~दीपेन्द्र केसी~
सिउरिन भन्दिनँ एक थुँगा
तिमीलाई
बरू फूलसँग राखिदिन्छु
तिमीलाई
अनि, बल्ल मुस्कुराउँछन्
गुराँसहरू
र, उत्सव चल्छ यो प्रेमलोकमा !
जब यो शीतल हावामा
‘जीवन’को सुगन्ध मिसिएर
आउँछ
पहराहरू रसाउन थाल्छन्
हरियो थप्छ दूबोले,
मातिएर जोडी ढुकुरहरू
छाडा हुन थाल्छन्
हाँगा, कौसी र छानाहरूमा
अनि, एकलो बैँसमा
जब आरु र पैयँूहरूले कोपिला
देखाउँछन्
सूर्यको सम्पूर्ण किरण
तिमीमा आएर थुपि्रन्छ
र, म लुक्छु तिम्रो छायाँमा ।
साँझ सम्झौता गराउनु छ
जुनसँग
अनि बल्ल, उज्यालो पुल
बन्नेछ
तिमी र मबीच
कोइलीले गाउँदै हिँडेको
मधुर गीतको अर्थ यही हो
पि्रय ?
तिम्रो सिंगो मुस्कान
थुपि्रएको
हिमाल सामुन्ने उभिएर
मैले तयार गरेको
तिम्रो सुन्दरताको
घोषणापत्र ?
संशोधन गरेको छैन कसैले
आजका मितिसम्म ।
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )