~बलदेव भट्ट “बिहानी”~
हातमा चमर बोकी अभिपोषित शांति
बर्सौ पहीले बुद्धसंग जन्मियो
हजार बर्ष पछी परिवापित रूप बोकी
प्रौढ़ता भीत्र शांति पराल को मचान भीत्र लुक्नखोज्दा
हुंडारहरु को जमात सज्जनता माथी शासन गर्छ ||
बारुनी बासुरी बजाउदै लोहारका आँगन सम्म पुग्छिन
बुद्धका हात सृजना गर्ने लोहित बारूद का गंध भीत्र
रुस्टतामा मूल्यहीन भएपछी
हुंडारहरु को जमात सज्जनता माथी शासन गर्छ ||
मृग तृस्ना भीत्र देखिए़को सपना
स्वयाम्भुका दुइटा आँखा भीत्र नअटाएपछि
मुर्तिपुजकहरू देश दारण को बनभोज तीर लाग्छन
घामका पाइला संगै शांति पच्छिम तिर आस्ताएपछी
हुंडारहरु को जमात सज्जनता माथी शासन गर्छ ||
रानिचरीको आकाश बुद्धको प्रतिमा झै मौन बस्छ
चलायमान बादल गर्जनको भारी बोकी
स्वयम्भूको डाँडामाथी उक्लेपछी
हुंडारहरु को जमात सज्जनता माथी शासन गर्छ||
मनोबैकल्यका गीत प्रौढ़ता मा सुस्ताएपछी
मेरा नक्षत्रभीतर मैले आँसुको सागर देख्छु
जीवंत मनोबेगबोकी खेत खलियान तीर हेर्दा
रुँदै गरेका हजार बुद्धहरु पलायेन भयेपछी
हुंडारहरु को जमात सज्जनता माथी शासन गर्छ ||
बलदेव भट्ट”बिहानी ”
सिंगापुर