~सन्दिप बडाल~
हे प्रचण्ड,
सुन्यौ तिम्रा भाषणहरू
अनी बुझ्यौँ तिमीले सुनाएका महत्वाकांक्षा
तर शब्दका भारले मात्रै
पूरा हुन सक्दैनन हाम्रा आकांक्षा
आकांक्षा पूर हुन त मन चाहिन्छ
अनी मन रहन दह्रो मुटु पनि
तर तिम्रा बमबारूदका थर्काइले
कमजोर बनिसके यी पनि
आकांक्षा पूरा गर्न अठोट चाहिन्छ
र अठोट पूरा गर्न विचार पनि
तर विचार उब्जने शिर नै उडिसके
तिम्रै आकांक्षाको शिकार बनी
अठोट पूरा गर्न मिहिनेत चाहिन्छ
र मिहिनेत पूरा गर्न शरिर पनि
तर सारा शरिर नै छरपष्ट भैसक्यो
तिम्रै आकांक्षाको शिकार बनि
तिम्रा आकांक्षाले त केहि बाँकी छाडेनन्,
लगे सानो त्यान्द्रो पनि
हाम्रा चाहनालाई कसरी पूरा गर्छौ,
आफैँ सफलतामा काँडेतार बनी ?
त्यसैले भाषण दिनुभन्दा
भागवानसामु गर सानो प्रार्थना
आफ्नो काल नआओस भन
कारण त्यो त होईन तिम्रो चाहना
तिम्रो चाहना त हो मृत्यु जनताको
र जनताको बर्बादी पनि
विगतका एघार बर्ष बसेका छन्
यसको ताजा उदाहरण बनि
इतिहासका खुला पानाबाट्
यी उदाहरणलाई मेट्छौ कसरी ?
आफ्ना अनमोल पापहरूलाई
कुन मुल्यमा, बेच्छौ कसरी ?
दुर्व्यसनिलाई दुर्व्यसनको झैँ
तिमीलाई ज्यान मार्ने इच्छा जाग्ला
एकदिन मार्न नपाउँदा’नि
खल्लो खल्लो लाग्ला
त्यसैले भागवानले त तिमीलाई माफी दिने छैनन्
तिम्रा पापहरूलाई पनि मेटिदिने छैनन्
बरू जनताले देलान माफि
चाह्यौ भने पश्चाताप गर्न
यदी राजी भयौ भने तिमी
हजारौँ निर्दोशको ज्यान फिर्ता गर्न
मेरो देशको एघार बर्षे लामो यौवन फिर्ता गर्न
– मंसिर ८, २०६२
(स्रोत : रचनाकारको ब्लगबाट सभार)