~ममता अग्रवाल~
उनीहरू दुई जनाको अक्सर बाटोको त्यही मोडमा सधैं भेट हुने गथ्र्यो । आपसी चिनाजान नभए पनि किन हो कुन्नी भेटेको बेलामा दुबै एक–अर्कलाई निक्कै गहिरिएर र उत्सुक दृष्टिले हेर्ने गर्थे । दुबै जना अधबैंसे उमेरका थिए र परिपक्व
वा विचारवान जस्तै देखिन्थे । फरक यति थियो कि, उनीहरूको जम्काभेट हुने बेलामा एक जना मन्दिरबाट फर्किरहेका हुन्थे
भने अर्को व्यक्ति चर्चतिर जान लागेका हुन्थे । हरेक दिन जम्काभेट हुँदा दुबै जना अर्को व्यक्तिप्रति विचित्र भावले दृष्टि गोचर गर्ने गर्थे । मन्दिरबाट फर्कने सज्जनलाई चर्चतर्फ जान लागेका व्यक्तिको शुभ्र वस्त्र, सौम्य भाव र घाँटीमा लट्केको क्रसमा अपूर्व शान्ति लुकेको आभाषहुन्थ्यो भने चर्चतर्फ जान लागेका व्यक्तिको निधारको त्रिपुण्डक, गलाको रुद्राक्ष र निधारको टीकामा अद्भूत आभाको महसुस हुन्थ्यो ।
समय बित्दै जाँदा दुबै जनालाई अर्को पक्षको आचरण, समर्पण, चरित्र र व्यक्तित्वमा झन् झन् ओज, उर्जा, पवित्रता र उपलब्धीताको बोध हुन थाल्यो । दुबैको मन्दिर र चर्चको आवागमन जारी नै रह्यो भने प्रत्येक जम्काभेटमा एक–अर्काप्रतिको आकर्षण, झुकाव र कौतुहलता झन्–झन् बढ्न थाल्यो । केही दिन उनीहरू दुबै जनाको जम्काभेट हुने स्थानमा उनीहरू देखिएनन् ।
आज फेरि अचानक दुबै जनाको पूरानै मोडमा जम्काभेट भयो । दुबै जना एकदम अच्चमित र आश्चर्यचकित भए । दुबै जनाले बाटोमा टक्क उभिए र एक–अर्कालाइ विस्फारित लोचनले हेर्न थाले । सधैं मन्दिरबाट फर्कने र रुद्राक्ष धारण गर्ने व्यक्तिको गलामा आज क्रस लट्किएको थियो र उनी श्वेत वस्त्र धारण गरेर हातमा बाइबल लिएर हिंड्दै थिए भने दिनदिनै चर्च जाने व्यक्ति आज त्रिपुण्डक धारण गरेर, गेरुवा वस्त्रमा हातमा गीता लिएर हिंड्दै थिए ।
ममता अग्रवाल
बरबोटे–३ बिब्ल्याँटे इलाम
(स्रोत : इलाम पोस्ट अन्लाइन)