~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~
यौटा पहाड: म अझै अग्लिन्छु ।
यौटा म: म अझै उक्लिन्छु ।
अब आफै पन्छाउनु पर्छ काँडाहरु
डोकोभरी पहाड बोकेर
बिसाइदिन्छु पहाड चौतारीमा
उफ ! उ पनि ठाउँ ठाउँ भत्किएछ
छाड्दिनँ उक्लन ठाडो उकालो
साँझमा पनि
झ्याउँकिरीहरु बजाइरहेछन् नगरा
मेरो मुटु बाहेक
झ्याउँकिरीहरु बाहेक
निस्सिम निस्तब्धतामा
मैले पहाडमाथि पहाड बिसाएँ ।
सगरमाथा उक्लेर
चुचुरोमा
अर्को सगरमाथा राख्छु
र फेरी उक्लिन्छु
फेरी राख्छु
फेरी उक्लिन्छु……
………..
पसिनाहरु
मारियाना ट्रेन्चमा
उत्सव मनाऊँन् ।
मस्तिष्क तन्तुहरु
धारणा परिवर्तन गर ।
(स्रोत : Inepal.Org)