~लारा राई~
भनिन्छ-प्रतिष्ठाको बोझ थाम्न दरिलो काँध चाहिन्छ रे ! आफू त्यस्तो प्रतिष्ठित ब्यक्तित्व परिएन अतः दरिलो काँधको सवाल पनि उठेन। तैपनि, कमेण्ट सुन्ने दरिलो आत्मविश्वास छ मभित्र। मान्छेहरुले घमण्डी भन्लान्। आफूलाई लेखिका हुँ भन्दिन म। रहरिया हुँ। लेख्छु फूर्सदमा यदाकदा। आरुका फूलका…….प्रसंगहरु पनि त्यस्तै फूर्सदका उपजहरु ह’न्। माइसंसारका कमेण्टहरु बाहेक निजी ई-पत्रहरु पनि धेरै आए। कतिपय मित्रहरुले मेरा निजी घटनाहरु हुन् कि भन्ने जिज्ञासासम्म पोख्नुभयो। केही शुभचिन्तकहरुले अलिकति लम्ब्याएर सिंगो पुस्तक निकाल्न सकिन्छ भन्ने सल्लाह पनि दिनुभयो। वास्तविक नाम त थाहा भएन, तर माइसंसारको कमेण्टभित्र एकजना शुभचिन्तक मित्र, प्रणयजीले मूलधारमा पनि लेख्नुपर्यो साथै अलिक “गृहकार्य” पनि गर्नुपर्छ भन्ने सल्लाह दिनुभयो। तपाईको सुझावलाई मनन गरेकी छु भन्ने जानकारी पनि यहीँ दिंदैछु प्रणयजी। स्याटेलाइटजीले “मन छोयो” भन्नुभयो। मलाई पनि तपाईको ई-पत्रले निक्कै मन छोयो। क्यानडाकी, प्रियंका गुरुङलाई धन्यवाद सकारात्मक कमेण्टका लागि। त्यसो त नकरात्मक कमेण्टले झन् थप उर्जा प्रदान गर्छ मलाई आफ्ना कमजोरीहरु औंल्याउन। दुई मृत्युको उत्तरआधुनिक समायोजन त होइन भनेर चस्स घोच्नु भएकोछ ‘एउटा मृत्युको बयान” भित्र अर्लक शिरोमणिजीले। साथै बडो डिप्लोम्याटिक तवरले अन्त्य गर्नु भा छ-”लेखाई सुन्दर छ, यसमा कुनै टिप्पणी छैन।” मैले हाँसेर स्वीकारें त्यो कमेण्टलाई अर्लकजी। वास्तवमा, कमेण्ट लेख्ने अन्य सम्पूर्ण साथीहरुलाई धन्यवाद भनेकी छु यहीँ। छुटाउनै नहुने नामहरुः गोले दाइ र लुनाजी। गफैगफमा गोले दाइ, लौन ! म त लेखिका बन्न लागेछु।
केहि साथीहरुको सल्लाह बमोजिम् ँशरदू पात्रलाई सिरिज्को रुप दिने जमर्को गर्दैछु। फूसर्दमा लेख्दैजाँदा के थाहा ! कुनै दिन सिंगो पुस्तक नै बन्ला कि ? तर सधैं प्रेमका गन्थन नहोलान्।
अँ, बाँकी श्रेय उमेशजीलाई…………………………।
समय, सपना र जीन्दगीहरु
राताम्मे फूलेर पनि सर्वाङ्ग नांगो सिमलको रुखजस्तै जीन्दगी, जो यतिखेर आफ्ना विगतहरु भुईंभरि पोखिएको सिमलको फूलभित्र खोज्दैछ। सायद हामी कहिले एक-अर्कामा स्पष्ट हुन सकेनौं। अभिशप्त छांैं अझै पनि। हाम्रा विगतहरु प्रसंग भन्दा बाहिर भईसके होलान् तैपनि, मेरो कमजोरी, प्रत्येक घटना, दुर्घटना सबैले मलाई उतिकै संवेदनशिल तुल्याउँछ यद्धपि, म मान्छेसामु आफूलाई निक्कै मजबुत र आत्मविश्वासी छु भन्ने जनाउन त खोज्छु तर सक्दिन अन्ततः नलेखि रहन सक्दिन सबै, सबै ती प्रसंगहरु। किन, किन म बन्द किताब हुन सकिन। तपाईले उहिल्यै भन्नुभएको थियो-सायद हाम्रो प्रेम “अन-टोल्ड” स्टोरी भएर रहने छ। माफ गर्नुहोला ! मबाट त्यसो हुन सकेन कारण-
यो जूनीमा त्यस्तै भयो………………
पुर्नजन्म यदि संभव छ भने,
मेरो दावी भयो अर्को जूनीलाई
पि्रय! तिमी मेरी भयौ।
कहाँबाट अचानक तपाई अहिले फेरि आउनु भयो र सजिलै मलाई यस्तो भन्ने हिम्मत गर्नुहुन्छ हा ?
प्रेम र जीन्दगीका हाम्रा निर्णयहरु विरुद्ध अव हामी केहि गर्न सक्तैनौं। हामीले जुन रंगमा डुबेर प्रेम गरेका थियौं त्यो केवल किन सामान्य मान्छेले गर्ने प्रेम बन्न सकेन? आखिर हाम्रा जातिय रंगहरु किन यति धेरै मिश्रति भए ? हामीले अनुभूति भन्दा बढि सास्ति खेप्यौं हाम्रो प्रेमहरु विरुद्ध र अन्त्यमा, तपाईले सजिलै भन्नुभयो-हाम्रो प्रेमको अपमान खप्न सक्दिन बरु स-सम्मान हामी विछुडिएकै बेश! सुखद प्रेमको अन्त्य भन्दै घोषणा गर्नुभयो कत्रो महान संझेर आफैंलाई। त्यत्रो प्रणय-निवेदनको वावजूद पनि तपाईले जान्न चाहनु भएन, निस्वार्थ प्रेम के हो ? विस्मात् बस् जीन्दगी भर यहि रह्यो। रहने छ। पुर्नजन्मको अपेक्षा विल्कुल छैन। अर्को जूनी कस्ले भोगेको छ ?
मलाई राम्ररी थाहा छ, तपाईले मेरो बैंशलाई प्रेम गर्नुभएन। तपाईले कहिले मेरो यौवनमा भुल्न चाहनु भएन। तपाईले अन्तस्करणबाटै मलाई चाहनुहुन्थयो भन्ने कुरामा म विश्वस्त छु अझै पनि। हो, औसत मानिसहरुको जीवनस्तरजस्तै यो राजधानी काठमाण्डौंमा डेरा लिएर सामान्य विद्यार्थी जीवन यापन गरिरहेका हामीहरु जस्ताले गर्न नै के सक्थयौं र त्यो उमेर एवं समयमा झांगिएका प्रेमका मिठा सपनाहरु विरुद्ध। विहानीको सिरेटोसागै मर्निङ कलेज झिसमिसे उज्यालोमा पैंदल जाँदाको अनुभूति अहिले म कारमा सयर गर्दाको सुविधासाग कदापि दाँज्न सक्दिन। बागबजारको सानो चियापसलमा पिएको चिया र समोसाको स्वादसाग साटिएको त्यो विछट्टै अनभूतिहरुलाइ अहिले ँँष्लभ म्ष्लभू को रुमानी क्याण्डल नाईटमा रुपान्तरित गरेर असिम आनन्दको बयान गर्न सक्दिन। कति छन् कति प्रसंगहरु।
एक-अर्कालाई यति धेरै प्रेम गर्दागर्दै पनि किन यो मोडमा आज हामी उभिन बाध्य भयौं ? आफैंलाई बढि प्रेम गर्न खोज्यौं कि ? हामीलाई कसैले कर गरेर प्रेम गराएको त थिएन। हामीले दुवैले एक-अर्कालाई मन पराएरै प्रेम गर्यौं। दुवैको सहमतिमा छुट्यौं पनि। सजिलै। भन्न त हामीले एक-अर्काका खुशी र उज्जवल भविष्यका लागि भन्यौं। वास्तवमा, सामाजिक अनकौं अडचन्हरु विरुद्ध लड्ने हिम्मत राखेनौं दुवैले। अन्ततः सत्य प्रेम थियो हाम्रो भन्ने दावी गर्दागर्दै पनि कता, कता चुकेजस्तो अमिलो लाग्छ त्यो प्रेम र विगत दुवै मलाई। वास्तवमा दुवै लाछी र हरुवा हौं हामी प्रेमको नाममा। कहिलेकाहिं पत्यारै नलाग्नेगरि प्रेमको सिमाना हुँदैन भन्ने कहिलेचाहिं जातियता र सामाजिक सिमानामा गएर अल्भिmरहने मानसिकताको विरुद्ध लड्न सकेनौं हामी दुवै। किन?
खैर ! त्यो विगतमा अल्झेर के फाईदा अव ? आमुल परिवर्तन आएको छ समयसागै जीन्दगीहरुमा। हाम्रा विगतहरु प्रसंग भन्दा बाहिर भईसके साँच्चै नै ! अनि, चक्लेटी प्रेमका कुरामा पाठकहरुलाई अल्झाईरहनुभन्दा पनि मानुषी यमि भट्टराईजस्ता युवा जोशहरुको नौलो क्रान्ति र छलाङको विषयमा केहि लेख्ने बेला हो यो। नयाँ नेपालका लागि, यूवाहरुलाई नयाँ दिशा देखाउन सक्ने लेखहरुको माग हो। पाठकहरुलाई प्रेमका धागोमा अल्झाईरहनु भन्दा पनि एकताको धागोमा कसरी पहाड, तराई र समग्र मुलुलकलाई बाँध्न सकिन्छ भनेर च्ँिन्तामुलुक लेख लेख्ने बेला हो यो। यूवा विद्याथीहरुको चुनावमा भएको हालसालैको अराजक चुनाव शैली विरुद्ध लेख्ने बेला हो यो। लेख्नै परे कति छन् कति प्रसंगहरु।
तैपनि, प्रेम भन्ने शाश्वत सत्य हिजो थियो, आज छ र युगौं रहने छ भन्ने सत्यलाई नर्कान सकिन्न। मुलुकमा विद्यमान तमाम जटिल समस्या एवं दैनिकीहरु हुँदाहुँदै पनि अहिलेचाहिं प्रेम-प्रसंग नै श्ोयर गर्ने जमर्को गरें।
हार्दिक ईच्छा थियो अस्ति काठमाण्डौं विदामा जाँदा स्वयम्भू घुमुँ। मात्रै एकहप्ताको बसाइर्ंमा प्रशस्त समय हुन सकेन आवश्यक प्राथमिकता वाहेक घुम्नलाई। रमा आएकी थिई भेट्न मलाई। रमाले जेहोस् त्यो ईच्छा पुरा गरिदिई। हामी स्वयम्भू गयौं। आफूसागै मैले ७ वषिर्य छोरो पनि लिएर गएकी थिएँ। विस्तारै सिढीं उक्लिएर माथि जाँदैथियौं। बाँदरहरु यथावत् रहेछन् अझै पनि। मेरो छोरोले खाँदै गरेको विस्कुटको पुरियातर्फ झम्टेर आयो एउटा अटेरी बाँदर। अनि छोरो चिच्याउँदै मेरेँ पाखुरा च्याप्प समाउन आईपुग्यो।
सबै नोष्टाल्जिक बल्भिmए एकैचोटि…………….।
धेरै वर्षअघि, यसरी नै यो उकालो सिंढीमा निरुद्येश्य हाम्रा पाईलाहरु अघि ब्ँढेका थिए। उबेला कलेजमा चलेको फैशन, सफा सेतो कुर्ता-सुरुवाल सेटमा ब्लक पि्रण्टेट राजस्तानी रातो चुन्नी मेरो फेवरेट ओढेकी थिएँ। शरद दाइ र म अलिक फराकिलो दुरीमा यसरी नै उकालो हिडिंरहेका थियौं। अहिलेको जस्तो हातेमालो गर्ने जमाना कहाँ थियो र ! डेढ दशकअघिसम्म। उकालो हिंड्दै गर्दा मैले काँचो वाई वाई चाउ चाउ चपाउँदै थिएँ। वहाँले चेतावनी दिंदै हुनुहुन्थयो बाँदरको। म भनें अटेरी औंला चाट्दै खाँदै थिए वाई-वाईको मसला पनि। अनायसै कताबाट हो कस्तरी एउटा बाँदर झम्टिन आयो मेरो हातमा। म अत्तालिएर शरद दाइको पाखुरा समाउन पुगेकी थिएँ।
समृतिमा कैद भईसके ती समय, सपना र जीन्दगीहरु।
तर, शहर त्यहि हो। बाटो त्यहि छ। सिंढी पनि त्यहि छन्। कयौं प्रेमील मनहरुले यसरी नै उकालो-ओरालेँ गरे होलान् हामी जस्तै यो बाटो र सिंढीहरुमा। संभवतः ती पाईलाहरुको डोब अदृश्य अझै त्यहि छ। केवल समय त्यो रहेन अव हाम्रा लागि। मान्छेहरु, सोध्छन् कहिलेकाहिं- यो बाटो कहाँ जान्छ ? म भन्दो हुँ, बाटो कहिं नजाँदो रहेछ। मान्छेहरु पो ओहोर-दोहोर गर्दा रहेछन्। यि बाटा र सिंढीहरु हिजो पनि यहि थियो, आज पनि यहि रहेछ र भोलि पनि यहिं हुनेछ तर हामी कहाँ, कहाँ पुग्नेछौं तर सत्य के भने, जहिं गएता पनि स्मृतिबाट तस्विरहरु समयको सजिलै नमेटिंदो रहेछ। हेर्नोस् न ! मलाई कस्तो जान्न मन लागेको छ ः त्यो नेवार्नी बुढी आमै अझैपनि डालोभरि बदाम लिएर बेच्न सिंढीको पेटी नजिकै बस्छिन् कि ! बस्दिनन् होलीन् ? समयले उनलाई पनि धेरै गलाएको हुनुपर्छ। ं माईसंसारका उमेशजीको शनिबार साहित्यः “फोटो हेर्नोस्, कविता लेख्नुहोस्” का तस्विरहरु देख्दा कहिलेकाहि ती बुढी आमैका चाउरी परेका गालामा फैलिएको उन्मुक्त निर्दोष हाँसोका संझनाहरु बल्झाउन प्रशस्त मद्धत पु्र्याउँछ मलाई।
विगतलाई फर्केर संझन्दा, सोच्छु- जीन्दगी कति ब्यंग्य रहेछ आफैंमा। कुनैसमय, शरद दाइसाग हिडेकी थिएँ यो बाटो। अहिले उसकै वहिनीसाग हिंडदैछु।
जीवनका कुईंनेटोंमा धेरै मोडहरु आए तर रमा र मेरो मित्रता भने सधैं उस्तै रह्यो। आखिर, मेरो बालसखी जो ठहरिई। रमाले भनेकी थिई, शरद दाइ अहिले मेजर भएका छन्। त्यो बन्द च्याप्टरलाई मैले खोतल्न चाहिन। किनभने, जीवनमा ठूलो खुशी पाएका छौं भन्ने भ्रममा मान्छेहरु हामी कहिं, कतै न कतैं दुःखी छौं नै। बोझिलो विगतलाई संझेर मैले अरु सोध्न चाहिन। जीवनको सबैभन्दा ठूलो सत्य ! यो वर्तमानलाई विर्सेर पलभर उनको संझनामा रुमलिनु अव निरर्थक हो भन्ने ठान्दछु म। छाति कता, कता गह्ंगो हुँदाहुँदै पनि यो धरातलबाट म फर्किन पनि त सक्दिन। गोधुली साँझमा मानौं, कुनै बेनाम गाउँमा एक बथान गाई-गोरुहरु धुलो उडाउँदै घर र्फकन्दैछन्…….त्यहि धुले स्मृतिहरुमा डुब्दै गरेको क्षितिजको लालिमा नियाल्दै धेरै वर्षपश्चात् एकपटक धित् मरुञ्जेल स्वयंम्भुबाट मैले काठमाण्डौंलाई नियालें। रमाले खै ! केहि पत्तो पाई कि पाईन कुन्नि !
मन्द-मन्द बतास चलिरहेको थियो। रातो, पहेंलेँ, निलो रंगिचंगि ध्वजाहरु र्फरफराईरहेको त्यो दृश्य अस्ति भर्खरै कर्ण शाक्य दाइले आफ्नो नयाँ पुस्तक “खोज” को कभरपेजमा बढो कलात्मक ढंगले आफ्नो फोटा राख्नुभएको रहेछ। शरद दाइलाई संझिएर एकसरो झस्किन आफैंमा पर्याप्त भयो त्यो कभरपेज मलाई।
शहरको कोलाहलबाट टाढा स्वयंभूको यो थुम्कोमा उभिएर धेरैवर्ष अघि यसरी नै हामी दुवैले राजधानीलाई नियालेका थियौं। अनि, वहाँले भन्नुभएको थियो- हेर ! काठमाण्डौंमा कति धेरै घरहरु छन् हगि ! हेर त हेर ! तर त्यत्रो घरहरुको भिडमा हाम्रो आफ्नो चाहिं घर छैन। कति मार्मिक प्रश्न थियो। राजधानीमा सपना बोकेर आउने औसत मान्छेहरुको चाहना। उच्च शिक्षा आर्जन वाहेक एउटा ब्यवस्थित जीन्दगीको चाहना हुनु कुनै अनौंठो विषय त होईन। हावामा र्फरफराईरहेका रंगिन ती ध्वजाजस्तै रंगिन हाम्रा सपनाहरु हुँदाहुँदैपनि हामी किन चुडियौं सजिलै यसरी ?
एकदिन, हाम्रा बाटाहरु छुट्टएि। लाग्छ, उमेर र समयभन्दा अलिक बढी नै परिपक्वता देखाउनु भयो शरद दाइले या, आफूभित्रको आत्मविश्वासको कमि के भनौं यसलाई ? निरुत्तर छु आजपर्यंत। आर्थिक सम्पन्नता नहोला भविष्यमा र जीवनका खुशीहरु दिन नसकुलाँ भन्ने तपाईको कुण्ठासाग पराजित मसाग आज तमाम खुशीहरु छन्। हाल यद्धपि म प्रवासमा बस्छु तर तपाईंले स्वंम्भूको डाँडाबाट कुनैसमय औल्याउनु भएको राजधानीको यो भिडमा, मेरो आलिशान बंगला छ। कार छ। बैंक ब्यालेन्स छ। त्यो भन्दा पर्तिर ठोस सत्य, अंगालोभरिको मेरो लोग्ने छ। काखभरिको प्यारो भकुल्ले छोरो छ। यतिविघ्न सम्पुणर्ता हुँदाहुँदै पनि, आरुका फूलहरुसाग दाँजेका मेरो पहिलो प्रेमका नितान्त निजि अनूभूतिहरुलाई सम्पुर्ण वैभवताभित्र सजिलै किन भुल्न सक्दिन म ?
त्यसो त, जुनदिन देखि हाम्रा बाटाहरु छुट्टएि हाम्रो सपनाहरुको ईतिश्री पनि त्यहि दिन भईसक्यो। सग्लोरुपमा अव हामी दुवै रहेनौं। हामी बाँडिसक्यौ उहिल्यै अरु कसैको भएर। अव त कुनै पनि मनोकाङ्क्षा नहुुनु पर्ने होईन र ? तैपनि, अपर्याप्त छन् अनेकौं सवालका जवाफहरु अझैपनि।
किन, मान्छेहरु अरुको हार्दिकता बुझ्ने चेष्टा गर्दैनन् ? तपाईले पनि कहिले मेरो हार्दिकतालाई बुझ्ने चेष्टा गर्नु भएन। तपाईले केवल मलाई प्रेममात्रै गर्नुभयो। लाग्छ, प्रेमभन्दा पनि जूझारु प्रेमको कत्रो महत्व हुँदोरहेछ। तपाई त जुझारु होईन, केवल महान बन्न खोज्नु भयो। आज आएर बुझ्दैछु, महान होईन तपाई वास्तवमा, काँतर बन्नुभएको रहेछ ऐनपरिस्थितिमा मलाई एक्लै छोडेर। जीवनको यो मोडमा घरि, घरि मेरो विगत बल्झाउन बाध्य बनाउने त्यो ब्यक्तिलाई म कदापि महान भन्न सक्तिन। तपाईले कहिले महसुस गर्नुभएको छ ? अनायसै यसरी बल्भिmनुले पनि कति पींडा दिंदोरहेछ मान्छेलाई। शुसुप्त विचलन मनभित्र। सायद हामी दुवैले कहिले आफूभित्र मार्न सकेनौं कि ! हाम्रो प्रेमविरुद्ध आफैंलाई ? अनि, आज आएर अनायसै शरद दाइ भन्नुहुन्छ- यो जूनीमा त्यस्तै भयो…………………।
पि्रय पाठकहरु ! अदृश्य पींडा बोकेरै पनि धिक्कार्नर् सकिंदैन रहेछ विगतलाई। प्रेम गर्नेहरुका लागि विशेषतः जातिय सिमाना फराकिलो होस् भन्ने कामना राख्छु बस् यति नै अहिलेलाई।
समाप्त।।
March 26th, 2009
(स्रोत : Mysansar.com)
