जरो केही ओर्लियो र प्रणिताले आँखा खोली। आफ्नो सामु शेखरलाई देखेर विस्तारो सोधी – “तपाई कहिले आउनु भयो?”
शेखरले उसको जवाफ नदिएर उसलाई सोध्यो – “डाक्टरको नाम, टेलिफोन नम्बर कहाँ छ?”
“सीतालाई थाहा छ।” – उसले विस्तारो भनी। शेखरले सीताको मुखतिर हेर्योा। ऊ खोज्न बाहिर निस्की।
“किन लत्ता छोडेको यसरी?” – शेखरले कडा स्वरमा भन्यो।
“तपाई किन आउनु भएन हिजो?” – उसको प्रश्नको उत्तर नदिएर उल्टै प्रणिताले प्रश्न गरी।
शेखरले चिसो तौलिया निधारमा फेर्दै भन्यो – “यसरी लत्ता छोड्नु बुद्धिमानी होइन।”
प्रसंङ्ग नमिलाई प्रणिताले भनी – “मृत्यु त आउँछ एक दिन तर त्यो चाँडै नआओस किन? कसका निम्ति बाँच्नु पर्ने तय हुन नसकेपछि मलाई किन हो बाँच्न मन छैन।”
“छोरीको निम्ति बाँच्नु पर्छ।” – शेखरले भन्यो।
“अब उसलाईै मेरो आवश्यकता छैन।” – प्रणिताले आँखा चिम्लेर नै भनी। व “उनको डैडी हुनुहुन्छ।” – शेखरले सम्झाउन खोज्यो।
“उसलाई झन् कहिलै आवश्यकता थिएन।” ऊ झन् चकित देखिन्थी।
प्रणिताको आँखाका एक कुनाबाट आँशु बगिरहेको थियो। सीता डाक्टरको नाम, नम्बर लिएर पसी र आफ्नो काम सीतालाई सुम्पेर शेखर टेलिफोन भएको वैठक कोठामा गयो। प्रणिताको जरो त धेरै घट्यो तर ऊ असाध्यै थकित देखिन्थी। शेखर र सीताले एक ग्लास तातो दुध बलजफ्ती खुवाएका थिए। ज्वरो अझै पनि १०१ डिग्रीमा नै बसिरहेको थियो।
करिव आठ बजेतिर डाक्टर आयो र व्लड रिर्पोट हेरेर टाइफाइड नै हो भन्ने निर्णय गर्यो्।
“धेरै डिप्रेशन देखिन्छ नि डाक्टर साहेब – ” – शेखरले भन्यो।
“त्यो त कमजोरीले हो। बढी झोल खुवाउनोस्। जे को पनि झोल।” – उसले जवाफ दियो। डाक्टरका निम्ति यस्ता बीरामी सधैं देखिने सामान्य बीरामी थिए।
डाक्टरले दिएको औषधि खाएपछि जरो केही घट्यो। प्रणिताले थकित स्वरमा शेखरलाई भनी – “नजानोस् तपाई घर आज। जा, सीता गेष्ट रुममा तन्नासन्ना फेरेर राखिदे।”
प्रणितालाई बलजफ्ती एक ग्लास झोल ख्वाएपछि शेखर खान डाइनिङ टेवलमा गयो। खान दिदा दिदै सीताले भनी – “पटक्कै सुत्नु भएन साहेबनी गएराती। आँखा झमिक्क नगरेपछि त बेथाले च्याप्ने नै भयो नि। दिउँसो त म डराएँ पनि केही हुन्छ कि भनेर।”
“डाक्टर बोलाउनु पर्दैनथ्यो त्यस्तो हुँदा?” – शेखरले गाली गर्योट।
“हजुर भन्नु हुन्छ नै। साहबनीको रिस हजुरलाई थाहा नै छैन। बोलाउनु पर्दैन भनेपछि हामीले कहाँ आँट गर्न सक्छौं र बोलाउन।” – सीताले जवाफ दिई।
“अरू को को छन् नि यहाँ?” – शेखरले सोध्यो।
“साने छ भित्र। बाहिर पाले दाइ। त्यति त हो नि। माली दिउँसो मात्र आउँछ।” – सीताले उत्तर दिई।
“साहेबनीका नाता गोता छन् होला नि सहरमा नै – ” – उसले सोध्यो।
“छन्। किन नहुनु? त्यसो त बुबाआमा नै हुनुहुन्छ। तर खै यहाँ आएको त्यति थाहा छैन। साहेबनी पनि त्यति माइत जानु हुन्न। बरु मैंया र साहेब दिनमा एकपल्ट पुग्नुहुन्छ।” – सीताले भनी।
“यो बीरामी भएको पनि थाहा छैन त उनीहरूलाई?”
“कस्ले भन्यो होला र? हामी भन्न गएका छैनौं। वहाँबाट कोही आएका छैनन्। खै, आज त सुत्न पाउँछु कि म?” – सीता बर्वराई।
न भन्दै दश नबज्दै सीता निदाई। शेखरले चिसो हात प्रणिताको निधारमा राख्यो। जरो त छँदै थियो। चिसो हातको स्पर्शले प्रणिताले आँखा खोली र दुवै हातले हात समाएर त्यो चिसोपन घाँटीमा लिइरही। शेखरले कुनै विरोध गरेन। विस्तारै प्रणिता निदाई र निन्द्रामा ऊ एउटा केटाकेटीजस्तै देखिई। शेखरले उसको निन्द्रा न खलबल्यााई आफ्नो हात झक्यो र ११ बजेतिर सुत्न कोठामा गयो। ऊ प्रणिताको आचरणले विचलित भएको थियो र ओछ्यानमा पसेपछि पनि धेरै बेर निदाउन सकेन।
शेखरले प्रणिताका आमाबाबुलाई जानकारी दियो र माइतपिट्टका सबै भेट्न आए। आमा प्रणिताकोसामु आएर त्यस्तो बीरामी हुँदा पनि समाचार नदिएकोमा गुनासो गरेर रोइन। बाबुले दुख मनाए। प्रणिता भने आँखा चिम्लेर पल्टिरही। उनीहरू आउँदा शेखर त्यहाँ थिएन। बेलुका आउने वचन दिएर काममा गएको थियो। उलीहरूले सीतालाई, सानेलाई समाचार नदिएकोमा गाली गरे। नोकरहरूले उनीहरूको गाली सुनिरहे, कुनै प्रतिवाद गरेनन्। प्रणितासँग गुनासो गरे – “विरामीको समाचार पनि हामीले परचक्रीको मुखबाट सुन्नुपर्ने।” उनीहरूको गुनासो, गाली सब सुनेपछि वाक्क भएर प्रणिताले भनी – “तपाइहरूले बाँच्न त सजिलोसँग दिनु भएन भएन, मर्न पनि सजिलोसँग दिनुहुन्न।”
विरामी छोरीको भनाइले उनीहरूलाई चोट लाग्यो तर वीस बर्ष अगाडि लागेकोे चोटको निम्ति छोरीले उनीहरूलाई कहिले पनि माफी दिइन। खल्लो छाती लिएर बुढा बुढी फर्के।
रोशन सिंह र वाणी घर फर्कदा प्रणितालाई व्यथाले छोडिसकेको थियो तर कमजोरी र थकाइले गर्दा ओछ्यान छोड्न भने सकेकी थिइन। शेखर पनि अब त दिनमा एक पल्ट मात्र पस्थ्यो। एक छिन कुरा गर्थ्यो, सीताले ल्याइदिएको खाजा र चिया खान्थ्यो। प्रणिता उसका कुरा सुनिरहन्थी। आफू कम नै बोल्थी।
आमाका अगाडि बसेकी वाणीलाई देखेर शेखरले भन्यो – “ल, तिमी आई पुगिछौ ममीको सेवा गर्न। राम्रोसँग हेरचाह गर अब।”
“के भएको, दाइ, ममीलाई?” – वाणीले सोधी।
“दुई चिज एकै चोटी भएको। पहिलो त सधैं काखमा बसेकी छोरी उडेर निस्किदिदा एक्लोपन भएको। यो मानसिक समस्या भयो। दोश्रो चै टाइफाइड भएको। वेवास्ता गरिएको टाइफाइड। दुवैको संयोगले चापेको। अब तिमी पनि आयौ, टाईफाइडले पनि छोड्यो।” – शेखरले मुस्कुराएर भन्यो प्रणिताले पुलुक्क ऊतिर हेरी।
“अँ मैसा’ब ! मलाई त कस्तो डर लागेको थियो भने। वहाँ साहेब नभएको भए के गर्ने थियौ होला हामी?” – ढोकैमा उभिएकी सीताले भनी। प्रणिताले सीतातिर हेरी। सीता कोठाबाठ बाहिर निस्की।
“अनि तिमीहरूको भ्रमण रमाइलै भयो?” – शेखरले वाणीलाई सोध्यो।
“कस्तो रमाइलो भने। मलाई त अझ ३।४ दिन घुमूँजस्तो लागेको थियो। डैडीको यहाँको काम बिग्रियो भनेर मात्र फर्किएकी।” – वाणीले एकै सासमा जवाफ दिई।
“त्यसो भए तिमीले संसार देख्यौ?” – शेखरले जिस्क्यायो ।
“अनि संसारले पनि मलाई देख्यो।” – गीतको पारामा वाणीले जवाफ दिई। दुवै जना हाँसे। प्रणिता पनि मुस्कुराई।
“अनि डैडी खै त? – ” – शेखरले सोध्यो।
“डैडीको उही हुँदै बितेको थियो। यहाँ आएपछि त झन् बितिसक्यो। विहानै दौडनु भयो काममा। एउटा फोनसम्म पनि गर्नु भएको छैन।” – वाणीले गुनासो गरी।
शेखरले उठ्दै भन्यो – “ल, तिम्रो गफ धेरै सुन्नु छ। ममीलाई यहाँ कचकच हुन्छ। ल, हिड वैठकमा सुनाउन।”
वाणी उठेर शेखरको पछिपछि बैठकमा पुगी। शेखरले सोफामा बस्दै वाणीलाई सोध्यो – “ममीलाई के भएको भनेर सोध्यौ?”
“आउने बित्तिकै सोधेकी थिएँ। ‘केही हैन, यसो जरो आएको’ भनेर पन्साउनु भयो मलाई। के भयो, शेखर दाई ममीलाई? किन त्यस्तो उडे उडेजस्तो? किन कम बोल्नु हुन्छ मसँग?” – वाणीले रुँला रुँला झै गरेर भनी।
शेखरले वाणीमा आँखा गाडेर भन्यो – “वाणी ! अब तिमी ठूली भइसक्यौ। जे परे पनि बेहोर्नु पर्ने र बेहोर्न सक्ने। अब तिमी डैडी, ममीकी सानी छोरी भएर बस्न पाउदिनौ। ती दिन गए। त्यसैले मेरो कुरा ध्यान दिएर सुन।
वाणी ट्वाल्व परेर शेखरको मुख हेरी। शेखर भन्दै गयो – “तिम्रो ममी र डैडीको बारेमा तिमीले धेरै कुरा देखेकी छौ, जानेकी छौ र बुझेकी छौ। त्यसैले उनीहरू बीच सम्बन्ध कस्तो थियो र छ? त्यो तिमी जान। तिमी दुबैलाई उत्तिकै माया गर्छ्यौ र दुबैबाट उत्तिकै माया पाएकी छौ। त्यसैले तिमी को ठीक? को वेठीक? भनेर कहिले पनि पक्ष लिन सक्दिनौं। लोग्नेस्वास्नीको बीचमा असमझदारी हुँदा छोराछोरीको यही हालत हुन्छ। फेरी लोग्नेस्वास्नीको सम्बन्ध कस्तो हुनुपर्छ? त्यसमा उदाहरण आमाबाबु नै हुन् र तिम्रा आमाबाबुको सम्बन्धलाई नै तिमीले आदर्श सम्बन्ध ठान्यौ। यसै होइन त?”
“योभन्दा राम्रो सम्बनध मैले देखेको नै छैन।”
“योभन्दा राम्रो मात्र होइन तिमीले अरू सम्बन्ध नै देखकी छैनौ। तर म यो घरभित्र पस्ने बित्तिकै मैले अनुभव गरें कि सम्पन्नता भएर पनि यो घरमा मानसिक शान्ति छैन। तिम्रो डैडी र ममीलाई देखपछि त झन् यो कुरा प्रस्टै भयो।” – शेखरले भन्यो।
“के कुरा पाउनुभयो तपाइले त्स्तो?”-वाणीले प्रश्न गरी।
शेखरले भन्यो – “वाणी ! यो अनुभूतिको कुरा हो। जसरी चिसो र तातो छुटेयाउन एउटा स्पर्श मापदण्ड चाहिन्छ नि त्यस्तै वातावरण छुट्याउन पनि अर्को घरको वातावरणसँग दाँजिनु पर्छ। मेरा आमाबुवा बुढाबुढी भइसके तर पनि एउटा एकछिन नजिक भएन भने अर्कोलाई खटपटि हुनथाल्छ। त्यो कुरा हामी छोराछोरी बुझ्छौँ र कहिलेकाहीँ जिस्क्याउछौँ पनि। सबै घरमा त्यस्तै नहोला तर लोग्नेस्वास्निका समानान्तर सोचाइ हुन्छन्। विचारमा विवाद गर्छन्, एउटाले हारे झैँ गर्छ अर्कोले जिते झैँ र जितको खुसी पनि र हारको दुख पनि सँगैँ मनाउँछन्। छोराछोरी त यसका साक्षी मात्र हुन्। तिम्रो घर भने अलि फरक रहेछ। तिम्रो डैडी, ममीका साझा भन्नु नै तिमी हो र केबल तिमी मात्र।
“हो डैडी, ममीको साझा चिन्तन विषय त छैनन्। कुनै विषयलाई लिएर छलफल गरेको मलाई थाहा छैन। केही गर्नै परे एउटाले प्रस्ताव राख्छ अर्कोले विरोध नगरी सही थपिदिन्छ।” – वाणीले सहमति जनाई।
“यो तिम्रो विदेश भ्रमण पनि उनीहरूको छलफलको उपज होइन। मैले एउटा मध्यस्तकर्ताको रूपमा चाँजोपाँजो मिलाइदिएको हँु।”
“तपाई भन्दै हुनुहुन्थ्यो डैडीममी बारे।”
“अँ त। म भन्दै थिएँ नि तिम्रो ममीडैडीका बारेमा। तिम्रो ममी सिकिस्त बिरामी हुनुभयो। समयमै रेखदेख नपुगेको भए मर्न पनि सक्नुहुन्थ्यो वहाँ। यस्तो स्थितिमा पनि ढुङ्गा हान्दा पुने ठाउँमा भएका आमाबाबुलाई जानकारी दिनुभएन। थाहा पाएर आएका आमाबाबुलाई सम्भावित मृत्यु शैयाबाट पनि अपमान गरेर पठाउनुभयो। किन? किनकि आमाबाबुले लगाइदिएको घाउ यति पिडादायक छ कि माफी दिने विचार उठ्दै पनि असह्य हुन्छ तिम्री ममीलाई। बरु मृत्यु सह्य हुन्छ। के गरे आमाबाबुले एक्ली छोरीमाथि त्यत्रो अपराध?” – उसले वाणीतिर हेर्यो ।
वाणीले जवाफ दिन सकिन। शेखर आफैँ भन्दै गयो।
“छोरीको सबभन्दा प्रिय वस्तु फोरिदिए, धुल्याइ दिए।”
“त्यो वस्तु नभएर मानिस पनि हुन सक्छ।” – वाणीले शंका उठाई।
“हुन सक्छ मात्र होइन वाणी पक्का हो नै। त्यो मानिसले घरबार गरेर बसेको भए तिम्रो ममीको घाउमा खाटा पर्दै जाने थियो तर वहाँकै कारणले कि ऊ मर्यो्, मारियो या विक्षिप्त भयो। तिम्रा बाजेबजैप्रतिको घृणा अरू केही हुनै सक्दैन।”
“डैडीसँग नमिल्नुको कारण?”
“तिम्रो डैडीप्रति तिम्रो ममीको कुनै राग, द्वेष, घृणा छैन। केवल उनीले प्रेम गर्न सकिनन् उसलाई। गर्नसक्ने सम्भावना पनि भएन। लोग्नेप्रति कुनै प्रेम पनि थिएन, घृणा नभए पनि। असमान उमेरले किशोरी केटीको मनमा घर बनाउन दिएन।”
“अनि?”
“त्यसपछि तिमी जन्मियौ र तिमी नै तिम्रो ममीको निम्ति सर्वस्व भयौ। तिमीमा नै उहाँले सबै चिज देख्नुहुन्थ्यो, पाउनुहुन्थ्यो। तिमी नै वहाँको बाँच्नुको कारण भयौ। मलाई थाहा छैन वहाँले मर्ने चाहाना या आत्महत्या गर्ने प्रयास गर्नुभयो कि भएन तर तिमी जन्मेपछि भने पक्कै गर्नुभएन। वहाँलाई लागेको थियो – तिमी सधैँसँगैँ हुनेछौ तर तिमी डैडीसँग बाहिर गएपछि वहाँको सपना भङ्ग भयो।”
“मेरो भाइबहिनी भएका भए ममीलाई त्यस्तो हुने थिएन होला।”
“तिमी पाइला पाइलामा चर्किने घाउ भएर बसिदियौ। तिेम्रो झलक सम्मले पनि तिम्रो ममीलाई अतित सम्झाइदिन्छ सबैले बिर्सिसकेको अतित। अरूको निम्ति जुग भइसक्यो वहाँको निम्ति हिजैजस्तो मात्र छ।”
“मतलब?” – वाणीले विस्तारीत आँखाले शेखरले हेरी।
शेखरले लामो सास फेरेर भन्यो – “मेरो भनाइ यति मात्र हो कि, वाणी, तिम्रो ममी निकै बिरामी हुनुहुन्छ, मानसिक बिरामी। उहाँमा आत्महत्या प्रवृति देखापरेको छ। त्यो प्रवृति देखा नपरेकेा भए टाइफाइडले पनि यसरी दुख दिने नै थिएन र यो प्रवृतिलाई तिमीले मात्र शान्त पार्न सक्छ्यौ। त्यसैले ममीलाई माया गर। यसरी माया गर कि ममीलाई लागोस् – तिमी ममीकै निम्ति बाँचिदिएकी छौ।”
“मलाई यो कुरा भन्नोस् कि तपाइको मेरो ममीमा चासो कसरी भयो?” – वाणीले शेखरमा आँखा गाडेर भनी।
शेखरले जवाफ दियो – “भोली ममीको जिम्मेवारी तिमीले लिनुपर्छ। म त पहिले पनि थिइन र पछि पनि हुनेछैन। त्यसैले मैले बुझेको कुरा तिमीलाई भन्नैपर्छ। मेरो एउटै अनुरोध यो हो कि तिमी यसलाई गलत अर्थमा नलेऊ।”
“ठीकै छ, मेरो ममीको सुखको निम्ति पनि म लिन्न।” – वाणीले वचन दिई।
शेखर सजिलो गरि बस्यो र भन्यो – “तिमी हामीले बिहे नगर्ने निर्णय सुनाउँदा तिम्रो ममी खुसी हुनुभएको थियो। म सर्र्र्वश्रेष्ठ त नहुँला, तर पनि तिम्रो लागि अनुपयुक्त त हैन। छोरीको निम्ति उपयुक्त उम्मेदवार हातबाट उम्कदा कुन आमा खुसी हुन्छे? तर तिम्री ममीको चाहाना तिम्रो विवाह मसँग नहोस् भन्ने थियो किनकी तिमी त्यो अतितको उपहार हौ र ममा पनि वहाँले त्यो अतितको झलक देख्नुभयो। एउटी आइमाईले यस्तो विवाहमा मिलन त स्वीकार गर्नै सक्दिन। दोश्रो, बीरामी हुँदा वहाँ अरूको त के? डाक्टरको पनि कुरा सुन्नुहुन्नथ्यो। तर मैले भनेपछि यसरी स्वीकार गर्नुहुन्थ्यो मानौ म ज्येष्ठ पुरुष हुँ या प्रिय व्यक्ति हुँ जसको आदेश या अनुरोध अस्वीकार गर्न सकिन्न। ज्येष्ठ पुरुष त म होइन। फरी २।४ पटकको भेटमा नै कोही मानिस कसैको प्रिय हुन सक्दैन । त्यसरी प्रिय हुन कुनै प्रिय वस्तुसँग सम्बन्धित हुनुपर्छ। ऊ, तिम्रो ममीको प्रिय भन्नु नै कि तिमी हौ कि वहाँको अतित। पहिलो भेटमा नै वहँाले यसरी लिनुभयो कि मानौँ म मेरै अगाडिदेखि नै चिने जानेको व्यक्ति हुँ। लोग्ने या प्रेमी हुन सक्ने त म छैन। फेरी तिम्रो ममी लोग्ने प्रेमी राख्ने खालको भए अगाडि नै राखिसक्नुहुने थियो। वीस वर्ष कुर्नुहुने थिएन।”
“तर तपाईलाई पे्रम गर्नुहुन्छ।”- वाणीले भनी।
“यो उपव्याख्या हो वाणी। वहाँ कसैलाई प्रेम गर्नुहन्न। केवल ममा आफ्नो अतितको प्रेमको झलक पाउनुहुन्छ। आमाले छोरामा लोग्नेको झलक पाएजस्तै यी दुई भिन्दा भिन्दै कुरा हुन्।”- शेखरले विरोध गर्योन।
वाणीले एकछिन कुरेर भनी – “त्यसोभए डेडी मेरो बाबु होइन।”
शेखरले कुरा काट्यो – “तिमी तिम्रै डैडीको छोरी हौ। पहिलो तिमी तिम्रै डैडीको सन्तान हैनौ भन्ने प्रमाण छैन किनकी मेरो तर्कलाई प्रमाण मान्न सकिन्न।”
“तपाईको तर्क कुनै प्रमाणभन्दा पनि सशक्त छ। म मेरै डैडीको छोरी भए मेरा भाईबहिनी पनि हुन्थे।”- वाणीले विचैमा भनिहाली।
शेखरले भन्दै गयो – “दोश्रो बालकको दश कर्म जसले गर्छ त्यो बाबु हो। बालक बाँच्न, हुर्कन, शिक्षादिक्षा दिलाउने, साधन जुटाइदिने र माया गर्ने व्यक्ति बाबु हो। ‘तिमी डेडीको छोरी हैनौ’ भनेर अरूको त के स्वयं ममीको मनमा पनि आउदैन। सम्भव त त्यो अतितसँग गाँसिएकीले ममीलाई अतित बिर्सन गाहारो परेको मात्र हो। त्यो पनि मेरो अन्दाज।”
“म त्यो अतित खोजेर हेर्छु।” – वाणीले दरोसँग भनी।
“तर तिम्रो ममीलाई चोट लाग्नुहुन्न।” – शेखरले विरोध गर्योव।
वाणीले शेखरलाई गहिरोसँग हेरेर भनी – “तपाईँ मेरी ममीलाई माया गर्नुहुन्छ?”
शेखरले गम्भीर भएर कठोर स्वरमा भन्यो – “वाणी जुन कुरा तिम्री ममीलाई भन्ने हिम्मत भएन त्यही कुरा सोध्ने धृष्टता तिमीले कसरी गर्यौर? आखिर मर्यादाको पनि सिमा हुन्छ।”
वाणीले बाजे बज्यैको सामु भएर भनी – “हजुरबा ! हजुरआमा ! संसारका सबै छोराछोरी घाउ लाग्दा, दुख पर्दा ‘आमा !’ भनेर कराउँछन्, बाबु गुहार्छन् भने तपाइहरूकी छोरीले मात्र किन तपाईहरूको सहयोगभन्दा मृत्यु रोज्न खोज्नुपर्योइ?”
“के भनेको, वाणी, तिमीले?” – बजैले जिल्ल परेर सोधी।
वाणीले भनी – “मैले के भनेको हो? त्यो तपाईहरूले बुझसक्नुभयो। तैपनि मेरै मुखबाट सुन्न चाहनुहुन्छ भने सुन्नोस्। मेरी आमा, तपाईहरूकी छोरीले किन आफू सिकिस्त हुँदा पनि एक हात परको टेलिफोन उठाएर आफ्ना बाबुआमासँग सहयोग माग्नुभएन? किन?”
“हामीलाई के सोध्छेस्, तेरी आफ्नै आमालाई सोध्।” – बाजेले रन्किएर जवाफ दिए।
“सोध्ने थिएँ आफ्नै आमासँग तर मेरी आमालाई त तपाईहरूले लाटी बनाइदिनु भएको छ। वहाँ त केही बोल्नु र मृत्यु रोज्नुपर्दा पछिल्लो रोज्नुहुन्छ। वहाँ त आफ्नै छोरी हुँदा पनि भाग्न सक्नुहुन्न।” – वाणीले विरोध गरी।
“अब हामी के गरौँ त, वाणी?” – बजैले पश्चातापको स्वरमा भनीन्।
वाणीले कठोर स्वरमा भनी – “मेरा प्रश्न धेरै छन्, हजुरआमा। धेरै छन्। हजुरबा त जिन्दगी भर पद र पैसाको सौदा गरेर बाँच्नु भएको छ। वहाँलाई त छोरीको, नातिनीको सुख पनि एउटा सौदा हो तर तपाई त आमा हो, दश धारा दुध खुवाउने आमा। के अपराध गरेकी थिई तपाईकी छोरीले र उसलाई आफ्नो अतित पुरिएको माटोमा मुख गाडेर रुन पाउने हकसम्म पनि दिनुभएन? के उसलाई जन्म यतिकै निम्ति दिनुभएको थियो त? ल, बाबुले त पद र पैसाको निम्ति छोरीको जीवन जुवा खेलेछन् रे। तपाई आमाले त त्यो खोटो मेाहरजस्तो मेरो डैडी भनीने रोशन सिंहको हातमा कसरी छोरी सुम्पनु भयो? के त्यो छोरी सजीव प्राणी हो भन्ने तपाईले सोच्नु भएन?”
बाजे बोलेन । बजैले आँसु बगाउँदै सोधिन् – “के भयो, वाणी, प्रणितालाई?”
वाणीको रिस अब धेरै मत्थर भएको थियो। उसले सुस्तसँग भनी – “के हुनु अब? जे हुनुथ्यो उहिले नै भइसक्यो। कसैको उपस्थितिले त्यो घाउ बल्भि्कयो। मलाई यति मात्र भनिदिनोस् – जसको निम्ति मेरी आमा सधैँ रोइन् त्यो को हो?”
“जसको अस्तित्व नै छैन त्यसको नाम तिमीले पाएर के गर्छ्यौ?” – बजैले लामो सास फेर्दै भनिन्।
बजैको भनाइमा वजन थियो। त्यसैले त्यतापट्टी नलागेर उसले भनी – “के त्यो व्यक्तिको अनुहार शेखरसँग मिल्छ?”
“मिल्छ केही हदसम्म। झलक्क हेर्दा उस्तै लाग्छ।” – बजैले बिस्तारै भनी।
वाणीलाई अरू सोध्नु थिएन। शेखरले जुन तर्क दिएको थियो त्यसमा लेस मात्र पनि फरक थिएन। आमाको जुन घाउ उसले त्यही काखमा सुतेर पनि उसले देख्न सकिन शेखरले आएको केही क्षणमा नै थाहा पायो।
ऊ आमाकी मात्र छोरी थिई। बाबु पनि उसकोे कृत्रिम थियो अथवा बाबु पनि धेरै थिए, उसमा गर्भाधान गरिदिने बाबु, पालन पोषण गर्ने बाबु र अहिले शेखरको रूपमा सत्य खोलिदिने बाबु। दाजु नै भएपनि त त्यो अस्तित्वहीन बाबुको प्रतिरूप थियो ऊ र आमाले उसमा त्यो अतितको छायाँ देख्थी।
वाणी सुस्त भएर घर फर्की र आमाको कोठामा पसी। प्रणिता सोफामा अडेस लागेर सिलिङ हेरिरहेकी थिई। वाणी पसेको पनि उसले देखिन। वाणी आमाको छेउमा बसेर उसको छातीमा टाउको अड्याई। प्रणिताले हातले कपाल सुम्सुम्याएर भनी – “के भयो, छोरी? के चाहियो?”
केही चिज आवश्यक पर्दा वाणी यसरी नै माया देखाउथी तर आज उसलाई केही चाहिएको थिएन। केबल आमा चाहिएको थियो। उसले भनी – “म तपाईलाई छोडेर कहीँ पनि जान्न है, ममी?”
छोरीको त्यो बिह्वलताको कारण आमाले बुझन तैपनि उसलाई सान्त्वना दिन भनी – “किन जानुपर्योई त? म कतै पठाउदिन।”
छोरी आमाको छातीबाछ हटिन। आमाले पनि हटाउने प्रयास गरिन। छोरी आमाको मुटुको ‘ढक् ढक्’ सुनिरही र भनी – “तपाईको मुटु दुख्छ, ममी?”
आमाले छोरीबाट हात नहटाएर भनी – “किन र?”
“कति ‘ढक्ढक्’ गर्छ हेर्नु न मुङ्ग्रोले हिर्काएजस्तै।” – छोरीले अझ टाँसिएर भनी।
आमाले उदास भएर भनी – “दुख्थ्यो कुनै बेला त। अब त त्यो दुख्ने पनि लाटो भइसक्यो।”
“वीस बर्षसम्म दुखाई खपेपछि त जे पनि लाटो हुन्छ।”- छोरीले मनमनै भनी।
“शेखर कति दिन भयो नआएको। किन आएन ममी?” – छोरीले सोधी।
“काम पर्योद होला,फुर्सद भएन होला। फेरी हामी को हौँ र उसका हामीकहाँ आइरहन?” – आमाको स्वर झन् उदास भयो।
छोरीले टाउको उठाएर आमालाई हेर्दै भनी – “हामी कोही पनि हैनाँै त, ममी, उसका? हामी कोही हैनौ भने किन हाम्रो त्यति धेरै चासो लिएको त उसले?”
“वाणी ! के भयो तँलाई आज यस्तो? किन तँ उल्टो उल्टो मात्र कुरा गरिरहेकी?” – आमाको अनुहारभरि पिडा छरियो।
छोरीले आमाको हात दुबै हातमा समातेर गालामा राख्दै भनी – “ऊ हाम्रो कोही न कोही हो नत्र किन ऊ आएपछि हामीमा आँधीबेहेरी आयो त?”
प्रणिताले आश्चर्य मानेर छोरीको मुख हेरी। छोरी भन्दै गई – “तपाईले एक शब्द नभन्दा पनि तपाई भित्रका जम्मै अक्षर पढेर मेरा अगाडि फिँजाइदियो। ऊ तपाइँ भित्रका कुरा पढ्न सक्छ। म भित्रका कुरा पढ्न सक्छ। ऊ हाम्रो कोही हो। पक्कै कोही हो, ममी। पक्कै कोही हो।”
“घटनाबस आइपुग्यो, हाम्रो भेट भयो। हामीलाई केही सहायता गर्योो। मानव धर्मले गर्योय हाला।” – प्रणिताले मुस्कुराएर छोरीलाई सुम्सुम्याउँदै भनी।
“होइन, ममी, होइन। उसले त्यसै गरेको होइन। ऊ मलाई माया गर्छ बहिनलिाईजस्तै। ऊ तपाईलाई माया गर्छ कसलाईजस्तो? भन्न सक्दिन तर गर्छ। ऊ तपाईको अतितको प्रतिमूर्ति हो, प्रतिमूर्ति” – वाणीले उत्तेजित भएर भनी।
“कसले भन्यो तँलाई यस्ता कुरा?” -आमाले गम्भीर भएर सोधी।
“ऊ उस्तै छ,। तपाई त्यसलाई नकार्न सक्नुहुन्न। उसले पनि त्यसै भन्छ। हजुरआमा पनि स्वीकार गर्नुहुन्छ। ठीक छ, नहोला उस्तै तर जे भए पनि मलाई माया गर्छ। त्यतिले नै पनि के ऊ हाम्रो हुँदैन र? आफन्त ठहरिदैन र?” – वाणी साँच्चै नै उत्तेजित भई।
“ल ठीक छ, ऊ हाम्रै भएछ रे तर यसले के फरक पार्छ र वाणी? व्यर्थै छुटेर जाँदा एउटा दुख्ने घाउ मात्र थपिन्छ। ” – आमाले छोरीलाई आफूमा टाँसेर भनी।
छोरी आमाको धड्कन सुन्दै जवाफ दिई – “फरक पर्छ, ममी, फरक पर्छ। कमसे कम तपाईलाई, मलाई बिना कुनै साईनो, बिना कुनै स्वार्थ माया गर्ने मानिस त छ। अनि यसले फरक पार्दैन?”
आमा बोलिन। छोरीको कुरामा केही सत्य थियो तर त्यो सत्य यति ढिलो आएको थियो कि उसले मुक्ति पाउने सम्भावना नै थिएन किनकी इतिहास दोहोरिन सक्थ्यो तर पात्र दोहोरिन सक्दैनथ्यो। त्यो अलग अलग हुने थियो। वाणी र शेखरको प्रेम र सदिच्छाले त्यो घाउको पिडा कम हुन सक्थ्यो, घाउ नै मेटिन सक्दैनथ्यो।
वाणी पनि आमाको मुटुको धड्कन सुनेर टाँसिइरही।
सानेले ल्याएको चिया खाएर शेखर ओछ्यानमै पल्टिरहेको थियो। बाहिर चिसो भएको र काम पनि केही नभएकाले ऊ आठ बजेभन्दा अगाडि उठ्ने विचारमा नै थिएन र घडी साढे सात मात्र बजेको थियो। यसै त काठमाडौ चिसो बिहान उठ्न नै मन नलाग्ने। त्यसमा गएराति ऊ ढिलो सुतेको। त्यो दिन शनिबार पनि थियो। सानेले चिया नल्याएको भए त सिरक भित्रबाट टाउको निकाल्ने पनि थिएन। चिया खाईसकेपछि ऊ फेरी गुम्लुङ्ग सिरक ओडेर सुत्यो।
“हजुर ! बाहिर साहेबनीहरू।” – सानेले आएर भन्यो। सानेको आवाजले झस्किएको शेखरले कुहिनो टेकेर उठ्दै सोध्यो – “को साहेबनीहरू?”
सानेले जवाफ दिन नपाउँदै बाहिर वाणीको स्वर सुनियो – “हामी, हामी। को साहेबनी हुन्छ?”
वाणीको स्वर सुनेर शेखर हत्तपत्त उठ्यो हतारहतार कुर्सीका लुगा एक कुनातिर फाल्दै भन्यो – “आऊ न, वाणी, भित्र।”
वाणी र प्रणिता दुबैभित्र पसे। प्रणितालाई देखेर उसले आश्चर्य मान्दै भन्यो – “तपाई पनि?”
प्रणिता मुस्कुराएर भनी – “किन? म आउनु हुन्न र?”
शेखरले हाँस्दै जवाफ दियो – “हैन। मैले त वाणीको स्वर सुने उनी मात्र आएकी भनेर ठानेको थिएँ।”
बाहिरतिर हेर्दै भन्यो – “साने ! चिया ले त।”
वाणीले उठ्दै भनी – “पर्दैन, साने, त्यो चिया सिया। हामी त खानै खाने गरि आएका। म त भान्छातिर लागेँ।”
वाणी बाहिर निस्किई। त्यो देखेर उसले प्रणितालाई हेर्दै भन्यो – “साँच्चै के तपाइहरू खानै खाने गरि आउनुभएको हो?”
प्रणिताले बिस्तारै भनि – “खै त्यसै भन्छे, वाणी।”
“त्यसो भए तपाई यहीँ बस्दै गर्नोस्। म भान्छामा पुगेर आउँछु।” -शेखर उठ्यो।
प्रणिताले केही भन्नुभन्दा अगाडि नै शेखर बाहिर निस्किसकेको थियो। वाणी भान्सामा बट्टा बजार्न थालिसकेकी थिई। उसले भान्सामा पुगेर वाणीलाई भन्यो – “तिमीले चिया दानीमा तीन कप चियाको पानी बसाल त पहिले।”
वाणी पानी भर्न लागी। उसले सानेलाई किनमेल गर्न अराउन थाल्यो। त्यो देखर वाणीले भनी – “केही किन्नु पर्दैन। यहाँ जे छ त्यही पकाएर खाने।”
“तिमी जान्ने हुन पर्दैन। यो भान्सामा पकाउनेसम्म अधिकार पो तिमीलाई दिन्ा सक्छु। मरो पाहुनालाई के खुवाउनुपर्छ, यो भान्सामा के पाक्नुपर्छ भन्ने त मेरो तजबिजको कुरा हो” – उसले सानेलाई बिदा गर्दै भन्यो।
साने गएपछि शेखरले वाणीलाई सोध्यो – “तिमीहरूले कसरी यहँा खान आउने निर्णय गर्यौी त?”
वाणीले ऊतिर नहेरी भनी – “हेर्नोस् न। ममी आजकल जहिले पनि उदास, उदास देखिनुहुन्छ। ‘बाहिर कहीँ जाउँ न त’ भन्दा कही, कसैकोमा पनि जान चाहनुहुन्न। तपाइकोमा आउन ‘नाँइ’ भन्नुभएन। लिएर आएँ।”
वाणीले चिया बनाई र शेखरको हातमा एक कप दिदै भनी – “ममीलाई लगेर दिनोस्।”
शेखर चिया लिएर कोठाभित्र पस्दा प्रणितासही कपडा मिलाएर राखिदिदै थिई। त्यो देखर कप टेबलमा राख्दै भन्यो – “के गरिरहनु भएको एकदिन आउने मानिसले पनि? म अहिले मिलाइहाल्छु नि।”
प्रणिताले हात चलाएर जवाफ दिई – “भान्सा वाणीले ओगटी हाली। मैले पनि त केही गर्नुपर्योि। एक्लै धुम्धुम्ति के गरी बस्नु?”
शेखर मुस्कुरायो। प्रणिता काम छोडेर आई र चिया समाई। शेखरले उसलाई मायालु आँखाले हेर्योा र भन्यो – “तपाई भर्खर बिरामी भएको मानिस। केही गरी रोग बल्भि्कयो भने।”
प्रणिताले कप टेबलमा राख्ोर आँखा छोप्दै कुर्सीमा बसी र भनी – “जनी गर्नोस्। मलाई त्यस्तो आँखाले नहेर्नोस्। कष्ट हुन्छ मलाई सहन।”
त्यो देखेर शेखर उसको नजिकै गयो र आफ्ना दुवै हातसही काँधमा राखेर भन्यो – “प्रणिता ! त्यो तिम्रो अतित के हो? मलाई थाहा छैन तर जुन कुरा अब वाणीबाट पनि गोप्य छैन। त्यसलाई लुकाउछ्यौ कति?”
प्रणिता केही बोलिन। केवल उसको हात समाएर बसिरही। त्यो देखेर शेखरले भन्यो – “तिमी बिश्राम गर। हामी पकाएर खुवाउछौँ तिमीलाई।”
प्रणिताले आज्ञाकारी बालकले झैँ मुन्टो हल्लाई।
शेखर भान्सामा पसेपछि वाणीले उसलाई चिया दिदै भनी – “देख्नुभयो, दाई, मेरी आमाको हालत? त्यो पहाडजस्तो दृढता भएकी स्वास्नीमानिस कसरी केही नभएको मांसपिण्डजस्तो हुन पुगिन्? बर्षौँ मृत्युसँग जुधिरहने मानिस कसरी आत्महत्या झुकावतिर गइन्? कसरी? कहाँ गयो उनको दृढता? कहाँ गयो उनको संघर्ष शक्ति? अब त मैले डोर्या एर हिँड्नुपर्छ उनीलाई बालकलाईजस्तै। किन यो सब एकैचोटी हुनुपर्यो??”
शेखरले चियाको कप भुइँमा राख्दै भन्यो – “वाणी ! तिम्रो आमाको समस्या पहिले पनि थियो तर पहिले तिम्रो निम्ति, केबल तिम्रो निम्ति, आफूलाई ठड्याएर राखेकी थिइन्। जब उनीलाई थाहा भयो कि तिमी उनी बिना पनि बाँच्न सक्छ्यौ, उनको बाँच्नुको लक्ष्य टुंगियो र उनी ढलिन्। लक्ष्यमा पुगेपछि त गोली लागेको सिपाही पनि ढल्छ।”
“त्यो ढल्नुमा तपाईको उपस्थिति पनि त्यति नै कारक छ।” – वाणीले भन्न चुकिन।
“हो मेरो उपस्थितिले त्यो प्रकृयालाई छिटो गरिदियो। तिमीलाई स्वतन्त्रता पनि मेरै हस्तक्षेपले दियो र तिम्री आमाको त्यो अतितलाई मेरो अनुहारले सजिव बनाईदियो। मेरो भनाइ यति नै हो।” – शेखरले भनाइ राख्यो।
“तपाईको रूप कोही कसैसँग मिल्नु तपाईको दोष होइन। त्यो त केबल संयोग मात्र हो तर मेरी आमाले तपाईलाइ देखेपछि आफ्नो सन्तुलन हराउन थालिन् र संयम पनि रहेन। कसले के भन्ला भनेर चिन्ता पनि लिन छोडिन्। तपाईको आगमन र मेरो बहिर्गमन पनि संयोग मात्रै हुन्। उनी असन्तुलित हुने स्थितिमा पुग्नै लागेकी थिइन् र संयोगले धक्का मात्र दिएको हो।” -वाणीले भनी।
“हुन सक्छ त्यो पनि।” – शेखरले विवाद गरेन।
“आज तपाई यो घरमा बसेको देखेर मलाई अचम्म लाग्यो। भन्नोस् त तपाई कसरी आउनु भयो यो घरमा?” – वाणीले अर्को कुरा थाली।
“रियल स्टेट एजेन्टले खोजिदियो यो घर तर उसलाई मैंले भनेको थिइनँ। उसले कहींबाट थाहा पायो।”
“घर धनी चिन्नु भएको छ?”
“छैन त्यो पनि । घर धनी चिन्न खोज्दा एजेण्टले केवल बैंक खाता नम्बर दियो, सिद्धियो। तर भाडा भने अचम्म सस्तो छ। त्यसैले घरपट्टीले निकाल्छन् कि भन्ने डर।” “निकाल्छन् कि भनेर तपाईले चिन्तै लिनु पर्दैन। तपाई जिन्दगीभर यो घरमा बसे पनि तपाईलाई निकाल्दैनन्। म यो घरमा अगाडि धेरै चोटी आइसकेकी छु र घर धनीलाई पनि मैंले नजिकैबाट चिनेकी छु।”
“संयोग कस्तो त हेर न। तिमीले चिनेकै मानिसको घरमा डेरा गर्न आइपुगेछु। त्यस्तो पनि हुँदो रहेछ।”
“यो संयोग होइन, शेखर दाइ, संयोग होइन। तपाईलाई डोहोर्याघइ डोहोर्यांइ हुलिएको हो। यस्तै रह्यो भने एक दिन तपाईको बैंक खातामा त्यो तपाईले तिरेको भाडाको रकम पनि फिर्ता भएर जम्मा हुन आउने छ। तपाईसँग यो भाडा लिइएको पनि तपाई सित्तैमा नबस्नुहोला भनेर मात्रै हो।”
“म पनि चिन्छु त्यो घर धनीलाई?”
“चिन्नु हुन्छ तपाई पनि , किन नचिन्नु। यो मेरी आमाको घर हो।”
“प्रणिताको?”- आश्चर्य मान्यो शेखरले।
“हो मेरी आमा प्रणिताको। बाजेले आफ्नी छोरीको नाममा गरिदिएको यो घर तपाईलाई देखेपछि आफ्नो अधिकारमा लिइन् र तपाईलाई दिइन्। एकपल्ट उनले गुमाइ सकेकी थिइन् र दोश्रो पटक गुमाउन उनी सक्दिनथिइन्।”
“वाणी ! तिमीले यी सब कुरा कसरी थाहा पायौं?”
“तपाईले भन्नु भएको थियो नि ‘वाणी ! अब तिमी ठूली भईसक्यौ। जे परे पनि बेहोर्नु पर्ने र बेहोर्न सक्ने।’ त्यही एक वाक्यले मलाई वयस्क बनाई दियो। केही सेकेण्डमा नै म केटाकेटीबाट तरुनी हुन बाध्य भएँ।
खाना पाक्दै गयो। उनीहरूका कुरा पनि प्रशङ्गका हुँदै गए। करिव एक घण्टापछि शेखरले भन्यो – “तिम्री ममी के गर्दै हुनुहुन्छ हेरे आउ त, वाणी।”
वाणी गई र केही छिनपछि मुस्कुराउँदै फर्की। त्यो देखेर शेखरले सोध्यो – “के गर्दै हुनुहुन्छ?”
वाणीले जवाफ दिई – “तपाईको पलङमा यसरी निदाउनु भएको छ मानौं त्यो आफ्नै पलङ हो।”
“ए, खोल, तन्ना फेर्नु पर्ने थियो।” – शेखरले वाणीको मुस्कानपिट्ट ध्यान न दिएर भन्यो।
वाणीले भनी – “त्यो तपाईले भन्नै पर्दैन। वहाँलाई थाहा छ तपाईको के कहाँ छ भन्ने कुरा र त्यो तपाईको निकाल्नु पर्ने तन्ना खोल बदली सक्नु भएको छ।”
शेखर बोलेन। एक दिनपछि वाणीले भनी – “शेखर दाई ! मैंले कति दिनपछि मेरी आमालाई निर्धक्क निदाएकी देखे। नत्र त वहाँलाई निन्द्रामा पनि त्राश छ, केही हराउनु पर्ला भन्ने त्राश। वहाँलाई विश्वास छ त्यो पक्कै हराउनु पर्नेछ भनेर। त्यसैले त्यो हराउनु पर्ने पीडा भोग्नुभन्दा पहिले नै आफूलाई मार्न खोज्नु हुन्छ वहाँ।”
वाणी रुन थाली। उसले रुन रोकेन। निकै बेर रोएर वाणी शान्त भएपछि भन्यो – “मैंले के गरि दिनु पर्योभ, वाणी, त्यसोभए?”
वाणीले आँखाबाट आशु झार्दै भनी – “जुन आइमाईका जन्म दिने आमाबाबुले सुख खोसेर लिए, जसको लोग्नेले सुख दिन सकेन र जसकी छोरीले सुख दिन सकेकी छैन ‘त्यही स्वास्नीमानिसको निम्ति आफ्नो जीवन, आफ्नो भविष्य वलिदान गर्नोस्’ भनेर तपाईलाई भन्न म सक्दिनँ। तपाईले वलिदान गर्नु पर्ने आवश्यकता पनि छैन। जसलाई आफन्तहरूले नै नष्ट गरे उसको भविष्य तपाई बनाउन सक्नु हुन्न। खालि जति दिन तपाई यहाँ बस्नु हुन्छ मेरी आमाको खुशीको निम्ति अभिनय गरि दिनोस्। अब ढलि सक्नुभएको छ वहाँ। धेरै टिक्नु पनि हुन्न।”
वाणीले आँशु पुछी। दश बजेतिर खाना तयार भयो तर प्रणिता सुति नै रहेकीले ऊ उठुन्जेल कुर्ने निधो गरेर बाहिर घाममा निस्किए।
एघार बजेतिर प्रणिता उठी र सबैले खाना खाए। दिउँसो खाजा पनि वाणी र शेखरले नै बनाए। दिनभर हाँस खेल गरेर बिताएपछि साँझ पर्ने बेलामा शेखरलाई निम्ता दिएर आमाछोरी घर फर्के।
वाणीको दिनचर्यामा त्यति फरक आएको थिएन। ऊ सधै बिहान बाबुसँग घुम्न जान्थी। ऊसँगै बाजे कहाँ या अरू कसैसँगै बाबुसाथ पस्दथी, आउँथी, खाजा खान्थी क्याम्पस जान्थी। बेलुका अत्यावश्यक काम परे बाहिर निस्कन्थी। २।४ चिज भने उसमा बदलिएको थियो। ऊ पहिलेजस्तो चुलबुल नभएर गम्भीर भएकी थिई। पहिले बाहिर बाटै ‘म गएँ है’ ममीभन्दा हुन्थ्यो भने अब आमाको कोठामा पसेर आमाको गालामा चुम्मा खाएर ‘म छिटै आउँछु है, ममी’ भनेर निस्कन्थी। पहिले उसकोे धेरैजसो समय बाबु भए बाबुकहाँ या आफ्नो कोठामा या साथी संगिनीकोमा बित्दथ्यो भने अब धेरैजसो समय आमाको कोठामा नै बसेर बिताउथी।
सधैंको झैं बिहान घुम्दै बाबुसँग वाणी बाजे बजैकोमा पुगी र दुवैलाई चियापानले सत्कार गरियो। कुराको प्रशङ्ग धेरै भए तर वाणीले त्यसमा सधैंजस्तै विशेष भाग लिइन। बाबु र बाजेका विषयबस्तु यति गहिरा र अनावश्यक हुन्थे कि वाणीलाई त्यसमा भाग लिन इच्छा हुन्नथ्यो। त्यसैले ऊ उनीहरूको कुरामा २।४ हल्का टिप्पणी गर्नु बाहेक अरू केही गरिन। उनीहरूको त्यो गहनतम छलफलमा भाग लिनुकोसट्टा बाजेले जतनसाथ बनाएको बगैंचा निरिक्षण गर्न थाली।
धेरैजसो फूलहरू सबै बगैंचामा हुनेजस्तै समान्य नै थिए। बाजेले गर्व गर्न सक्ने त उनको गुलावको फूलको बगैंचा थियो। जहाँ रङ्गीविरङ्गी, साना ठूला फूलहरू थिए। फूल देखेर वाणीको मन आनन्दित भयो र ऊ सबै नियाली नियाली हेर्दै घुम्न थाली। एक्कासी उसले सुन्दरतम फूल देखि। गुलावी पत्ताहरूमा वैजनी छाया परेको त्यो फूल रानीहरू बीचकी रानी थिई। उसले छोएर हेरी र त्यसको नरमपना अनुभव गरी।
“मेरी उदास ममी यो फूल देखेर कति मुस्कुराउलिन्।” – उसले मनमनै सोची र बजैतिर हेरेर कराई – “हजुरआमा ! म ममीलाई यो निलो फूल ममीलाई लगिदिन्छु है?” नातिनीको स्वर सुनेर त्यता हेर्दै बाजे कराए – “ए ! ए ! त्यो फूल नटिप्। त्यति एउटा छ त्यो हुन्न।”
वाणीले समाई सकेको छोडि दिई। ऊ उदास भई र उसलाई रोऊँ रोऊँजस्तो लाग्यो तर उसले आँशु पचाई।
लोग्नेको व्यवहार बजैलाई मन परेन। उसले त्यसको विरोध गर्दै भनी – “नातिनीले जाबो एउटा फूल आमाको निम्ति टिप्छुभन्दा पनि किन ‘हुन्न’ भन्नु? तपाईका बगैंचामा अरू फूल फुल्दैनन्?”
“हैन। त्यो एउटा मात्रै हो। अरू टिपे त भइहाल्छ नि।” – बाजेले विरोध जनाए।
“हैन। तपाईका छोरी कति छन्? र नातिनी कति छन् तपाईका फूल टिपेर बगैंचा नै खालि गर्ने?” – बुढिया रन्किइन्।
बुढालाई थाहा थियो बुढिया साँचै रिसाएको कस्तो हुन्छ र रिसाएको नक्कल पारेको कस्तो? यस पालि बुढिया साँच्चै रिसाएकी भन्ने बुझेर बुढा चुप भए। त्यो स्थिति देखेर जुवाईले भन्यो – “भई हाल्यो नि, हजुर। जाबो फूलको कुरा त हो नि।”
बुढियाले चित्त दुखाएर भनिन् – “तपाई हाम्रो निम्ति पो त्यो जाबो फूल भयो त। उसलाई त त्यो फूल बीरामी आमाको निम्ति कोशेली हुने थियो।”
“देऊ न त्यसोभए।” – बाजेले हार्योी।
“बजैले लामो सास फेरेर भनिन् – “त्यसको बानी थाहा छदैछ नि। लाग्नु चोट लागि हाल्यो। अब दिएर त्यो लिन्न। बरु त्यसको जन्म दिन आउँदै छ क्या रे। त्यो कसरी मनाई दिने। ऊसँग कुरा गर्नोस्। तपाईहरूलाई त यस्ता कुरा पनि सम्झाउनु पर्छ।”
“यस पाली वीस बर्ष पुग्छे। भव्यताकासाथ मनाई दिने।”
“कति दिन बाँकी छ?” – बाजेले बाबुतिर हेर्यो ।
“भइ हाल्छ नि हजुर। एक हप्ता जति बाँकी नै छ।” – रोशनसिंहले स्वीकृति जनायो।
“ठूलै भोज दिने। सबैलाई निम्ता दिने।” – बजैले भनिन्।
“राम्रै होटलमा दिने नि। राम्रै दिनु परेपछि।” – रोशनसिंहले भन्यो।
वाणी घुम्दै आइपुगी र भनी – “अब जाने होइन, डैडी?”
बाबुले न बोल्दै बजैले भनिन् – “डैडी, हजुरबाले तिमी वीस बर्ष पुगेको उपल73यमा यसपाली तिम्रो जन्म दिवस ठूलै होटलमा मनाउरे। ल, तिमी होटल रोजिहाल, मैंयाँ।”
वाणीले आश्चर्य चकित भएर बाबु, बाजेको मुख हेरी। बाबुले भन्यो – “हो, वाणी। तिमीले दुई दशक पुरा गरिसक्यौ।”
“कहीं भए पनि के फरक पर्छ र?” – वाणीले फिस्स हाँसेर भनी।
“त्यसो भए त्यो दिन पक्का?” – बजैले सोधिन्।
“जन्म दिनको दिन त म भोजमा आउन फुर्सद पाउँदिन। अरू दिन गरे ठीकै छ, म आउँछु।” – वाणीले आफ्नो बाध्यता जनाई।
वाणीले त्यस किसिमले भनी मानौं बाबु, बाजे, बजैले आफ्नो निम्ति भोज गर्दैछन् र वाणी उनीहरूको लागि आइ दिनु पर्ने थियो।
“त्यो दिन किन फुर्सद हुन्न नि?” – बाबुले ऊतिर हेरेर सोध्यो।
वाणीले मुस्कुराएर जवाफ दिई – “डैडी, त्यो दिन त अरू कै निम्ति बुकिङ छ र इन्द्राशन नै पाए पनि त्यो बुकिङ काट्न मिल्दैन।”
“को हो नि त्यो?” – यसपालि बाजेले सोधे।
वाणीले लामो सास फेरेर भनी – “उमेर पुगेकी तरुनी छोरी, नातिनीलाई बाबु बाजेले यसरी खेर्नु त नहुने हो तर सोध्नै हुन्छ त भन्नै पर्योर। त्यो मेरो व्वाय फ्रेण्ड पनि हुन सक्छ या यस्तै मानिस जसको साथमा हुँदा बाबु, बाजे या बजैको उपस्थिति अमान्य असजिलो हुन्छ।”
वाणीलेबिनाकुनै हिचकिचावट भनेकी थिई। त्यो देखेर बजैले भनिन् – “भई हाल्यो नि त्यसोभए। अर्को दिन मनाउने जन्म दिवस।”
बाबु बाजेले बुझे। वाणी उनीहरूबाट धेरै टाढा पुगिसकेकी थिई र त्यो नाता पनि केवल मर्यादावश राखेकी थिई।
वाणी घर फर्कदा प्रणिता बाहिर कुर्सीमा बसिरहेकी थिई। रोशन सिंहले नजिकै गएर भन्यो – “सञ्चै छ त होइन तिमीलाई?”
प्रणिताले ओठमा फिका मुस्कान ल्याएर भनी – “ठीकै नै छ। आज तपाईहरू टाढै पुग्नु भयो कि के हो?” व रोशनसिंहले जवाफ दियो – “हैन, सधैंको जति नै हो।”
उसले ‘तिम्रो माइती सम्म’ भनेर प्रणिताले सुन्न नचाहने उत्तर भनेन।
रोशनसिंह गएपछि वाणी आमाको छेउमा कुर्सी ल्याएर बसी र नबोली बसिरही। त्यो देखेर प्रणिताले मुस्कुराएर भनी – “के भयो मेरी पुतललीलाई आज?”
वाणीले अँध्यारो मुख लाएर आमालाई भनी – “ममी ! के हाम्रो हजुरबा मानिस निर्दयी नै हो?”
प्रणिताले वाणीलाई हेर्दै भनी – “तिमीले किन सोधेकी हौ, वाणी? त्यो मलाई थाहा छैन तर मेरो बुबालाई चिनेसम्म वहाँ निर्दयी होइन, हठी हो र हठी मानिसहरू आफ्नो हठ पुरा गर्दा निर्दयी पनि बन्छन्।”
“के हो हठ भनेको त्यसोभए? त्यसलाई कसरी परिभाषा गर्नु?” – वाणीले सोधी।
प्रणिताले लामो सास फेरी र वाणीलाई नियालेर हेरी र भन्न थाली – “म आफै त भन्न सक्दिन हठ र निर्दयतामा कति फरक छ भनेर तर तिमीलाई एउटा कथा सुनाउछु, त्यसैबाट तिमी निर्णय गर।
वाणी आमाको मुख हेरे बसी। प्रणिता भन्न थाली।
“एका देशमा उहिले उहिले एउटा राजा थिए। राजाको ठूलो राज्य थियो, हिरा जुहारत, मोती माणिक्य सुन चाँदीको लेखा जोखा थिएन। राजालाई भाइ, भारदार, प्रजा त के वरपरका राजा रजौटाले पनि सम्मान गर्थे। धन र शक्ति पर्याप्त भएकोले राजालाई मद चडेको थियो र मदले हठ सिर्जना गरेको थियो। आफूसँग सबै झुक्नु पर्छ र आफ्नो कुरा पुग्नुपर्छ भन्ने हठ थियो राजाको। राजाकी एउटी मात्र छोरी थिइन। राज्यको उत्तराधिकारी राजकुमारी। राजा उसलाई असाध्यै माया गर्थे। राजकुमारीको निम्ति राजाले सब कुरा पुर्यासएका थिए। राजकुमारी खुशी थिइन्।
राजकुमारी सोर्हक बर्ष लागेपछि एक दिन उनी आफ्नो बगैंचामा एक्लै पूर्णिमाको जुनमा घुमिरहेकी थिइन्। त्यही समयमा वायु पंखी घोडा चडेर, हातमा तरवार झल्काउँदै एउटा तन्देरी विश्राम गर्न त्यही बगैंचामा आइ पुग्यो। राजकुमारी उसलाई देखेर मोहित भईन् र ऊ पनि राजकुमारीलाई देखेर मोहित भयो। यसैलाई प्रेम पनि भन्छन् क्या रे। राजकुमारी सधैं लुकीलुकी त्यो बगैंचामा आउँथिन् र त्यो तन्देरी त्यही वायुपंखी घोडामा सधैं आउँथ्यो। उसले राजकुमारीलाई राजकुमारी भनेर चिनेन र राजकुमारीले पनि उसलाई ‘तिमी को हौ?’ भनेर सोधिनन्। प्रेम मानिसको हृदयबाट हृदयसँग गरिने हुनाले सोध्न आवश्यकता पनि पर्दैन।
एक दिन तन्देरीले राजकुमारीको हातमा एउटा मोति राख्दै भन्यो – “हामी भेट भएजस्तै विछोड पनि हुन सक्छौं। त्यसैले तिमी यो अमृत मोति चिनो राखिछाडे।” कसैले उनीहरूलाई देख्यो र राजालाई झोसपोल लगाइदियो। त्यो थाहा पाएर राजाले तन्देरीलाई सोधे – “राजकुमारीसँग बिहे गर्न तिम्रो राज्य छ? तिम्रो धन छ? राज्य शक्ति छ?”
“त्यो त मसँग छैन। मसँग त मनजस्तो वायुपंखी घोडा छ, पाखुराजस्तो तरवार छ। त्यतिले त म संसार जित्न सक्छु। राजकुमारीलाई सुखी राख्न सक्छु।” तर त्यतिले राजालाई पुगेन। उनीलाई त राज्य नै चाहिन्थ्यो र राजकुमार नै चाहिन्थ्यो। त्यसैले उनीले त्यो तन्देरीलाई एउटा काल कोठेरीमा हालि दिए। राजकुमारी रोइन्, चिच्याइन् तर राजाले उनीलाई अर्कै राजकुमारको गलामा बरमाला पैराउन लगाए।
“त्यसपछि?” – वाणीले उत्सुकता देखाई।
“त्यो काल कोठरीबाट आउने क्रन्दन राजकुमारीले प्रत्येक रात सुन्थिन् र प्रत्येक रात मर्दै बाँच्ने गर्थिन्। आखिर त्यो क्रन्दन पनि एक दिन बन्द भयो र राजकुमारीले आफूलाई लाश सरह पसारेर हिडिरहिन्। उनको साथमा त्यो मोति नहुँदो हो त राजुकुमारी मरिसक्ने थिइन्। त्यो निशानी हेरेर उनी बाचिरहिन्। आफ्ना बाबुलाई उनले भनिदिइन – “बुबा ! मैंले जीवनको मोति पाएकी छु। त्यसैले राज्य र वैभव मलाई चाहिदैन। समय रोकेर रोकिदैन र काल टारेर टारिदैन। एक दिन सधै सुख, वैभव र जय भोगेर बसेका राज्यको अगाडि पनि काल आएर उभियो। राजवैद्यले भने – “सरकार ! राजकुमारीसँग भएको अमृत मोति फोरेर खाए यो काल टर्दछ। तर महाराज ! त्यो दुख र पीडाको मोति हो र त्यो खाएपछि सधैं दुख, पीडा र पश्चाताप सहेर बाच्नुपर्छ।” तर राजा राजा हो उनीले त्यो मोती खाएर नै छाडे।”
प्रणिता चुप लागी। त्यो देखेर वाणीले सानो केटाकेटीले उत्सुकताकासाथ सोधी – “राजा बाँचे त, ममी?”
“बाँचे, वाणी, बाचे यदि त्यसलाई बाँच्नु भन्छन् भने। छोरीको जम्मै आयु बाबुमा सरेर गयो।” – प्रणिताले शुन्यमा हेरेर भनी।
“अनि राजकुमारी मरिन् त?” – वाणी आत्तिदै भनी।
“मरिन्, बाबा, मरिन् यदि एउटा लाश चल्न छोड्दा मरेको ठहर्छ भने।” – प्रणिताले त्यसरी नै भनी। वाणी आमाको काखमा मुख गाडेर रोई।
रेष्टुँराको एउटा कुनाको टेवलमा मैन बत्तिको मधुरो उज्यालो अनि आमाले छोरीको चिरायुको निम्ति निधारमा म्वाइँ खाई र शेखरले साक्षी भएर ताली बजायो। त्यो म्वाइँ र ताली वाणीलाई स्वर्गको राज्यभन्दा पनि ठूलो लाग्यो र विश्वका सबैभन्दा सुखी ठानी आफूलाई।
“ल, अब केक काट न त। मलाई त मुख मिठो नपारुन्जेलसम्म त जन्म दिवस मनाएजस्तो पनि लाग्दैन।” – शेखरले वाणीलाई छुरी दिंदै भन्यो।
वाणीले केक काटी र पहिलो टुक्रा आमाको मुखमा राखिदिई। मुखभन्दा ठूलो टुक्रा परेर बोल्न नपाएकी प्रणितालाई हेर्दै शेखर हाँस्यो र भन्यो – “वाह ! मैंया ! क्या टालिदियौ तिमीले ममीको मुख। अब हामीले जति खाए पनि ममीले केही भन्न सक्नु हुने छैन।”
वाणी पनि हाँसेर शेखरको प्लेटमा केकको टुक्रा राखिदिई र आफ्नो प्लेटमा राखी। तीनै जना खुशी थिए। चिसो र केक खाइसकेपछि बटेवलमा खाना आउन लाग्यो। प्रणिता भाग लगाउँदै गई।
खाँदा खाँदै वाणीले भनी – “हामी पहिले नै भेटेका भए कस्तो आनन्द हुने रहेछ हो कि?”
शेखरले जवाफ दियो – “यो भेट भन्ने कुरा पनि मौकाको कुरा हो।”
“यो भेट हुनुभन्दा न हुनु वेश, वाणी। भेट हुनुको सुखभन्दा विछोड हुनको पीडा धेरै हुन्छ।” – प्रणिताले राय दिई।
“सधै यस्तै हुन्छ र?” – शेखरले शङ्का उठायो।
“सधै यस्तै हुन्छ, शेखर बाबु। सधैं यस्तै हुन्छ। भेट नभएर नछुट्ने कहिले पनि हुँदैन। त्यसमा पनि अनिच्छाको विछोड त अकथनिय पीडादायक हुन्छ। प्रणिताले जवाफ दिई। “तर विछोड हुनु पनि त भेट हुन कै निम्ति होला नि त, ममी?” – वाणीले सोधी।
“हैन वाणी। प्रत्येक मिलनको अन्त्य नै विछोड हो तर प्रत्येक विछोडपछि मिलन आउँछ भन्ने केही छैन। विछोड विछोड मै अन्त्य हुन सक्छ। जति किरिया खाचा खाए पनि भेट न हुन सक्छ।” – प्रणिताले भनी।
“झन कुर्नु पर्योच भने त?” – वाणीले जिरिङ्ग गरी
“अन्तिम विछोड मृत्यु हो तर त्यो नआउन्जेल त कुर्नै पर्छ। कुर्न त केही आशा भएर कुरिन्छ र आशाले सञ्जिवनीको काम गर्छ। प्रत्येक बेलुका बिहान उज्यालो हुन्छ भनेर निदाइन्छ। हुन त कसैले त्यो उज्यालो देख्न नभ्याउन सक्छ तैपनि मानिस कुर्छ। जीवन र मृत्यु त एक अर्कासँग जोडिएर बसेका छन् तर निराश भएर मृत्युलाई कुर्नु, वाणी, त्यति सजिलो छैन। त्यसमा पनि एक्लो भएर मृत्यु कुर्नु भनेको त अनन्त साँगरमा रित्तो मानिसले बाँच्न प्रयास गर्नुजस्तै हो -पीडादायक निस्फल प्रयास।” – प्रणिताले आफ्नो प्लेटमा नै हेरिरहेर भनी।
“जसको अन्त्य छैन त्यसलाई कुर्नु हुँदैन र जो प्राप्त हुन सक्छ त्यसैलाई प्रयास गर्नुपर्छ। यो जीवनको व्यवहारिकता हो।” – शेखरले सम्झायो।
“व्यवहारिकता त मस्तिष्कले हेर्छ, हृदयले हेर्दैन। हृदय त अन्धो हुन्छ, त्यसैले रूप, रङ उमेर हेरिरहँदैन उसले। यो बहिरो छ त्यसैले अर्काको बोली सुन्दैन। यो ग्वाँजो छ, त्यसैले व्यवहारिक तर्क जान्दैन। यो त अर्को हृदयको स्पन्दन मात्र अनुभव गर्न सक्छ। त्यही स्पन्दन उसको अहम् हो, आकांक्षा हो र प्रतिक्षा हो। अनन्त भए पनि त्यो स्पन्दनलाई कुर्छ र कुर्दा कुर्दै मेटिएर पनि जान्छ।” – प्रणिताको स्वर कहीं शुन्यबाट आएजस्तो सुनियो।
त्यो सुनेर वाणीले आमातिर हेर्दै रुन्चे स्वरले भनी – “ममी ! तपाईलाई के भयो? त्यस्ता कुरा नगर्नु न।”
छोरीको अनुरोध सुनेर प्रणिता आफ्नो धरातलमा ओर्ली र छोरीतिर मुस्कुराएर भनी – “म कल्पनामा बग्न पुगीछु। विवाद भनेको कुरा पनि यस्तै हो।”
फेरी शेखरतिर फर्केर भनी – “मैंले भने नि भेट्नु छुट्नुको ठेगान हुँदैन। बाँच्नु मर्नु पनि त्यस्तै हो। हामी तीन जनामध्ये भोलि को हुँदैनौं के थाहा? तर तपाईहरू दुई जना जवान भएकोले मेरोभन्दा तपाईहरूको रहिरहने सम्भावना बढी छ। त्यसैले कथम्कदाचित् म भइँन भने तपाईले मेरो एउटा काम गरिदिनोस्।”
“भन्नोस् न के गर्नु पर्ने हो? म गर्न तयार छु। – ” – शेखरले आफ्नो स्वीकृति दियो।
प्रणिताले एक छिन थामिएर भनी – “तपाईले वाणीलाई बहिनी मानिसक्नुभयो त्यसैले तपाई जस्ता मानिस त्यो नाता तोडेर उसँग बिहे गर्न त सक्दैनन्। त्यसैले त्यो अनुरोध त म गर्न सक्दिन तर एउटा दाजुका नाताले बहिनीको संरक्षण गरिदिनु होला।”
“ममी !” – वाणीले रुन्चे स्वरमा भनी।
“तपाई नै हुनुहुने छ। तपाई नभए पनि बाबु, बाजे, बजै छन्। त्यत्रो पीर गर्नु पर्दैन नि। कतै नभए म त यसै छदैछु।” – शेखर शान्त्वना दिन खोज्यो।
“छन् उनीहरू तर उनीहरू भौतिकवादीहरू हुन्। भौतिक उपलव्धिलाई सुख मान्छन् उनीहरू। उनीहरूको शब्दकोशमा ‘मानसिकसुख’ भनिने शब्द छैन र त्यो भौतिक उपलव्धिको लागि वाणीको मानसिक सुख लत्याई दिन सक्तछन्। म मेरी छोरीलाई मेरो कथा दोहोर्यानउन लगाउन चाहन्न। त्यसैले तपाई परि आउँदा उसको ढाल बनेर रक्षा गरिदिनोस् र वाणी जस्तो जीवन बाँच्न चाहन्छे त्यही जीवन बाँच्न दिनोस्। आजको दिनमा हामी दुई जनाकोतर्फबाट वाणीलाई उपहार यही हुनेछ।” – प्रणिताले शेखरको मुख हेरी। शेरखरले वाणीको मुख हेरेर भन्यो – “ल वाणी ! हाम्रोतर्फबाट तिमीलाई उपहार यही भयो ममी र मेरोतर्फबाट।”
वाणीले प्रणीता र शेखर दुबैको हात लिएर रुदै म्वाइँ खाई।
हल मानिसहरूले खचाखच भरिएको्क थिाये। वाणीसँग शुभकामना र उपहार थुप्रो भयो। ऊ खुशी थिई प्रसन्न थिई। उसका बाबु, बाजे, बजैलाई वाणी समयमा आइपुग्दिन कि भन्ने डर थियो तर ऊ समयभन्दा अगाडि नै आइपुगी र अतिथिहरूको स्वागतमा उभिई। आमा आउन नसकेकोले उसले नआउन पनि खोजेकी थिई तर आमाले भनी – “वाणी ! मलाई के भएको छ र? अलिअलि असजिलो भएको हो, एकै छिनमा ठीक हुन्छ। त्यसैले जाऊ तिमी। बरु चाँडै फर्कनु।”
बाबु बाजेले शेखरलाई सम्झेनन् र उसले पनि सम्झाइरहिन। एउटा शेखरको कमीले भोजमा केही फरक पर्ने थिएन।
जन्म दिवस उसको थियो। सिंगारिएर आएका अरू थिए। आफ्नो रूप र आफ्नो वैभव अरूलाई देखाउन थियो। एकातिर टेवलमा खाना सजिएको थियो अर्कोतिरबाट पेय आइरहेको थियो। कसले जे चाह्यो, त्यही लियो, त्यही पियो। वाणी प्रत्येक आउनेलाई मुस्कुराएर धन्यवाद दिइरहेकी थिई। यति ठूलो भोज उसको निम्ति बाबुु बाजेले पहिलो पटक गरेकोले उसलाई पनि आनन्द आइरहेको थियो। आखिर प्रशंसा र सन्मान शत्रुले गरेको त राम्रो हुन्छ भने बाबु बाजेले जुटाई दिएकोमा त झन् हुने नै भयो।
भोजको मध्यतिर पुगेको थियो। बेयराले आएर वाणीलाई टेलिफोन आएको सूचना दियो। वाणी गएर टेलिफोन उठाएपछि शेखरले भन्यो – “वाणी ! ममीलाई अस्पतालमा ल्याएको छ। तिमी इमर्जेन्सी वार्डमा आऊ।”
वाणीले केवल आमाको अनुहार सम्झी, अरू सबै बिर्सी। उसलाई जन्मदिवसमा सयौं पाहुना खाँदैछन् भन्ने वास्ता पनि भएन। ऊ हावा झै बाहिर निस्की र पहिलो ट्याक्सी समाएर अस्पताल पुगी।
आकस्मिक कक्षमा प्रणिता बेहोस थिई। शेखर उसको सिरान छेउमा उभिएको थियो। डाक्टर, नर्सहरू बीरामीको सेवामा व्यस्त थिए। वाणी हुत्तिदै गएर शेखरलाई समाएर सोधी – “के भयो ममीलाई?”
शेखरले वाणीलाई अँगालेर माया गर्दै भन्यो – “स्ट्रोक भयो भन्ने भनाई छ। सानेले मलाई समाचार दिएर म आउँदा बेहोस हुनुहुन्थ्यो।”
वाणीले डाक्टरतिर हेरेर रुदै भनी – “डाक्टर साहेब ! मेरी आमालाई बचाउनोस्। जति पैसा लाग्छ भने पनि बचाउनोस्।”
“हेर्नोस वहाँलाई आइ.सि.यू.मा राखि दिन्छौं। भोलि सम्मको प्रगति हेरौं।” – डाक्टरले जवाफ दियो।
वाणी आमालाई लिएर आइ.सि.यू.मा गएपछि शेखरले डाक्टरलाई सोध्यो – “विरामीको हालत कस्तो छ , डाक्टर साहेब?”
डाक्टरले मुख हेर्दै जवाफ दियो – “हेर्नोस्। दुईवटा स्ट्रोक त उहिले नै भइसकेको रहेछ। त्यसैले सम्भावना एकदम कम छ।”
‘त्यसो भए उनलाई थाहा थियो म मर्दैछु भनेर।’ – शेखरले मनमनै सोच्यो र आइ.सि.यू.तिर लाग्यो।
आइ.सि.यु. को काहिर वाणी रोइरहेकी थिई। शेखरले उसलाई समाएर बाहिरको बेन्चमा बसाल्यो र भन्यो – “आफूलाई सम्हाल वाणी। आफ्नो शारीरिक स्थितिबारे तिम्री ममीलाई पहिले नै थाहा रहेछ र म तिमीलाई ढाँट्न चाहन्नँ। उनी सिकिस्त बिरामी छन् र बाँच्ने सम्भावना कमै छ भन्छन् डाक्टरहरू।”
एकाएक डाक्टर नर्सहरूको चहलपहल सुरु भयो। र त्यो चहलपहल पन्द्रह मिनटजति चलेपछि नर्सले ढोकामा आए सोधी – “प्रणिता सिंहको मानिस कोही भित्र आउनोस्।”
शेखर र वाणी दुवैभित्र पसे। उनीहरूलाई देखेर डाक्टरले भन्यो – “हेर्नोस्। हामीले सक्दो प्रयास गर्यौं तर भगवानको अगाडि हाम्रो केही लागेन।”
वाणीले डाँको छोडेर रुन खोजी र शेखरले उसलाई रोक्दै भन्यो – “जसले तिम्रो लागि वीस बर्ष मृत्यु पन्साएर बस्यो उसको मृत्युमा तिमी नरोऊ। अरू बाँच्नु त उसलाई सजाय हुने थियो। आऊ। आमाको मुख हेर पछिल्लो पटक।”
वाणीले अनुहारबाट कपडा उठाई, केही बेरसम्म त्यो शान्त अनुहार हेरी र एक पल्ट निधारमा म्वाई खाएर अनुहार छोपिदिई।
शेखर र वाणी अस्पतालको गेटबाट बाहिर निस्कँदा वाणीका बाबु, बाजे, बजै मोटरबाट बाहिर निस्के र बजैले दौडदै आएर वाणीलाई सोधिन् – “कस्तो छ प्रणितालाई?”
वाणीले अप्ठ्यारो मुस्कुराहट मुखमा ल्याएर चोरऔंलो ओठमा राख्दै साउती स्वरमा भनी – “स्स ! हल्ला नगर्नोस्। ममी सुतेकी छ। निन्द्रा खलबलिन्छ। जानोस्। तपाईहरू सुत्नोस्। म पनि सुत्न जान्छु।”
सबैले शेखरको मुख हेरे। शेखरले कसैलाई लक्ष नगरी भन्यो – “जानोस्। अब अन्त्येष्टिको तयारी गर्नोस्।”
समाप्त
काठमाडौ २०५०।५।३०
(स्रोत : रचनाकारको ब्लगबाट सभार)