~मुकेश बराल~
ऊ अझै उत्सुक हुन्छ, प्लेनको उडानको उचाइ क्रमश घट्दै गर्दा। प्लेन अडिन्छ बिस्तारै भर्याङ्बाट ओर्लँदै अलि अप्ठ्यारो अनुभव हुन्छ, तातो हावाले उकुसमुकुस हुन्छ। लामो लामो सास लिँदै आँफैलाई सन्तुलित बनाउँछ।
दुबई आउनु उसको कुनै रहर थिएन, न त बाध्यता। नयाँ ठाउँमा घुम्दाको अनुभव लिनु थियो उसलाई। पहिलो पटकको प्लेनको यात्रा, नयाँ मुलुक त्यो पनि मरुभूमि अनी समुद्रमा , मानिसहरु कसरी बस्न सक्छन यही कौतुहल थियो।
आँखा तिर्मिराउने घाम, अगस्त महिनाको प्रचन्ड गर्मीमा अत्तालिनु स्वाभाविक थियो। नयाँ भाषा, नयाँ भेष भएका मानिसहरु नजिक पर्दा सतर्क हुन्थ्यो। एअरपोर्टको लिफ्ट अनि लबिमा अलपत्र परेका मानिसहरुको निन्याउरो अनुहारमा उसले आफ्नो जस्तै अनुहार देख्थ्यो। नेपालमा अखबार पड्ढाका समाचारको तस्बीरहरु उसको आँखा सामुन्ने उपस्थित थिए।
उसलाई अब यो शहरमा आफ्नो जीवन खोज्नु छ, जीवन यो अर्थमा कि आफ्नो एउटा राम्रो घर बनाउन पुग्ने पैसा कमाउनु छ। पैसा कमाउने ठाउँ खोज्न उसका झोला भरी सर्टिफिकेटहरु छन। इन्टर्व्युको लागि एपोइन्टमेन्ट लिनु अनि दिनु दिन्चर्या बन्छ। कन्क्रिट्को जंगल, सस्याना बुट्यान, ठाउँ ठाउँमा साना गाउँ अनि पूरै मरुभूमि अत्यासलाग्दो जीवन देख्थ्यो ऊ। फराकिला सडक अनि यसमा दौडने मोटरहरु आफ्नो देशमा बग्ने नदीको झल्को दिन्थे। हाम्रो देशमा खोलामा पूल छैनन् तर यहाँ सडकमा पनि पुलहरु! फ्लाइओभर देखेर अचम्भित हुन्थ्यो। रात पर्दा छुट्टै ठाउँ हो कि जस्तो छनक दिने शहर दिउँसो टन्टलपुर घाममा निरस बन्थ्यो, फेरि रात पर्छ शितल हुन्छ बत्तिको रौनक अनि झिलिमिलीले ठाउँ होस् त यस्तो भन्न मन लाग्छ।
‘काम छ, विकास छ, योजनाहरु छन्, पैसा छ अनि त यहाँ यति धेरै मानिसहरु छन्, फेरि सबै काम गर्नेहरु ……. स्थानीय भन्दा विदेशीको संख्या धेरै……’ यो कुरा धेरै अगाडि सुनेको थियो उसले अनि त देश छोडेर आएको ऊ। हुन पनि अचम्मको ठाउँ हो यो, मरुभूमिमा शहर बसाएको छ समुन्द्रमा घर बनाएको छ। गगन्चुम्बी महल यहीँ छन्, पर्यटकीय शहर रे। सडक अनि चोक, ग्रीनबेल्टमा रहरलाग्दा फूलहरु फूलाएका छन्, मान्छे मर्ला जस्तो घाममा रहरलाग्दो फूल फूलेको छ। पैसा मात्रै यहाँको रे बाँकी सीप परिश्रम हामीजस्तै देश छाडेर आउनेहरुको रे। टन्टलापुर घाममा सडकमा काम गरेका मानिसहरु …कति बेला बेहोश भएर लड्ने हुन थाहा हुन्नथ्यो। पानी पनि भनेको बेला पाउन्नन् होला जस्तो लाग्थ्यो। यस्तो ठाउँमा के गर्न सक्छु र ! कसरी बस्न सकिएला र !
यस्तै सोचेको पनि एक वर्ष बितेछ उसको। कसरी दिन बित्यो पत्तो हुन छाड्यो। सोच्न फूर्सद पनि कहाँ हुन्थ्यो र उसलाई। काममा गयो कोठामा आयो फेरि अर्को दिन काममा गयो। जे भेट्यो त्यो खायो, जो भेट्यो तेसको संगत गर्यो, जे मन लाग्छ त्यो गर्यो ऊ अब स्वतन्त्र छ। आफ्नो व्यस्तता अनि रहरमा उसको घर ओझेलमा पर्छ। महिनावारी घरमा पैसा पाठाएपछि ऊ आफ्नो कर्तव्य पूरा हुने विश्वाशमा छ। यो जिन्दगी यस्तै रहेछ, यही भ्रममा जीवन देखेको छ उसले। बेमतलबी दुनियाँमा आफूलाई बिस्तारै भुल्न थालेको छ। उसलाई नयाँ भन्ने थाहा छैन मात्र एउटा रूटिन वर्क थाहा छ। नयाँ भनेको चाँडै दुबईमा मेट्रो रेल चल्दैछ भन्ने थाहा छ, त्यो पनि उसले काम गर्ने शपिङ मलको नजिक स्टेसन बन्दै गरेको देखेको हुनाले। नत्र बाहिरी कुरा कहाँबाट थाहा पाउनु ! हाँसो ठट्टामा माहिर छ ऊ। कोठामा रहेका साथीहरुसँग दिउँसो भरिको थकान अनि कोठामा आउँदाआउँदै कुनापट्टी रहेको बोटलको हल्का ह्याङओभर देखाउन भुल्दैन। कोठामा अरु साथीहरुले भनेको कुरा हावामा उडाइदिन्छ त कहिले घाममा सुकाउने ठट्टा गर्छ, आफ्नो आँखाले नदेखेसम्म केहीको विश्वाश लाग्दैन उसलाई। सानो कोठामा धेरैवटा टाउकाहरु। तीन तह भएको खाटको माथिल्लो तलामा उसको ओछ्यान छ, पहिले त लडिन्छ कि जस्तो लाग्थ्यो तर अब बानी परिसक्यो। यस्तो जिन्दगी जिउने ऊ मात्र एक्लो होइन यो ठाउँमा, बहुसंख्यक नेपालीको यही जीवनशैली देखेको छ उसले। अनि त ठान्छ ‘यसैगरी बिताइदिन्छु दुई दिनको जिन्दगी …… ‘। धन्न ‘एसी’ भएको कोठा छ उसको त्यसैले त ‘भेन्टिलेसन’ पनि नभएको कोठामा तेह्रजना बस्दा तेत्तिकै गुम्सिने डरबाट मुक्त छन् उनीहरु। चौध जना केटा अनि केटीहरु एउटै कोठामा त बस्दा रैछन् हामी त एक्लाएक्लै पर्यो …… यस्तै ठट्टा सामान्य हुँदै छन उनीहरु माझ।
अङ्रेजी महिनाको नयाँ वर्ष, छुट्टीको दिन आउनैलाग्दा नयाँ दिन सुरु गर्ने योजना बन्छ। सबैको छुट्टीको दिन कोठा सफा गर्ने निर्णय हुन्छ। त्यसको लागि अघिल्लो दिन नै ‘इन्सेट किलर’ कोठामा छरेर सबैजना आ-आफ्नो काममा जाने, राति बहिरै या आ-आफ्नो अरु साथीहरुको कोठामा गएर नयाँ वर्ष ‘इभ’ मनाउने अनि भोलिपल्ट नयाँ वर्षको दिन सबैजना भेटेर छुट्टी ‘सेलिब्रेट’ गर्ने सल्लाह हुन्छ।
दिन आयो काममा गयो, आयो, घुम्दै बित्यो साँझ। सबै साथीहरु अन्तअन्तै आफ्ना भएतिर लागे, ऊ पनि खाँदैछ रमाइलो गर्दैछ, बिस्तारै ज्यानले आराम खोज्न थाल्यो, नशाको सुरमा उस्लाई मात्रै ओछ्यान चहिएको छ, कोठा खोल्छ अनि पल्टिन्छ। औषधि राखेको वास्ता भएनछ उस्लाई न त ‘एसी’ खोल्ने होस् नै।
नयाँ वर्षको पहिलो दिन, सूर्यले नयाँ बिहानी छर्नु अगावै नियतिले पंकजलाई हरिसकेको थियो। नयाँ बिहानी उसले देख्नुथिएन अब, झिस्मिसे मै ऊ पार भइसकेको थियो। ढोका खुल्यो उसको निर्वस्त्र शरीरबाट प्राण छुटिसकेको थियो।
September 12th, 2009
-मुकेश बराल/ दुबई, युएई-
(स्रोत : Mysansar.com)