कथा : समुद्रसँग पिरती

~उमा सुवेदी~Uma Subedi

परदेश बसाइका पट्यार लाग्दा दिनहरुमा रमाइलो क्षणको परिकल्पना मात्रले पनि केही राहत मिल्दो रहेछ । कहिलेकाहीँ त त्यस्तो रमाइलो क्षणलाई वास्तविकतामै अनुभव गर्ने मौका नमिल्ने पनि हैन तर त्यस्ता क्षणहरु अत्यन्तै सिमित हुँदा रहेछन् । आफ्नो कामबाट फुर्सद निकाल्नु, साथीहरु भेला पार्न अनि गन्तव्य तय गर्न निकै गाह्रो हुन्छ । यस्तै अफ्ठ्याराहरु बिचबाट निकालिएको छोटो समय भने आजसम्मको सबै तितोपना बिर्साउने गरी स्वादिलो हुँदोरहेछ । यो सबै भूमिका बाँधेको मैले मेरो समुद्र भ्रमणलाई सम्झनका लागि हो ।

मेरो दुखाइ कम गर्ने औषधी हो समुद्र । यो बिरानो ठाउँमा मेरो भावना साँट्ने साथी हो समुद्र । त्यसैले जहिले आफ्नो कामबाट अलिकति फुर्सद मिल्छ म उसलाई भेट्न दौडिएर पुगिहाल्छु । म जन्मेको ठाउँ पाँचथरको त मलाई सम्झना छैन । मैले जलराशी पहिलो पल्ट देखेको बिरिङ खोला हो । असार साउनमा गाउँ नै थर्काउने गरी एकोहोरो तवरले स्वाँ…. गर्दै भयङ्कर रुपमा प्रस्तुत हुने र फागुन चैततिर हवाइ चप्पल पनि बगाउन नसक्ने गरी थला पर्ने त्यसको स्वभाव मलाई पटक्कै मन पर्दैनथ्यो तर पनि म त्यसलाई हेरेर रोमान्चित हुन्थेँ । एकपटक आमासँग बराहक्षेत्र घुम्न जाँदा चतरा किनारमा लमतन्न पल्टेको कोशीलाई देखेर सोधेकी थिएँ , ‘आमा समुद्र यही हो ?’ आमाले भन्नु भएको थियो, ‘समुद्र हेर्न त काँशी जानु पर्छ छोरी ।’ अलिक ठूली भएपछि आमाको समुद्र ज्ञानबारे थाहा पाएर म खुब हाँसेकी थिएँ ।

सानैमा सामाजिक विषयमा पढेको र अलिक पछि हिन्दी सिनेमाको पर्दामा देखेको बाहेक समुद्रसँग मेरो प्रत्यक्ष संवाद गर्ने मौका मिलेको थिएन । चार बर्षअघि मध्यपूर्वी एसियाको सानो यहुदी बस्तीमा झरेपछि समुद्रसँग परिचित हुने मौका मिल्यो । यी चारवर्षमा समुद्रसँगको सम्बन्ध अझ गाडा हुँदै गयो र आज म यसैको मायाले पनि यहाँ बस्न सकेकी हुँ कि जस्तो लाग्छ । नत्र त टाउकै माथिबाट प्लेन उडेको देखे पिच्छे घर जाउँ जाउँ लाग्ने यो बालुवाको थुप्रोमा के रसले बस्नु छ र !

मेरो समुद्रसँग पहिलो भेट इजरायल आइ पुगेको एक हप्तापछि भएको थियो । पारिवारिक विछोडले भत्भती पोलिरहेको छातीलाई त्यसले केही शीतल पारिदिन्छ कि भन्ने आशाले र सानैदेखिको समुद्र हेर्ने उत्कट अभिलाषाले पनि मलाई त्यतातिर तानेको थियो । यसअघि तेलभिवको चार नम्बर अपार्ट जहाँ पहिलो दिन वास बसेकी थिएँ । त्यहाँ पुगेर भारी बिसाउने बित्तिकै दिदीहरुलाई सोधेकी थिएँ , ‘समुद्र यहाँबाट कति टाढा पर्छ?’

सीमा दिदीले व्यंग्यात्मक पारामा भन्नु भएको थियो, ‘ हैन, तिमी त घर छोडेर आएको पिरले समुद्रमा हामफाल्न जान लागेको होकी के हो ?’
सबैले मेरो मुखमा हेरे । कोठामा एकछिन हाँसो छायो । त्यतिबेलै हो दिदीहरुका मुखबाट मैले समुद्रबारे पहिलोपल्ट केही जानकारी पाएकी थिएँ । गर्मी याममा प्रायः सबै फुर्सदिलाहरुको गन्तव्य स्थान समुद्र हुँदोरहेछ । अझ साँझपख समुद्रलाई छोएर बग्ने हावाको शीतल स्पर्श पाउन सबै लालायित हुँदा रहेछन् । समुद्र वर्णन सुन्नेबित्तिकै मलाई अहिल्यै दौडिएर पुगूँ जस्तो भएको थियो तर भोलिपल्टै काममा जानुपर्ने भएकाले रहर मारेर बसेकी थिएँ ।

छुट्टि भएपछि म कतै नहेरी रमातगानको जबुतिन्स्की रोड हुँदै तेलभिवको हार्चियोन १२ मा रहेको हाम्रो चार नम्बर अपार्टेन्ट तर्फलागेँ । करिब पाँच मिनेट वसमा दौडिएपछि म अपार्ट पुगिहाँले । कृष्णा र प्रमिला पहिले नै आएर बसिरहेका रहेछन् । केही छिनपछि सीमा दिदी र अरु दिदी बहिनीहरु पनि आउनु भयो । हार्चियोन रोडबाट लिभेन्स्की रोड हुँदै हामीले समुद्र याता सुरु ग¥यौं । फराकिला सडकहरु, पैदल यात्रुको सुविधाका लागि बाक्लै जेब्रा क्रसिङ, आकाशतिर सोझिएमा अग्ला घरहरु, बाटाका दुबैतर्फ बाह्रैमास हरियै रहने एकनासे रुखहरु त्यहाँको वैभव पस्कन काफी थिएँ । चार पाँच मिनेटको दुरीमा पैदल यात्रिका सुविधाका लागि चौराता राखिएका थिए । होटल रेष्टुरेन्ट र पसलहरुको चहलपहलमा चारैतिर सफा सुन्दर वातावरण त्यहाँको भव्यताका निसानी थिए । हिँडिरहँदा मलाई एकपटक काडमाडौंको वागबजार, रत्नपार्क आसपासका ठाउँहरु, पुतलीसडकबाट घट्टेकुलोतिर उक्लने बाँसघारीको साँघुरो बाटोको याद नआएको हैन तर त्यो सम्झना धेरै बेरसम्म रहेन ।

छोटो दुरीमा रहेका रमणीय पार्कहरुले मेरो ध्यान खिचिहाले । पार्कमा सपरिवार भेला भएकाहरुको खानपान र नाचगान चलिरहेको थियो भने युवा युवतिहरु अंगालोमा बेरिएर एक अर्कालाई चुम्मन गर्दै स्वतन्त्र हिँडिरहेका थिए । युवाहरुको भन्दा अझ परिपक्क शैलीमा माया साँट्दै मर्कामस्की गरिरहेका प्रौढ पुरुष महिलाहरु देख्दा लाग्यौ के बिपनामै यो सब भइ रहेको छ त ? यो विपनै हो भन्ने प्रष्ट भएपछि म लाजले खुम्चेर सानी भएकी थिएँ ।

त्यतिखेर मलाई आफ्ना गाउँका बुढापाकाहरुको याद आयो, जो बिहे गरेको बर्षाैंसम्म एक आपसमा बोल्न लाज मान्थे भन्ने जस्ता किम्बदन्तीहरु मैले गाउँघरमा धेरै पटक सुनेकी थिएँ । बाटाभरीका यस्ता अनौठा अपत्यारिला दृष्यहरु हेर्दै अघि बढ्दा हामी थाहै नपाइ समुद्र किनारमा पुगी सकेछौँ । त्यो किनार मैले कल्पना गरे भन्दा धेरै फरक थियो । ठाउँ कुठाउँ सेतै फुलेको काँसघारी र आकार नमिलेका ढुङ्गाहरुले उबडखावड देखिने बिरिङ जस्तो त त्यो छँदै थिएन । सानदार होटल भव्य महलहरु आकर्षक बगैँचा सेतो पानीका फोहराहरु भएको त्यस्तो अवर्णनीय सजावटयुक्त गन्तव्य मैले यसअघि कहिल्यै देखेकै थिएन । त्यो सबै चमकदमक देखेर एकपल्ट त म लाटी जस्तै अक्क न बक्क भएकी थिएँ ।

समुद्री किनार यति मनमोहक हुन्छ भन्ने मैले अनुमान गरेकी थिइँन । हामी फूलैफूलका पार्कहरु र ओहोरदोहोर गरिरहेका बाक्लै मानिसहरुका समूहलाई पार गरेर समुद्री तटमा पुग्यौँ । आँखाले भ्याएसम्म निलो पानीको एकछत्र साम्राज्य मैले निकैवेरसम्म नियाली रहेँ । टाढैबाट दर्शन गरेर मात्र मेरो मन अघाएन । बालुबाको बिस्कुन कुल्चँदै अझ अघि बढेर मैले त्यसलाई आफ्नै हातले छोएँ । मरुभूमिको तातोवाफलाई सुलुत्तै निलेको त्यस समुद्रको चिसो स्पर्श पाएर म एकछिन भावविभोर भइ रहेँ ।

समुद्रसँगको यो प्रथम परिचय हार्दिकतापूर्ण रहे पनि मेरो कौतुहल भने शान्त भएको थिएन । छेउको बालुवामा लमतन्न पल्टेकी गोरी युवतीसँग मैले केहीबेर भलाकुसारी गरेँ । यो भूमध्यसागर रहेछ । यसैको किनारमा उत्तर दक्षिणतर्फ लामो र पूर्वपश्चिम चौडाइ साँगुरो भएर इजरायल भन्ने देश बसेको रहेछ भन्ने थाहा पाएँ । उत्तरमा तिवेरिया र दक्षिणतर्फ इलात रहेको इजरायलको पूर्वपश्चिमको कुनै कुनै भाग भने यति साँगुरिएको छ कि केही क्षणमै सीमा वारपार गर्न सकिन्छ ।

प्रमिलाले तानेर लगेकीले गोरीसँगको संवाद बीचैमा टुट्न पुग्यो । हेर्दाहेर्दै हामी अस्ताउन लागेको सूर्यविम्ब परी रातै भएको भूमध्यसागरमा पौडी खेल्न भनी पस्यौँ । अघिदेखि खेलिरहेका अर्धनग्न गोरीहरु हामीलाई लुगैसँग पानीमा पसेको देखेर उदेक मानिरहेका देखिन्थे । हामी उनीहरुका पहिरन देखेर लाजले जिब्रो टोक्थ्यौँ र मुख छोपेर हाँस्थ्यौ । त्यहाँ दुई अलग संस्कारबाट निर्मित फरक मनोविज्ञान स्वभाविक ढङ्गमा प्रकट भएको थियो तर दुबै पक्ष अस्वभाविक तवरले चकित भइरहेका थियौँ ।

श्लीलता र अश्लिलता भन्ने एउटा कृत्रिम अवधारणा हो । यस्तो धारणा ठाउँ र समाजले आफ्नो अनुकुलताका लागि बनाएको हुन्छ भनेर मैले कतै पढेकी थिएँ । त्यसको आशय त्यसबेला आफैँ भोग्नाले राम्ररी बुझेँ । जंघार परसम्म फैलिएको हुनाले निर्धक्क समुद्रसँग खेल्न सकिन्थ्यो । कमरसम्मको पानी भन्दा पर जान रोक लगाउँदै सुरक्षा गार्डहरु नजिकबाट कराइरहेका हुन्थे । दुई हत्केलाले भुँइ टेकेरै गोडा छप्ल्याङ छप्ल्याङ पार्दै विरिङ्ग खोलामा जस्तै म त्यहाँ रमाएँ । कहिले म दुबै हातले पानी सोहोरेर सूर्यलाई अर्घ दिएझैँ गर्थें भने कहिले समुद्रलाई दुबै हत्केलाले पालैपालो झापड हान्दै रमाउँथेँ ।

समुद्र स्नान गरिरहेका बेला मलाई जेठको चर्को घामले पिल्स्याएको छाला सेलाउन दौडिएर विरिङ खोलामा पसेका ती दिनको याद आयो । भोटेटारमाथिको जङ्गलबाट स्याउले घाँस लिइ फर्कंदा पसिनाले निथ्रुक्कै भिजिन्थ्यो । पूरै शरीर भत्भती पोलेर खप्नु हुन्नथ्यो । राधिका, निर्ममा र म बगरमा स्याउला फालेर दहमा एकछिन डुब्थ्यौँ । किनारका रुखबाट लछारिएर खोलातिर झुन्डिएको भोर्लाको लहरो समाएर मच्चिँदै पानीमा झ्वाम्म फाल हान्थ्यौँ । भाका हालेर गीत गाउँदै पालैपालो भोर्लाको लहरोबाट खोलामा फालहानेको दृष्य पक्कै मन लोभ्याउने खालकै हुँदो हो तब त शान्तिपूरबाट अदुवा, अलैंची र अम्लिसो बेच्न बजार जानेहरु अलिक माथि बाँधमा डोको बिसाएर रमाइ रमाइ हामीलाई हेर्थ ।

राधिका र निर्मला पानीमा खेल्न छाडेर फूलबारी सजाउने दर्शन ढुङ्गा बटुल्ने कार्यमा लाग्थे । एकपल्ट म भोर्लाको लहरोबाट हामफाल्दा ढुङ्गामा निकै मजाले पछारिएकी थिएँ । ढुङ्गामा ठोकिएर घुँडो झन्नैले खुस्केको । मेरो शरीर समुद्री जंघारमा निकै माथिसम्म डुबेको थियो भने मन चैँ विरिङ खोलामा पुरै डुबेको थियो । मेरा खुट्टाहरु थाहा नपाउँदो गरी विस्तारै खतराको सङ्केत भएतिर सर्दै रहेछन् । छालले हुत्याएर मलाई त्यतातिर लाँदै रहेछ । म आत्तिरिएर चिच्याउँदा सीमा दिदी दौडेर आई मेरो पाखुरामा समातेर तान्नु भयो । निकै सारो चिच्याएछु क्यार, ठूलो समूहले मलाई घेरिहाल्यो । बाहिर निस्केर म लाजले काली निली भएको त्यहाँ उपस्थित सबैले भेउ पाए ।

समुद्रसँग पहिलो पटक अविष्मरणीय परिचय भएको केही महिनापछि म फेरि त्यसलाई भेट्न गएँ । त्यसपाली त्यसको नुनिलो पानीले मेरो गलाको सिक्रि चुँडाली दियो । यस घटनापछि मलाई किनकिन झ्वाम्म पसेर पौडिखेलि हाल्न डर लागेर आउँथ्यो । त्यसैले म किनारमा बसेर त्यसलाई एकोहोरो रुपले हेरिरहन्थेँ । त्यो परैदेखि निकै वेगले हुत्तिएर मतिर आउँथ्यो र छालहरु माथिसम्म उठेर मलाई छुन खोज्थ्यो । यसरी हामी लामो समयसम्म जिस्किरहन्थ्यौँ । कहिले म त्यसलाई आफ्नै विरिङ सम्झेर अन्जुलीमा उघाउँथे र त्यसको नुनिलो स्वाद थाहा पाएपछि मुखसम्म ल्याएर पनि फालिदिन्थेँ । कहिले त्यो जुरुक्कै उठेर मेरो कानसम्म आइपुग्थ्यो र गम्भिर आवाजमा केही फुस्फुसाउँथ्यो । यसरी मैले समुद्रसँग धेरै समय गुजारेकी छु ।

पछिल्लो पटक म त्यसलाई भेट्न २०६७ सालको तिजको सार्वजनिक विदामा गएकी थिएँ । मेरा साथमा मेरी भतिजी मेनुका र इजरायली साथी मिरी थिए । त्यो दिन मलाई धित मरुन्जेल जहाजमा बसेर समुद्र विहार गर्न रहर थियो तर सधैँ शान्त र गम्भीर देखिने समुद्र त्यसपाली केही रिसाएको जस्तो लाग्थ्यो । सानो पानी जहाजमा बसेर जब हामी बिसाल समुद्रको छातीमा तैरिन थाल्यौँ । त्यसले आफ्नो ताण्डव नृत्य सुरु गरिहाल्यो ।

होचो अग्लो हुँदै हुत्तिएर आउने छालहरुले जहाजलाई कोल्टे पार्थे र हामी जहाजबाट पोखिन पोखिन खोज्दाखोज्दै बच्थ्यौँ । क्षणभर स्थिर भएको जहाज फेरि अर्कातिर घोप्टिन खोज्थ्यो । मेनुका र जहाजमा बसेका अरुहरु यसैमा मजा मानीमानी फोटो खिच्न तल्लिन देखिन्थे तर मेरो मुटुले भने ठाउँ छोडी सकेको थियो । मनमा अनेक अपसकुनहरुले जुलुस गर्न थालिसकेका थिए ।

जहाज छेउ लागेपछि समुद्रि तटमा पाईला टेक्ने वित्तिकै मैले सबैका सामु कसम खाएकी थिएँ ‘अबदेखि कहिल्यै जहाज चढ्दिन भनेर । त्यसदिन मैले आफूलाई ठूलो दुर्घटनाबाट सकुशल घर फर्कको यात्री ठानेकी थिएँ ।

समय एकनासले बगिरहेकै छ । समयसँगै त्यो भूमध्यसागर पनि कहिले शान्त र कहिले उत्ताउलो पाराले बगिरहेकै होला । जतिबेला म कामबाट फुर्सद पाउँछु ,चार महिनाअघि जहाजबाट झण्डै घण्डै घोप्टिएको त्रासद क्षणलाई बिर्सिएर त्यसलाई भेट्न लालायित भैहाल्छु त्यसदिनको कहालीलाग्दो क्षणको सम्झनाले पनि मलाई बाँधेर राख्न सक्दैन । बितेका डरलाग्दा क्षणहरु पछि फर्केर हेर्दा रोमान्चक लाग्दा रहेछन् । मलाई त्यस्ता रोमान्चहरु पोल्टाभरि पोको पारेर नेपाल लैजान पाए कस्तो हुँदो हो भन्ने लागिरहन्छ । अब म यो देशसँग अघाइ सकेँ तर यसको काखैमा डेरा जमाएर बसेको समुद्रसँग केही मीठा पलहरु साट्ने तिर्सना भने अझै बाँकी नै छ ।

(स्रोत : श्री रुपरेखा)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.