कथा : म सानी छँदाः पहाडका कथाहरु..

~लारा राई~Laxmi Rai 'LARA'

प्रशस्तै आधार प्रदान गरेकै हो जीन्दगी बाँच्न यो शहरले। तैपनि, कृतघ्न बनेर भन्दैछु-”आत्मीयता” कहिले पाइनँ यो शहरभित्र। खपत गरेकै हुँ मैले, यौवन र जिन्दगीका उर्जाशील समयहरु यो शहरमा। दोस्रो-घर मान्ने प्रयास पनि गरेकी हुँ कैंयनपटक। करिब डेढ दशक बसाईका अवधिभित्र कहिले अपनाउन सकिनँ आफ्नो “घर” भनेर यो शहरलाई। केवल “बसेरा” मात्रै भयो यो शहर मेरा लागि। जानकारीका लागि, मेरो “बसेरा” भूगोलको यो एउटा कुना, मेट्रोसिटी हङकङको बीचमा छ।

परिचितहरुको भीडले विन्दास स्वभावकी भन्छन्। के भन्छन् कुन्नि अर्धपरिचितहरुको जमातले ? थाहा भएन। जो बिल्कुल चिन्दैनन् तर “घमण्डी” भन्दारहेछन्। थाहा छैन, कुन आधारमा। मेरी आमाको लागि भने, “अटेरी, जिद्दी तर प्यारी कान्छी छोरी” हुँ म। आमा पूजनीय हुन्छिन्। वन्दनीय हुन्छिन्। आमाको परिभाषा आफैंमा विशाल छँदैछ। शब्दहरु छैनन् यथेष्ट। लेख्दैछु केही तैपनि, नेपालमा बस्नुहुने मेरी आमाको सम्झनामा आज। किनभने, आमाको मुख हेर्ने दिन अरे!

औसत नेपाली घरेलु महिलाजस्तै मेरी आमा। आमालाई सधैं चिन्ता थियो मेरो। पढाईसँगै छोरीमान्छे भएपछि घरको चालचलन, शिलस्वभाव जान्नुपर्छ भनेर वहाँ जोड दिनुहुन्थयो। आमाको चिन्ता सदैव थियो-”कस्तरी घर गरेर खान्छे हा यस्ले?” नरम बोल्न नआउने मलाई। बोलक्कड। र, हक्की स्वभाव मेरो। संस्कार एवं कुल इत्यादी भट्याइरहनु हुन्थ्यो आमा। यो नगर्नू, त्यो नगर्नू आमाको टोकाई उस्तै। आफ्नै संसारमा विन्दास म भनें। चिन्ता गर्दै आमाले भन्ने गर्नुहुन्थ्योः “विहे पनि कस्ले गर्छ नि यस्लाई ?” मेरा अन्य दाजु-दिदीहरुप्रति भन्दा आमाको चिन्ता मप्रति बढी रहन्थ्यो। कान्छी छोरी, त्यसैले पनि होला।

समेटिएका छन् अरु पनि किंवदन्तीजस्तै लाग्ने “म सानी छँदाः पहाड कथाहरु……………।
हिउँदोयामको आगमनसँगै पहाडबाट झरेका प्रत्येक आगन्तुकहरुका अनुहारभित्र या, देख्यो कि आँगनमा कुनै नयाँ मान्छे समाउँदै आमाको हात तान्दै सारीको सप्को म सोध्थें-आमा, यिनी त होइनन् उहिल्यै ‘मास छर्न’ गएका मेरा बा। आए/गए कयौं हिउँदो यामहरु, आए/गए कति आगन्तुकहरु। फेरिए कति ऋतु र पालुवाहरु। फर्किएनन् कहिले उहिल्यै ‘मास छर्न’ गएका मेरा बा। बिते क्रमशः रमाउँदै उसैगरी हेर्दै निलो आकाशमा उड्दै गरेका सिमलका भुवाजस्ता सेता बादलहरु। लश्करहरु कर्याङकुरुङका। खुशीले कट्थे दिनहरु। उसै गरी रातहरु। समयसँगै फाट्दै गए ज्ञानका बादलहरु।

थाहा पाएँ बल्ल ‘मास छर्न जानु’ भनेको। मेरा बा त उहिल्यै, म सानो छँदा बित्नुभएको रहेछ। छिमेकीघरका साथीहरुको बालाई देख्दा मैले पनि सधैं आफ्नो बाको बारे सोध्दो रहेछु अतः आमाले यसरी बुन्नुभएको रहेछ बाल्यकथा-म सानी छँदाः ‘पहाडका कथाहरु’। मेरा लागि। दन्त्य-कथाजस्तै। आमा भन्नुहुन्थ्यो- ‘पहाड गा’छ, नानी तिम्रो बा।’ आमा, अरु त आउँछन् त पहाडबाट। बा मात्रै किन घर नफिरेको होला? आमा भन्थिन्- ‘टाढा छ नानी, पहाड, ‘मास छर्न’ गा’छ तिम्रो बा।’

जब म आफैं आमा बनें। थाहा पाएँ, आमा बन्नु भनेको कत्रो त्याग, सन्तानप्रतिको चिन्ता। ममता। जिम्मेवारी। सपनाहरु आफ्ना सन्तानप्रति। आँगनको त्यो बुढो बकैनाको रुख। साढे छ दशक आमाको उमेरसँगै। कस्तरी ढाँट्न सकिन् आमाले बुनेर ‘पहाडका कथाहरु’। छुपाएर मनका अथाह पीडाहरु। चाडपर्वहरु नजिकिंदा एकान्तमा आमा रुनु अनि, आँसुले लछप्पै भिजेका सिरानीहरु। तीन दशक मुश्किलले नकट्दैको एउटी विधुवीको एकांकीपनका कथाहरु। सप्पै सप्पै बुझ्दैछु आज, पैयुं फूलेजस्तो सेताम्मे फुलेका आमाको कपाल देखेर पहाडजस्तो जिन्दगी, जिन्दगी जस्तो पहाडका कथाहरु। अपूरो लाग्दोरहेछ आमाप्रतिका अनेकन ब्याख्याहरु। आमा हुनुको महत्व र चरमोत्कर्ष। मानौं, सर्वोच्च शिखर चुमेजस्तै। महान आमा हुनुको गौरवको उचाई। सगरमाथा पनि होचो देखें।

सारांशः
एकाबिहानै, विहानीको न्यानो पारिलो घाम, बरण्डा हुँदै मेरो कोठासम्म आइपुग्यो। चल्मलायो घामजस्तो रातो रगतको डल्लो मेरो काखमा। उनको आगमन त्यसो त नौलो घटना थिएन। अनादिकालदेखि नै यथावत चल्दै आएका सृष्टिका नियमहरु थिए। तैपनि, त्यो आगमनको खुशी एउटा योद्धाले रणभूमिमा जितेको वियजी मुस्कानजस्तै निःशब्द तर न्यानो बनेर मेरो कोठाभरि छाइरह्यो। त्यो दिन, अस्पतालमा मलाई भेट्न, हेर्न सबै आएका थिए। अस्पतालमा भेट्न आउनेहरुको हुलमा आमा पनि हुन्थ्यो। नेपालदेखि नै विशेष आउनुभएको थियो मेरी आमा। मेरै स्याहारको लागि भनेर।। पहिलो सन्तानको आगमनमा बधाईको ओइरो आइरहेको थियो। फूल र कार्डहरु पनि। भिजिटिंग समयमा आउने आफन्त तथा साथीहरुसाग सकि/नसकी बोलिरहेकी थिएँ। आमा मेरो नजिक आउनु भयो। पत्याइनसक्नु नर्भस भएँ। अरुलाई कस्तो अनुभव भएको होला कुन्नि पहिलोपटक आमा बन्नुको। प्रसव-वेदनापश्चात् थाहा पाएँ-आमा बन्नुको महत्व। केवल नारी हुनु र, आमा हुनुको भिन्नता। त्यो उट्पटयाङे केटी, बिरालोले जस्तै आफ्नो नवजात शिशुलाई आफ्नो काखमा समेटेर बसिरहेकी थिएँ। आमासँग निक्कै नर्भस भएँ। आमा बन्नुको कत्रो सत्य। मेरो अटेरीपनप्रति आमा कुनैबेला भन्नुहुन्थयो-”पछि तँ पनि आमा बनेपछि थाहा पाउँछेस्।”

नभन्दै आज खुब महसुस गर्दैछु। हृदयमा कतै टिस उठेको छ यतिबेला। विल्कुलै थाहा थिएन। समयहरु कस्तरी चिप्लंदोरहेछ। यकिन छैन कति सताएँ आमालाई। उट्पट्याङे त म हुँ नै।
हिउँदको एकबिहानी-
आमाले विहानै उठाउनु भयो। साह्रै झोंक चल्यो मलाई। आमाले चाँडै उठाउनुभएको रिस बरण्डाको कुनामा गुजुल्टो परेर सुतिरहेको घरका बिरालाहरुमाथि पोखें। भर्खर जन्माएका आफ्ना बच्चाहरुसँग न्यानो मानेर सुतिरहेको रहेछ माउ बिरालो आफ्नो बच्चाहरुसँग। चिसो पानी खन्याइदिएँ बिरालाहरुमाथि। त्यो उट्पट्याङे रिसलाई गाली होइन, हल्का प्रतिक्रियासहित आमाले भन्नुभयो- “तेरो बुद्धि कहिले आउँछ हँ कान्छी ?” निर्दोषलाई सताउनु हुन्न। यो बिरालो त निर्दोष जन्तु हो। त्यहीमाथि सुत्केरी अवस्थाको। न्यानो मानेर आफ्नो बच्चाहरुसँग सुतिरहेको थियो। बिथोलिदिएँ मैले सबै। नाकको टुप्पोमा रिस बस्न दिन्न यस्ले आदि/आदि आमाले कराउनुभएको हिजोमात्रै जस्तै लाग्छ।

घर अनि आमाको काख, पहिलो पाठशाला। अनपढ आमाबाट सिकेको ब्यावहारिक ज्ञान म आफ्नो छोरालाई सिकाउन चाहान्छु। थाहा छैन भोलिको जेनेरेशन कस्तो हुनेछ। मेरी आमाले मेरो जिद्दिपनलाई खुबै झेल्नुभयो। मैले पनि आमा बनेर मेरो छोराको जिद्दिपन भोलिका दिनमा भोग्छु या भोग्दिन त्यो आफ्नै ठाउँमा छ। ऊ अझै कलिलै छ। रिसलाई दबाउनुपर्छ मान्छेले। ठूलाको आदर गर्न सिक्नुपर्छ। असहाय एवं आफूभन्दा सानालाई हेप्नु हुन्न। ती शिक्षाहरु हिजोआज छोरालाई सम्झाउँदै छु बेलाबखत। छोराको नाक पनि मेरेँ जस्तै छ। छिट्टो दुख्ने। मेरो धैर्यलाई निक्कै सम्हाल्नुपर्छ। आमाले पनि यसरी नै मलाई सहनुभयो होला।

आमा, तपाईबाट सिकेकी/बुझेकी हुँ। फैलावट जहाँ भए पनि मान्छेका आफ्ना वास्तविक धरातलहरु। जराका मूल उत्पति-थातथलो। पत्याउनै गाह्रो जिन्दगीका कथाहरु। किनभने, सुइँकिनेछ कुनै दिन जिन्दगी यहाँ। थाहै नपाई। शहरको यो कोलाहलभित्र। उष्णताले भरिएको यो कोठाभित्र। सपनाले खाँदिएको यो शहरभित्र। बाँचुञ्जेल क्यालेण्डरमा दिन गन्नु त छँदैछ। ‘मिराज’ जीन्दगी। जति हिंडे पनि फगत केही छैन भ्रमबाहेक। लाग्छ, सपना एवं सम्पन्नताका लागि अनिच्छित मनहरुसँगै जोतिनु मात्रै हो त जिन्दगी ? आज तपाइको सम्झनामा केही लेख्दैछु, “उसको आमालाई, उसको आमाले” अर्थात्, मेरी आमाले मलाई सुनाउनु भएका मौखिक तर अत्यन्तै जीवन्त कथाहरु। बेडटाइम स्टोरीसागै कैंयन पटक मैले तपाईँको नातिलाई “माई चाईल्डहुड स्टोरी” भन्दै शेयर गर्दै आएकी थिएँ। लिखित गर्दैछु आज। “म सानी छँदाः पहाडका कथाहरु………….।

अस्तु।

April 26th, 2009

(स्रोत : Mysansar.com)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.