लघुकथा : प्रश्न ?

~हरिगोविन्द लुइँटेल~Hari Govinda Luitel

शनिवारको दिन । ड्याडी–मम्मी दुवैको अफिस विदा, हामीहरुको पनि स्कूल छुट्टी । भर्खरै रिलिज भएको र निकै चर्चामा आएको हिन्दी फिल्म “पिके” हेर्ने पारिवारिक योजना थियो हाम्रो । दाइले पाँचवटा टिकट अनलाइन बुकिंग गरिसकेको थियो । साँझ छ बजेको शो हेर्न हामी सुन्धारास्थित सिभिल मलको छैठौं तलाको आधुनिक हलमा हतारहतार पस्यौं ।

फिल्म शुरु भयो । तर अलि समयपछि नै फुच्चे भाइको मन फिल्मभन्दा अन्यत्र मोडिनथाल्यो । भाइले करकर शुरु ग¥यो– “हाफटाइममा हामी के खाने ?”

वास्तवमा फिल्म अलि बौद्धिक स्तरको रहेछ, भाइको स्तरले धेरै कुरा बुझ्न नसकेपछि उसको ध्यान भड्किएको प्रष्टै बुझ्न सकिन्थ्यो । पर्दामा अर्को कुनै ग्रहबाट पृथ्वीमा आएको मानवरुपी नायक नांङ्गै कुद्दै गरेको दृश्यसम्मले त उसलाई केही तानेको थियो तर त्यसपछि भने ऊ धेरै तानिएन ।

“पख न एक छिन, हेर न फिल्म ।” ड्याडी–मम्मीले उसलाई संझाउनु भयो ।

भाइ भने कहिले हाफटाइम होला भनेर हतारिएर कुर्न थाल्यो । बल्लबल्ल मध्यान्तर भयो ।

“भर्खरै सवैले खाजा खाएरै आएका हौं, त्यसैलै हल्का केही खानेकुराहरु ल्याऊ न त ।” ड्याडी–मम्मीले पैसा दिँदै दाइलाई अ¥हाउनु भयो ।

“म पनि जान्छु दाइसंग ।” भाइले जिद्दी ग¥यो र पछि लाग्यो ।

सिटबाट उठेर जाँदै गर्दा दाइले सोध्यो– “के ल्याऊँ ?”

“म त आइसक्रिम खाने ।” भाइ करायो ।

“हेरेर केही ल्याऊ न ।” ड्याडी–मम्मीले भन्नुभयो ।

घाँटीमा चिसोले सताएको कारण ड्याडी र मैले चाहिँ दुई कप तातो कफी ल्याउन भन्यौं । हुन्छ भन्दै उनीहरु गए ।

पाँचसात मिनेट बित्यो । पर्दामा विज्ञापन आउन रोकिएर फिल्म शुरु हुनैलाग्दा दाइ र भाइ आए हातमा पाँचवटा कोनमा आइसक्रिम पोे बोकेर ।

“म त भ्यानिला आइसक्रिम खाने । दाइ र मम्मी कुन खाने ? अनि ड्याडी र दिदी कुन खाने ?” भाइ ठूलै स्वरमा करायो ।

“ड्याडी र मैले कफी भनेका थियौं, हामीलाई पनि तिमीहरु आइसक्रिमको प्रकार छान्न भन्दै छौ ? क्या हो यस्तो ?” मैले प्रश्न गरें ।

दाइले जवाफ दियो– “बाहिर स्टलमा कफीतिरको लाइन लामो रहेछ, आइसक्रिमतिरको लाइनमा खासै मान्छेहरु रहेनछन् । लामो लाइनमा बस्न झ्याउ मानेर भाइले छोटोमै जाऊँ भनेर जिद्दी ग-यो अनि सवैनालाई आइसक्रिम नै लिएर आयौं हामीले त ।”

म किंचित व्यंग्यको मुस्कानसहित कराएँ– “जाने बेलामा तिमीहरुको प्रश्नावलीले भन्थ्यो– आइसक्रिम कि कफी ? अनि फर्कंदा भने यो प्रश्नावली बदलियो र बनाइयो– कुन आइसक्रि खाने, चकलेट कि स्ट्रबेरी ?”

आजकाल रेडियो, टिभीहरुमा संविधानसभाभित्रको प्रश्नावली समितिको विवाद चर्किरहेको प्रसंगको समाचार हावी भैरहेको कुरासंग जोडेर सोही समाचार–शैलीमा मैले यस्तो बोलेको बुझेर ड्याडी–मम्मी भने मुसुमुसु हाँसिरहनु भएको थियो ।

मेरो कुरा भाइलाई पटक्कै मन परेन । उसले जवाफ फर्कायो– “कराउने हैन है दिदी । खुरुक्क खाने आइसक्रिम । यहाँ फिल्म छुटिसक्नलाग्यो ।”

“हाम्रो घाँटी दुःखेको छ भनेको हैन भन्या ?” मैले पनि प्रश्न गर्न छाडिँन ।

उसले फेरि हका¥यो– “ चुप लाग्नुस् । खुरुक्क पर्दातिर हेर्नुस् । ”

उसको यो जिद्दीको जवाफ के हुनसक्छ भन्दै म सोचमग्न भएँ ।

भाइ भने कराउन छाडेन– “हेर्नुस्, हेर्नुस्, ऊ ऊ ऊः । वाह ! हिरो आमीर खान फेरि दौडियो क्यासेटप्लेयरको कट्टू लगाएर !”

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.