कथा : घरेलु हिंसा

~सागर बस्नेत~Sagar Basnet

एकजना दुइजना गर्दै एकैछिनमा आँगन भरियो, मान्छेहरुको ताँतीले | आफ्नाहरू पनि आए पराइहरू झन् धेरै आए| जो जो आए सबै मलाइ कर्के नजरले हेर्दै विनितालाई सहानुभूति दिनेहरु नै आए | अधिकारबादी, स्कुलका माष्टर, गाउँका नेता, बुढापाका, बिभिन्न समूह र संस्थाका मान्छे, आमा समुह सबैखाले आए | मलाई भन्नु नभन्नु भन्नेहरु आए, कोहि बाँधेर घाँस हाल्ने भन्छन | कोहि गुहु-मुत खुवाउनुपर्ने भन्छन | हुतिहारा र नामर्दको उपाधि यस्तरी दिए कि यो संसारमा सर्वेसर्वा उनीहरु नै हुन | पुरा गाउँ म बिरुद्द खनिएको देख्दा अचम्म लाग्यो |

हिजो बेलुकी मात्रै कार्किदाईको भट्टीमा तेरोलागि जे पनि गर्छु भन्ने अधिकारि कान्छो यस्तरी बोल्दै थियो कि, मैले उसको सर्वस्व हरण गरेको छु | हुनत यि सबैलाई मैले राम्रैसँग चिनेको छु | मलाइ गुहु-मुत खुवाउन तम्सिने निरौलाको भिमेले अस्तिमात्रै हो, अंशको निहुँमा आफ्नै बुढो भएको बाउलाई अस्पताल लैजानेगरी कुटेको | थानाको असईसँग खुब उठबस भएर मात्रै केहि भएन |

*******

हुनत ति निरौला बाजे बिचरा सत्तरी काटेका तिनीसँग के त्यस्तो खास थियो र तिनको पक्षमा कोहि बोलिदेओस | बाँधेर घाँस हालिदिउँ भन्ने अधिकारि कान्छो पनि पोहोरको साल विदेशिएको आफ्नै दशदिने दाजुकी स्वास्नीसँग रंगेहात समातिएको हो | ति भाउजुकी आँखा धमिलो देख्ने सासु बाहेक कोहि थिएनन घरमा | लोग्ने पनि भर्खरै परदेश लागेका ऋण उतार्न पाएको भए फर्किन्थे होला तर मसिना दुधे लालाबालाको मायाले कागज गरेर छाडिएको हो | त्यो घटना लगत्तै कान्छाले यहाका कि जान्नेसुन्ने भनाउँदालाई एकमहिनासम्म ढुक्कै दारुपानी गरेको पनि कसैको आँखाबाट छिपेको थिएन | तर पनि मलाइ पटक्कै पश्चाताप छैन | हो म पुरै संसारको अगाडी भन्न सक्छु कि मैले मेरी स्वास्नीलाई हिजो राति निर्घात कुटेको हुँ | म मान्छु रक्सीले मातेको थिएँ तर मातेको जोशमा होईन पुरा होसोहवासमा कुटेको हुँ ।

म सानैदेखि बेग्लै खाले मान्छे थिएँ | मेरा बालापनका कोहि साथि छैनन् | म एक्लै हिड्थे, एक्लै खेल्थें | पढाइमा मलाइ खास रुची थिएन | म धेरैजसो स्कुलबाट भागेर हिड्थे | चार कक्षासम्म कसरि पुगें उतिसाह्रो याद छैन | तर त्यसपछिको एकएक घटना याद छ | पढाइमा गतिलो नभएकोले चार कक्षामा म फेल भएँ | मेरी बहिनीले मलाइ भेट्टाई, ऊ धेरै तीक्ष्ण दिमाग भएकी थिइ | त्यसपछि घरमा संधै मलाइ सिकाउने जिम्मा उसैको भयो | हुनत हाम्रो घरमा सबै पढन्ते छन् | दाजु बाह्र कक्षासम्म कहिल्यै दोश्रो भएन, भाइ एसएलसीमा जिल्लाभरिकै उत्कृष्ट भयो | दिदीको पनि राम्रो थियो, बहिनी त झन् जान्ने थिई | अहिले दाजु मालपोतको अधिकृत छ, दिदी पहाडमा पढाउछिन, बहिनी अंचल अस्पतालमा नर्स छे| भाइ पढ्न विदेश गएको उतै बसेको छ | म मात्रै हुँ बेकामे, बेकामे मात्रै होईन मेरो बुबाको नाकको कालो दाग हुँ म | दाजु र भाइलाई म देखि शरम लाग्छ मलाइ आफ्नै सहोदर भन्न पनि हिच्किचाउछन | दिदीसँग त राम्रै थियो मगर जेठाको छोरासँग सुनबर्सी मेलामा हात समाउदै डुंगामा चढेको कुरा घरमा भनिदिएपछि मलाइ पटक्कै मन पराइनन | मलाइ त्यो जीवने मगर पटक्कै मन पर्दैनथियो | सानैमा स्कुल बाहिर ल्याउने बरफ खोसेर खान्थ्यो, बिचरा त्यो बरफवाला भैया काबु भएको थियो माग्दा दिएन भने जीवनहरुले खोसेर खाइदिन्थे अझ पैसा पनि चोरेर लगिदिन्थे | सरहरुलाई भन्दापनि केहि गर्दैनथे | उल्टो हामीले तलाई बेच्न लगाएको हो भन्थे | जति उमेर बढ्दै गयो जीवन उतिनै बिग्रिदै गएको थियो | झन् पछी बसमा कन्डक्टर काम गर्न थालेदेखि त बेलुकै पिच्छे मातेर हिड्थ्यो | खोइ दिदीले के देखेर मन पराएकी थिइ | सबैले मलाइ हेला गरेपनि ममीले धेरै माया गर्नुहुन्थ्यो | केहि मिठो खानेबेलामा बुबा त्यो घोसेलाई दिनुपर्दैन भन्नुहुन्थ्यो | तर भाँडा माझिसकेपछी बहिनी र ममीले अरुलाई दिए भन्दा धेरै लुकाएर खुवाउनु हुन्थ्यो | ममीको यो स्नेह र बहिनीको प्रेम पाएर म पुलकित हुन्थें | लाग्थ्यो यस्तै माया पाउनलाइ अझै अटेरी बनौं, अझ घोसे बनौं |

मैले व्याकरण कहिल्यै बुझिन, नाम-सर्वनाम, क्रिया-विशेषण कहिल्यै आएन | मैले ज्यामिती बुझिन, बिज गणित बुझिन | रसायन बिज्ञान बुझिन, साँच्चै भन्दा मैले स्कुलमा पढाएको केहि बुझिन | अरु सबैले बुझेको कुरा नबुझेपछि म गोज्यांग्रे भएँ, अक्कड़ो र लठुवा भएँ | सरले सोध्दा आएन कति भन्नु बिस्तारै म बोल्नै छाडें अनि स्कुल र घरमा घुँसघुँसे र घोप्टे भएँ | मलाइ रमाइलो अन्तै थियो, सरले व्याकरण पढ़ाउदा म झ्यालबाट देखिने ट्युवेल हेरिरहन्थे | नाम सर्वनामको व्यख्या गर्दा कसरि पानि निस्केको होला भनेर गमिरहेको हुन्थें | ट्युवेलका जिब्रि, वासर, ह्यान्डल कसले बनायो होला भनेर उद्देलित हुन्थे | घरमा ल्याइएका भित्तेघडी, रेडियो सबै खोलेर हेर्थें म | फेरी फिट गर्दा कति चल्थे कति चल्दैनथे | अलिअलि बनाउन जान्ने भएपछि त घडीको पिन हाल्न देखि एफएम रेडियोको बेन्ड खुस्केको लगाउन पनि लिएर आउंथे छिमेकीहरु | ग्यास सकिएको या पत्थर घोटिएर सकिएको अनि बाल्दा नबल्ने लाइटरलाइ अर्को लाइटरको ग्यास या पत्थर हालिदिएर बल्ने बनाउँथें| सकेको जानेको गरेर पठाईदिन्थें | म नौ कक्षामा फेल भएँ | बुबा रिसले आगो हुनुभयो, मलाइ कुट्न खोज्दा रोक्ने हुँदा ममीले पनि बेस्मारी गालि खानु भयो | मलाइ धेरै नराम्रो लाग्यो, त्यो रातभरी म रोएँ | हेडसरको छोरा फेल भयो अब मेरो के इज्जत रहला भनेर खुब सानो मन गर्नुभयो बुबाले पनि | मलाइ ग्लानि महसुस भयो, सरहरुले अनि अरु अरुले पनि भन्थें तँलाई कसरि दिलसरको छोरा भन्नु ? तेरा दाजुभाइ दिदी बहिनी सबै यति जान्ने छन्, त्यहि घरको तँ यस्तो भनेर सधैं मेरो गिल्ला गर्थे | बहिनीले पनि जितेर गइ, मलाइ कत्ति दुख लागेन मेरो बहिनीले धेरै पढोस राम्रो गरोस भन्ने नै लाग्थ्यो सधैं | त्यसपछि कति कति दिन म भोकभोकै हिड्थे, घरमा ममीले खान त दिनुहुन्थ्यो तर त्यसबापत ममीले गालि खानु पर्थ्यो | बुबाले यसलाई कसैले खान नदिनु भन्नु भएको थियो | म भोकै छु भनेर छरछिमेकीलाई पनि थाह हुन्थ्यो, एकजना राई काकीले मलाइ धेरै खुवाउनुभयो | म घरमा पनि मागेर खान्नथिएँ, पकाएर राखेको पनि अरुले नदिए पस्केर खादिनथिएँ | ममी भन्नुहुन्थ्यो मागेर खाने गर्नुपर्छ, आफ्नो घरमा निकालेर खानुपर्छ | तर मलाइ माग्न मुख लाग्दैनथियो, निकाल्न हात लाग्दैनथियो | मेरो दुख कठै भन्ने धेरै छिमेकी थिए, माइलो छोरा भएर वास्ता नभएको भनेर मलाइ “सोडा” लगाउथे | तर मलाइ कहिल्यै बुबासंग गुनासो लागेन, मलाइ घरका कसैसँग पनि रिसीइवी थिएन | मेरो कारणले बहिनी र ममीले गालि खाँदा धेरै नराम्रो लाग्थ्यो | मसँग खर्च नहुँदा बहिनीका पेवा खसी बेचेका र भुमेपाथिका पैसा दिन्थी, उसले कपडा किन्दा सधैं मलाइ पनि ल्याइदिन्थि | म जहाँ जाँदापनि बहिनी र ममीलाई धेरै सम्झिन्थे, मेरो र बुबाको कहिल्यै राम्रो सम्बन्ध भएन |

मलाइ पढ्न बसेपछि ज्यादै दिक्दार लाग्थ्यो, हाइ आउंथ्यो | अक्षरहरु हिड्थे, चित्रहरु बोल्थे, ज्यामितिका कोणहरुले घोच्थे | अंग्रेजी किताबमा भएका चित्रहरु अंग्रेजी नै बोल्थे म बुझ्दिनथिए | ज्यामितिका कोण जान्नुभन्दा कन्दंगवा सरको डस्टर खानु सजिलो लाग्थ्यो मलाइ | रसायन शास्त्रका फर्मुला सम्झिनुभन्दा पुण्य सरको छडी सहज थियो मलाइ | फेरी अर्को सालको ठुलो परिक्षा आइसकेको थियो | अब सरहरुले पनि फेरी फेल भईस भने भाइले भेट्छ भनेर डर देखाउथे | साथिहरु पनि हात धोएरै जिस्काउथे | मलाइ जाँच दिन मन लागेन | एकदिन गोठधुपको दिन थियो बुबाहरु सबै जानुभएको थियो| बहिनी र म थियौ घरमा, भाइ साथीकोमा पढ्न गएको थियो | मैले बहिनीलाई तीनसय रुपैया मागें, बहिनीले किन भनेर सोधी मलाइ काम परेको छ दे न भनेर रुनै खोजें | बिचरा भर्खर १५ बर्ष लागेकी थिई खै के सोची अनि ल्याएर दिई | म एकैछिनमा आउंछु भनेर हिडें, बुबाहरु भन्दा अघि आइज है नत्र मलाइ मार्नु हुन्छ बुबाले भनि | चोकमा निस्केँ, मलाई के गरौँ के गरौँ भएको थियो घर छाड्ने निश्चय गरिसकेको थिएँ | उर्लाबारी जाने बस आयो म चुपचाप चढें | उर्लाबारी पुगेपछि छक्क परें केहि सोच्नै सकिनँ | साँझ पर्न लागेको थियो, एउटा होटेलमा मालपुवा खाँदै बसेको थिएँ | एउटा पन्जाबी ट्रक आएर रोकियो, उसले त्यहाँ खाना खायो | म अघिदेखि उसैलाई हेरेर बसिराखेको थिएँ उसले पनि मलाइ नियाल्दैथियो | धेरै बेर हेरेको देखेर सोध्यो, के हो भाइ घर कहाँ हो ? मैले आत्तिएर भने मलाई गाडी बनाउन सिक्न मन छ, एउटा ग्यारेजमा लगिदिनोस | छक्क परेर फेरी सोध्यो घर कहाँ हो? मैले भनें मेरो घर छैन | बिरगंजमा साथीको ग्यारेज छ जान्छौ? मैले टाउको हल्लाएँ | धेरै कुराकानी पछी भोलिपल्ट हामि पुग्यौ बिरगंज | बाटोभरि मैले उसलाई ढांटे, उसले मजत्रै छोरा भएको, घर धनकुटा र लिम्बू थर भएको बतायो | उसैले भनेर मलाइ दुइछाक खाना सहित बस्ने ठाउँ दिने शर्तमा त्यहाँ सिक्ने मौका मिल्यो |

*******

एकरात सपनामा रुँदैरुँदै काँडाघारीमा हिड्दैगर्नु भएको ममीलाई देखें | आधारातमै ब्युझिएँ, कस्तो नरमाइलो लाग्यो | यत्रो दिनसम्म के के बित्यो होला कति रुनुभयो होला जस्तो लाग्यो | अनि बहिनीलाई पनि सम्झें उसलाई झुठ बोलेर आएकोमा पछुतो लाग्यो | सम्झिन त सधैं सम्झिन्थे ममी र बहिनीलाई तर आज मन आत्तियो | जुरुक्क उठें घर गैहालूं जस्तो लाग्यो | यो अढाईबर्षमा मैले केहि खबर पनि पठाएको थिईन | एकबर्षदेखि मलाइ तलब पनि दिन थालेको थियो | तलब पाउने बेला पनि भैसकेको थियो तर किन किन यसपाली तलबको माया लागेन | मैले तलब केही खर्च नगरी राखेको थिएँ पैसा भएको झोला बोकें र बाहिर निस्किएँ | निस्पट्ट अध्यारो थियो | परपर कुकुर भुकेको सुनिन्थ्यो | मलाई यो मध्यरात हो भन्ने पनि याद भएन | बेस्मारी जाडो थियो, हिडेको हिड्यै चोकमा निस्किएँ र घडी हेरें तिन बजेको रहेछ | काठमाडौं जाने “डे” गाडी भेटिने सम्भावना थियो | डे बस चढेर पथलैयासम्म पुगें, काठमाडौंबाट आउने नाईट बस भेट्ने आशा थिएन | तर मेरो सुभदिन जाममा फँसेको गाडी भेटें, कतिखेर निदाएँ कुन्नि ब्युझिदा म इटहरीमा थिएँ | बेग्लै खुसि थियो मनमा, हतार पनि उत्तिकै लागेको थियो | घरमा पुग्दा मध्येदिन भएको थियो र ममिमात्रै हुनुहुन्थ्यो | शुरुमा गालि गर्नुभयो अनि रुनुभयो मलाइ छेउमा राखेर सुम्सुम्याउनु भयो | म पनि ममी संगै रोएँ | म फेल हुन्छु र भाइसँग पढ्नुपर्छ अनि फेरी बुबाले कराउनुहुन्छ भनेर ममीले बुझ्नुभएको रहेछ |

बुबाले मैले सोचेजति गालि गर्नुभएन, धेरै गल्नुभएछ | दाजुले बरु हप्कायो र फेरी पढ भन्यो | मैले बुबालाई ग्यारेजको सबै काम सिकेको छु एउटा ग्यारेज खोलौं भनेर बिन्ति गरें तर बुबाले मलाइ बिश्वास गर्नुभएन | भन्नुभयो, नजानेको काममा हात नहालेकै राम्रो | मलाइ बेकार बस्न पनि मन लागेन र फर्केर जान पनि | कान्छाकाकाको ट्याक्टर थियो, काकालाई भनेर त्यहि चलाउन थालें | बुबा र काकाको राम्रै सम्बन्ध थियो, मन खुसि नभएपनि बुबाले मलाई केहि भन्न सक्नुभएन | घरको खाएर, घरमै बसेर पनि मैले राम्रै पैसा कमाउन थालें, बिचबिचमा लेवरको काम पनि गर्दा अनि बाटोमा कसैका सानातिना सामान ओसारिदिदा पनि पैसै आउंथ्यो र त्यो साहुजीलाई बुझाउनु पर्दैनथियो | यतिकै एकबर्ष बित्यो बहिनीले पनि प्लस टु सकेर बिराटनगरमा स्टाफ नर्स पढ्न थालिसकेकी थिइ र दाजुभाउजुसँग बिराटनगरमै बस्थि | दिदी पनि बिहे गरेर तरहरा पुगिसकेकी थिई | एकाएक मेरो बिहेको कुरो चल्यो | छिमेकी गाउँबाट हाम्रो नजिकैको स्कुलमा पढ्न आउने बिनितासंग | झट्ट हेर्दा खास राम्री नभएपनि पढाइमा जेहेन्दार थिई, छात्रवृति पाएर प्लस टु पढेकी मेरो बहिनी सँगै | पढ्ने रहर हुँदाहुँदै घरको स्थिति खास राम्रो नभएर बिहे गर्न बाध्य थिइ| उसको बिहेमा एउटा शर्त थियो बिहेपछी पढ्न पाउनुपर्ने | बुबालाई पनि छोराले नपढेपनि पढ्ने बुहारी पाउदा राहत मिलेको थियो | म केहि बोल्न सकिनँ, बहिनीले भनेपछि नाइँ भन्न मन लागेन र बिहे भयो |

बिहेको केहिदिन देखिनै मलाइ काममा जान दिईन विनिताले, बुबासँग सल्लाह गरेर आफ्नै ट्याक्टर किनौं भनि | मसँग कुरा नजम्ने भएर उसैले कुरा गरि र बुबाले पनि कृषि बिकास बैंकमा अलिकति खेत राखेर ट्याक्टर लिन सहमत हुनुभयो | पढेकी, बोलाइली, फरासिली भएकोले सबैको मनमा बसेकी थिइ बिनिता | म पनि आफ्नै गाडी चलाउन पाएर मक्ख | बिनिता अब पहिलाको जस्तो रहिन, ममीसँग मनमुटाव भईराख्थ्यो | साथि भएपनि बहिनीसँग पनि सम्बन्ध चिंसिदै गयो, मेरो मन दुख्ला भनेर कैलेकाही आउने बिचरा बहिनी पनि सहिदिन्थी | दिनभरी म घरमा नहुने भएर खास मलाइ थाह पनि हुदैनथियो | खाना खाएर म निदाईहाल्थे | अरुसँग जे जस्तो भएपनि बुबालाई खुब आदर गर्थी| त्यसैले बुबाले प्रसस्तै उचाल्नु भएको थियो र बुबाको आड पाएर भुइँमा न भाँडामा भएकी थिइ | दिनभरिको गाडीको थर्काई अनि धपेडीले बिस्तारै मलाई गलाउदै लग्यो बिस्तारै म रक्सीको अम्मली बन्दै जान थालें | हुँदाहुँदा नखाइकन भोलिपल्ट उठ्न नसक्ने हुनथालें | चिसांग खोलाको बालुवा र माथि केराबारी छेउ पुगेर ढुंगा ल्याउनु पनि उत्तिकै गाह्रो काम थियो, फेरी ट्याक्टरको सिट……. |

विनिताले स्नातक राम्रैसंग सिध्याई यतिबेला सम्म हाम्रो एउटा छोरी र अर्को बच्चा पेटमा थियो | धनकुटामा एम एडको लागि भर्ना भएर घरै बसेर ऊ पढ्न लागेकी थिइ | छोरो जन्मेर एकबर्षको भएपछी गाउँकै स्कुलमा बुबाले भनसुन गरेर राहतमा पढाउन पनि थालेकी थिइ | उसलाई जागिर दिलाएबापत संचालक समितिको अध्यक्षको खेतमा आफ्नै डिजल हालेर पचास घण्टा लेवलिंग गरिदिनु पर्यो मैले | तर मेरी विनिता दिनदिनै फेरिदै जान थालि, महिला अधिकार, बचत समूह, बुहारी समाज र अरु के के संस्थाको प्रतिनिधि हुँदै तालिम र गोष्ठीमा दगुर्न थालि | ममीलाई नातिनातिना स्याहार्न हम्मेहम्मे पर्न थालेको मैले महसुस गरेको थिएँ | एकदुई पल्ट बिनितालाई सम्झाउन पनि खोजें तर सामिजिक उत्तरदायित्व, महिला अधिकार र के के भन्दै अब चुल्होचौको गरेर बस्न नसक्ने बताउन थालेकी थिइ | एकाएक शाकाहारी भई, आध्यात्मिक र धार्मिक दर्शनका कुरा गरेर मलाई पनि माछामासु नखाने सल्लाह दिनथाली | उसका थाल बटुका छुट्टिए | हाम्रो बिछ्यौना अलग्गिए | मैले कमाएर ल्याएको राखनधरण सबै उसैले गर्थी | एकदिन दाजु आयो र अंशबण्डाको कुरा निकाल्यो | बुबाले सजिलै तँ तेरो भाग लिएर जा अब कान्छो पनि आउँदैन होला हामि माइलो र विनितासँग बस्छौं भन्नुभयो | तर विनिताले कुरा भुईमा झर्न नपाउदै म कसैलाई पाल्न सक्दिनँ भनि | मैले कत्ति सम्झाउन खोजें तर मेरो केहि सुनिन | बुबाले पनि फकाउनु भयो तर ऊ डेग चलिन | आखिरमा मैले त्यत्रो मिहेनत गरेको सबै पानीमा गयो | ट्याक्टर किनेको भन्दा बढी दाम घाटामा गयो | मैले यो चारबर्षमा धेरै काम गरेको थिएँ, हिसाब सबै उसैले राखेकी थिइ तर हिसाबले नोक्सान देखायो | घरमा चलाउँदै गरेका भाँडाकुँडा भाउजु र विनिताले होडबाजी गरेर छाने |

मैले जिन्दगीमा धेरै दुखहरु भुक्तान गरेको छु तर त्यो अंशबण्डाको दृश्यजति नराम्रो मलाइ केहि लागेन | हामि बच्चैदेखि त्यहि घरमा काम गर्ने पसिना बगाउनेलाई केहि वास्ता हुँदैन तर चारदिन अघि आउनेले कस्तरी घरका सामान छानीछानी लैजान्छन | छोरीलाई अन्माएर लोग्नेको घर पठाउदा डाको छोडेर रोएको देखेको थिएँ तर बुबाममीसँग छुट्टेको दिन मलाइ पनि कहालिदै रुन मन लाग्यो | छोराहरुलाई घरखेत, धान चामल र भाँडाकुँडा भाग लगाएर दिने बुबाममिको साँझमा खाना पकाउने भाँडासमेत रहेन | ममीले दुईजनाको लागि दशजनालाई पुग्ने ठुलो भाँडामा भात पकाएको देखेर मेरो मन अमिलियो | छोरामान्छेको लागि त्यो जस्तो दुखद समय अरु शायदै हुन्छ होला | ऋण तिर्नलाई मेरो मुटुको टुक्रा ट्याक्टर पनि बेचिने भयो | त्यो दिन त म नराम्ररी लुटिएँ | तोकिएको दाम तिर्ने क्षमता मसँग थिएन |

केहिदिन बुबाघरमै बसेर हामीले घर बनायौ| मन नमिलेपनि लोग्ने स्वास्नी अलग्गिन हत्तपत्त नसकिने रहेछन| नबोले पनि बोल्नैपर्ने, बोलाउनै पर्ने| सम्बन्ध गाँस्नुअघि सोचेपनि नसोचेपनि तोड्नुअघि हजारपल्ट सोच्नुपर्ने रहेछ| ऋण तिर्नलाई अलिकति सगोलको जग्गा बेचेका थियौं र बाँचेको पैसा सबैलाई भाग लगाईएको थियो | त्यहि पैसाले घर बनायौं, नपुगेको पैसा विनिताले माइतबाट ल्याई | घर तैयार भएपछी दिदीले, ममीले दिएको भन्दै धेरै सामान ल्याई विनिताले | पछी थाह भयो सगोलको पैसा लुकाएर कतै घडेरी पनि जोडेकी रैछे | विनितासँग मेरो सम्बन्ध बिग्रियो, उसले बिस्तारै मलाइ घरमा पस्न पनि नदिउँला झैं गर्नथाली | माछामासु, जाँडरक्सि खानेलाई घरमा पस्न नदिने भन्थी | छोराछोरीलाइ उही प्यारी थिई, मसँग केहि हुँदैनथियो सबै किनिदिने उही | अफिसको काम भन्दै दुईतिन दिनसम्म हराउन थालि | स्याहार्न भ्याईएन भनेर छोराछोरी पनि माइतमा पुर्याई | पहिले सगोलमा हुँदा बुबाको आड पाएर मलाइ गन्नै छाडेकी थिइ | मलाइ विदेश पठाउन धेरै कोसिस गरि तर मैले फेरी काकाकै ट्याक्टर चलाउन थालें | ऊ स्कुलकी मिस भएर सबैले उसकै कुरा सुन्न थालेका थिए | म पहिलेदेखि नै बोल्न नसक्ने, चित्त दुख्दा एकान्तमा एक्लै रुन्थें | एकदिन खोइ के को सम्मेलनमा गएकी तिन दिनपछि आइ | मलाइ अलिक चित्त दुखेको थियो | आएपछि मैले उसलाई हप्कीदप्की गर्न खोजें, लोग्ने हुनको हक र दम्भ देखाएँ | उल्टो अबदेखि घरमा नपस्नु, मैले माइतीको पैसा ल्याएर बनाएको घर हो यो कसैको हली र जड्याहालाइ बस्न बनाइदिएको होईन भनि | ममीले पनि नजिकैको घरबाट सुन्नुभएछ र ममी पनि आउनुभयो र सम्झाउन लाग्नु भयो र रोईकराई गरेर गुहार मागी | छेउछाउका छिमेकि आए र भोलि भेला बस्ने भनेर गए |

भोलिपल्ट भेलामा आमा समूह र महिलावादीहरुले उसको धर्मकर्ममा खलल पुर्याएको, बुहारीलाई कजाउन खोजेको आरोप लगायो ममी र मलाइ | यो घरमा बस्ने भए जाँडरक्सि नखानुपर्ने फैसला गरे | त्यहादेखी म ममीसँगै मुलघरमा बस्न थालें | अंशमा पाएको थोरै जमिन बाहेक केहि थिएन मेरो | कहिलेकाही छोराछोरी भेट्न जान्थें | छोराछोरी बाबासँग जाने भन्दै रुने कराउने गर्दा छाति चरक्कै चिरिन्थ्यो| म बिबस र लाचार बनेर फर्किन्थें| ल्याएपनि म काममा जानुपर्ने र उ पनि स्कुलमा पढाउन जाने| कुनै उपाय थिएन|

एकदिन बिहानै ढुंगा ओसार्न चुरे गएको थिएँ फिर्न अलिक ढिलो भयो र गाडी घरमै राखेर भोलिमात्रै लैजाने बिचार गरेर घरमै पसें | मुलघरको आँगनबाट मेरो घर मजैले देखिन्थ्यो, मैले गाडी आँगनमा ल्याउदा ल्याउदै मेरो आँगनबाट दुईटा बाइक निस्किए | अझै मान्छे बोल्दै गरेको सुनिन्थ्यो | के रहेछ? को रहेछ? भनेर चाबी थुतेर सिधै मेरो घरतिर सोझिएँ | मुलघरको आँगन काट्दाकाट्दै अर्को पनि बाईक रोडमा उक्लियो र दक्षिण बतासियो | बाहिर बिनिता उभिएकी थिइ, मलाई रोक्नलाई हातमा समातेर तान्दै थिई म नरोकीई सरासर भित्र टिभी कोठामा पसें | त्यहाको बातावरण देखेर मेरो जिउमा काँडा उम्रिए, मैले सबै अन्धकार देखें | सयओटा फुस्रे कमिलाले टोकेजस्तो भयो | निधारको दायाबाया चल्निमा कराहीमा दूध उम्लेजस्तो भुलुकभुलुक भयो| त्यहाँ खसीको सेकुवा, कुखुराको साप्रा र वियरको बोतल छरपष्ट थिए | मेरो शरीर काँप्यो, आवेशमा सोधें के हो यो ? उसले नडराई जवाफ दिई, “शिक्षक सेवा आयोग पास भएर यहि स्कुलमा स्थायी भएँ अनि सरहरुलाई पार्टी …… |” मैले सबै सुन्नै सकिन, आजसम्म जानेर झिङ्गो पनि नमारेको मलाइ आज आफ्नै स्वास्नी मार्न मन लाग्यो | विनिताको चुल्ठो समातें र भित्तामा झुण्ड्याएको पेटी झिकें अनि बर्साउन थालें | ममीले थाह पाएर आउनुभयो मलाइ छुट्याउनु भयो तैपनि बीचबिचमा ममीको पकड खुस्काउदै लात्ताले भकुरें |

*******

महिलावादीहरुको दबावमा असईले पक्राउ गरि जिल्लामा ल्याएको छ र अहिले खोरमा थुनिराखेको छ | म माथिको घरेलु हिंसाको आरोप लागेको छ| तीनै महिला अधिकारवादीको करबलले मलाइ अदालत लगिने भएको छ| तर मलाइ कत्तिपनि बिस्मात छैन मेरो कर्मप्रति कानुन अनुसारको सजायँ स्वीकार छ |

(स्रोत : EgulfNepal)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.