कविता : आकाशमा देवकोटा

~दीपक जडित~Deepak Jadit

बनाई बाटो चिनाएँ माटो भूस्वर्ग त्यो धराको ।
कलकल नदी संगीत सरी स्वर सुरिलो चराको ।।

सुनाएँ खोली आत्माको झ्याल निनाद ह्रदयको ।
देखाएँ झेली गरीबी हाल अभाव भएको ।।

बुझाउनु’थ्यो कष्टमा पनि हाँस्न सक्छौं कसरी ।
रुझिरहँदा झरीमा पनि फूल्छ फूल जसरी ।।

मरेर अर्कै लोकमा पुग्दा पनि म त्यै नेपाली ।
जो छुन्छ तराई-पहाड-हिमाल पुग्दछ मेचिकाली ।।

यतिका पछि वायुमण्डलमा घुमिघुमि यो कवि ।
हेर्दैछ उसको प्यारो नेपालमा उदाएनछन् रवि ।।

शरीरैभरी घाउ लगाई आमालाई लुछेर ।
कुरुपै पारी रुवायौ आमाको आँशु नपुछेर ।।

मैले देखेको ठूलो नेपालमा के भेटेनौ ए मदन् ?
काटेर मुग्लान् नाघेर भोट कहाँ पुग्यौ खोज्दै धन् ??

सबैले पढ्दा त्यो बोली मेरो मदन भै बोलेको ।
अशान्त मुटु भा’को थ्यो शान्त यो छातिमा पोलेको ।।

ब्यवहार तर चिताए जति देखिनँ फेरिएको ।
ए, बन्धु तिम्रो ह्रदय कस्तो छ केले बेरिएको ??

मेटाई आ’थेँ ती रेखा तप्का मैले यी नै हातले ।
अझै नि तलै रहेका कठै ! नेपाली नै जातले ।।

******

नेपाल देश नेपाली भाषाको यही आशक्तिले ।
लत्याई दैलो स्वर्गको पनि नेपालीकै भक्तिले ।।

हेलिँदै नभमण्डलभरी यै नेपाल भूमि माथि ।
उज्यालो दिव्य ज्योति दिएर अझै हामीलाई साथी ।।

भन्दैछन् आज त्यो देवलोकमा मान्छे भएछन् छोटा ।
झार्दैछन् आँशु पीडाले तप्प आकाशमा देवकोटा ।।

**********

साथमा एउटा जानकारी पनि, महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको एउटा नयाँ पुस्तक आजदेखि बजारमा आएको छ। ‘नागरिक शास्त्र’ शीर्षकको पुस्तक १५० पेज लामो छ। साहित्यकार पार्थमणि भट्टराईको सम्पादनमा रत्‍न पुस्तकालय, बानेश्वरले प्रकाशन गरेको यो पुस्तकमा निबन्धहरु छन्। वि.सं. २००८ मा महाकवि देवकोटाले नागरिक शिक्षा दिने उद्देश्यले यसको रचना गरेका रे।

October 17th, 2009

(स्रोत : Mysansar.com)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.