~निर्भीक रार्इ~
झुन्डिएर लौकाझैँ फलेकी नैनकला
दुनियाँलाई ऋणसापट छर्दा ।
बिपनामा सिरीखुरी भएकी नीरमाया
नेताको आडमा करोडौँ कुम्ल्याउने
सपना देख्दादेख्दै योजना फेलखाँदा ।
बिगतमा कुकुरलाई कवाफ खुवाउने दिलसराको चुलो नबलेको
अहिले तिनीसँग फर्सी किन्ने पैसा नहुँदा ।
नुन खाएको कुखुराझैँ झोँक्राएको चतुरध्वज
ट्यापे छोरा जेलको हावा खाँदैगरेको खवर पाउँदा ।
पोइल गएकी जहान फर्काएको धौलवीरले
लटीपटी गम्ने हुँदा ।
याङ्पी जेलको पर्खालले छेकिएकी
अपहरणपछि बालकको सास खुस्काउँदा ।
घर उडाएर भूमिगत भएकी फूलमती
केशले नपुग्ने ऋण काढ्दा ।
अस्पतालमा इमरजेन्सी भर्ना भएकी रामप्यारी
ढिकुटीमा धोका पाउँनाले मूर्छा पर्दा ।
ससुरालीको मेजमानमा परेको उनीहरु ;
फौदिसंले स्वास्नीको चरित्रमा शङ्का गरी
फलामे पाइपले स्वास्नीको कन्चटमा डन्ठाउँनाले ज्यान जाँदा
र बम बहादुरले आफ्नो पसिना र स्वास्नीमा
मस्ती गर्ने माथि बक्सिङ वर्षाउनाले ज्यान जाँदा ।
सोझीबाङ्गी जे भए पनि आफ्नो दोस्रो मुटुलाई
भर नगरेर के लाई भर गर्ने त लाहुरेले
लाहुरे जीवनको एउटा निर्विकल्प मजबुरी ।
(विदेशी नोट टिप्नुजाँदा पर्ने चोटहरु : मियो उखेलिएको दाइँ)
मनमैजु, काठमाण्डू ।
जन्मथलो – भोजपुर, नेपालेडाँडा ।
पेसा – स्वतन्त्र अध्ययन र लेखन ।
(स्रोत : सन्जाल)