कथा : वसन्तको रंग र साकुराको स्मृति

~कृष्ण थापा ‘कृष्णपक्ष’~Krishna Thapa - Krishnapakshya

ओ साकुरा !
तिम्रो हाँगाभरि मुस्काएका प्रसुनहरू
र यो वसन्तको मौसम
स्मृतिको सुदुर वस्तिबाट
म सापटी मागी रहेछु
केही गुलाफी रंगहरु,
दिन्छौ ?

यसपाली मेरो ‘फागु’
म तिम्रै सम्झनामा खेल्न चाहन्छु ।

के लेखुँ म ? रात छिप्पिदैछ …. फेरि यो पाना पनि च्यात्छु । म कविता लेखिरहेको छैन । भोलि बिहानसम्म मैले एउटा गतिलो आर्टिकल लेखी सक्नु पर्नेछ ।

अब नेपालमै बस्छु भनेर विदेशबाट फर्किएको यी तीन बर्षहरु म यही पत्रिकामा काम गरिरहेछु । सम्पादक झोक्की छन, कहिलेकाही धम्की र अल्टिमेटम पनि दिन्छन – हाम्रो पत्रिका नाफामा छैन, पब्लिकमा हामी रुचाइएका छैनौं, के लेख्छौ तिमेरु ? अब यो बर्ष आधा भन्दा बढी कर्मचारी कटौतीमा पर्छन , हेरिराख को को निस्कन पर्ने हो ।

यस्तो समय मलाइ अलि अलि पछुतो पनि नलाग्ने हैन, फर्किएर यतै बसेकोमा । तर, आफ्नै आगनमा पसिना बगाउनुको आत्मसन्तुष्टि र गौरवानुभुतिले यस्ता सबै भावनाहरु आफ से आफ परास्त हुन्छन । यही तुष्टि र तृप्ति एउटा मिठो प्रेरणा र उत्साह बनेर आउछ र हरेक पटक लाग्छ म यस्तो जल्दोबल्दो र आकर्षक लेख लेख्न सकुँ ताकी सम्पादकले पनि बुझ्न सकोस पत्रिकाको लागि मेरो कत्रो महत्व वा भूमिका छ ?

तर आज शब्दहरु अलप भएका छन, घाम अस्ताए पछि छायाको अस्तित्व हराए जस्तो ।
दिमाग शुन्य छ, उफ! रातको बाह्र बजिसकेछ ।

“ढक ढक..” कसैले ढोका ढक-ढकाएको आवाज आयो ।
को आयो फेरि दिमाग खान, को हो यति राति ?

“मुना ! यो के अचम्म कसरी आइस तँ यति राति, मेरो कोठामा ?”

पत्रिकाको टेन्सनले मेरो दिमाग नै शर्ट सर्किट त भएन, के लेखुँ भनेर सोच्दा सोच्दै ? म चकित भएँ, ढोकामा मुना उभिएकी थिई, मेरी वाल्यकालदेखिकी साथी । तीन बर्ष देखि हाम्रो भेट भएको थिएन, आज अचानक कहाँबाट आइपुगी यसरी ? न कुनै फोन, न कुनै ईमेल । आश्चर्यको हद नाघ्छ ।

“त्यत्तिकै छक्क परेर बस्छ्स कि भित्र पनि बोलाउँछ्स, बब्लु ? ” मलाइ बब्लु भनेर सम्बोधन गर्ने यो शहरमा त्यही मुना बाहेक अरु को हुनसक्छ ? म चकित हुन्छु, अनि कसरी थाहा पाइस त मेरो ठेगाना तैले ? अनि यति राति कैले फर्किस तँ जापानबाट ? ”

” लौ तँ त साँच्चीको पत्रकार भैछस बब्लु । बल्ल बल्ल भेट भएकोमा खुसि हुनुको साटो प्रश्नका प्रश्न सोध्छ्स त, म मान्छे मारेर भागेको अपराधी जस्तो लाग्यो कि के हो तँलाई ? बिस्तारै भनुला नि सबै ।

कहिलेकाही मान्छेको जीवनमा अस्वभाविक घटनाहरु घट्छन । अहिले भर्खरको घटना जस्तै, जसका बारेमा हामी बिल्कुल अनभिज्ञ हुन्छौं । यस्ता घटनाहरु, जसले जीवन र यो हिड्दै गरेको बाटो पनि बदली दिन्छन, जीवन यात्राको घुम्ती वा मोड, कहाँ कुनबेला मोडिन्छ थाहै नहुने ।

साकुराका मनोहर रुखहरु, वालसखी मुना र मेरो किशोरवयमा कुनैबेला मैले देखेको सपना …. यी सबैलाइ त्यहीं छाडेर तीन बर्ष अघि म नेपाल फर्कनु शायद यस्तै एउटा मोड थियो मेरो जीवनको । सुकिला सडक छेउ, लहरै उभिएका हुन्थे साकुराका रुखहरु । एउटा फ्ल्यास्ब्याक दोहोरिन्छ मेरो मस्तिष्कमा, जापानमा रहँदाका ती दिनहरु खुबै रमाइला थिए । वसन्तको याममा त झन् साकुराका फूलहरुको यौवन र गुलाफी रंगले छपक्क ढाकिन्थ्यो शहर ..।

मौसम सधै जस्तो प्रेमिल हुन्थ्यो , मुनाको उपस्थिति र ठट्टेउलो स्वभावले त जस्तोसुकै टेन्सन भएको बेला पनि रमाइलोमा परिणत हुन्थ्यो । फर्कने बेला उसले भनेको अझै बिर्सेको छैन । ” नेपालमा तेरो केटी होला नि पर्खीरा’की, सम्झिरा’छस होला, अनि किन बस्छस त यहाँ ? आफु त अझै बसिन्छ २/४ वर्ष, पढाइ पनि सकिएको छैन फेरि नेपालको स्थिति त्यही हो ।”

कैयौं ऋतु, मौसमहरु आए अनि गए, खुसीको बहार र दुखको झरी स्वाभाविक गुज्रिए । कति असाध्य नजिक भयौं हामी, ..आत्मिक र भौतिक सामिप्यताका धेरै पलहरु लिएर आयो समयले तर “प्रेम” नामको त्यो अमुल्य वाणी न त मेरो ओठले उच्चारण गर्न सक्यो न त उसले नै ।

“ओइ बब्लु तैले गर्लफ्रेन्ड बनाइस ? कोठा त निकै सफा छ त ?”
” अँ बनाएँ त, के आरिस लाग्यो तँलाई ?”
” ल ल धेर ठट्टा नगर .. खानेकुरा के छ, केही ख्वाउदैनस ?”
“राति राति चोर जसरी आउनेले के खान पाउछेस, जा आफै हेर किचनमा केही छकि ?”

घरभरि लोला हान्ने प्लास्टिक र रंगको थुप्रो लागेको छ । सोचेँ यो बर्षको होली सबै भन्दा पहिले मुना संगै खेलेर शुरु गर्न पर्ला । फर्किछ, खुब रमाइलो हुने भयो । सानै हुँदा पिचकारी बोकेर गल्लि गल्लि लखेटेको सम्झना आउछ । लखेट्नेमा धेरै जसो चाहि उसकै ग्यांगले जित्थ्यो, यसपाली पालाको पैंचो तिर्नु पर्छ ।

“बबिन, तसंग एउटा कुरा गर्नु थियो ।”
मुनाको आवाज अचानक गम्भीर भएजस्तो सुन्छु । उसले मेरो वास्तविक नामले शायद पहिलो पटक बोलाइ रहेकी छ मलाइ । उसले बोलाउदा आफ्नै नाम नै अनौठो लाग्छ, हैन जस्तो भान हुन्छ ।

“बबिन, तैले कहिले त्यस्तो सपना देखेको छस जुन बिपना जस्तै साक्षात् र स्पष्ट देखिएको होस् ? ”

“मुना सपना त भ्रम हो र बिपना यथार्थ । भ्रम र यथार्थ चेतनाका दुइ विपरित ध्रुवहरु हुन् । यिनीहरु उस्तै र एकै जस्तो देखिनु असम्भव छ । सपना भन्नु हामी निदाएको बेला वा अचेत भएको अवस्थामा मष्तिस्कले गरेका कल्पनाहरु हुन् जो हाम्रो नियन्त्रणमा रहदैन । विपनासंग त्यसको कुनै सम्बन्ध हुदैन । ”

” तर मैले कति प्रसंग र दृष्टान्तमा के पढेकी छु भने हाम्रो अवचेतन मष्तिस्क धेरै रहस्यमय छ, कहिलेकाही यो यति शक्तिशाली हुन्छ कि यसले नै हाम्रो सम्पूर्ण स्थिति संचालन र नियन्त्रण गरिरहेको हुन्छ । यसको सक्रियता र वलले मान्छेले भविष्यमाथि नियन्त्रण गर्न सक्छ र भूतलाई वर्तमानमा डाक्न सक्छ ।”

“ल भयो मरेको मान्छे डाकेर आत्मा बोलाउने जस्तो तेरो बकम्फुसे र अर्थहीन कुराले मेरो पत्रिकाको डेडलाइन गुज्रने बेला भैसक्यो । त यही बहस गर्न आइस कि के हो जापान देखि ? भ्रम र यथार्थता बिचको सिमाना त्यति बेलामात्र मेटिएको आभास हुन्छ जतिबेला मान्छेको दिमागले नै काम गर्दैन अर्थात यी सबै पागलपनका कुराहरु हुन् ।

“पागल त तैले मलाइ पागल नै बनाइस नि बब्लु ! नत्र यसरी आउथे त तेरोमा ? ”
मैले भन्न सकिन .. “मुना, पागल मैले हैन, तैले चाहिँ बनाएकी छस मलाइ । यतिका बर्ष तँलाई सुनाउनु पर्ने तँसंग मात्र पोख्नु पर्ने कति अनुभूतिहरु आफै भित्र थुनेर राखेको छु मैले । तर अहँ मेरा ओठबाट कुनै शव्दहरु निस्केनन । सोचें यो वसन्त मेरा भावनाका ती सबै रंगहरु पोख्ने छु म ।

” ल बब्लु, सरप्राइज दिन आ’को, तँलाइ डिस्टर्ब गरें मैले । तँ आर्टिकल लेख, म अहिले जान्छु । ”
पुर्‍याउन दिइन मलाइ उसले ।

“त्यहीं त हो नि, उ तल सडकमा ट्याक्सी छ, म जान्छु आफ्नो ख्याल राख । एक्लै बस्नुको कारण थाहा पाएँ नि मैले, किचनभरि बियर र रक्सीको बोतल देख्या’थें । भुँड़े भइसकिस, धेरै बियर नखा । ”

ट्याक्सी सम्म छोड्न गएँ म, जाने बेला उसले भनि – “बब्लु !”
“के ?”
“आइ लभ यु, बब्लु”
…..
……..

फर्कदा कोठामा फोनको घन्टी बजिरहेको थियो ।

“हेल्लो ! ” कामिरहे जस्तो रुन्चे आवाजमा कोही बोलेको सुनियो ।

“हेल्लो बबिन, म बिनय, जापानबाट, भूकम्प पछि सुनामी आएको खबर थाहा पायौ कि पाएनौ ? साह्रै दुखद समाचार छ बबिन, सेन्दाई सबै सुनामीले बगायो .. मुना छ नि मुना .. उसको त अन द स्पट डेथ भयो ।” ..

“मुना ….~~~~”

म चिच्याउदै झ्यालबाट बाहिर हेर्छु ।

बाहिर सडकमा अँध्यारो बाहेक केही थिएन ।

(स्रोत : Mysansar.com)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.