~सुरज दाहाल~
मित्र
मैले समानता लेख्दै लेखिन
हामीमा भिन्नता देख्दै देखिन
तिमी भोकमा थियौ
तर मान्छेको मासु खाएनौ
तिमी शोकमा थियौ
तर कसैको लासमा रमाएनौ
मित्र,
तिमी नग्न थियौ
तर कसैलाई निर्वस्त्र बनाएनौ !
तिमी प्यासले व्याकुल थियौ
तर तृप्तीको लागी रगत पिएनौ
किनकी तिमी एक मानव थियौ
जम्मा मानव केबल मानव मात्र मानव
घिस्रदै पछारीदै बर्बराउदै
तिमी हरायौ ,तिम्रो अस्तीत्व अस्पर्शनिय भयो
तर तिमीमा मानवता हराएन !
प्रिय मित्र,
हजारौ वर्षको अन्धकारमय जीवनमा
पृथ्वीले देखेको नव-ज्योती हौ तिमी
दलित हैनौ प्रज्वलित छौ तिमी
विभेदका रेखा मानवले कोर्दैन
जुन गोरेटोमा कुलिनहरु सवार थिए
त्यही बाटोमा तिमी हुर्कियौ
जुन गौरीशकंर तिमी सग खेल्थ्यो
त्यसले ति जाती विभेदीको खिल्ली उडाउथो
मित्र ती कसरी उच्च भए
समाजका बलात्कारी कसरी स्वच्छ भए ?
मित्र,
तिम्रो पुर्खाले बनाएको तरबारले
देशको अस्मीता बचाएको हिजो जस्तो लाग्छ
दर्जी दाजुले सिलाएको वस्त्रले
एक युग नारीको शरीर ढाक्यो
कुलिन परीवारको इज्जत राख्यो ।
तिमी त वस्त्रदाता हौ
तिमी त अस्त्रज्ञाता हौ !
अछुत भयौ कसरी ?
तिमी नै म हु
म नै तिमी हु
अज्ञात रहयौ कसरी ?
मानवता अनी समानताका विरुद्धमा
कुनै मेरो धर्मशास्त्र र कानुन छ भने
म जलाउन तयार छु !
खरानीको मल हालेर
समानताको पुष्प ,म फुलाउन तयार छु ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )