~प्रकाशचन्द्र न्यौपाने~
स्वार्थका तिखा तीरहरु गाडिएर
घाइते छ भिष्मको राष्ट्रवाद
अँध्यारोमा कुर्सीको लम्वाई–चौंडाई र आकृति
छामिरहेछन् अन्धा धृतराष्ट्रका औंलाहरु
एकलव्यहरु फिर्ता माग्दैछन्, गुरु–दक्षिणा
औंलाको बदला द्रोणचार्यको सिङ्गै हात
छ गुणा बढेको छ, संख्या भाञ्जाहरुको
द्युत गृहमा सकुनी पासा पल्टाएर कपटको
दाऊमा हानिरहेछन् अस्मिता हस्तिनापुरको
अचेल, मगन्ते भए कर्णका दानी हत्केलाहरु
असक्षम छ गरिखान उसको श्रापित शस्त्रविद्या
के सुन्थे पार्थ, कृष्णको निष्काम कर्मयोग
बरु जोखिममा परेको छ
उर्वशीको सतित्व अर्जुनको पुरुषत्वबाट
वृद्ध बाबु–आमा एक्लै छोडेर आश्रममा
राता–रात भागे श्रवणकुमारहरु म्लेच्छका देशतर्फ
अब कहाँ ? छरिन्छ र कृष्णको बाँसुरीमा
बासनारहित प्रेमको सन्देश
तड्पीरहेछ कामुकताले राधाको ह्दय
अब बचाउनु छैन कृष्णले पाञ्चालीको लाज
छताछुल्ल छन् बैंसका अवयवहरु सडकमा
बरु दुशासनहरु नै लजाइरहेछन्
स्क्रिन टच मोवाइलमा दुर्वासा मन्त्र डाउनलोड गरेर
प्रेमरोगी पृथा आमन्त्रण गर्दैछिन् डेटिङ्गमा
पालैपालो–सूर्य, यक्ष, वायु, इन्द्र र अश्विनीकुमारहरु
नापीरहेछन् पृथाको तापक्रम, आफ्नो–आफ्नो थर्मामिटरमा
विदेशिएका सत्यवानहरुको दीर्घ प्रवासको कामना गर्दै
सति–सावित्रीहरु भन्दैछन्
पति देव तिमी आउँदै नआऊ
तिमी नहुँदै जीवन राम्रो चलेको छ
तिमीलाई जेसुकै होस्
मेरा त दुबै हातमा लड्डु नै परेको छ
–प्रकाशचन्द्र न्यौपाने
मरब क्याम्पस, इलाम
(स्रोत : इलाम पोस्ट अन्लाइन)