यौनकथा : सिरक

~बिन्दू प्याकुरेल ‘लुना’~Bindu Pyakurel 'Luna'

२४ वर्ष कै उमेरमा पुछिएको थियो राधाको सिउँदोको सिन्दुर। दुई वर्षको काखे बालक ॠषिलाई काखमा लिएर कति आँशु बगाइन् उनले त्यसको के लेखाजोखा ! साउनमा उर्लेर हिउँदमा थाकेको नारायणी झैँ रुँदारुँदै सुक्थ्यो उनको आँशु।

~~~~

नारायणी नजिक कै छेउ गैंडाकोट नजिकै राधा र उन्को दिवंगत श्रीमान् भानुप्रसादको परिवार बाग्लुङको दुर्गमतिरबाट केही वर्ष पहिले बसाइँ सर्दै आएको थियो। भानुप्रसादको सानो झुपडी घर थियो। जम्मा १०-११ कठ्ठा मात्रै खेत थियो उनीहरुको। खेती किसानीबाहेक भानुको गैंडाकोट भृकुटी कागज कारखानामा पिउनको जागिर थियो भने राधा खेतिपाती – पशुपालन मै ब्यस्त थिइन्। केही समयको पिउन जागिरपछि भानुले पनि जागिर छोडेर खेतिपाती पशुपालन बढाउन दत्तचित्त भएर लागेको थियो।

दुवैको मेहनतले झुप्रो घरबाट काठको टाडे (तला भएको घर) बनिसकेको थियो। जग्गा पनि जोडेर १०-१२ कठ्ठाबाट ३ बिघा बनाइसकेको थियो। भानुप्रसादको घर परिवार देखि राधाको माइतीसम्म सबैले सहयोग गरेका थिए घर बनाउँदा र जग्गा किन्ने बेलामा।

~~~~

सानो परिवार हाँसीखुशी सन्तोषले बित्दै थियो। छोरा ॠषि २ वर्ष पुगेको थियो। ४-५ वर्ष नपुगुन्जेल अर्को सन्तान नजन्माउने निर्णयमा थिए उनीहरु।

~~~~

” राधे ! ए राधे ! ”

“किन हो र भन्छु ! गो ठा ‘ छु का ! ” गोठबाट गोबर लत्पतिएको हात उचाल्दै राधाले भनिन्।

” हेर केटी ! (केही बाग्लुङगेहरुको श्रीमतीलाई केटी भनी सम्बोधन गरेन गर्ने बानी हुन्छ) आज शिवरात्री ! यसो गाउले स’ ( गाउँलेसँग ) मिली गाजा- भाङ्ग – धतुरो चिलिम तानेर आउनु परो का ! ढिलो भइएछ भने खोजी नगरेस् नि ! ”

” के भन्चन यी बाउन (बाहुन – श्रीमतीले श्रीमानलाई बाउन भन्ने चलन पनि हुन्छ) भन्छु ! क्यार्न ढिलो अर्नु (गर्नु) परो र भन्छु ! कस मारेर आ ‘ त भाइगो करे नि ! , नुन सिद्दो घरा ‘ ही जा टि ( हिजैदेखि नुन सिद्दियो घरमा ) , अल्नो खाइया छ ! बजारा ‘ टि (बजारबाट) नुन किन्थेउ कि भनेको ! ”

” भजन लाउ चन रे का ! खैचडी मलाई नै बजाउन भन्या हन ( भन्या छन‌ ) का ! ढिला है चन जान लाई ( ढिलो भइसक्यो जानलाई) ! ” उस्ले बाग्लुङगे लेघ्रो तान्दै भन्यो।

” चाड त तिम्रै आउचन करे नि ! ” राधाले गोबर फ्यात्त ! फ्यात्त ! फाल्दै भनी।

” नकराइ ! नकराइ ! ( नकराउ ! नकराउ ! ) लौ गैइयो आफू त ! ”

~~~~

भानुप्रसाद गए गाउँ नजिकैको शिव मन्दिर मा गाजा भाङ्ग खान र भज्न – भजन गाउन।

गाजाले लठ्ठ भएर राति फर्किँदै थिए , कुनै सवारी साधनको ठक्कर लागेर उनी ठाउँको ठाउँ मै ठहरै भए।

~~~~

यता राधा भने साँझपखसम्म बाटो हेरेकी थिइन्।

” माल्दाजै ! हाम्रा बाउनलाई देख्नु भो शिव मन्दिरा’ ? ” मन्दिरबाट फर्कँदै गरेका गाउँले छिमेकी माइला बाजेलाई उनले सोधिन्।

” ए !!!! ( उस्ले लामो लेघ्रो तान्दै बोल्यो ) पर्ख् अब तिम्रा बाउनलाई ! आउन्न ती आज , मस्त भ र ( भएर ) भजनाँ छन् ! भोलि सखारै आउलान् भन्छु म त ! रौस्या छन असाध्यै तिम्रा बाउन बैनी ! ”
अब चाँही राधा भोलि नभै भानुप्रसाद आउँदैनन् होला भन्ने ठानी ढुक्क मनले छोरालाई च्यापेर निदाइन्।

~~~~

भोलिपल्ट बिहान नै गाउँलेहरु आँगनमा धुरिए। उनको सिउँदोको सिन्दुर पखालियो। हातका चुरा फुट्यो। गलाको पोते चुडियो। फुटेको चुरासँगै उनको खुशी फुट्यो।

आँगनमा ल्याइएको भानुप्रसादको मुर्दा शरीर एकैछिनमा हरियो बाँसमा बाँधियो र कात्रोले छोपियो। लाश उठ्यो। लाशसँगै राधाको खुशी उठ्यो।

भानुप्रसाद जल्यो। भानुप्रसादसँगै राधाको खुशी जल्यो।

बज्रपात सहेर पनि उनी बाँच्नु पर्थ्यो बालक ॠषिको मुख हेरेर। उनी बाँचिन।

~~~~

राधाको माइती र घरपट्टीकाहरु आउँदै राधालाई सघाउँदै गर्न थाले। तरुनी छोरी – बुहारी विधुवा हुनु पर्दा उस्को पीडाभन्दा पनि बढी उसको यौबना विधवाले चिन्तित पार्थ्यो सबैलाई।
जति पनि आउँथे राधालाई भेट्न सबैले भन्ने गरेका शब्दहरु यस्तै हुन्थे – ” क्यार्नु त बाबै दैबको लेखा ! ”

” छोरीको जन्म हारेको कर्म भन्चन् करे ! यो प्युसा ( ॠषि ) को मुख हेरेर बाँचेस् बाबै! ”

” ध्यान – जप – इसोरमा मन लगाएस् ! ” आदि- आदि।

यी भनाइभित्र उनीहरुको गम्भीर डर लुकेको हुन्थ्यो कतै वैँश कि राधाले बाटो बिराउने त होइन भनेर !।

~~~~

छातिभरी वेदनाको घाउ बोकी राधाले समय बिताउदै गइन्। दिन – रात – रात – दिन नारायणीको पानी बगे झैँ समय पनि बगी नै रह्यो। बगिरहेको समय सँगै उन्को पीडा पनि बग्दै गयो। छोराको पालनपोषण – खेतिपाती मा उनले आफ्नो वेदना भुल्दै गइन्।

छोरा चार वर्षको पुगेपछि चाँही सासु – ससुरा पनि उनैसँग आएर बस्न थाले। सासु – ससुराको साथले आड दिएको थियो उनको पारिवारिक जीवनलाई। ॠषि पनि छ वर्ष पुगेर सातमा टेक्यो अब।

माइती तर्फका ले बार्पाकतिरबाट झरेको सोझो गुरुङलाई हली बस्न पठाइ दिएका थिए। उस्ले खेतिपाती का सम्पूर्ण काम गर्थ्यो। ऊ गोठमाथि नै बस्थ्यो। खेतिपातीदेखि लिएर इनार खन्ने , काठ चिरेर घरायसी सामान बनाउने – जस्ता ‘ अड्को पड्को तेलको धुप ‘ भने झैँ सबै काम गर्न जानेको थियो। राधाको घरमा दाहिने हात भएको थियो ऊ।

~~~~

आज फागु पुर्णिमाको दिन।

ॠषि साथीहरुसँग खेल्न लई बेलुन फुकी पानी भरी दिन आमालाई कर गरिरहेको थियो।

” आमा ! बेलुन फुलाई देउ पानी हालेर ! थुलो बनाइ देउ ! ”

राधाले बेलुन फुक्ने जाँगर गरिन। एक पोका बेलुन हिजै मावली हजुरआमाले भेट्न आउँदा ल्याइ दिएकी थिइन ॠषिलाई।

राधाले बेलुनको पोकाबाट एउटा आफूले झिकिन र बाँकी ॠषिकै हातमा ठम्याउँदै भनिन् , ” रिखे ! यो हली दाइलाई फुक्न लगा खेता गर जा ! मेरा हात झि भा’ हन ! यी हेर त ! ” राधाले औंला त्य्सै फू – फू गर्दै भनिन्।

ऊ खुरुरु दगुर्दै खेतमा गयो। राधाको सासु ससुरा पनि खेत मै तोरी को मुठा बनाउँदै थिए।

राधा खाजा तयार गर्न थाली खेतमा लैजान लाई। मकै – भटमास भुटिसकेकी थिइन्। आलु र मुलाको तरकारी पनि पाकी सकेको थियो। अब दही मोथे र मोही पनि लैजानु थियो मकै भट्मास सँग खानलाई।
ऊ दही मोथ्न बसी।

दही मोथ्दा मोथ्दै ऊ अतित मा बिलाई एकछिन् —-

~~~~

भानुप्रसादले कागज कारखनामा पिउन जागिर नछोड्दै बेलाको कुरा हो यो। त्यो दिन पनि ऊ दही मोथ्दै थिई।

भानुप्रसाद कारखाना छुट्टी भएर उस्को नजिक आयो र भन्यो , ” ए! राधे ! ए रात्तै ! मैले त गज्जबका कुरा भेट्टाए का ! ” उस्ले लेघ्रो तान्दै नाकको पोरा फुलाउँदै आँखा बडा बडा बनाएर आखी भौँ उचाल्यो।

राधाले चोर औंला भानुको ओठैमा लगेर ” सुस्स्स्स्स्स्स्स !!!” गर्दै मोथ्दामोथ्दैको दही त्यही छाडेर हत्त र पत्त ढोका बाहिर चिहाएर आई र भनी ” धन्न कोइ रनचन ( कोही रहेनछन्) पिडिया ( पिढिमा ) ! के भेट्टायौ र भन्छु ! पैसो भेट्ट्यौ ? !!! कि ग ना ( गहना ) ! ? उस्का आँखा पनि ब डा ब डा भए भानु प्रसाद को दङ्गको अनुहार देखेर।

” हत्तेरी का ! का पैसो को कुरा गर्छे भन्छु !आज का ( लेघ्रो तान्दै ) कारखना बच्चो नबनाउने तरिका सिकाउन आथेका ! ”

” ह ???!!!”

राधाको उत्सुकताले भरिएको अनुहार छि न् भर मै खिस्रिक्कै भयो।

” सट पोयट ( सर्ट – पाइन्ट – ला ‘ का कस्ता कस्ता आईमाईले सिकाका बाबै ! उस्ले जिब्रो टोक्दै रङ्ग्सिएर हाँस्दै भन्यो।
राधा वाल्ल परी। केही बुझिन।

” भकुन्डो का ( का भन्दा लेघ्रो तान्दै ) ! भकुन्डो ! बेलुन जस्तो ! हो त्यस्तो लाउँदा (लगौदा) रचन् का ! अनि त्यो ला ‘ सि त बच्चो हुन्न रे का ! ”

” कस्तो भकुन्डो भन्चन् यिनले भन्छु ! ” उस्ले निधार खुम्च्याइ।

” पखेस ! म देखाम्ला ! ”

भानुप्रसादले गोजीबाट एउटा झिक्यो र मुखले फू गरेर बडेमाको बनायो।

उनीहरुको लागि यो प्रयोग नितान्त नौलो बनेको थियो।

डल्लो बडेमाको भकुन्डो हेर्दै राधाले भनी , ” यो भकुन्डोले कसरी बच्चो जन्मन्न भन्छु ! ”

” म पनि दङै खा थेँ का त झै ! त्यो आइमाइले त कस्तरी देखाइ बाबै ! ल हेर ! यी यसरी लाउने रे का ! त्या — ! ” उस्ले आफ्नै हातको बुढी औलामा लागाएर ईशारा मार्फत बुझायो।
बल्ल राधाले बुझी।

त्यो दिन देखी उनिहरुले ॠषि ४ बर्ष नपुगे सम्म अर्को सन्तान नजन्माउने सोचाइ राखेका थिए।

~~~~

” आमा ! ” ॠषिको आबाज ले ऊ अतितबाट ब्युँझी। ऊ बिधुबा भएकी थिई तर उस्को अतित ऊ सँग बिधुबा भएको थिएन —।

” म ई – मकै लाई देउ ले खे’ ता ! ” भन्दै ऊ खुरुरु फाउ खेल्न दगुर्यो।

अघी भर्खर ॠषि को बेलुन को प्याकेट बाट झिकेको एउटा बेलुन फुकेर गाठो पार्दै भकुन्डो बनाइ उस्ले। एक छि न् हेरिरही र प्याट्ट फुटाइ –।

~~~~

साँझ पर्न थालयो। अबिरले रातै रङिएर घर आइपुग्यो ॠषि। सासुले नुहाइ दिइन् ॠषिलाई। केटाकेटीले पोखेको अबिरले रातै भएको थियो आँगन।

~~~~

यो वर्षको फागु पुर्णिमा पनि बित्यो। आज पूर्णिमाको रात। जूनको जुनेली उज्यालो किरणले रात रात नभएर बिहानी झैँ उज्यालो देखिन्थ्यो। खुल्लै राखेको झ्यालबाट पर उदाइरहेकी एक्ली जूनलाई हेर्दै टोलाई रही ऊ।
ऊ घरको टाडे तलामाथि निदाउँथी।

तल आँगनको धारामा खन्च्याङ्ग ! खन्च्याङ्ग ! आबाज आयो।

उस्ले झ्यालबाट हेरी तल। हली दाइ यो रातमा धारामा नुहाउन लाग्दै थिए।

उस्ले साबुन जिउभरी टाउकोभरी दल्यो सेतै फिज उठ्ने गरी र धाराबाट पानी खिच्दै बाल्टिन भरी बनाएर पखाल्दै जिउ मिच्न थालयो।

” तिन्ले जिउ त निख्रने गरी मिछे ! साबुन निख्रो कि निख्रेन ! ”

” धत ! के सोच्दा हुँ म् म ! कत्रो पाप ! लौने मुन्छे (लोग्ने मान्छे) मा आँखा लाइयो आज ! ”
ऊ आँफैप्रति ग्लानी महसूस गर्दै बिस्तारमा पल्टी।

फेरि खन्च्याङ ! खन्च्याङ्ग ! आवाज सँगै उसले अहिले चाँही काठ को भित्ते प्वालबाट चियाएर हेरी। ऊ उसैगरी नुहाइरहेको थियो।

” यिन्लाई जा डा नि नहुँदो रच! ”

ऊ मुख फर्काएर निदाउन खोजी। पट्ट्क्कै निद परेन। फेरि दोहोर्याएर हेरी।

ऊ कछाड मिच्दै पानी खन्याउँदै थियो।

त्यसरी नुहाइरहेको देखेर बरु उसलाई नै जाडो-जाडो जस्तो भयो।

सिरक ओढी खुट्टादेखि टाउको ढाकिने गरी। एकैछिन मै उकुसमुकुस भई। ह्वात्त सिरक फाली। फेरि भित्ताबाट चियाएर हेरी। ऊ गइसकेको थियो।
सिरकलाई एकै डल्लो बनाएर अँगाल्दै ऊ निदाउने प्रयास गरिरही —–।

समाप्त

October 31st, 2009

(स्रोत : Mysansar.com)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.