~जगेन्द्र छन्त्याल~
त्यो बेला रातको दुई बजेको थियो। म हातमा एउटा लौरो टेकेर बिस्तारै केराघारी हुँदै जसमानको घरमा जान लागेको थिएं। जून अधोगतिमा ओरालो लागेको मृग झैँ टोलाइरहेको थियो, पानी धाराको छ्ङछ्ङ आवाजले मलाई मनमनैमा झस्काइरहेको थियो। मेरो मतलब जुनको उज्ज्यालो त्यहाँ थिएन। तेसै आफूलाई थाहा भएको हुनाले अलि अलि छामछाम छुमछम गर्दै उकालो नाप्दै थिएँ। विद्रोहको आगो दंकेको मुलुकमा राती टर्च बालेर हिड्नु खतरा हुन्छ. खासमा भन्दा बाटो धेरै भिरालो थियो र बर्षातले गर्दा निकै चिप्लो थियो।
केही पर्यो भने प्रयोग गर्नको लागि भनेर कम्मरमा भिरेको छील्लिमा बनेको धारीलो तलवारलाई देब्रे हातले समाएर असिनपसिन हुँदै उकालो लागे म. तै पनि मनमा अलेली डर छँदै थियो। भिरालो बाटोमा घोडाको कामै हुँदैन। त्यो पनि रातको बेला। त्यसैले घोडालाई तल कुस्मीसेराको सम्शेर दाइकोमा बानेर दाना दिएको मात्र याद आयो।धाप मारेंकी मारिन भुसुक्कै भुलेछु। हडुलाको खोल्टिमा ब्रुनाईको लडाईमा बाजेले प्रयोग् गर्नु भएको टर्चलाईट् पनि राम्रो अबस्थामै थियो। साविकको झैँ बत्ती बालेर हिडूँ भनेँ पनि बिद्रोही भन्ठानेर दुई किलोमिटरबाटै पल्लो डाँड़ाका सिपाहीहरूले लन्गरेंज स्नाईपर राइफलले पड्काउलान भन्ने डर ! त्यों अजंगको चार घंटे उकालोमा म असीनापसिना हुँदै मेरो सुखद बाल्यकालका दिनहरु यसो सम्झदै उकालिनु बाहेक अरू बिकल्प थिएन. सामुन्नेका सबै थोकहरु प्रस्तासंग देख्नन सकिदैनथ्यो .त्यहीमाथि चालीस नाघिसकेका यी दुब्ला आखाँहरू !
म सोह्र बर्षे तन्नेरी हुँदा त अलि माथि बाँसघारी नेर मलाई एउटा चितुवाले झम्टनासाथ त्यसलाई यही तलवारले एकै छप्कोमा छिनाली दिएको हूँ .तर अब त त्यों हिम्मत मसंग कहा छ र? सानो बिरालोदेखि पनि बाघसंग जत्तिकै डर लाग्न थालिसक्यो .यो सबै बढ़ी रहेको उमेरको कारणले हो जव झन् झन् रात् हुन थाल्यो मेरो हात अनायासै मेनमा राखेको तलवारलाई बलियोगरि समात्न थाल्यो।उतिसारो आखा कमजोर त छैनन् ,तैपनि पैदलै उकालिनु पर्दा केहि गुमाएको अनुभुति भने अबश्यै भयो।एउटा खोला माथिको पुल तरेर पारी पुगेपछि अर्को उकालो आउँदै थियो। माथितिरबाट हातमा केही बालेका राँको लिएका मानिसहरु, तल झर्दै गरेको देखेपछि मेरो मनमा अनायासै कतै यी बिद्रोहीहरू त होइनन शंका जाग्यो र म बाटो मुनी खर्कमा लुक्न गए।मेरो हदुला भनिने छन्त्याल ओभरकोट पनि घास जस्तै धमिलो देखिने हुँदा कसैले देखेन।गणना गर्दा ५७५ जना मान्छे रहेछन। सबैको हातमा रुसमा बनेकोअटोमेटिक क्लस्निकोव -४७ बन्दुक थियो। म बिस्तारै उठे अनि सरासर उकालो लागे।
जसमानको घर पुग्ने बेलामा विहानको चार बजिसक्या थियो। घरभित्रको आवाज परै पोखरीनेर सुनिन्थ्यो .त्यतिबेला म घरमा पस्नु उचित हुन्नथ्यो . उनीहरू सरकारी सेनाका भए बिद्रोही भनेर मलाई मारी हाल्थे,उनीहरू बिद्रोहीहरु भएको भए मलाई सरकारी गुप्तचर भनेर जनकार्वाही गर्ने खतरा हुन्थ्यो . त्यों जनकार्वाही काल्पनातित हुन्थ्यो . भित्र अझै निकै मान्छेहरुले खाना खाइरहेको भान हुन्थ्यो।
कोही सोद्धै थियो,”मान्छेहरु कति जना थिए?कताबाट आएका थिए कता गए? तेरो घरमा उनीहरू आउनासाथ् किन खबर दिइनस्?”
अर्को एकजनाले जसमानलाई दुई चड्कन् हान्यो र भन्यो,”अब आए भने भन्नु है त!”
सरकारी सेनाका टुकडिका भाइहरु रहेछन। बिस्तारै जान लागे। आमा चकार्दै गए।
म भित्र पस्न लाग्दा उसकी बुढीले थुप्रै भांडा माझदै थिई। “सबैको भएको छ यो घर्! सालेहरुले खान्छन पिउन्छन अनि भाडा पनि माझ्दैनन।”पुलिसहरु पनि मुर्दारहरु!भक्कुमार पिट्छ्न अर्काको लोग्नेलाई!तिनको लासलाई गिद्दले खाने!”
जस्मान मेरो पूरानो साथी हो। म बीरगंजको मौजाबाट आएको थाहा पाउनासाथ हिजो बिहान उसको साली हिराको हातमा चिट्ठी पठाएको हुनाले म यहाँ आएको। जमना बिग्रेछ।म भित्र पुग्नासाथ् उसले मलाई घप्क्लक्कै अङालो हाल्दै भन्यो, “साँहिला साहू मलाई पनि तराईमा बसोबास मिलाईदेऊ न।यहाँ त लडाईले बांच्नै दिएना हामी गरिपलाई! साढेको जुधाई बाछोको मिचाई भो; हाय!”
“तिम्रो छोरीलाई यो जामा।तिम्रो छोरालाई यो जाकेट,तिमीलाई यो कोट, भाउजूलाई यो सारी अनि यो चोलो,यो कोट।” झोला फुकाउँदै मैले भनेँ।
पहाडको दुई भन्ज्यङ्गबीचको उसको १२ कोठे ढुँगा र माटोको घरमा म १५ साल पहिले शिकार खेल्न आउँदाको जस्तो शालिन शान्ति थिएन। मैले उसको छोरीको नाम लिनासाथ ऊ भुँईचालो गएको घर जसरी थररर कम्ना थाल्यो .उसको दुई नयनहरुबाट भेरीकर्णालीका धाराहरु बग्न थाले। तितेकरेला झैँ रुखो पारामा उसको रुवाई र क्रोधको रहस्य खोल्दै उसले भन्यो ,
“लानुस् त्यो कपडा हुँई नानी र बाबुलाई। मेरा छोरा र छोरी त मारिदिए पुलिस् र बिद्रोहीहरूले।”
“खगीमा !मित्जुलाई एक्कै कप भा पनि दूध तताइदे त!” जसमानले धोद्रो परेको स्वरमा आफ्नी पत्नीलाई अह्रायो .
“खागीमाको मुहारमा पहिलाको जस्तो चन्चलेपन पटक्कै थिएन। उसको जेठाछोरोको जन्महुँदा उसलाई कुशमा हस्पिटलमा लाने मनिसहरुमा म पनि त एक थिएँ। अस्पताल नपुग्दै जन्मेको हुनाले उसको छोरोको नाम बाटो बहादुर राखेको पनि मैले नै हो। उसको छोरी जुनकली चाँही पूर्णिमाको बेला जन्मेर जूनकली भएकी थिई। खगिमाले दूध त ल्याई तर त्यतिन्जेल मेरा मुखले त्यो पिउने हिम्मत गर्न सकने अवस्था थिएन। जसमान मेरो पूरानो पाठशाले सहपाठी हो।
आँखी भौं जुरुक्का उचाल्दै उसले भन्यो “मित ज्यू ! ह्याँ बसिखानु भएन म नि उतै लाग्ने सुरमा छू .
यताको बेचेर उतै तिरै जानु पर्यो। तराईमा त शान्ति छ होला नि होइन, जसमानले सोध्यो? ”
“केको हुनु नि?तराईलाई छुट्टै देश बनाउने भनि दिन रात लडाईं भैराखेको हुनाले शान्ति खोज्न पहाड आएको म त!”
मैले बाटोमा भेटेकाहरुको बारेमा बताउनैलाग्दा उसले भन्यो,”नकोट्याउनोस् मेरो छातीका घाउहरु!”
उसले आफ्नो छाँती देखायो अनि त्यसमा सरकारी सेनाहरु र विद्रोही सेनाहरुको बुटै बुट्को नील डाम थियो। हो ,त्यो मेरो साथीको मात्रै होइन सिङ्गो नेपालीको छाती थियो!मैले घुँडा टेकेर प्रार्थना गर्न लागे: हलेल्लुया एडोनई …..मेरो देशलाई शांति दिनुहोस! ”
August 8th, 2009
(स्रोत : Mysansar.com)