~बिष्णु सुबेदी दोलखे~
हाकिम साहेब भन्दा त पियेन दाइ राम्रो
कम्तिमा पियेन दाइले बसौ हजूर त भन्छन,
गजधुम्म आकाश झै हाकिम साहेब
सुन्निएको बिरामी जस्तो
चुपचाप चुपचाप मनमा कुरा खेलाएर
आफ्नै धुनमा मस्त रहन्छन ,
पियन दाइ यसो मर्का बुझेर
केही थियो कि हजुर ? भन्छन
बस्नलाई बेन्ची त दिन्छन
हाकिम साहेब भन्दा त
पियन दाइ कता कता को जाती
हाकिमको भन्दा पियन दाई कै ठुलो छाती ,
काम अनुसारको फाइलहरु
हाकिमका टेबलमा हाकिमलाई नै हेरिरहन्छन ,
हाकिम साहेबका मन टेबलका फाइल नभएर
ग्राहकको खोजी मा र
अघाडी उभिएको निरिह मान्छेको गोजिमा दौडिरहन्छ
कस्तो नाटकि हुन्छन हाकिम साहेब पनि
सबै प्रकृया पुगेर पनि
एकै थोक कमी भो भन्छन
झर्को फर्को गर्छन् , आँखा तर्छन
र फाइल हुत्याउछन
फाइल भित्र नथी नगरिएका
कागजपत्र हरुको थाक
पहिरो गये झै छर्पस्ट हुन्छन
पियन दाइ छर्पस्ट कागजपत्र हरु
एक एक सम्हाल्दै टेबल मै राख्छान
हाकिम साहेब भन्दा त पियन दाइ राम्रा
हाकिम साहेब भन्दा त पियन दाई राम्रा
पियन दाइ दिनभरी
चिया ल्याउछन खाजा खुवाउछन
फोहर बढार्छन
दिनभरी कार्यालय रेखदेख गर्छन्
घरमा सबै भातभुङ
परिवार सबै लथालिङ
जहान छोरा छोरी, रोग भोग र शोक
सबै बिर्सिएर
पियन दाइ सबैलाई हसिलो मुद्रामा
नमस्कार त गर्छन्
कसो कसो हाकिम साहेब भन्दा त
पियन दाइ नै असल
पियन दाइ नै महान
पियन दाइ नै सेबक
किनकी ,पियन दाइ हाकिम साहेब जस्तो
स्वार्थी त छैनन
महत्वकान्क्षी त छैनन
हाकिम साहेब भन्दा त पियन दाइ राम्रो
कम्तिमा पियन दाइले के छ त सोध्छन
बसौ न हजुर त भन्छन
पियन दाइ हाकिम साहेबको जस्ता
भोली भोली त भन्दैनन
पियन दाइ हाकिम साहेब जस्तो मान्छेलाई पशु त गन्दैनन /
बिष्णु सुबेदी
(भिमेश्वोर-३, दोलखा)
(स्रोत : बिष्णु सुबेदीको कविता संग्रह “विदुवा भाउजुहरुको देश” बाट )