~लारा राई~
“युद्धको मैदान–अफ्गानिस्तानमा छु। तपाई ‘युगपुरुष’ भनेर मलाई सम्बोधन गर्न सक्नुहुन्छ।”
फेसबुकको बढ्दो प्रचलनसँगै पुराना तथा नयाँ मित्रहरु भ्ोट्ने–बनिने क्रममा भर्खरै भेटिएका एकजना मित्रले आफ्नो परिचय दिंदै इन–बक्समा लेखे।
‘युगपुरुष’?
अरुको मुलुकको सुरक्षार्थ खटिएको सैनिक। अरुको हैकमबाट सञ्चालित। कमसेकम म चाहिं ‘युगपुरुष’ भन्दिन। पलायनवादी भन्न रुचाउँछु। रुखो जवाफसँगै थप लेखें–
थाहा छ, तपाई युद्ध कस्का लागि र, किन लड्दै हुनुहुन्छ?
तपाईलाई आफ्नो धारणा ब्यक्त गर्ने हक छ हजूर उनले पल्टनियाँ लवजमा छोटो र नम्र जवाफ दिंदै लेखे।
विपरित धारणहरुकै प्रसंगमा भर्खरै सामहाङसँग दह्रो वहस चलेको थियो। उनको तर्क थियो– किटपतंग होईनौं हामी। हामीमा चेतना छ। नश्लियबोध हुनु साम्प्रदायिक भावना नत, राजनीति हो। जायज प्रसंगहरु ह्ुन्। हामी, त्यसैले अहिले नेपालमा संघिय प्रणालीको चर्को वहस गर्दैछौं।
वास्तवमा, जातिय मुद्धाबाट उठेर समग्र नेपाली समाजको हकहित र विकासको वहस गर्न सकिन्न? एक समुदायले अर्को समुदायलाई धारे हात लगाएर सराप्नु भन्दा हामी किन, एक समुदायले अर्को समुदायप्रति हार्दिकता प्रकट गर्न सक्दैनौं? किन लाञ्छना र आपत्ति जनाउँदैछौं यतिविघ्न? के हामीमा सहिष्णुता विलिन हुँदै गएकै हो त?
मेरो प्र्र्रश्न टुंगिन नपाउँदै सामहाङले अर्को तक पेश गरे–नेपालको एकीकरणसँगै जातीय संरक्षणको एकीकरण पनि हुनुपर्थ्यो तर दुःखको कुरा ती विविध पक्षहरुलाई राज्यले सधैं अवहेलना र पाखा गर्यो। दासताको पञ्जामा बनायो। त्यहि कारण पनि, हाम्रा पुर्खाहरु यो मुलुक छोडेर पलायन हुन बाध्य भए।
जुनसुकै सम्प्रदाय होस्। असल समाजले निश्चय नै समग्र मुलुकको उत्थान गर्छ नै। सामहाङको तर्कप्रति मेरो विमति विल्कुलै होईन। ‘अतिवादी’ सोचहरुले कहिलेकाहिं समाजमा बर्बरता निम्त्याउन सक्छ भन्ने आसय प्रकट गरें।
जिद्धि दुवै थियौं। हाम्रो वहसको अन्त्य होला जस्तो लागेन। एकैछिन सामहाङसँग ब्रेक लिएँ।
फेसबुकको वालमा टांगिएका कमेण्टहरु पढ्न नभ्याउँदै अर्कोले ‘हेल्लो’ भन्न भ्याईहाल्यो। अभिमन्य रहेछ। धरानका पुराना मित्र। हिजोआज अमेरिकामा रहेछन्। नेपाल छँदा पेशाले ईञ्जिनियर। अमेरिकाका अहिले के गर्छन् कुन्नि! सोध्न भ्याएकी छैन। जागिर र ज्याला नसोध्नु भनिन्छ। त्यसैले पनि सोध्न मन लागेन।
अघिल्लो वर्षसम्म उनी नेपालमा नै थिए। काठमाण्डौंम झस्स भेट्दा भन्दै थिए–तिमीहरु जस्ता पलायनवादीहरुलाई मुलुकमा फर्कने अवस्था सिर्जना होस् भन्ने कामना सहित देशको निमार्ण कार्यमा नै ब्यस्त छु।
ब्यंग्यभन्दा पनि आत्मियताकासाथ मैले सोधेकी थिएँ–ईञ्जिनियर साबको गतिलो कमिसनसँगै हेराफेरि पनि होला र पो टिकेको छौ मित्र। हाँस्दै उनले भने–भन्ने बेलामा तिमीहरु नै हाम्लाई बाहुनले देश खायो भन्छौ। अलि अलि खानु प्रयो नि। कमिसनविनाको परियोजनाको तिमीले कल्पना गर्न सक्दिनौ–अप्रत्यक्ष्य तथ्य प्रकट गर्दै उनले भने।
अभिमन्यु शर्मा, धरानका मेरो धेरै पुराना मित्र। उनी भन्दै थिए–तिमी फर्केर नआएको धरान १५ वर्ष भयौ भन्छौ। ब्यापक परिवर्तन आएको छ धरानमा। लाहूरेहरुको शहर भनेर चिनिने सुन्दर नगरी धरानमा उस्तो रौनक छैन हिजोआज। मृत शहर हुँदैछ धरान। बेलायत आवासको
सुविधासँगै भएका महंगा घरहरु पनि बेचेर धरानका हाम्रा लाहूरे परिवारहरु सबै बेलायत प्रस्थान गर्दैछन्। उहिल्यै कति त हङकङ आईडीले गर्दा हङकङ गईसकेका छन्। गम्भिरमुद्रामा उनले धरानको वस्तुस्थिति बताए।
बाहुन मित्र, धरानको जनजातिय बाहुल्य शहरमा हुर्किए। पुर्ख्यौली घर ताप्लेजुङ भएका उनी धरानका रैथाने लिम्बूहरु भन्दा राम्ररी लिम्बू संस्कति बुझ्छन् र बोल्छन् पनि। मुलुक र आफ्नो शहरप्रति गम्भिर चिन्ता बोक्ने एकजना प्रतिभाशाली युवक पनि अन्ततः पलायन भएछन् सुटुक्कै। पुरानो आत्मियताका साथ जिस्काएँ–काँठो बाहुन हामीलाई पलायनवादी भन्थ्यौ। अवशरवादी वाहुन रहेछौ तिमी पनि।
संयोवश, फेसवुकको वालमा समदर्शी काईलाले लेखेका रहेछन्–’वाहुनवादी प्रतिभाकी धनी लारा।’ सिमान्तकृत बन्न चाहिन मैले। सोध्न भ्याएकी छैन आजसम्म काईलालाई। उनले किन त्यसो लेखे मलाई? उनको रंगवादी धारणालाई मेरो सलाम छ।
सामहाङ आईपुगेछन्। तोङबा पिएँर आए भन्दै थिए। प्रगति मुकारुङको अघि भर्खर पढेको वाल संझिए–“घरबाट सुकुटी, धुले अचार र कोदोको तीनपाने रक्सी आमाले पठाईदिनुभएछ। मन थाम्न सकिन। अहिले म मातेर भिल्लु भएकी छु। तर यति थाहा छ–रक्सी भन्दा घरको हार्दिकताले म बढि मातेकी छु। जस्ले जे भनुन्……………..” साँच्चै कति हार्दिकता र मिठास छन् ती हरफहरुमा। कस्लाई प्यारो ल्ााग्दैन आफ्नो कला र संस्कृति? जातीय पहिचान र परम्परा।
प्रगतीको हार्दिक सौजन्यता पढ्दै गर्दा सामहाङलाई मैले भनें–लुङवा! समस्त नेपालीहरुको आस्था चर्किरहेको बेला, तपाईलाई लाग्दैन के हामी आफैंभित्र खुम्चिन्दै त गईरहेका छैनौं? तपाईले भन्नुहोला, पलायवादी तिमीहरुले आफ्नो माटोको हक बुझ्दैनौ। निश्चय नै संवेदाविहिन बाँच्नुको के तुक, होईन र?
उसो भए, समग्र मुलुकको सार्वभौमिकताभित्र समान धारणाहरुमा हामी साँच्चै अटाउन सक्तैनौ त? यहि मेसोमा, केहि हप्ताअघिमात्रै विमला तुम्खेवालाई पढेकी थिएँ–
बाँच्नका निम्ति एउटा फराकिलो आकाश चाहिन्छ
मर्नका निम्ति आफ्नै देश चाहिन्छ।
हिजोआज, नेपाली आकाशमा राजनिति विद्रोहका राता फिलिंगाहरु दन्किरेहका छन्। हरेक प्रसग र विषयहरुमा राजनिति हावी हुँदै गईरहेको छ। विमति यहि छ। अतिवादीहरु साथ नलिईकन बढ्नै नसक्ने भएका छन् राजनीतिका महारथिहरु। कहिलेकाहिं लाग्छ–साप्रदायिक अपिल बन्ने त होईनन्? स–साना प्रसंगहरु पनि। चक्काजाम। तोडफोड। आगजनी। हत्या–हिंसाा आदी।
स्व. कञ्चन लिम्बूले लेख्नुभएको थियो माइसंसारमा एकपटक–“हामी एक भएनौं भने, कुनै माईका लाल आएर बचाउने छैन नेपाल।” किनभने, यो मुलुक तागाधारी/मतवालीको नभएर केवल नेपालीमात्रैको हो। जस्ले, संसारको कुनै कुनामा रहेर पनि केवल नेपाल सोच्दछ अनि, नेपाल बुन्दछ मष्तिष्कभरि, भरि।
प्रिय ‘युगपुरुष’
के हामी कुनै दिन आफ्नो मुलुक फर्कौंला? अथवा, तपाईले आफ्नो मुलुकको सुरक्षार्थ खटिएर एकदिन दर्विलो छाति लिएर भन्नुहुनेछ? “तपाई ‘युगपुरुष’ भनेर मलाई सम्बोधन गर्न सक्नुहुन्छ।” किनभने, संभोगको समस्त परिभाषाबाट अलग्गिएर, आवेशबाट उत्तेजनाबाट तातिएर अंग–प्रत्यंग चरमोत्कर्षबाट जन्मिएको त्यस्तो स्वभिमानी युगपुरुषको हाम्रो मुलुकलाई नितान्त आवश्यक छ।
विडम्बना! एउटी पलायनवादीले नै यो सबै लेखिरहेकी छे। तपाईहरुको राय थाहा छैन अहिलेसम्म। हो, यतिबेला अभिमन्यु शर्माको भने त्यहि अभिमत हुनेछ ।
November 7th, 2009
(स्रोत : Mysansar.com)