कविता : ज्वालामुखीका शिखा

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

पाखा पर्वतका निवासीहरू छौ शृंगार नेपालका
सारा आर्थिक श्रोतका गति तथा आधार नेपालका
आँधी पानि प्रचण्ड धूप असिना नानाथरी झेलने
हाम्रा हात र पाउ छन् धरतिका माटोविषे खेलने

कुर्कुच्चा छ चिरा चिरा जिउ डढेका घामका तापले
मान्छे हौ पशुको छ जीवन दशा दर्वारका श्रापले
खानू पेटभरी भएर सपना हड्डी उठेका मुख
हर्दम् शोषकका दुराचरणले कुल्ची दिएको सुख

ऐलेका युग चेतना बीच बनी हाम्रो ठूलो दुर्गति
आफ्नो छैन कुरा शरीरतक यो मालिककै सम्पत्ति
ब्युँझौँ बल्ल भयौँ सचेत क्षमता संघर्षमा तत्पर
छौं हामी अनगिन्ति पीडितहरू शत्रु छ मुठ्ठीभर

उम्री लोचन प्रष्ट निम्न जन छन् ब्युँझी सकेका सब
टिक्ने साहस गर्न आउँदछ को हाम्रो अगाडि अब
उत्रेको व्यवहारमा पनि अब सिद्धान्त छेकिन्छ र ?
छैनौं हामी दरिद्रका विजयको विश्वास देखी पर

लाखौँ पीडित आर्तका हृदयको आक्रोश दन् दन् बली
जानछेन् अनि मात्र दुर्गति हुँदै सत्ता पुराना ढली
उठ्नु हामी गरीवले छ अहिले साहित्यको भै धनी
हामी शीघ्र जरा विपक्षीहरूको दिन्छौं उखेली भनी

हाम्रा जन्मथला तथा झुपडिका मालीक हामी सब
हारेको भइ लुटपाट सहँदै बस्थ्यौ र के पो अब ?
मार्नु र मरनु सिवाय हृदयमा क्यै छैन हाम्रो अरु
ब्यँझेको युगले खेद्नु छ यहाँ सारा लुटेराहरू

हाम्रो खून छ देशको हृदयको घाउ दुखेको धुने
हाम्रो ध्येय तमाम पीडितहरू माथि र्समर्पण हुने
गर्र्छौं शोषण मुक्तिको प्रण छिटै साकार हामी अब
र्फकन्नौं नसकी उठाउन ढलेका देशका गौरव

हाम्रो त्याग विशुद्ध आत्म बल हुन् पीडितका सम्पत्ति
सक्ने छैन उछिन्न लोकप्रियता हाम्रो कसैले रति
हामी निश्चय मुक्ति प्राप्त गरने संघर्षको भूमिका
हाम्रा प्रष्ट क्रियाकलापहरू छन् ज्वालामुखीका शिखा

(मिर्मिरे दोस्रो झुल्को)

१९७७ मे

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.