कविता : कुर्सीको झगडा

~डा तारानाथ शर्मा~Taranath Sharma

कुर्सीको झगडा उठेर तगडा नेपाल नै रन्कियो
सारा देशविकासको अब कुरा ठप्पै भयो थन्कियो
गाई कोरली भोग्न बृद्ध जब त्यो साँढे जमेरै बस्यो
ईर्ष्या, भेद र फूटको मुलुकमा सेना डटेरै पस्यो
-१-

कुर्सी, गाई दुवै म धान्दछु भनी अर्कै उठ्यो डुक्रियो
नाङ्गो भो सब राष्ट्र भाँडिन गई धाँजा पर्‍यो टुक्रियो
साझा यो फुलबारि मास्न कसिए हाम्रो बिजोकै गरी
बाँच्ने छैन स्वतन्त्रता मुलुक नै फुट्ने छ ऐनासरी
–२-

आशा उन्नतिको मरेर मनमा सारा स्वदेशीहरू
रुन्छन् आज नदेखि रक्षण यहाँ नेपालको आबरू
कामै छैन कतै परिश्रम गरी खाने, युवा तर्सिए
देशै छाडि पराइका मुलुकमा लागे बसाइँ सरे
–३-

छोरीलाई म इन्दिरासरहकी पार्छु भनी चम्किने
देशैको पद शीर्ष लिन्छु म भनी मैदानमा बम्किने
भ्रष्टाचार र घूस, चाकरिहरू सामन्तसाथै ढलून्
नेपाली स्थिति फेरिएर जनमा आशाहरू उर्लिऊन्
–४-

शिक्षा, स्वस्थ्य र काममाम सबले पाऊन् थियो चाहना
नेपालित्व रहोस् सधैँ भुवनमा कल्याणको कामना
हामी नै झगडा गरेर घरमा बाझ्यौँ भने चर्चरी
हुन्छौँ दास पराइको पगमुनि रुन्छौँ सधैँ धर्धरी
–५-

कुर्सी, शक्ति र द्रव्यतर्फ दलका सिद्धान्तको दुर्दशा
हाँस्ने छन् सब मित्र मस्तसितले देखेर हाम्रो दशा
बिर्सन्छन् जनता र राष्ट्र यिनले पाएर कुर्सी पनि
हामी एक थियौँ र त्रास छ कतै मेटिन्छ राष्ट्रै भनी
–६-

आयो बल्ल नयाँ वसन्त घरमा बाजा बजाईकन
के नेपाल नयाँ हुँदै छ त भनी गर्दै छु यो चिन्तन
शङ्काका भरमा बसेँ म पीरले कल्पन्छु नेपाल त्यो
होला शान्त कहाँ? विभेदफूटले चाला नराम्रो लियो
-७-

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.