~उमेश राई “अकिञ्चन”~
साजिदले सल्कायो सम्झनाको सिगरेट र टेक्दै हिँड्यो अढाइ अक्षर प्रेमको आधा बाटो।
साजिद वरिपरि चलिरहेको बतास उही थियो जसले बोकेर ल्याउँथ्यो देवदूतले जस्तो एसएमएस। भगवानको हातले लेखेजस्ता एसएमएस हरफहरू उड्दै-उड्दै आउँथ्यो मुटुको आकार लिएर
“म यहीँ छु तिम्रो सम्झनाको फोटो मुन्तिर
सायद,तिमी पनि आकाश र धरति जोडिएको
उही थोप्लोमुनि
सम्झनाको एल्बम पल्टाइरहेका हौला।”
आज ठीक उसरी नै असारको झमझम परिरहेको झरीमा रुझ्दै-भिज्दै एउटा रंगिन कार्ड साजिदको हातमा आइपुग्यो। पृथ्वी घुमेजस्तै उसका आँखाभरी सम्झनाहरू वृत्त बनेर नाच्न थाले। रोशनी र उसले एउटै छाता ओढ्दै नापेका काठमाडौंका सडकहरू अपदस्त शासकको नामजस्तो विस्तारै अपरिचित लाग्न थाले। अब ऊसँग बाँकी थिए केवल काठमाडौँको जाममा परेका गाडीहरूजस्तै तँछाडमछाड गर्दै आउने सपनाहरू। अमूर्त सपनाहरू देख्नलाई मात्र सीमित थिए,देखाउनलाई थिएनन्। जस्तो कि कवि लेखकसँग देखाउन केही हुँदैन घर,गाडी,बैंक ब्यालेन्स। तर, भन्नका लागि धेरै कुराहरू हुन्छन्। सायद,त्यसैले राज्य र समाजले लेखकलाई अनुत्पादक ठानेको हुन्छ। अनुत्पादक सरह बाँचिरहेको साजिदलाई कहिले त फर्केर आफ्नै ठाउँ जान मन लाग्थ्यो। समय-समयको कुरा हो यो सब, आफैले आफैलाई सान्त्वना दिन्थ्यो।
कुनै दिन संसारकै सुन्दर सपना देख्नेहरू मध्य पर्थ्यो ऊ। प्रेममा परेको खटपटसँगै,आँखामा सपनाहरू कम कुण्ठाहरू बढी ओइरिन थाले। त्यही दिनदेखि सुकिरहेको बूढो रुखजस्तो अर्ध-जीवित बाँचिरहेको थियो ऊ। आजको विवाह निमन्त्रणा त एउटा औपचारिक सूचना मात्र थियो। कोमामा पुगेको बिरामीलाई मृत घोषणा गरेजस्तै।
साथीहरूमै पनि केहीले सोच्थे, साजिद समयभन्दा ढिलो हिँडिरहेछ। केहीले भन्थे रोशनी घडीका काँटाभन्दा छिटो दौडिरहेछ।
घडीका काँटाहरूले जति नै घुमे पनि बनाउने एउटा गोलाकार न हो।
समयको यही गोलाकारमा साजिद र रोशनी भेट्टिए र छुट्टिए पनि।
साजिदलाई चिन्नेहरूले जे जस्तो कुरा काटे पनि उसका मनमा समयका काला बादलहरू हटेर, नीलो आकाशमा सुन्दर सेता बादलहरू आएजस्तै जीवनमा दुःखपछि सुख आउने कुरामा आशावादी थियो। उसले बुझेको थियो मान्छेलाई बाँच्न सिकाउने दुई कुराहरू हुन्छन्— आशा र परिश्रम। आशा र परिश्रमको वैशाखी टेकेर पुग्नु थियो उसलाई,त्यो गोलो क्षितिज जहाँ टेकेपछि संसार आधा हुन्छ।
भेट्टिनु र छुट्टिनु आफैमा संयोग हो जीवनको। एउटासँग माया बस्नु,अरू कसैसँग विवाह हुनु चलेकै चलन हो। तर साजिदको मनको गहिरो दुःख के थियो भने धर्म उनीहरूको बिछोडको कारण बन्यो। संसारका सबै धर्मले मान्छेलाई माया गर्न सिकाउँछ। भगवान आफैमा रोटी हो जसको संसारभरि फरक नाम छ तर मान्छेलाई बाँच्न आवश्यक हुन्छ। भगवान कसैका पनि खराब हुँदैनन्। खराब त मान्छे हुन्छ जसले धर्म र भगवानलाई आफ्नो स्वार्थ अनुरुप व्याख्या गर्छ। रोशनी पनि त्यही मध्य परी जो समय अनुरुप रङ्ग बदल्छन्। मौसम झैँ बदलिने बेइमानीहरूलाई जात,धर्म,वर्ग टाढा हुने ठूलो बहाना बन्दो रहेछ। जबकि प्रेममा,जात,धर्म,वर्गभन्दा माथि उठेर सँगै बाँच्ने सँगै मर्ने कसम खाइएको हुन्छ।
साजिद अन्सारी त्यही विद्यार्थी हो, जस्का लागि विश्वविद्यालय अंगालो हाल्न आइपुग्थ्यो। वीरगंज गहवाबाट आएर काठमाडौँमा पाइला राख्दा सूर्यजस्तो उदाउने सपना थिएन उसको। उसलाई त समाजशास्त्र पढेर संसारका मानिस एउटै हुन् भन्ने भावनामा केही उर्जा मात्र थप्नु थियो। कक्षा शुरूका दिनहरूमा,तराई मूलको भनेर साजिदलाई कसैले वास्ता गर्दैनथे। कक्षामा हुने विभिन्न टेस्टहरूमा उस्ले राम्रो नतिजा प्राप्त गरेपछि, विस्तारै ऊ सबैको आँखामा परेको थियो।
काठमाडौँकी रैथाने रोशनी र उसको पहिलो बोलचाल भने लाइब्रेरीमा भएको थियो। उपन्यासमा वर्णन गरिने नारी पात्रजस्ती रोशनी देखेर ऊ चकित बन्थ्यो। साजिद स्वभावतः कसैप्रति झट्ट आकर्षित हुने व्यक्ति थिएन। चलचित्रमा देखाइने जस्तो काल्पनिक प्रेम र जीवनले उसलाई छुँदैनथ्यो। उस्को आदर्श नै पढनु,पढनु र फेरि पढनु नै थियो। तर किन-किन त्यो दिन रोशनीका पाइला सरेतिरै उसका गोडाहरू उचालिए। रोशनीले उसलाई नछोए पनि, रोशनीको रूपले उसको मुटुलाई छोइसकेको थियो। तनको सौन्दर्य जस्तै, रोशनीमा भएको विद्घता पनि उनले पल्टाएका किताबहरूबाट साजिदले थाहा पायो। रोशनीले र्याकबाट निकाल्दै, हेर्दै फेरि र्याक मै राखेका किताबहरूलाई साजिदले यसरी सुम्सुम्यायो मानौँ ती किताब नभई रोशनीका हातहरू हुन्।
साजिदले आफैं बोल्न शुरु गर्यो, “एक्सक्यूज मि,कुन बुक खोज्नु भएको होला ?”
रोशनीले मुस्कुराएर उत्तर दिइन्, “पिपल्स अफ नेपाल”
“तपाइँले नि?”रोशनीले प्रश्न गरिन्।
“फेटलिज्म एण्ड डेभलेपमेन्ट”साजिदको उत्तरमा उमङ्ग मिसियो। दुई किताबहरू तर उही लेखक डोरबहादुर विष्ट मिल्न गएकोले उनीहरू दुबै खुसी देखिए।
“पिपल्स अफ नेपाल”जुन किताबले नेपाललाई साझा फूलबारीको रूपमा चित्रित गरेको छ। साजिद नेपालको अल्पसंख्यक मुस्लिम समुदायबाट आएको भएर होला उसलाई समता र विकासका किताबहरू मन पर्थ्यो।
यसरी यिनै बोलीका बाटाहरूले उनीहरू मित्रतामा गाँसिए। अब साजिद र रोशनी पढाइसँगै एक अर्कालाई प्रेम गर्न थाले। काठमाडौंको जाडो महिना,रातो गुलाफको शहरजस्तो देखिने मौसममा नयाँ उमङ्गको साटासाट गरे यी दुईले। “ह्यापी भ्यालेण्टाइन डे”, “वी स्याल लिभ आवर लाइफ लाइक पोएम” लेखिएका कार्ड र राता गुलाफहरू।
“कविता जस्तो जीवन कस्तो हुन्छ,थाहा छ ?”
कविताको कुनै धर्म हुँदैन, वर्ग हुँदैन, लिङ्ग हुँदैन, उमेर हुँदैन, भाषा हुँदैन। जीवन पनि त्यही हो जहाँ बन्धन नहोस्, धर्म नहोस्, वर्ग नहोस्, मीठा-मीठा कल्पनाहरू होस्, जस्तो एउटा मीठो कवितामा हुन्छ। रोशनी र साजिद यसरी नै एक अर्कामा, जीवन र कवितालाई दाँजेर हेर्थे।
यो एक्काइसौँ शताब्दी सभ्यता र एकताको युग हो। दुवैलाई जात, धर्म, वर्गको वास्ता थिएन। वास्ता थियो त पढाइको,त्यसपछि बनाउनुपर्ने करिअरको। द्वितीय वर्षको परीक्षा पश्चात् साजिद र रोशनी पनि शोधपत्र लेखनतिर लागे। “शोधपत्र होइन, सारपत्र हो”, साथीहरू ठट्टा गर्थे। तर रोशनी र साजिद आ-आफ्नो शोधपत्रको विषयमा दत्तचित्त भएर अध्ययन गर्थे ताकि कुनै उपयोगी तथ्य उजागर गर्न सकियोस्। सायद त्यही नयाँ विषयवस्तु खोज्ने जिज्ञासु बानीको कारण, साजिदले ‘न्यू एरा’ अनुसन्धान संस्थाबाट दिइने अनुसन्धानवृत्तिको सहयोग प्राप्त गर्यो। रोशनीले ‘केयर नेपाल’ अन्तर्गत अनुसन्धान अधिकृतको जागिर पाइन्।
यसैबीच, दुर्भाग्यवस साजिदको बुवाको मोटरसाइकल दुर्घटनामा मृत्यु भयो। घरमा एक्ली आमा र बहिनीको भरोसा बनेर उसले वीरगञ्जमै केही समय बितायो। साजिदका लागि अब जीवनका गोरेटाहरू सरल भएनन्। साजिद आफ्नै टोलको १०+२ मा केही समय पढाएर काठमाडौं फर्क्यो। काठमाडौँ मै बसेर लोक सेवा आयोगको तयारी गर्दै, १०+२ पढाउन थाल्यो।
समयले अब यी दुई प्रेमीहरूलाई समुद्रको दुई किनारजस्तो बनाएर टाढा-टाढा पुर्याइदियो।
रोशनीको घरमा उनको विवाहको कुरा उठ्न थाल्यो। केही प्रस्तावहरू रोशनीले सोचुँला भन्दै टारिन्। यता साजिद आफ्नै दुःखले थिचिएर लिक छोडेको रेलजस्तो भएको थियो। उनीहरूबीच अब समझदारी र प्रेमभन्दा ‘व्यक्तित्व टकराव’ बढन थाल्यो। प्रेम निस्वार्थ भइन्जेल अन्धो हुन्छ। प्रेममा स्वार्थ मिसिनासाथ त्यो नाफा घाटा अनुसार चल्ने ब्यापार बन्छ। हाम्रो जस्तो अल्पविकसित समाजमा झन् एउटा मुस्लिम केटा र हिन्दू केटीको प्रेम समाजले सहज रूपमा स्वीकार्ने अवस्था थिएन। यही सामाजिक विभेद रोशनीलाई साजिदबाट टाढा हुने बहाना बन्यो।
साजिदमा अब हिजो जस्तो सफल मान्छे बन्ने सम्भावना पनि थिएन। परिस्थितिले उसलाई यसरी बाँध्दै लग्यो, अब उसका नजिकका मित्रहरू नै ऊबाट टाढिन थाले। रोशनी, जसको साथ यो समय उसका लागि अपरिहार्य थियो तर रोशनी नै ऊबाट तर्किन चाहेको उसले राम्ररी बुझ्यो।
“साजिद,मेरो बिहेको चर्चा घरमा व्यापक भइरहेको छ,क्यानाडा बस्ने डाक्टरसँग। “साजिदको अघि रोशनीले आफू दुःखी भएको अभिनय गरेपनि उनको आँखामा नाचिरहेको उमङ्गलाई साजिदले स्पष्ट देख्यो।
बिचरा ! साजिद के गरोस् ?आफ्नी आमा र बहिनीलाई त सहारा दिन नसकेर वीरगञ्जमै छोडिआएको छ। काठमाडौंमा १०+२ पढाएर आफू मात्र बाँच्न त मुश्किल परेको बेला, रोशनीका महत्वकांक्षा उस्ले कसरी पूर्ति गरोस्। फेरि १०+२ पढाउने जागिर पनि के जागिर हो र ? प्रिन्सिपलको हजूर-हजूर गरेसम्म न हो। उसले यस्तै सोच्यो।
कुनै समाधानको उपाय निक्ली हाल्छ कि उसले केही हप्ता पर्खन आग्रह पनि गर्यो।
संवाद भएको केही दिनपछि नै रोशनीको विवाह पक्का भएको कुरा साजिदले साथीहरूबाट थाहा पायो। आज विवाहको रङ्गिन कार्ड उसको हात पर्दा उसका आँखाभर पृथ्वी घुमेसरी सम्झनाहरू ओहोर दोहोर गरिरहे। सँगै जिउने,सँगै मर्ने कसम खाएर जीवनमा गरेको पहिलो प्रेम बिर्सन खोजे पनि सम्झनाहरूले उसलाई ठुङ्ग नै रहेँ।
विवाहको केही दिनपछि नै रोशनी क्यानाडातिर उडिन्,जिन्दगीको आकाश भेट्न। साजिदका लागि अब रोशनी सुन्न सकिने तर गाउन नसकिने गीतजस्तै बनिन्। रोशनी देख्न सकिने तर छुन नसकिने बादल भएर उड्दै-उड्दै टाढा धेरै टाढा क्षितिजभन्दा पर पुगिन्।
समयले सँधै मान्छेलाई अन्याय मात्र गर्दैन। परिस्थिति सँधै प्रतिकूल मात्र बन्दैन। संसार आशावादीहरूको हो जसले कालो बादलमा चाँदीको घेरा देख्न सक्छ। संसार परिश्रमीहरूको हो जसले सिपीमा मोति बटुल्न सक्छ। अवसरको लागि प्रेम गर्नेहरू, नाफा घाटाको हिसाबमै अल्झिन्छन्। साँचो माया गर्नेहरू, सुखमा पनि दुःखमा पनि सँगै जिउँछन, सँगै मर्छन्।
साजिद आज परराष्ट्र अधिकृत बनेको छ। क्यानाडामा खुल्न लागेको दूतावासमा उसको पोस्टिङ् भएको छ। कसै-कसैले भनेको सुनिन्छ,श्रीमानसँगको सम्बन्धविच्छेदपश्चात् रोशनी क्यानाडामा एक्लै छिन्। यता, साजिद र डा.सवाना खातुनको सानो संसार,सानो सन्तानसँगै खुसीसाथ चलिरहेको छ। साजिदकी आमा र बहिनी अहिले काठमाडौकै घरमा पूर्ण सन्तुष्टिका साथ जीवनयापन गरिरहेका छन्।
अन्ततः आशा र परिश्रमको वैशाखी टेकेर साजिद पुग्यो त्यो गोलो क्षितिज, जहाँ टेकेपछि संसार आधा हुन्छ।
August 22nd, 2009
(स्रोत : Mysansar.com)