कथा : मन्दिरको घडेरी

~सुरञ्जन घिमिरे~Suranjan Ghimire

‘आजको मितिमा बसेको यस छलफलले हाम्रो गाउँमा एउटा मन्दिर बनाउने निर्णय गरेको हुँदा भोलि बिहान ठीक सात बजे यही आँगनमा सबै जना भेला भई मन्दिरको घडेरी खार्न जानुपर्ने कुराको जानकारी गराउँदछु’ जेठाले निर्णय सुनाई सबैको इच्छा बुझ्न खोज्यो–‘यस निर्णयप्रति सहमति जनाउने र विमति जनाउने सबैले पालैपालो हात उठाउने ।’ विमति हुनेमा कसैले हात उठाएन । सर्वसम्मतले उक्त निर्णय पारित भयो । गाउँमा मन्दिर बनिने कुराले सबैलाई उत्साहित बनायो । भोलिदेखि सबैले उक्त प्रस्तावित मन्दिर निर्माणका लागि श्रमदान गर्नु पर्ने भयो ।

एकाबिहानै काँधमा बेल्चा बोकेर मन्दिरको घडेरी खार्न हिंडेको कान्छालाई बारीको डिलमा घाँस काटिरहेको मन्तरेले देख्यो । मन्तरेलाई नदेखेजसो गरेर कान्छो खुइँखुइँ ओरालो लाग्यो ।

‘ओए, काँ हिंडेको ?’ हँसियाले अड्याउँदै एकमुठी घाँस डोकामा हाल्दै कान्छालाई मन्तरेले भन्यो ।

‘बुझीबुझी नबुझे जस्तो स्वाँङ पार्छस् ? मन्दिरको घडेरी खार्न हिंडेको, जाने भए हिंड् तँ पनि, सधैँ घाँस काटेर मात्रै तैंले केही खुत्याउँदैनस्’ कान्छो यतिबेरमा रोक्किएला कि जस्तो गरेर बिस्तारै हिंड्दै मन्तरेले घाँस काटिरहेभन्दा केही तल पुगिसकेको थ्यो ।

‘सित्तैमा श्रमदान चाहिं एत्रा नि गरिदैंन, जेठा हर्ले मन्दिर बनाउन भनेर जिबिसबाट बिना ब्याजमा ऋण ले’का छन्, बनाए उनेले नै बनाउन् मन्दिर, म चाहिँ जान्न त्यो चाम्रो माटो खन्न, आनन्दले दिनभरि सुत्छु पो बरु’ तल पुगिसकेको कान्छाले सुन्ने गरी केही ठूलो आवाजमा मन्तरेले भन्यो–‘अर्काका बारीमा मन्दिर बनाएर बित्थामा आफ्नो चैं जग्गाको दाम सोत्तर बनाइदैन, मन्दिरै बनाउने भए त्यो जग्गालाई पहिला मालमा गएर मन्दिरका नाममा नामसारी गरौं ।’

‘पर्दैन हए मन्तरे नामसारी, सामसारी गर्नु, मन्दिर बन्ने भो, औंशी–पूर्णे एसो पूजाआजा गर्न पाइने भो, गाउँमा सहकाल पनि लाग्ला, पानीका मुहान–सुहान फुट्लान्, बालीनाली अलि फस्टाउँलान् कि भनेर खुशी हुनुपर्नेमा मुखै अध्याँरो बना‘र रुन खोज्छ, तँ नगए नजा न कल्ले काँध हालेको छ ? खुब अर्काको बाटो छेक्न खोज्छ, मु..नास्तिक ।’ कान्छाले मन्तरे घाँस काटिरहेभन्दा तीन–चार गह«ा तल्तिरबाट मन्तरेले सुन्ने गरी ठूलै आवाजमा उत्तर फर्कायो । यसपछि पनि मन्तरे केही भन्दै थियो । तर कान्छाका कानसम्म त्यो आवाज परेन ।

आफ्नो बारीमा मन्दिरको घडेरी खार्नु परेकाले कान्छालाई राति निन्द्रा लाग्न छोड्यो । ‘जोत्न सजिलो र अलिक सेप नलाग्ने त्यै एउटा गह«ो थ्यो’ एक मध्यरातमा कान्छाले आफ्नी बूढीलाई भन्यो–‘त्यै पनि जाने भो’ कान्छाको यस्तो नामर्दी चाला बुझेर बुढीलाई ननिको लाग्यो ।

‘समाजको छलफलमा बोलेको कुरो हो, बोलेपछि मुटु कमाउनेले भुत्रा बोल्नु ? देउताका नाममा थान बनाउने हो, केटाकेटी खेले जस्तो कुरा गर्छौ खुबै ।’ बुढीले झर्को मानी । यसपछि कान्छो भित्तातिर फर्कियो र सिरकले मुख छोपेर सुत्यो । मनमा आंशिक तिक्तता भए पनि गाउँलेहरु मिलेर मन्दिरको घडेरी खार्न लागे । कसैले बेल्चा चलाए, कसैले झम्पल, जारो, साबेल, गैंती, हम्मर, मार्तोल र कसैले टुकटुके । दुई–चार दिनमै मन्दिरको घडेरीले आकार लियो । आफ्नो मेहेनत ऐना जसरी त्यस घडेरीको सतहमा टलक्क टल्कियो । सबैले खुशी हुँदै आफ्नो मुहार त्यस ऐनामा हेरे । यो कुरा मन्तरेलाई भने मन परिरहेको थिएन । मन्तरे र जेठाको परारको सालदेखि बोलचाल थिएन । पोहोर साल जेठाले छोराको बिहे गर्दा मन्तरे घरमा भोटेताल्चा ठोकेर ससुराली हिंडेको थियो । तसर्थ जेठाको घरको आँगनबाट छलफलले पारित गरेको कुरा मन्तरेलाई सहर्ष स्वीकार थिएन ।

घडेरी खार्दै गर्दाको एक दिउँसो कान्छो आफ्नै आँगनको डिलमा रहेको दुदिलाको घाँस काटिरहेको थियो । त्यतिबेलै मन्तरे पनि त्यहीं आइपुग्यो–‘के गरेको कान्छा तैंले ? उब्जनी हुने खालको तेरो भन्नु त्यै एउटा पाटो थ्यो, त्यै पनि मन्दिर बनाउन दि हालिस्, अब मन्तरे यो साल हाम्रो अदुवाले राम्ररी बुढी हालेन भन्दै ऋण खोज्दै नआइज नि मुला’ मन्तरेले एकै स्वरमा भन्यो ।

रुखको टुप्पाबाट फेदतिर हेर्दै कान्छाले भन्यो–‘मेरो बारी जे सुकै गरुँ तँलाई के खाँचो ? घरमा भोटेताल्चा लाउँछु भन्दैमा ठूलो कुरा नगर हए मन्तरे मु..आफ्नो बेबार चलाउन मलाई नि आउँछ’ कान्छाको स्वाभीमानी कुरालाई अन्तरेले उपेक्षा गर्दै खिस्स हाँस्यो । कान्छालाई अरु पनि केही भन्न मन थियो तर मन्तरे खुइँखुइँ अगाडि बढ्यो । कान्छाले मन्तरेलाई सहासिक जवाफ त दियो तर उसको मन चाहिं स्थिर थिएन । मन्तरेको कुरा कान्छालाई राति निन्द«ा लाग्न नदिनमा थप सहयोगी बन्यो ।

घडेरी खारिंदै गयो । कान्छालाई राति छटपटिले सताउँदै गयो । मन्तरेको मनमा भित्रि तिक्तता चुलिंदै गयो । ‘दाजु हेर्नु न’ कान्छाले एकाबिहानै जेठाका घरमा पुगेर भन्यो । जेठो भान्साको अँगेनामा आगो ताप्दै रेडियोमा समाचार सुन्दै चिया पिईरहेको थियो ।

‘के भो कान्छा भित्रै आइज न बस्’–अँगेनाको डिलछेउको पिरातिर हेर्दै जेठाले भन्यो ।

‘दाजु हेर्नु न, अब मेरो अलिक उब्जनी हुने, सेप नलाग्ने, जोत्न पनि अलिक सजिलो हुने त्यै एउटा बारी थ्यो’ एकछिन रोक्किएर कान्छाले थप्यो–‘त्यसैमा मन्दिर बनिएपछि मेरो त सर्वस्व मासिने भै गयो नि दाजु’ कान्छाले ढाका टोपीको फेरभित्र हात घुसारेर कपाल कन्याउँदै भन्यो ।

जेठाले कित्लीबाट चिया सारेर कान्छातिर बडाउँदै भन्यो–‘तैंले पनि छलफलमा बोलेको कुरा हो, रातोपानी खा’र एकादशी मेलामा बोलेको कुरा त होइन नि, आईमाईको जस्तो किलकिले नपा’र’ गिलासमा बाँकी रहेको चिया एकै घुट्कीमा स्वाट्ट पार्दै जेठाले थप्यो–‘तँलाई अदुवा रोप्नै खाँचो भए एक–दुई मन बीऊ जान्छ, मेरै बारीमा रोप्, अधिया, ब्याज मराउनी केही हाल्नु पर्दैन, मुला गाउँ समाजका अगाडि माइक बजा’र मन्दिर बनाउने भनेर थाल्येको छ, घडेरी मात्रै खारेर छोड्दा वरपरकाले के भन्छन् ? बुझ्दैनस् ?’

यतिबेरमा कान्छाले मडुवा खैनी मोलेर ठिक्क पारिसकेको थियो । जेठाको कुरालाई कान्छाले खासै वास्ता गरेन । खैनी मुखमा हालेर–‘ल दाजु खोइ यो कुरामा बुढीले पनि अलिक गनगन गरी, म चाहिं…..’ भन्दै खैनीलाई जिब्रोले मिलाउँदै भान्साबाट निस्किँदै कान्छो उकालो लाग्यो ।

‘के गर्छस् त भन् मुला तैंले नदिने भए मुलबाटाले छुने अरुका पनि बारी छन्, के गरुँ त भन्’ जेठाले भान्साभित्रैबाट अलिक जोडले कराउँदै भन्यो । तर, कान्छो अलिकमाथि पुगिसकेकाले यो कुरा सुनेन । त्यो घडेरी खारेको मितिदेखि आजसम्ममा केही वर्षहरु बितिसकेका छन् । घडेरी परिसरमा कालीझार, तितेपाती, खरुकी र अरु झारहरु पलाएका छन् ।

(स्रोत : इलाम पोस्ट अन्लाइन)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.