~सीता पोखरेल~
आफ्नै घरको भित्तोमा थोत्रा टिनका ट्याप्रा टसाएर चर्पी बनाईदिने जग्गाधनी शैलेन्द्रलाई एकदिन उस्ले भनि ‘तपाई भट्टीलाई छाप्रो हाल्न दिएर नखत बझ्नु हुन्छ । म चाहि रातोदिन फैलिएको दुर्गन्ध सुङदै बस्नु पर्छ । बरु यो कामचलाउँ चर्पी हटाईदिनुस् !
शहरतिरका दुई लम्बरी हप्ते पत्रिकामा गोरु टाउके फोटो छापिने शैलेन्द्रका लागि यो चर्पीवाण रन्न्न.. कान हुदै मुटुतिर गएर घोपियो । बदलामा, धम्कीपूर्ण यो वाणलाई जरैवाट उखलेर राधातिर फर्काउने चेष्टा गर्यो ।
नजिकैको कुप्री परेको बिजुलीको खम्बा समात्दै राधातिर फर्किएर उँ जंगियो जब्बरे जंगबहादूर जसरी । एक्कासी जंङ्गिएरै भन्यो ‘मेरो जग्गामा पाईखाना राखौं कि झ्यालखाना ? त बेश्येलार्ई के को टाउको दुखाई ? ‘मलाई धम्क्याउने तेरो तेत्रो हिम्मत ? छातीमा धाप मार्दै धमास् दियो – म को हु चिनेकी छैनस् ?’
बैशाखको मध्यान्हको घाम, त्यो घामभन्दा तेज उस्को बोली जुधेको बिजुलीको तार चट्किएसरी झन झन् चट्किदै गयो चट्ट..टट… भन्यो– ‘चर्पी पन्साउन तेरो बाउको विर्ता सम्झिन्छेस ? दुई लम्बरी कमाईले ह्याँ घर बनाई ! गन्हाए जान अन्तै किन ह्याँ डुक्रिन्छेस ? लाज नभा’की वेशुल्ली ? शेर बहादुर देउवाको जस्तो टट्याङ्रो टकटके बोलीले गाली गर्दा राधालाई हुनसम्म सहि नसक्नु भयो । यतिन्जेल घर र आँगन दुरीबिचको गन्धे गाली अब डगरमा गएर छताछूल्ल हुने भयो ।
क्षेत्रीकी छोरी राधा हातमा खुर्पा लिएर हुर्रिदै घरबाट बाहिर निस्की । दुई सय भोल्टको करेन्ट फिट भएझै तातिरहेको कन्चट रन्काउदै भएभरको उम्लिरहेको रगत छताछुल्ल पारी, भनि ‘मसँग ताकत भए तेरो टाउँको यही खुर्पाले गिडेर चर्पीमा गाडिदिन्थे, बुझिस् काठे ? डगरमा त्यो हदसम्मको चट्याङ् चड्किए जस्तो कर्कस कोलाहल सुनेर वल्लो–पल्लो गाउँ,बाटो,मोटरका बटुवा जति सप्पै सित्तैको सर्कस हेर्न एकैसासमा झुरुप्प भए । अगाडी बढ्नै सकेनन् । गाउँमा मान्छे खान पल्किएको बाघ मार्न गाड लागेको भिड जसरी ।
त्यसो त सोझा, निर्धा र वेसहारा जतिलाई दुःख दिएर गाउँ निकाला गर्नु सैलेन्द्रको मुख्य ध्येय हुन्थ्यो । थाहै नपाई दलालहरु अघि भिडाई सक्थ्यो । घर किन्ने मान्छे ओइरो खनिएपछि बल्ल थाहा हुन्थ्यो आफ्नो घर बिक्रिमा छ भनेर ।
यस् पटक उस्को मुख्य निशाना राधा बनेकी थिई ।
काँठको सानोतिनो रैथाने शैलेन्द्र नयाँ बस्तीका मान्छेलाई बुद्धु भेडा बाख्रा झै सम्झन्थ्यो । विरोध गरे, लोग्ने मान्छे भए खाते भन्थ्यो स्वास्नी मान्छे भए बेश्या.. आखर गर्दथ्यो । ‘बारीको रच्छ्यान चलाए आफ्नै मुखमा छिटा’ चलाउनु भन्दा बरु उनीहरु पर–परै हच्किन्थे । हुन पनि उँ त्यही चर्पीको फोहोर खाने किरो भन्दा पनि सढन्ताम थियो । त्यही भएर उस्लाई ढल बिनाका ति चर्पीले छरछिमेकलाई कति असर पर्छ भन्ने कुराको हेक्कै थिएन |
राधाले आफ्नो सडकको घरको अगाडी सानो दिवाल लाइ । फूल रोपी,गमला राखी । तर,बिहान हेर्दा सबै–सबै भत्किरहेका हुन्थे । कयौं रात कुपि बालेरै बस्दा धेरै प्रयासमा पनि उ सफल हुन सकिन । सधै विरुप दशामा उस्को मन पनि तिनै फूलहरु जस्तै भाच्चिने गर्दथ्यो । कोपिला, भर्खरै फक्रन लागेका अनि फूलिसकेका फूलहरु रातभरीमा निमोठीएर भोरमा मरिसकेका हुन्थे । मरेरै पनि ती फूलहरु हासिरहेका हुन्थे । अनेकन क्रोधले थलिएका तिनै राधाहरु हासे जसैगरी ।
यो भन्दा अघि पनि उस्का विरुद्ध बोल्ने जतिका झ्यालका शिशामा ढुंगाले हानेर हुन्छ कि भर्खर लगाएका आलो पर्खाल भत्काएर हुन्छ । कयौंको उठिवास लगाईसकेको थियो । उस्की जेठी श्रीमतीलाई आफ्नै घरमा डेरा गरी बस्ने तराईतिरको मूसलमानसँग बात लाएर कान्छी भित्र्याएको थियो ।
दुई वर्षअघि भक्तपुरको पुरानो बस्तीका बिच घर बनाउन विवश तीस वर्षिया राधा छिमेकीहरुको त्यो हदसम्मको व्यवहारले आजित भैसकेकी थिई । गाउँ छोड्न पनि त चटक्कै सक्तिन थी कारण, श्रीमान् दश वर्षदेखि खाडीमा, तीन चिचिला बालबच्चा, रोगले थलिएको शरिर, त्यस्माथि शैलेन्द्रको त्यो गन्धे वक्र दृष्टि ।
हुन पनि त्यो घर नै उस्लाई माईग्रेनको भण्डार जस्तो भएको थियो ।सम्झी– ‘कोशी पारिका जस्ता त त्रिशुली पारिका हुदा रैनछन् ! मान्छे पनि माछा पनि कोशीकै मिठा ! बाग्मती..! त्यही चर्पी जस्तो गन्हाउने ठाउँका माछा पनि फोहोर मान्छे पनि फोहोर . न बोल्नलाई लाज छ न सरम, न खानलाई घिन छ न गरम !
‘सब चिसा रस नभएका, स्वाद नभएका बेस्वादेहरु…!’
उस्को घरभन्दा वाह पन्ध्र घर मास्तिर शैलेन्द्रको घर थियो । राधाको घरको अगाडी र पछाडी पनि उस्को तीन रोपनीभन्दा बढी जग्गा थियो । पछाडी पट्टिको जग्गा चार पाँच थरिका भट्टी नै भट्टीले भरिएका थिए । एउटा टहरा बराबर एउटा भट्टीको रु पन्ध्र हजार मासिक बुझ्दथ्यो । तिनका चर्पी जति सबै ताराका घरपछाडि सटेका थिए । तर,सेफ्टी ट्यांकी नराखी सामान्य खाल्डो खनेर ।
नजिकै गाडी स्टेशन,ड्राईभर र खलासीका लागि भात खाने गतिलो निहुँ भएको थियो शैलेन्द्रका लागि । के खोज्छस् कानो आखो।।जो चाह्यो सोही सूरा सुन्दरीको व्यवस्था उसैले आफै गरिदिएको थियो । चौंध वर्षदेखि चालिस वर्षसम्मका ठिटीहरु जो शहरतिरवाट मगाईन्छन् रे ! हरेक दिन फेरिने ती चेहराहरु रात्रीकालिन सेवा सकेर झिस्मिसेमै हराईसकेका हुन्थे ।
उँ जस्तै गाउँभरिका बेगारी केटाहरु जम्ने अखडा तिनै भट्टी बनेका थिए । सोझी श्रीमती सागको व्यापार गर्ने,उँ दिनभरी पाँच फन्का गाउँ घुम्ने,भट्टीमा दिउँसै तासमा रम्ने,अरु के केमा…. कोही वोले, उस्का विरुद्ध खनिन उस्का केटाहरु गमगडी तयार हुन्थे । उनीहरुको नाईके अर्थात डन उही चर्पी मास्टर शैलेन्द्र थियो । उस्को अन्याय घर,भट्टीमा मात्र सिमित नभएर दिन दू गूना रात चौंगूना गाउँभरि फैलिरहेकै थियो । पूराना बस्तीकासँग भने सारमा सार मिलाएर धनुष्टंकार आकारमा नमस्कार फर्काउथ्यो । त्यही भएर उनीहरुका लागि उँ संरक्षक जस्तै थियो । तर, नयाँ बस्तीका लागि शिरमा पलाएको एैजेरु । नयाँ अनुहार देखो कि त भाले पल्टिहाल्ने ।
सेफ्टी ट्यांक्की पनि नवनाई राखिएका ति भट्टीका चर्पी अनि भट्टीमा राखिएका थरिथरिका लड्कीका कारण पुरै गाउँ नै गन्हाएको थियो ।
तर, त्यो चर्पी दुर्गन्ध राधाका लागि न रातमा निंन्द्रा न त दिनमा चैन नै दिने खालको भयो ।मान्छेहरुको भिडबाट शैलेन्द्रले धमास दियो –‘ए मलाई तैले गुहुमा गाड्ने ? तेरो त्यत्रो हिम्मत ! फेरी बलको धमास दियो शैलेन्द्रले । खुर्पा फ्याकेर नजिकै रुदै गरेको दुधे छोरो च्याप्दै राधाले भनि –‘तँ त प्लाष्टिक टिप्ने खाते भन्दा सडेको गु खाने कुकुर होस् । घाँस खाने पशु भन्दा रड्डी गधा होस् । तेरो भाँडामा गु’खा मलाई टाउको दुखाई छैन तर,तैले खाको गुको गन्ध मलाई आउनु भएन बुझिस् ।’ कहि नभा’को डन रे ! राधाले भुईमा पिच्च थुकी ।’
दुबै हातका बाहुला मास्तिर फर्काउदै उँ राधातिर बेत्तोडले हानियो, बिचको दुरी दुई हातमात्र फरक । लाज पचाएर भन्यो ….!’ दिनभर नाठा खेलार बस्छेस् ? एैले घिन लाग्यो भन्छेस्रु…? उस्का आउरे भाउरेले हान्न ईशारा गरे ‘हान हान..! आज हान,नछोड सुकुटीलाई ।’ झम्टदै गयो राधा भाटौ एक हातले जगल्टा समायो , च्या..च्या..छोरो रोयो, दुईटी छोरी पनि रुन थाले ह..हाकार भयो अर्को हात उज्यायो । हत्त न पत्त उस्को दुबै हात भिडवाट एक बृद्धाले बेस्सरी हुर्याउदै भने
‘आईमाईलाई हात लाउन हुन्न मर्दा जातले ! नर्कको बास हुन्च ।’
अब उसलाई चारजनाले डग्मगाउनै नसक्ने गरी बेस्सरी च्यापे । ‘त जस्तो बलको धमास् देखाउन सक्दिन कानूना गएर लड्छु ।’ राधाले जगटा सम्हाल्दै भनि– एउटी आईमाईलाई मिठो बोली बोल्न नसकेर हात लाउँने मूला त के महान पुरुष र ? वरु वाह् हातको फरिया ला’र हिड् न ? नामर्द किन लाउँछस् पेन्ट!
छेउमै भएकी उस्की कान्छी स्वास्नीले राम्ररी कुरा पनि नबुझी सबैका मुखुन्जेल फ्याटट .. बोली – मलाई त चित्त बुझाउन सकेको छैन मेरो लोग्नेले ? गाउँभरीका स्वास्नीलाई चित्त बुझाउने सँडाहा हो र…!
भिडवाट गल्ल्ल हासोका फोहोरा छुट्यो हा..हा..हा…लाजले राधा पानीपानी हुदै घरभित्र पसी । हासोले भिड ढुंगाले हानेको बारुलाको गोलो भाडिएसरी तितरवितर भयो । कोही मुखामुख गर्नथाले । ‘झरेको शेखी नुगेको निहुरमुन्टी’ निलोकालो हुदै शैलेन्द्रले राधा गएतिर नियालेर निकैवेर सम्म हेरिरह्यो…
केही महिना पछि…
शेलेन्द्रले राधाको घर पछाडीका चर्पी घर अगाडी पट्टीका खाली जग्गामा फेरी उसैगरी सार्यो ।
(स्रोत : Nepaljapan)