~चर्चित ढुंगेल~
तपाईं पात्रो हेर्नहुन्छ ? म जस्तो पात्रोको दाइनो र बाइमात्रो बुझ्नुहुन्न कि ? खैर, मावलमा हजुरबा÷मामाहरूले र घरमा काका र काकाका छोराहरूले पात्रोको पितृ बुझ्ने अनि व्याख्या गर्ने भएकाले पनि मसँग पात्रोको टाढाटाढासम्मको नाता÷सम्बन्ध रहेन । मेरा एकजना दाजुले घरैमा हुने घटना थाहा नपाएकाले छोरो चारकोसे जंगलको रुखमा फलेको र ज्योतिष विद्याबाट हात धोएको कुरा गर्ने भएको थियो । बर्षौंदेखि यही विद्यालाई पेशा बनाउँदै आएका मेरा दाजुलाई नाक लागे जस्तै हामी युवालाई ज्योतिष विद्याले नतान्नु स्वभाविक हो । तेसो त अचेल जाँड÷प्याज नखाने बाहुन भेट्टाउन जत्तिकै गाह्रो भइसक्यो पात्रो हेर्ने, पढ्ने, बुझ्ने र व्याख्या गर्ने युवापिढी भेट्टाउन ।
युद्धकालमा अधिकांश युवा नासिएपछि र बचेखुचेका युवा विदेश भासिएपछि गाउँमा पात्रो मात्र हैन आफ्नै घरदलिन हेर्न युवा समेत छैनन् । ज्योतिषी÷पण्डितहरू जो छन् ती सबै कालको नजिक पुगिसके । बुढाखाडा ज्योतिषीहरूले ज्योतिष विद्याको लत्रेको नाक माथि उठाउन धेरथोर योगदान दिएका छन् । भर्खरै सम्पन्न विश्व फुटवलको भविष्यवाणी गरेर महान हुनुभएका ज्योतिष श्री अक्टोपस पल्र्युले पनि यो विद्यालाई माथि उठाउन दुर्लभ योगदान दिनु भएर परमधाम हुनु भयो । अक्टोपसज्युको निधनपछि ज्योतिष विद्या नै लोप होला भनेर पीर परेको छ । त्यसैको पूर्वसंकेत स्वरुप मेरा घुँडाबाट आँशु झरेकाले पनि यो विद्याको मोहले मलाई तानेको छ । फलस्वरुप यो मरुभूमिमा ज्योतिष विद्यालाई घुनपुत्ली नलाग्ने व्यापारका रुपमा थालनी गर्न मन लागेर आएकाले यसबारे अध्ययन गर्न थालेको छु । तपाईं पनि यस विद्यामा जिब्रो चलाउन चाहनुहुन्छ भने मैले जाने बुझेसम्म सःशुल्क कोचिङग, ट्युसन दिन तयार रहेको सर्वत्र जानकारी गराउन चाहन्छु ।
तपाईं पत्रपत्रिका कत्तिको हेर्नहुन्छ ? हेर्नहुन्छ भने पक्कै पनि राशिफल हेर्नहुन्छ होला । एक महिनाका एउटै पत्रिका पल्टाउनु भयो भने मेषको मिनसँग, मकरको वृषसँग, कुम्भको मिथुनसँग, कर्कटको धनुसँग, कन्याको वृश्चिकसँग र तुलाको सिंहसँग राशिफल ठ्याक्कै मिल्छ । अर्थात् तपाईंको राशिमा अघिल्ला कुनै अंकमा जे लेखिएको छ त्यही कुरो पछिल्ला कुनै अंकमा अरु कसैको राशिमा लेखिएको हुन्छ वा तपाईकै राशिमा लेखिएको हुन्छ । त्यसरी राशिफल दोहोरिने र त्यो पढेपछि पढ्ने पाठक एकोहोरिने भएकाले मैले राशिफललाई बासिफल भन्ने गरेको छु । राशिफलको यस्तो कन्तबिजोक देखेपछि म पनि ज्योतिष हुन सक्ने मनमनै ठोकुवा गरेँ । र नै यसमा हामफालेको हुँ ।
ज्योतिष विद्याको थालनी स्वरुप यो बासीफल पस्किएको छु । यो बासीफल तपाईको यो जन्मभरिका लागि हो र शतप्रतिशत साँचो हो । टिप र चिनापछि कसैले सम्पर्क गरे बनाउला ।
—ज्योतिषी पं. चर्चित उपाध्याय ढुंगेल ।
मेष— मेष राशि हुनेहरूले देश छोड्नेछन् र सेतै केश फुलुञ्जेलसम्म हात जोड्नेछन् साथै विदेशीको खेत गोड्नेछन् । घरमा बसेर चार माना घिउ खाँदा पनि नलागेको भाटो जस्तो जिउ हुनेहरू मोटाएर बाँस जस्तो हुनेछन् । मेष राशि हुनेहरूका दर्जन सन्तान हुने देखिएकाले विवाह नगर्नु नै बेस हुनेछ । सिस्नुलाई साग देख्ने र बिरालोलाई बाघ देख्ने भएकाले यी र यस्ता चिजहरूबाट टाढा बस्नु लाभदायक हुनेछ । हवाईयात्रा गर्दा तारा र अग्नि एयरका जहाजमा नगर्न शुभ देखिएको छ, कथंकदाचित गरिहाले मकवानपुरतिरका आफन्तलाई खबर गरेर मात्र यात्रा गर्न बेश होला ।
वृष— वृष राशि हुनेहरूले बाँचुञ्जेल बासी खाना खान पाउनेछन् र यसरी नै जीवन बिताउनेछन् । वृष राशि हुनेहरूलाई झनक्क रिस उठ्ने भएकाले कसैलाई कुट्ने र कुटाइ खाने योग छ । झिना मसिना कुरामा छुरासम्म चल्ने र ज्यानसम्म ढल्ने देखिन्छ । आफन्तले बाँचुञ्जेल घृणा गर्ने भएकाले पीडायुक्त जीवन रहनेछ । कुरा काट्नेहरूले खेती पाउनेछन् र आयुभरि जिस्काउनेछन् । मनले खाकाहरू पाखा लाग्नाले रिसले आँखा देखिने छैन र बिषको प्याला पिउने सम्भावना प्रवल देखिन्छ ।
मिथुन— मिथुन राशि हुनेहरूले सुनलाई नुनको भाउमा बेच्ने देखिन्छ । ‘सियो चोर्नेले फाली चोर्छ फाली चोर्नले घर फोर्छ भन्ने उखानलाई मिथुन राशि हुनेहरूले सार्थक पार्नछन् । मिथुन राशि हुनेहरूको दिमागको नट खुकुलो हुने भएकाले बेला बेलामा कस्नु पर्ने देखिन्छ । चन्द्रमा देब्रेतिर फर्किएर बसेकाले चिताको काम बितेको पत्तो पाइने छैन । प्रेममा धोका खानाले भिरबाट खसौ लाग्ने देखिन्छ भने गलामा पासो कसौ लाग्ने पनि देखिन्छ । अंशको झगडाले बंशको विनाश नहोला भन्न सकिएन ।
कर्कट— कर्कट राशि हुनेहरूले नर्क आँडेर बस्ती बसाउनेछन् र देश÷निया हसाउनेछन् । दशौं थलामा बसेको साढेसातको दशाले नशाको बिमार निम्त्याउनेछ । ग्याष्टिकले कर्कट राशि हुनेहरूलाई गाँजेको देखिएकाले ग्याष्टिक बिग्रिएर प्लाष्टिक हुने जुर छ । अझ ध्यान नदिएको खण्डमा इलाष्टिक जसरी मान्छे तन्किने देखिन्छ । विदेश बसेकाले घरमा पठाएको पैसा स्वास्नीसहित हराउनेछ । यही पीरले घरको न घाटको हुने र चिउडामा हात राखी रुने कुरालाई विश्वकै ज्योतिषीले नकार्न नसक्ने देखिन्छ । होस् गर्नु होला ।
सिंह— सिंह राशि हुनेहरूको व्यावहार बाघको र बोली कागको जस्तो हुनेछ । छिमेकीसँगको झगडाले उग्र रुप लिएपछि त्यसैको पीरले बसाईसम्म सार्ने देखिन्छ । अढैयाले नराम्ररी गाँजेकाले सम्पत्ति नासिने र सन्तान भासिने देखिन्छ । सिंह राशि हुनेहरूकी छोरीले पोइ फेर्ने र छोराले जोइ फेर्ने देखिन्छ । त्यसपछिका दिनमा तिनका घरमा महाभारत शुरु भइहाल्छ । नतिजा स्वरुप मेला गएकी छोरी बजारमा भेटिन्छे र बजार गएको छोरो जंगलमा भेटिने अनौठो दशा देखिन्छ ।
कन्या— कन्या राशि हुने कन्याहरूले बन्यासँग झ्यार्इँ पार्नेछन् र सिरक÷डसना बनाएर जीवन गुजार्नेछन् । त्यसो त दलालको फेला परेर दिल्ली पुग्ने पनि देखिन्छ । कन्या राशि हुनेहरूलाई कसैसँग जगा किन्दा शहरको देखाउनेछन् र खोलाको धारमा पार्नछन् । यो राशि हुनेहरूका ज्वार्इं गाँजा तान्ने र बुहारी कराँटे हान्ने खालकी पर्नछिन् । सधियार आधा आली ताछ्ने खालका पर्नेछन् भने छिमेकी दिनै झगडा गर्न खालका पर्नेछन् । पिउनमा, जिउनमा भन्दा बेसी बल गर्न भएकाले कन्या राशि हुनेहरूले ‘रियल जुस’ मा मुख नगाड्लान् भन्न सकिन्न ।
तुला— तुला राशि हुनेहरूले सधैं ठूला कुरा गर्ने देखिन्छ । लुला मान्छेलाई मान्छे नगन्ने र आफ्नै जोइलाई भान्छे नगन्ने स्वभावले हानी गर्नेछ । पराई नारी र पराई धनमा मन जाने भएकाले प्रगति झन् नहुने देखिन्छ । अर्काकी स्वास्नीले मुस्काउँदा, जिस्काउन अघि सर्दा तिनका पोइले बाँङगारा फुस्काउन बेर लाग्ने छैन । दिनै भट्टीको बास हुने र हातमा तास हुने देखिएकाले उठीबास लाग्ने कुरालाई नकार्न नजाती हुनेछ । यो राशि हुनेहरू अल्छीको राजा हुने भएकाले अल्पायुमै सम्पत्ति आधा हुने देखिन्छ ।
वृश्चिक— वृश्चिक राशिका मान्छेमा महत्वकांक्षाले जरा गाडेर बसेकाले छोटो समयमा छलाङग मार्न खोज्ने देखिन्छ । यसो गर्नाले ‘अल्प विद्या भयंकरम’ भने जस्तो परिणाम प्रतिकूल निस्किने देखिन्छ । यिनले ‘निरन्तरतामा क्रम भंग’ गर्ने कोसिस गर्नेछन् तर सफल हुने छैनन् र ‘हात लाग्यो सुन्ना’ हुनेछन् । त्यही भएर ‘लुटी ल्याऊ भुटी खाऊ’ को नीतिमा अडिने र जुनीभर जेलमा सडिने कुरालाई कमैले नपत्याउलान् । ‘हरी विजोक’ हुनुअघि होस् गर्नु होला ।
धनु— धनु राशि हुनेहरूले जेसुकै किने पनि डुप्लिकेट पर्नेछ । किनमेलमा महिलालाई अघि लाएर गर्नु होला । लैनु भैंसी थारिने र दुधौलो पाडो मारिने भएकाले गाई किन्नु राम्रो रहनेछ । दिन बिग्रेकाले त्यही गाईले लात्ती हान्ने र खुट्टा बाँध्नु पर्ने हुन सक्छ । असारका बेला हल गोरु मर्ने र अर्को हल किन्नु पर्ने देखिन्छ । त्यही पनि झनझनाउने, हान्ने परिदिने भएकाले औडाहा लागेर खेत कौडाका भाऊ बेचेर हिँड्नु पर्ने हुन नसक्ला भन्न सकिदैन ।
मकर— मकर राशि हुनेहरूलाई सदाबहार चक्कर लाग्ने र सडकका पेटीमा हिँड्दा पनि गाडीको ठक्कर लाग्ने भएकाले खेतैखेत हिँड्नु बेश हुनेछ । व्यापारमा अपार घाटा हुने देखिएकाले कम खर्चमा बढी नाफा हुने सामग्रीको व्यापार गर्न शुभ रहनेछ । नेपालको परिवेशमा ढुंगा, इँटाका टुक्रा, पुराना टायर आदिको व्यापार गर्न लाभदायक हुनेछ । नेपाल बन्द र आन्दोलनका बेलामा समेत हारालुस बिक्री हुने भएकाले फिक्रि लिनु पर्दैन । मकर राशि हुनेहरूका छोराछोरीले मन लाग्दो बिहे गर्न भएकाले विवाह खर्च जोगिने तर स्वास्नी चै रोगिने देखिन्छ ।
कुम्भ— कुम्भ राशि हुनेहरूका दिन कठिन देखिन्छन् । अनायासै नोकरी जाने र बुढेसकालमा ल्याएकी ‘छोकडी’ पनि गरिखाने नपरि दिनाले मनभरि पीरको पोको बोकेर बाँच्नु पर्ने देखिन्छ । ब्याजमा लाएको धन नउठ्नाले मन खिन्न हुने र व्यवहार छिन्नभिन्न हुने देखिन्छ । ‘लोभले लाभ र लाभले विलाप’ भन्ने उखान यो राशि हुनेहरूलाई ¥याङको ठ्याङग मिल्ने देखिन्छ । यो राशि हुनेहरूलाई यस्तो कालो दिनले छोपेको छ कि ‘डाक्टर बन्न जाँदा कन्डक्टरहरु बनेर फर्किने गरी ।
मिन— मिन राशि हुनेहरूले अमेरिकाका लागि आवेदन दिँदा चिनको भिषा पाउनेछन् । मिन राशि हुनेका दिन बिग्रिएकाले ऋणको भारीले किचिक्क हुनेछन् र त्यो ऋण तिर्न नसकेर जूनिभर रुनेछन् । सर्पलाई सपेराको विनले घेरे जसरी मिन राशि हुनेहरूलाई दिनदशाले घेरेको देखिन्छ । कालो खसी र रातो भाले काली मातालाई चढाउँदा पनि ग्रहदशा नसप्रिने देखिएकाले त्यो झन्झट नगरेकै राम्रो, कानमा तेल हालेर बस्नु जाती । अर्को जुनिमा दिन सप्रिने कुरालाई नकार्न नसकिएकाले युरोपमा पुनर्जन्म नहोला भन्न सकिन्न ।
।। इति ।।
दोहा, कतार
(स्रोत : श्री रुपरेखा)
