~शिरिष लामिछाने~
जसरी न्यूरोडको एक भैय्याले
बटुवालाई चना-चटपट
र एक गिलास सोडा बेच्छ
त्यसरी नै अम्रिकाले
प्रत्यक सेकेन्ड मानिसलाई
हजारौँ सपनाहरु बेच्छ
विद्यार्थीलाई राम्रो कामको
व्यापारीलाई राम्रो दामको
परिवारलाई ठुलो घरको
टुहुरोलाई आडिलो भरको
आफ्ना आँखाले देखिने
तर समात्न नसकिने गरि ती सपना
केवल दौडिरहेछन
सानोमा “छोइ-डुम” खेलेझैँ
‘अमेरिकन ड्रिम’ लाई समात्न
सारा जमात लागिपरिरहेछन्
कहिले-काहीँ लाग्छ
‘अमेरिकन ड्रिम’ एक परमसुन्दरी हो
जो एक अप्सराझैँ सपनिमा आउँछे
मुसुक्क हाँस्छे, अनी भुतुक्कै बनाउँछे
क्षणभरकोलागी परमसुख दिलाइ
बिस्तारै रित्तीदैँ जान्छे
तर,
असन्तोषी मनुवालाई
आफ्नी सङिनीसँग परिचय गराई
सदाका लागि बिदा हुन्छे
बिचरो मनुवा
एकपछी, अर्को
त्यसपछि फेरि अर्को गर्दै
सपनिमा विपना खोज्न विवश छ
अन्धकारलाई उज्यालो देख्न वाध्य छ
र,
एक शुन्यमा पूर्णता भेट्टाउन तल्लीन छ।।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)