कथा : फेसबुक ट्रयाजेडी

~पोस्तक श्रेष्ठ~Postak Shrestha

कलेजको क्याफ्टेरियामा कुनाको एउटा टेवलमा एक्लै अक्सर एक्लै हुन्थिन् उनी। दुब्ली, अलि छरपरष्ट कपाल, चस्मा लगाउने। ब्याकप्याक, फेरी प्लाष्टिकको झोलामा केही कितावहरु वा यस्तै केही सामानहरु, कानमा इयरपड्। मिन्नेसोटाको जाडो छेल्न स्वेटर, त्यसमाथि ज्याकेट र सलले पनि बेरिएकी हुन्थिन्। हस्याङ-फस्याङ गर्दै आउथिन्, एउटा कफीसंग बेगल लिन्थिन् र त्यसबिचमा झोलाबाट एउटा किताब निकालेर केही पृष्ठ हेर्न भ्याउथिइन् र फेरि हत्तार गरेर निस्किन्थिन्।

एकदिन उनी अलि लामै समय बसिन्। म छेउको टेवलमा थिंए। कुनै चिनजान थिएन, बोल्ने कुरा भएन। उनी एशियाली मुलुक को त हुन् तर कुन देशको होलिन् भनेर कुतुहलता लागिरहेको थियो। यत्तिकैमा उनको फोन बज्यो। चिनीया म्यान्डरिन भाषामा बोलिरहेकी थिइन्। नेपालमा हुँदा मैले पनि केही म्यान्डरिन सिकेको थिंए। राम्ररी बोल्न नसके पनि अलि अलि बुझ्दथें।

“नि श चोंगकुओ रेन मा? ( तिमी चिनिया हौ?)” मुखबाट बिनायोजना फ्याट्ट प्रश्न फुत्किहाल्यो।
उनले पुलुक्क हेरिन् र मुसुक्क हांस्दै भनिन्। “व श (हो)।, बट आइ क्यान स्पिक इंगरिश”। उनको बोलीमा चिनिया लवज थियो।

“तिमीले अंग्रेजी बोल्न जान्दैनौ भनेर मैले चिनिया भाषा बोलेको होइन। धेरै समय पहिले मैले चिनिया भाषा सिकेको थिंए। तर सबै बिर्से होला। तिमीले फोनमा चिनिया भाषा बोलेको सुनेर अलिकति अभ्यास गरेको।” मैले स्पष्टिकरण दिंए।

“ए हुन्छ हुन्छ, मेरो संगत गर तिम्रो चिनिया भाषा राम्रो हुन्छ”। अलिकती आंखा झिम्क्याउदै भनिन् र उनी आफ्नो सामानहरु बटुल्न थालिन्। उनी अलि बोलक्कड रहिछिन् भनेर बुझें।

“मेरो कक्षा शुरु हुन लाग्यो। म जानु पर्छ। चाइ चियान” (फेरि भेटौंला)।

“चाइ चियान”। मैले पनि जवाफ फर्काए। उनी गइन् तर उनको आँखा झिम्क्याइले केही तरंग भने छोडेर गयो।

********

अर्को कुनै दिन उनलाई फेरि क्याफ्टेरियामा देखें। उनको नजिक जान मन लालायित थियो। उनको अगाडिको सिट खालि नै थियो।

“यो कुर्चीमा अरु कोहि छ की? खाली हो भने म बसूँ?” मैले सोधें।

“यो सिट त खाली छ, तर त्यो बाहेक अरु सबैकुरा भरि छ।” उनले हाँस्दै भनिन्।

“तिम्रो दिल पनि भरि छ?” मलाई पनि जिस्किन मन लाग्यो।

“हो दिल पनि” उनी खित्खिताएर हाँसिन्।

“ए म त यो कुर्ची भन्दा त तिम्रो दिलमा पो बढी आकर्षित थिंए त” मैले अझै जिस्किन छोडिन।

“ए तिमी ढिलो आयौ नि, के गर्छौ त, अहिले यो कूर्चीमा नै चित्त बुझाऊ, हा हा”

हामी दुबै जना बेस्सरी हाँस्यौ।

त्यसपछि सामान्य कुराकानी भयो। परिचय आदान प्रदान भयो। उनको चिनिया नाम चु मेइ-लीएन रहेछ। अंग्रेजी नामचाँहि “मिली” रे। मिली बेइजिङगबाट आएकि रहिछन्। स्नाकोत्तरको अन्तिम वर्ष रहेछ।

मैले पनि मिलीलाई आफ्नो बारे सामान्य जानकारी दिंए। पढाइ सकेपछिको भविष्य बारे समान चिन्ता थियो हाम्रो। अमेरिकी अर्थतन्त्रको बिग्रदो अवश्था, रोजगारीको कम अवसर आदि इत्यादि बारे कुरा भयो।
उनको कक्षाको समय भए पछि उनी गइन्।

त्यो दिन रमाईलो लाग्यो। मिली फरासिली थिइन्। हल्का फुल्का ठट्टा गर्ने तर जीवन र भविष्यप्रति उत्तिकै चिन्तित। उनको उन्मुक्त हाँसो, हाँस्दा गालामा पर्ने खोपिल्टो र, निधारमा छरिएको केशरासी सुन्दर थिए।

***
कलेजको क्याफ्टेरिया, कुनाको टेवल मिली र म। हाम्रो नियमित भेटघाट हुन थाल्यो। हामीले फेसबुकमा एकले अर्कालाई साथी बनायौं। फोन नम्बर साटासाट गर्यौ। कुनै दिन क्लास नै नभए पनि कलेज जान थालें। कुनै दिन उनी मेरो अपार्टमेन्टमा आउथिन्, म नेपाली खाना पकाएर खुवाउथें। कहिले काँहि म उनको मा जान्थें, उनी चिनिया खाना खुवाउथिइन्। तोफू खान, चप स्टिक प्रयोग गर्न मिलीबाट नै सिकेको थिंए।

एकचोटी म बिरामी परें। मिलीले मेरो धेरै ख्याल राखिन्। मलाई क्लिनिकमा लिएर गइन्। दिउसो कलेज गए पनि बिहान र बेलुका भने उनी मेरो हेरबिचार गर्न आईन्। ज्वरो आउदा चिसो पानी पट्टी लगाइदिईन्। तातो सुप बनाएर खुवाइन्। यो उनको म प्रतिको माया थियो वा एउटा असल साथीको कर्तब्य मात्र? मैले बुझ्न सकिरहेको थिइन तर मैले भने उनलाई मन पराउन थालिसकेको थिंए। मिली मेरो मन मन्दिरमा सुटुक्क बसिसकेकी थिइन्। तर औपचारिक रुपमा मैले उनलाई मन पराउने कुरा कहिले भन्न सकिन। मौका पनि परेन।

हाम्रो पढाइ सकियो। अब जागीरको लागि भौंतारिदै थियौं। हाम्रो भेट पहिले भन्दा अलि कम हुन थालेको थियो। भेट हुंदा पनि उनी गम्भीर देखिन्थिन्। सायद जागीरको समस्याले पिरोले र हो कि। मैले एक दुई पटक सोधेरको पनि थिंए। तर उनले केही होइन भनेर टारिदिएकि थिइन्।

एकदिन उनी मेरो अपार्टमेन्टमा आइन्। साह्रै उदासिन् देखिन्थिइन्।
“म चीन फर्किन लागेको। भोली मेरो फ्लाईट छ। म फर्केर आउछु कि आउदिन थाहा छैन। त्यस्तो आउनै पर्ने कारण त केही छैन।”

“हँ”, म आश्चर्यमा परें। “किन यस्तो अचानक निर्णय ?”
” आमा बिरामी हुनुहुन्छ रे। आमासंग केही समय पनि बिताउन चाहन्छु। यहाँ जागीर पनि पाउन सकेको छैन। भिसा पनि सकिन थालिसक्यो। यहाँ रोकिनु पर्ने अरु कारण पनि केही भएन”।

‘मैले रोके भने बस्छौ?’ सोधुँ जस्तो लागेको थियो। तर भन्नै सकिन। मेरो पनि अवश्था त त्यस्तै थियो। भिसा सकिन लागेको थियो र जागीर पनि भइरहेको थिएन। यस्तो अवश्थामा मैले प्रेम प्रस्ताव राखुँ पनि कसरी राखुँ? फेरि मिलीले मलाई त्यस्तो नजरले नहेरेको पनि त हुन सक्छ नि । म चुपचाप बसेँ। मेरो प्रेम अव्यक्त नै रह्यो।

भोलि पल्ट मिलीलाई एयरपोर्ट छोड्न गएँ। उनी सिक्योरिटीबाट भित्र जानु भन्दा अघि मलाई अँगालो मारेर रोइन्। मन त मेरो पनि दु:खि रहेको थियो तर कुन अभिमानले हो आँसु भने निस्किरहेको थिएन।

“चीन पुगे पछि मलाई फोन गर है”। मैले भने।

उनी केही नभनी भित्र पसिन्। हेर्दा हेर्दै मानिसको भिडमा उनी हराइन्।

मिली गइन्। एक दिन बित्यो, दुई दिन बित्यो। तीन, चार, हप्तौं बित्यो, तर फोन आएन। फेसबूकमा केही सन्देश छ किन भनेर हेर्थें, त्यहाँ पनि केहि थिएन। मैले मिलीको घरको फोन नम्वर पनि लिन बिर्सेछु। मिलीसंग बिताएका रमाईला पलहरु एक पछि अर्को गर्दै मेरो मानसपटलमा तैरिन थाल्यो। मिलीको याद झन झन आउन थाल्यो।

‘यहाँ अमेरिकामा रोकिनु पर्ने कारण पनि केही भएन’। मिलीको यो भनाईको अर्थ के थियो? के उनी मैले रोकोस् भन्ने चाहन्थिन्? उनी किन पछिल्ला दिनहरुमा मसंग गम्भीर देखिन्थिइन्? के उनी मसंग प्रेम गर्थिन्? मलाई लाग्यो, मैले सायद मिलीको मनोभाव बुझ्न सकिन। मिलीको प्रेम महसुस गर्न सकिन। मैले मिलीलाइ मेरो प्रेम ब्यक्त नगरेर ठूलो भूल गरें कि भनेर मन थकथक लागिरह्यो। सायद मेरो प्रेमले मिलीलाई चीन फर्किनबाट रोक्थ्यो कि?

फ्रेब्रुअरी १४, प्रणय दिवस। मिली प्रतिको मेरो प्रेम धेरै गुम्स्याएर राख्न सकिन। फेसबूकमा मिलीलाई सन्देश पठांए।

‘मिली, मलाई माफ गर, तिमीलाई चीन जानबाट रोक्न सकिन। तर म तिमीलाई भित्री हृदयदेखि नै प्रेम गर्छु। के तिमी अमेरिका फर्किन्छौ? कृपया मलाई जवाफ देऊ’।

त्यसपछि हरेक पल फेसबूकमा मिलीको जवाफ केहि छ किन भनेर हेर्थे। तर मिलीको जवाफ केही हुन्थेन। मिलीको फेसबुकमा कुनै अपडेट पनि थिएन। त्यो सपाट थियो। एउटा शान्त तलाउ जस्तो। कुनै छाल, तरंग केही थिएन।

त्यसपछि मैले एउटा जागीर पाएँ अनि त्यसैमा ब्यस्त हुन थालेँ। मिली मेरो एउटा मिठो सपनामात्र बनेर रहिन्। महिना बित्यो। बर्ष बित्यो। मिलीको कुनै खबर आएन। यता मलाई नेपालबाट बुवाआमाले बिवाहको लागि केटीहरुको फोटो पठाएर हैरान पार्दै हुनुहुन्थ्यो। केहि समय त बिभिन्न बहाना पारेर टारे, तर त्यो धेरै धान्न सक्ने अवश्था थिएन। मिलीको आशा गरेर बस्ने कुनै आधार पनि थिएन। अन्तत: यतै अमेरिका बसोबास गर्ने एकजना केटीसंग बिहेको कुरो अघि बढ्यो। परंपरागतरुपमा मेरो बिवाह भयो। मिली अब मेरो लागि एउटा अतित बनिन्।

समय बित्दै गयो। समयले धेरै कुराको उपचार गर्छ भन्थे, हो रहेछ। मैले मिलीलाई लगभग भुलिसकेको थिँए। तर एक दिन अचानक मेरो फेसबूकमा मिलीको सन्देश थियो।

‘तिम्रो चार वर्ष पुरानो सन्देश आज पढ्दै छु। कस्तो विडंवना। चीनमा फेसबूक प्रतिबंधित छ। त्यसकारण तिम्रो सन्देश मैले पहिला कहिले पाउन सकिन। कामको सिलसिलामा म अहिले चीनबाट बाहिर रहेकोले मात्र फेसबूक हेर्ने मौका पाएं। म अमेरिकामा नै हुँदा सायद तिमीले यो पोष्ट गरेको भए म चीन फर्किनु पर्ने नै थिएन। अमेरिका हुँदा म तिम्रो यो प्रस्ताव सुन्न म कति ब्यग्र थिँए। गल्ती त मेरो पनि थियो। चीन फर्किसके पछि मैले तिमीलाई कहिले सम्पर्क गरिन। कारण म तिमी प्रति निराश थिंए।’

‘तर अव धेरै ढिलो भइसकेछ। फेसबूकमा तिम्रो बिवाहको तस्वीरहरु देखें। तिम्री श्रीमती राम्री रहिछिन्। तिमी भाग्यमानी रहिछौ। मैले तिमीलाई पाउन त सकिन, तर तिमी मलाई प्रेम गर्दो रहेछौ, यो थाहा पाएर धेरै खुशी छु। म पनि तिमीलाई माया गर्छु, यो थाहा पाएर तिमी पनि खुशी हुन्छौ होला। प्रेममा पाउनु पर्छ नै भन्ने छैन, महसुस हुनु नै काफी छ। मलाई अब फेसबुकमा सन्देश पठाउने कष्ट नगर किन भने म भोली नै चीन फर्किदैछु। तिम्रो सुखी दाम्पत्य जीवनको धेरै धेरै वधाइ तथा शुभकामना।’

म स्तब्ध भएँ। मेरो मस्तिष्क शून्य भयो। मनमनै कामना गरें-
‘मिली, तिमीलाई पनि मेरो शुभकामना। तिमी जहाँ रहू, सुखी रहू।’

(स्रोत : Mysansar.com)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.