~पारिजात~
महिला सदर जेलकी नाइकेनी रातो जापानी सिफनको साडी लाएर आँखाभरी जीवनप्रति असम्झौता र शब्दको उच्चारणभरी क्रुरता बोकेर महिला सदर जेलको मूल ढोकाबाट भित्र पस्छे। घर्तिनी मसिनी बल्लबल्ल अलिकति पानीको जोगाउ गरेर भर्खरै कपाल नुहाउने तर्खरमा छे। नाइकेनीलाई देख्नासाथ ऊ झस्कन्छे र एकाएक कातर हुन्छे। एक जोडी काला आँखाहरू भूइँतिर घेाप्टाएर ऊ निश्चल उभिरहन्छे।
“तेरा पातरनी, अहिले तँलाई नुहाउन लाज, बैंस चढेको बेला हाडनाता चिनिनस्। कसो सुडेनीले ठहरै मारिन, भाग्य रहेछ र जेलको भात घिच्न आइपुगिस्” धारिला हँसिया जस्ता शब्दहरू सित्थैंमा छर्दै नाइकेनी अघि बढ्छे।
त्यसो त आँखा र मुख दुवैबाट ऊ यस्ता धारिला शब्दहरू बोल्न सक्छे। भर्खरै मात्र उसले जेलरलाई आँखै–आँखाले यति धेरै कुराहरू भनेर आएकी थिई, जसलाई अर्थ्याउँदा जेलरको बाँकी दिन र झन्डै रात पनि बित्नेछ। उता घर्तिनी मसिनी अपमान, लाज र हीनताबोधको झापट खाएर आफैमा लत्रक्कै परी लज्जावती झार जस्तै।
यो दृश्य हेरिरहेकी सदर जेलकी अर्की महिला कैदी गम्भीर अनुहार लगाएर उठ्छे र आफ्नै कोठामा गई डायरीमा यी शब्दहरू लेख्न थाल्छे, “यो नाइकेनी अपराधिनीको लेबल झुन्ड्याएर जन्मेकी थिइन न यो ज्यान मार्ने उद्देश्यले हुर्केकी नै थिई। यो जेलभित्र पस्दा यसका आँखाहरू यति घृणित रूपले सांकेतिक थिएनन् होला, मनले नै यो यति कठोर नै थिई। यो स्वास्नीमान्छे यहाँ यति निर्दय भित्रिएकी थिइन, यसका शब्दहरू यति विषालु पक्कै थिएनन्। यस नकारात्मकता र प्रतिकूलताको ओडारभित्र जे बोलिन्छ त्यही ठोकिएर आउँछ, खै कहाँ नौलो प्रतिध्वनी? कसरी हुर्काउने सदासायता, सद्भावना यस क्रुरता, असम्झौता, जुगुप्सा, विकार र अमानवीयताहरूको खातामा? कुन कुनामा जन्माउने हो प्रतिशोधको भावनासम्म पनि? यो ज्यूँदो नर्क हो।” डायरी बन्द हुन्छ।
एउटी बौलाहीको अट्टहास चर्कोदेखि क्रमशः मन्द हुँदै लोप हुन्छ। अट्टहासको यो क्रम बराबर दोहोरिरहन्छ। यो अट्टहास एउटा संकेत हो खतराको, असुरक्षाको। कुनै पनि समय कतैबाट पनि कसैको पनि मृत्यु हुन सक्छ। ईंटा सिट्टा जस्तो भारी वस्तु यता केही राख्नुहुन्न। मानसिक शारीरिक दुवै यातनाको कत्रो शिविर यो जेल अपराहन्न् हुन्छ, साँझ पर्छ नयाँ केही भएन, भोलि हुने कुनै सम्भावना पनि छैन–सिवाय दुर्घटना र संत्रास। गएको हप्ता एउटी बौलाहीले ईंटाले हिर्काएर अर्को महिला कैदीलाई ठहरै मारिदिएको भयानक घटना सबैको आँखामा झलझली ताजै छ।
सबै संत्रास्त छन् त्यसैले उदास छन्। डायरी लेख्ने मर्यादा नाउँ गरेकी महिला कैदी पनि सबैको जस्तै मनस्थिति लिएर बिस्तारै उठ्छे र सीदाको पोका सुमसुम्याउन थाल्छे। के खाने होला आज, सधै कति खाने ऐजन् ऐजन… सोच्दै रायोको साग चिमोट्न थाल्छे। उसको घर यहाँ होइन टाढा कतै छ, त्यसैले भात पकाउन बस्यो कि उसलाई आमाको सम्झना आउँछ।
“सँगै पकाऔं न हौं दिदी, सधै कति धुम्धुम्ती एक्लै बसेर पकाइरहने, खाइरहने हगि? कालले कुत्कुत्याई राखेको छ कि को भन्न सक्छ?” यसो भन्दै एउटा सानी केटी मर्यादाको हातबाट सामल खोस्न पुग्छे।
त्यसपछि रात पर्छ साबिकको रात तर बाहिरको भन्दा बेग्लै रात। कोही रून्छे, कोही हाँस्छे, कोही छिल्लिन्छे, कोही गीत गाउँछ र कोही फेरि उही प्रलाप र अट्टहास। मसिनी घर्तिनी अलिकति झ्याम्मिएर बसेकी छे अर्की एउटी दौंतरी अपराधिनीसँग। दुवै एक अर्काको मनको गाँठो फुकाएर हेर्न खोज्छन्, कतै हुन सक्छ कि दुःख बेदनाहरू साटासाट।
“तिम्रो नाउँ को हो?”
“मसिनी।”
“जात?”
“घर्ती ”
“घर कहाँ?”
“ठोसे खानी ”
“के गर्यौ?”
मसिनी यताउति हेर्छे वान्ता गर्न नसकेर पेटमा औडाहा चलेको जस्तो छ उसको स्थिति। सोच्छे, बोल्न भन्दा पहिले एकपल्ट आफूलाई मार्न पाए हुन्थ्यो। “ए रोएकी? भन भन यहाँ कानले सुनिनसक्नु कुराहरू हुन्छन्।” घर्तिनी मसिनी हिक्का रोक्न खोज्दै भन्छे,
“दाज्युले भुंडी बोकाइदियो, पछि सुडेनी लाउँदा सानी आमाले थाहा पाई अनि मलाई थुनाइदिई।”
“मेरी आम्मै, अनि दाज्यू?”
“भाग्यो…। बाको दुईवटा स्वास्नी, दाज्यू सानी आमाको छोरो, म बहिनी भए पनि जेठीको छोरी।”
दाज्युले करणी गरेको अधम कता महिला सदर जेलको एउटा अँध्यारो कुनामा पोखिन्छ।
“अनि तिम्रो नाउँ?”
“मिट्ठु।”
“ घर कहाँ?”
“दोलखा ”
“जात?”
“कार्की छेत्री ”
“तिमीले के गर्यौं नि?”
“के गर्नु र , यसो गरी खाउँ भनी नेपाल पसेकी, चिना जान्या कोही थिएन यहाँ आइपुगेकै दिन विरामी परें। यतिका घरहरू थिए बास कतै पाइएन। राती एउटा पसलको ढीकमा सुतेकी थिएँ। बिहान घरपतिहरूले देखिहाले। एकैछिन म एउटी विरामी दुःख पाकी, आइमाईलाई हेर्ने ताँती लागिहाल्यो। पुलिस पनि आयो त्यसपछि यहाँ बेश्या गर्न बसेकी भनी थुनिदियो।
एक वर्षपछि छुट्छ भनेको खै तीन वर्ष भइसक्यो छुट्ने होइन कोही छुटाउन आउने पनि होइन।”
आँशु सटक्क निलेर मिट्ठु फेरि सोध्छे, “तिमीलाई कतिवर्ष सजाय भयो मसिनी?”
“दश वर्ष भन्छन्” फेरि हिक्का छुट्छ।
यस विवश सम्वादलाई छिन्नभिन्न पार्दै अचानक एउटी असन्तुलित महिला कैदी चिच्याउँछे, “पख, बोक्सी कहाँ जालिस, मेरो लोग्नेलाई मोहिनी लगाएर भेडो बनाउने तँ होइनस् तेरो पनि रगत नपिई कहाँ छेड्छु र।”
मसिनी घर्तिनी आतंकित भएर भुँइमा जोतिन पुग्छे र मिटठु भन्छे, “कहिले त फुत्केर आउँछ एकैचोटी भुत्ल्याउने डरमर्दो छ यहाँ ”
“त्यो नाइकेनी कस्ता राक्षसनी जस्ती?”
“के भन्छ्यौ, आफ्नो जबरस्वाँठ जेठाज्यूलाई छपक्क्ै काटेर आएकी रे !”
“काट्ली जस्तै छे।”
मध्यरातमा डायरी पल्टाएर मर्यादा लेख्न थाल्छे,
“ठेकेदारले कतिविध्न नाफा खाएको? छिः छिः यस्ता निरीह र विवश प्राणीहरूको सुद्ध गाँस खोसेर खानसक्ने, बौलाहीहरूको गास खोसेर सक्ने, खै यातना शिविर यी भ्रष्टाचारीहरूको निम्ति? अझ कहिले बन्छ त्यो यातना शिविर, जहाँ हामी यी भ्रष्टाचारीहरूलाई पाल्ने मूलमूल नाइकेहरूलाई पश्चाताप र मृत्युको बीचमा झुन्डिरहेको हेर्नसकौं?”
झ्यालबाट एकमुष्ठ दुर्गन्ध पसेर मर्यादालाई खपिसक्नु हुँदैन। ऊ डायरी एकातिर पन्छाएर दोलाइले मुख छोप्छे र सोच्न थाल्छे, भोलि एउटा महिला अधिकृतको निरीक्षण आउनेछ यहाँ केवल औपचारिकता पुर्याउन। के फरक पार्छ र त्यो निरीक्षणले? जीवनदायी के छ यहाँ विकास गर्नलाई, परिवर्तन हुनलाई? अपराधको परिभाषा नजान्नेहरू यहाँ आएर खप्पीस अपराधिनी बन्छन्, भेडाको पाठा जस्ता अबोध बालिकाहरू यहाँ आएर विकृत स्वास्नीमान्छे बन्छन्। यहाँ आएर बस्नपर्छ महलहरूभित्र अपराध गर्ने अभिजात अनुहारहरू। कहाँ जान्छे त्यो घर्तिनी मसिनी दश वर्षपछि, यत्रो जघन्य अपराधको टीको लगाएकी। न घर छ न समाज…। वातावरणदेखि अभ्यस्त भइसकेकी मर्यादा एकैछिनपछि निदाउँछे।
बिहान हुन्छ साबिकको बिहानी तर बाहिरभन्दा फरक। तुलसीको मठ अथवा ह्रासेमबाट आउन ेस्यूक्पा धुपको सुगन्धसँग शुरू हुँदैन यहाँको बिहानी। बरू चराहरू खुशी हुन सक्छन्। यस्तो बिहानी अकारण पनि तर यहाँ कारणले पनि कोही कसरी खुशी हुने? जीवनको सबैभन्दा अँध्यारो पक्षबाट शुरू हुन्छ यहाँको बिहानी।
“उता लगेर धो तेरो नर्क ”
“मुख छाड्छेस रन्डी एका बिहानै?”
त्यसपछि चूल्ठोमा हात, पछारा–पछार। एउटी बलिष्ठ चौकीदारनी आएर दुवै योद्दाहरूलाई उचालेर एक एकतिर फालिंदिंदै भन्छे, “वेश्ये हो एकछिन संचरी बस्न दिंदैनन् ए … लौ खा ”
मर्यादा डायरी भर्दछे,
“ के हो एकाबिहानी भनेको? के हो बिहानीको अर्थ यहाँ? बिहान किन कसैलाई केही भन्नुहुन्न? के फरक छ रात र बिहानीमा यहाँ? बिहानी शब्दको आदर्श यहाँ कायम? कति हाँस्यास्पद…।”
“ए तिमीहरू पालो पालो गरेर आओ, कम्युिनष्टहरू पनि।” नाइकेनी पूरा गला खोलेर घोषणा गर्छे।
“यिनको अपराध?”
“गर्भ तुहाएकी, एक वर्ष भयो अब छुट्छे ”
“पियनको?”
“आफैले जन्माएको नानीको घाँटी निमोठेर मारेको … जन्म कैद, भयो पाँच वर्ष, अहिले बहुलाउन लागेकी छे।”
“यो बेश्या काम गरी हिंड्ने… तीन वर्ष भयो।”
“यसले मान्छेको मासु खाएकी … “जन्म कैद, अझैसम्म बहुलाएकी पनि छैन।” “यो आफ्नै दाज्यूसँग सल्केकी … ” दश वर्ष कैद … आएको एक हप्ता भयो।” मु48टो भाँचेको फूल जस्तो घर्तिनी मसिनी लत्रक्कै पर्छे।
“यो ”
“म आफै बोल्छु, मेरो नाउँ मर्यादा, कति थुनिइन्छु थाहा छैन। बाहिरको संसारमा पनि स्वास्नीमान्छेहरूको निम्ति यस्तै एउटा जेल छ, एउटा नर्क छ। त्यसबाट मुक्ति पाउनपर्छ भनी आवाज उठाएकी थिएँ मलाई कानुनका संरक्षकहरूले यस ज्यूँदो नर्कमा धकेलिदिए।”
महिला अधिकृत सबै अपराधिनीहरूको अनुहार पालो–पालो हेर्छे र मनभित्र स्वीकार गर्छे… हो यो एउटा ज्यूँदो नर्क हो। यहाँ केही केही पनि जीवनदायी छैन।
(स्रोत : उत्साह वर्ष ५, अंक १४, २०४० बैशाख)