~सुरञ्जन घिमिरे~
शुरुमा मेरो भट्टी सानो थियो । सानो यसर्थमा कि–म त्यतिबेला अहिलेका जस्ता ब्राण्डेड रक्सी बेच्दिनथें, शिवाय लोकल । मन नभएर होइन, लगानी नभएर । त्यहि भए पनि मैले कुनै पनि ग्राहकहरुलाई–‘आज रक्सी छैन’ भन्नु परेन । तर व्यापारलाई लगानीकै आधारमा सानो र ठूलो छुट्याइन्छ न कि ग्राहकको सन्तुष्टि या वस्तुको पूर्ति–परिमाणबाट । यो अर्थशास्त्रीय नियम मेरो पेशासँग प्रत्यक्ष सरोकार राख्ने तत्व हो । यद्यपि, यस्ता तथ्यगत कुराहरु मलाई फोकटिया लाग्न थाल्छन्, जब उसको याद आइदिन्छ ।
उ त्यतिबेला एसएलसी बिर्गेकाले घरमै बस्थ्यो । उ के पढ्थ्यो, कति पढ्थ्यो मैले चासो राखिनँ । देहातमा रहेको मेरो भट्टीमा हरेक दिन उ के आकर्षणले आउँथ्यो मलाई थाहा भएन । एउटा कुरा के भने उ त्यतिबेला चुरोट तान्थ्यो–खुकुरी । चुरोट तानेको कसैले नदेखुन् भन्ने उसको अभिप्रायलाई मेरो भट्टीले सानो आश्रयसम्म दिएको थियो भन्ने लाग्छ । भट्टीमा उ अन्तिमतिरको बेञ्चमा बस्थ्यो । शुरु–शुरुमा उसले एउटा चुरोट तान्थ्यो । पैसा ति¥थ्यो, हिंड्थ्यो । यस क्रमको अभ्यस्ततासँगै उसले चिया पनि पिउन थाल्यो । उ कुनै–कुनै दिन चिया–चुरोट थप्थ्यो । शुरु–शुरुमा थप परिमाणका चिया र चुरोटको पैसा जोडेर लिन्थें । पछि मनमौजी रुपमा तिर्न थाल्यो । मैले हिसाब राखिनँ । त्यति बेलासम्ममा उ खुकुरीबाट सूर्यमा आइसकेको थियो । त्यो पनि एक बसाईमा चार खिल्लीसम्म ! मेरो भट्टीको प्रयोजन उसका निम्ति यसभन्दा ज्यादा थिएन जस्तो लाग्छ । उ उही समय हरेक दिन भट्टीमा आईरह्यो । मैले– नआऊ, विद्यार्थीले चुरोट खाने होइन भन्न सकिनँ । सकिनँ भन्दा पनि भन्न मन लागेन । यसो भन्दा कतै उसको मन पो दुख्ला कि भन्ने कुरामा म सचेत थिएँ । थाहा छैन कहिलेदेखि हो, उसलाई मैले मन पराउन थालेछु । मन पराएकाको मन दुःखाउन मन नलाग्दो रहेछ ।
यसपछि केही वर्ष उ गुमनाम रह्यो । कता गयो, के ग¥यो मलाई थाहा भएन । धेरै समयपछि उ मेरो भट्टीमा नितान्त भिन्न व्यक्तिका रुपमा देखाप¥यो । भिन्न कसरी भने उसले बजारको एक रक्सी डिलरमा मार्केटिङ्ग–सेल्समेनको काम थालेछ । छोरा मान्छेहरु आफ्नो रोजगारीलाई आत्मविश्वासको जग र पुरुषर्थका रुपमा लिंदा रहेछन् भन्ने कुरा मैले त्यही दिन थाहा पाएँ, जब उसले मलाई तपाईंबाट सिधैं तिमी भनेर सम्बोधन ग¥यो अनि शानसँग गफ ग¥यो र खुलेर हाँस्यो । ती दिनहरुमा मैले उसका पहिलेका आदतहरु किञ्चित रुपमा पनि भेट्टाउन सकिनँ । जे होस् उसैले मेरो भट्टीलाई होटल बनाई दियो । कसरी भने हजारौं मूल्यका रक्सीहरु बेचेपछि पैसा तिर्ने शर्तमा मेरो होटलमा छोड्न थाल्यो । अघिल्लो दिन डिलरको ट्रकले रक्सी झा¥थ्यो, त्यसको भोलिपल्ट उ निलो पल्सरमा टुप्लुक्क हाजिर हुन्थ्यो । अनि त्यस दिन रातिसम्म उ रक्सी पिएर बस्थ्यो । यसरी कि मानौं, उसलाई जीन्दगीको कुनै मतलब नै छैन । मलाई उ उठेर नहिंडुञ्जेलसम्म होटल थुन्न एकदमै सकस लाग्थ्यो । म छेउमा गएर भन्न सक्दिनथें–यति साह«ो रक्सी नपिऊ अनि आज धेरै राति भइसक्यो, तिमी होटलबाट निस्किहाल ! बेलाबेला त उसले सोच्न बाध्य नै पा¥थ्यो कि–एक महिनाको तलबले कतै उसलाई एक रात रक्सी पिउन त पुग्छ ? तर मैंले कुनैपनि दिन उसले रक्सी पिएको रकम क्याल्कुलेटरमा थिच्न सकिनँ । उ निलो पल्सरमा मेरो होटलमा आईरह्यो । उधारोमा रक्सी पनि दिइरह्यो र उधारोमा पिइ पनि रह्यो । उसले मलाई विश्वास गरेको थियो यसैले मैले पनि उसलाई विश्वास गरेकी थिएँ ।
एक दिन कुनै कुरामा साहुसँग उसको भनाभन परेछ । त्यसको केही दिनपछि उसले त्यस जागिरबाट हात धुनु प¥यो । यद्यपि, पल्सर हाँक्ने र रक्सी पिउने उसको लत हराएको थिएन । सायद, छोरा मान्छेहरु रक्सी पिउन जस्तै बाइक हाँक्नुलाई पनि एउटा आदतकै रुपमा लिन्छन् क्यार ! नत्र न जागिर न केही आम्दानी कहाँबाट उ यो खर्च जुटाईरहेको छ ? म यो सबै बुझ्थें तर भन्न केही सक्दिनथें । यसबारे उसलाई सोध्न वा सम्झाउन मौका जुरिरहेको थिएन । एक दिन सँधैंको साँझझैं निलो पल्सरको तुफान बेगसँगै ऊ रक्सी पिउन आयो ।
त्यतिबेला मैले उसलाई सँधैंभरि यसरी अल्लारे पारामा नहिंड, बरु राम्रो काम हेरेर विदेश जाऊ भनें । शुरुमा उसले मेरो वचन वा आग्रहलाई पत्याएन वा वास्ता गरेन । केही बोलेन । तर, मैले उसका लागि गरेको यो आग्रह वा उपदेश उसको भविष्यसँग प्रत्यक्ष रुपमा जोडिएको थियो । किनकी विदेश गएपछि धेरै मान्छे सुध्रिएको मैले पनि देखेकी छु । म पनि चाहन्थे–उसले त्यति साह«ो रक्सी नपिओस् र जीन्दगीप्रति बेसुरा नहोओस् । हो म रक्सी पसल गर्ने एक सामान्य युवती थिएँ तर म चाहन्नथे–रक्सीले नै कसैको जीन्दगी बर्बाद पारिदिओस् । मैंले हरेक साँझ र रात उसलाई यहि कुरा भनिरहें । अन्त्यमा उ विदेश जान तयार भयो । मैंले उसको पासपोर्ट बनाउन आवश्यक सबै सहयोग गरें । सौभाग्य नै भन्छु–त्यहि बेला एकचोटी मात्र म उसको निलो पल्सरमा चढ्न पाएँ, जुन दिन हामी पासपोर्ट बनाउन सदरमुकाम गएका थियौं ।
त्यसको केही दिनपछि प्रशानिले उसलाई पासपोर्ट दियो र त्यसमा मेनपावरले मलेसियाको एक फर्निचर कम्पनीको भिसा लगाई दियो । लगत्तै उ मलेसिया उड्यो । छुट्टिने बेला आँखाभरी आँशु पार्दै–‘ह्वा पुग्ने बित्तिकै तिमीलाई फोन गर्छु’ भन्थ्यो । तर गरेन । ‘फर्केर आउँदा सिङ्गापुरे साडी ल्याई दिन्छु’ भन्थ्यो । उ नै नफर्किएपछि त्यो वाचाको के महत्व रह्यो र ! यसपछि कयौं हिउँद र बर्खाहरु बितेर गएसँगै म पनि बुढी भइसकें । आँखाले कुनै पनि प्रष्ट ठम्याउन नसक्ने यस्तो उमेरमा के मतलब त्यो साडीको ठाँट र उमेरको । यद्यपि, होटल बाहिर आएर रोक्किने मोटसाइकलहरुको आवाजसँगै उसको आवागमनको छनकले मलाई अनौठोसँग झस्काउँछ । कतै निलो पल्सरमा उ नै पो आइरहेको छ कि !
(स्रोत : इलाम पोस्ट अन्लाइन)