~गणेश भट्टराई~
मसानघाटको चितामाथि
उसको लास शान्त छ
परायालाई आफ्नो अधिनायक बनाएकी
नवबिबाहिता जस्तो
जब उसको लासमा आगो झोसिन्छ
हिजो आँफैले चिरेका दाउराहरु
म माथि बन्चरो हान्न थाल्छन
अग्नी साक्षी राखी सात फेरो लिने सपनाहरु
आज त्यही अग्नी जलाउन थाल्छ
मसानघाटका अरु मुर्दाहरुसँग
उ पनि जल्दै जान्छे
हाम्रो प्रेमको खिल्ली उडाउनेहरुलाई
तातो राप दिएर।
उस्को मृत्यु-सन्देशले मेरो जरा ढग्मगाएको छ
उ मर्दा आफु मात्र मरिन
मेरा पातहरु झारेर मरी
मेरा हाँगाहरु भाँचेर मरी
मलाई सिख्रो रुख बनाएर मरी
चिता माथि उ आफु मात्र जलिन
मलाई खरनी बनाएर जली
उ अस्तु भई खोलाको भेलसँग बगेर गई
म चुल्हो मुनीको खरनी भएँ
प्रत्येक छाक नयाँ दाउराहरु बाल्नु पर्ने
नयाँ दाउराहरु सँग बल्नु पर्ने।
तर म चाँडै नै अभ्यस्त हुनेछु
यो ऋतु परिवर्तनको रुघा-खोकीसँग
लख काट्दै छु
आँउदो बसन्त अबस्य बहार ल्याउनेछ
हरिया पातहरु पलाउने छन
र मेरो हाँगामा अर्कै चरिको गुँड बन्नेछ
त्यसैले त म जिन्दा छु
यो पतित बर्तमानमा
जहाँ आदर्श जप्दा पुरुषार्थको रोसनि चम्कन्छ
र आदर्श जिउँदा \ जिउन खोज्दा
छाती मुर्खताको तक्मा थाप्छ
त्यसैले यहाँ रोमीयो-जुलिएटहरु
साहित्यका फगत पात्र मात्र हुन
उनिहरुको कथा
सेक्सपियरहरुको कल्पनाशिलता मात्र रच्न सक्छ
म यही बर्तमानको उपज हुँ
म यही कटुताको दास हुँ
त्यसैले ममा उसलाई गुमाउनुको पिडा छैन
र त उसको मृत्यु सन्देश ल्याउने
दैलाका काला कौवाहरु तिर फर्केर
अनुहारमा कुटिल मुस्कान चढाउँदै भनेको थिएँ
श्रद्धा सुमन मेरी मृत प्रेमिका।।
अक्टोबर 2, 2009
(स्रोत : रचनाकारको ब्लगबाट सभार)