कथा : अनाथ

~राजन पण्डित~

म रमाउन चाहन्थे, उनीहरु कमाउन। समयको परिबन्दमा म फँसेको थिए, बडेमानको कुर्सीमा उनीहरु बसेका थिए। म अनभिज्ञ थिएँ उनीहरुलाई ज्ञान रहेछ। मेरो व्यथा, पीरमर्कामा डलर फल्दो रहेछ। म आगो हुँदा उनीहरु पानी भए, मैले दुःख पाउदा उनीहरु दानी भए। र पनि मलाई अत्यास लाग्यो। गाउँको कुनामा छि छि, च.च. र हाइ हाईको पात्र अनि सहरको कन्टेनरमा गरेको सत्र। अझ कताको यो गगनचुम्बी महल, मुसा चल्ला दरवार भनेको त सुनेथेँ तर यथार्थ मैमा आइपर्‍यो। हिनताबोध भयो त्यसैले त कुर्कुच्चा ठोकें। लाग्यो कुकुरलाई घिउ पच्दैन भनेको यही हो। रातभर सोचेँ, केवल सोचेँमात्र। के थाहा भोलि घुम्ने मेचमा पो बस्न पाइन्छ कि। बाबाले नमर्दै भन्नुहुन्थ्यो छोरा ठूलो भएर कहिले पढ्ला र हाकिम होला। झल्याँस्स भएँ म, उठ् नरे। यही हो बाबाको सपना पूरा गर्ने उत्तम क्षण। लाग्यो हो पनि। पढ्न पाए हाकिम होइन्छ अनि सबैले मान्छन्। यसो त आमाले पनि कोसिस नगरेकी होइनन् मलाई पढाउन, दोष त जवानी कै हो। आमालाई टौघाटका लर्के जवानले उडाएपछि मेरो पढाइले बिट मार्‍यो। आफन्तमा अट्न नसके कारण म कन्टेनरमा लहरिएँ। मौकाले साँच्चै ढोकैमा ढक्ढक् गर्दोरहेछ। म सिल्ली। ढोकामा किन चुकुल लगाएँ। कता कता फर्कूँ फर्कूँ लाग्यो। समाजको सपनालाई मूर्ख रुप दिन फर्कें।

मेरो आँसूको मोल रहेछ, तौले, मोले अनि गए। ओजन कै भएन नहोला, भरिदिएछ डलरले झोला। म पढ्न चाहन्थे लड्न वा सड्न होइन्। समाज बुझ्ने अवसर खोज्थें अनि भावना केलाउन। न मैले कसैलाई अब हृदयबाट बा भनेर बोलाउन पाउँछु न त आमा भनेर नै। बोलाउनु छ त सुन्दर सपनाको कल्पना, बाहेक यथार्थ मलाई अब असम्भव छ। त्यही रिस पोख्न चाहन्थे म किताब र कलमलाई। कुनै पनि पाना मेरो लागि बिरानो नबनोस्, कलमले मसीको पूर्णाताको ख्याल कहिल्यै नपाओस्। केही नपाए म कोर्छु, सुन्दर सपना कोर्छु, भविष्य कोर्छु, समाज कोर्छु अनि कोर्छु खानाका कालहरु, राक्षसका आँखा कोछु अनि कोर्छु कलमकै सहायताले तरकर चलि नै रहनुपर्छ, चलि नै रहनुपर्छ। हो, यस्तै यस्तै त हुन्थे मेल कसैको त भएर बाँच्न कठिन हुनेकुरा बुझन थालेथे। विकासको सुन्दर गोरेटोमा सृजनाको कोमल पाइला कति सुन्दर अनि हृदयस्पर्शी। हो, म यही सपना बुन्न जुनको सहायता लिने गर्न थालेथे। मलाई के थाहा, मेरो मन उम्लदा उनीहरुको भाडो तात्दो रहेछ। मैले बुझ्ने भएर फाइदा त मलाई होला तर तिनीहरुले सुकुल ओड्न पर्ने पनि रहेछ। पोको भएर आउँदो रहेछ, फोको भएर जाँदोरहेछ। म उत्तम हुन चाहन्थे उनीहरु खुट्टा समात्न तम्सिए। म चट्याङ चड्काउन खोज्थे , उनीहरु मेरो सपना भत्काउन खोज्थे। कसैको कारणा म बाचिदिनाले मेरो कारणा धेरै बाचेका रहेछन्। म कन्दोरबाट माथि उठ्दा उनीहरुले सगरमाथा छुन खोज्दा रहेछन्। मेरो हैन मैले सेवा गर्दोरहेछु। त्यसैले त होला हो, मलाई तिनीहरुले सिंगामरमरको पातल अनि झिलिमिली आकाशमा लगे। एउटा सुन्दर स्वर्ग, नजिकै पातल टेक्दै शिरमाथीको आकाश छौं छौं लाग्ने कस्तो मनोरम कस्तो माधूर्यता अनि प्रखर औडा गर्मीमा शितलपन, छालामा काडा नै उम्रने। मलाई त्यस्तो सौखिन अलौकिक स्वर्गमा लगे। लामखुट्टेलाई म अक्क न बक्क परेथे, हो अक्क न बक्क।

सपनीमा झल्याँस्स भएर यथार्थ केलाउन थाले झै लाग्यो मलाई। रुख चढाएर फेदमा किन बन्चरी? काटिपनि हाल्दैनन्, बन्चरो हटाउँदा पनि हटाउदैनन्। मलाई ओर्लन आत्माले गाली गर्छ माथि चढ्न स्वाभिमानले बाटो छेक्छ। खूवाउनु नै आखिर छ, थियो भने क्षणिक या भनौ कृत्रिम हाँसोको प्रपञ्च किन? रुखको टूप्पामा फल छ, हो त्यही फल टिप्न म चाहन्छु। तर विवशता, न फेदमा रहेर लाटाले केरा हेरेझै फललाई हेरिरहन नै पाए न त जोश, जाँगर, हौसला अनि उत्साहको खिचडीमा फल मिसाउन पाए म त आखिर खोरन्डो पो भएछु । बसेथें, उठ् भने। विस्तारै उठ्दै दुइवटै खुट्टा टेक्दै थिए एउटामा सधैं प्रहार। कहिल्यै गतिलोसंग उभिन नपाइने झै पो लाग्यो मलाई। एक मन लाग्यो यही हो बाबाआमाको अभाव। सिंगमरमरको स्वर्गीय आनन्द पाए पनि सक्षमता पाइन, यदि बाबाआमाको काखमा हुँदो हुँ त झोपडिमा भएपनि इच्छाशक्तिले हाँस्न पाउथें, थोरै भएपनि सक्षमताको आखिझयाल नियाल्न पाउथें। मलाई दुःख लाग्छ मेरा कोही छैनन्। तलको हाइहाइमा रुख चढें।

माथिकाले उज्जल नक्षत्र देखाउदै हात थामिदिए। अर्धभागको यात्रा नै धौ धौ लाग्यो। तलकाले भविष्य देखेका छन् माथिकाले पनि। मेरो सफलता तलका लागि सुन्दर समाज निर्माणा गर्ने उर्जा हो भने मा निमित्त करतुत र यर्थाथको बाकसको चाबी। चढें खोल्ला भन्ने र नउडला भन्ने डर त्यसैले न हो मेरो अवस्था जहिल्यै पचास जहित साठी। सत्तरी कट्न पाउदैन , तीसमा कहिल्यै आउँदैन।

सरकारले म बस्ने महलको अनुगमन गर्छ रे, थैली हेर्छ रे बाकस रे। हो र खै मलाई त पत्तो छैन्। सरकारपट्टीको भनेर एक एकजना चप्पल प्याट प्याट बजाउदै आएको थियो जादा बाइक चढेर अर्को वर्ष त्यही बाइकमा हाँस्दै आयो, हाम्रो समेत भागको पुलाउ खायो अनि कार चढेर उता लाग्यो। अब के को पालो हो, कस्को पात हो। म त उसैलाई कुर्दै बस्छु। दान पनि पाइने मान पनि पाइने अनि शान पनि पाइने। सबैले नमस्ते गरिहाल्छन्, पोल्टामा पुरस्कार वेरी एकवारको जुनीमा समाजसेवा पनि गरेस् है छोरा भनेर हजुरवुवाले त भन्नुभएको थियो, बाबाले खै के गर्नुभयो तर म चाहि अब अब समाजसेवा गरेरै छाड्छु। सडकका बालबालिका गन्दिन्छु, यति छन उती छन् भन्दिन्छु। लेखेकै भरमा महल भैहाल्छ, उ आउदै आउदैन पनि दुइ चार दिनमै गइहाल्छ। भाइ मास्टर बन्छ, भिनाजु अकाउन्ट लेखापाल, पत्रिकामा आवश्यक्ता छाप्दै आफन्तलाई राखिदिन्छु मलाई कल अब गर्छु डलरको सहायताले समाजको कमाल उस्तै परे मोडलिङको बोलाइदिम्ला राजेश हमाल। कसो, मेरो समाजसेवाले गोरखा बाहु नपाउने सम्भावना अब कतै रहला र?

एउटी राम्री थिइ, ऊ हाम्री थिइ। बाबा भैदिएको भए बुहारी सम्बोधन गर्नुहुन्थ्यो होला, आमाले पनि। भाइले भाउजू भन्छ, विश्वास त मलाई हिजो पनि थियो। उनको मुखबाट मेरी भन्दै मेरी बहिनीको परिचय दिँदा मलाई गर्व लाग्थ्यो तर सबै कति निष्ठूर रहेछ लहैलहैमा खुट्टा कमाउने भएछ त्यसैले त हो अरे, होरेसँग पोइला गएछ। धिक्कार छ। आफैंले आफैंलाई पिटें। मेरो लक्ष्य त्यागें झै लाग्यो। मैले त अनाथालय खोल्नु छ, वृद्धाश्रम खोल्नु छ, एड्स पीडितलाई पुनर्स्थापन केन्द्र खोल्नु छ, वृत्तचित्र बनाउनु छ अनि, अनि पुरस्कार पाउनु छ। थाल नरे थाल। अब आफैं एक अनाथ, गणाना आफैबाट सुरुवात गर्दा कसो होला। एउटा कोठामा बसिरहेकैं छु, केहि दान नपाउन्जेल त्यसैलाई आश्रम ले चिन्नुपर्ला, दान आउछ तय स्वर्गिय महान किन्नुपर्ला। कसो प्रभु? सह पाउँछु नि। म पनि तपाईकै सन्तान हुँ कमाउन मन छ, कारणा हयाणडल समाउन मन छ, गोरखा दक्षिणा वाहुमा रमाउन मन छ। चाँडै सपना साकार वेस्। कोही छौं कहि भने आउ है, दिने धेरै आओ, लिने थोरै आओ, क्षणामै जाओ। कमाउने आओ, रमाउने आओ, हसाउने आओ , रुवाउने आओ। जो जो छौ जहातहा एकाएक आओ मैले गणाना थालिसके। तिमी आउदै गर, नाम टिपाउदै गर जति नम्बरमा पर्छ त्यसै अनुसार पेट भर। म चाहि समाजसेवी अनि अनाथ पनि। त्यसैले त म भए अनाथ नं. १, अनाथ नं.को क्रमविस्तार गर्दै गर्नुहोस।

श्रीगणेशाय नमः

December 5th, 2009

(स्रोत : Mysansar.com)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.