पुस्तक समीक्षा : भ्रष्टाचारको भाङ्: ब्यङग्यको चाङ्

~गणेश घिमिरे ‘मार्मिक’~Ganesh Ghimire Marmik

मेरो हातमा एउटा जिम्मेवारीसहित एउटा व्यंग्य निबन्ध संग्रह कृति प्राप्त भएको छ । कृतिकार नेपाली साहित्यका एक सशक्त हस्ताक्षर युवराज मैनालीका रचनाहरु चाहे विभिन्न अखवारहरुमा स्तम्भका रुपमा हुन् या साहित्यिक पत्रिकाहरुमा, चाहे कथाकृतिमा होस् या समालोचना विधामा यत्रतत्र पाठकहरुमाझ छाएको भेटिन्छ । बिद्रोही स्वभावका मैनालीजी जसरी बोलचालमा समाजका विकृति विसंगतिहरुप्रति असन्तुष्टी ओकल्ने गर्छन् । उनका कृतिहरुमा भने त्यस्तो भेटिंदैनन् । तर उनको त्यो भावना र विचार भित्रभित्रै उकुसमुकुस भएर मनभित्रै गुम्सिरहेको रहेछ, जुन कुरा प्रस्तुत निबन्ध संग्रहमा छतातुल्ल भएर पोखिएको हामी पाउँछौं । हाम्रो समाजमा विद्यमान् सबैखाले विकृति र विसंगतिहरुलाई सकेसम्म नछोडीकन विभिन्न शीर्षकअन्तर्गत व्यंग्यात्मक शैलीमा उनले प्रस्तुत गरेका छन् । पहिलोपटक कथा संग्रह लिएर नेपली साहित्यका पाठकहरुमाझ कृतिकारका रुपमा झुल्किएका भएपनि उनी खासगरी समालोचनाकारका रुपमा बढी परिचित छन् । सफल समालोचना संग्रह ‘केही प्रतिभा केही प्रवृत्ति’ नेपाली साहित्य जगतलाई पस्किएका मैनालीजीको प्रस्तुत व्यंग्य निबन्ध संग्रहका बारेमा समीक्षा गर्ने काम सजिलो छैन भन्ने जान्दादान्दै पनिमैले यो कार्यलाई सत्कार गरेको छु । मैले मेरा आँखाले जे देखें त्यसलाई नढाँटीकन जस्ताको तस्तै प्रस्तुत गर्ने प्रयास गरेको छु ।

मैले समीक्षात्मक टिप्पणी गर्न लागिरहेको कृति ‘भ्रष्टाचारको भाङ’ का स्रष्टा युवराज मैनालीलाई म धेरै वर्ष अगाडिदेखि नै राम्ररी चिन्दछु । चिन्दछु मात्र होइन उनी मेरा अन्तरंग मित्र पनि हुन् । मैले बुझेअनुसार प्रस्तुत कृति उनको तेसे व्यङ्ग्य विधाको प्रथम कृति हो । प्रकाशित कृतिका हिसाबले उनको पहिलो कृति ‘मूर्दा बोल्यो’ कथा संग्रह, २०३७ हो भने दोस्रो ‘केही प्रतिभा केही प्रवृत्ति’ समालोचना, २०४२ हो । तेस्रो कृतिका रुपमा उनले २०६५ सालमा ‘भ्रष्टाचारको भाङ’ व्यङग्य सङ्ग्रह प्रकाशित गरेभने त्यसपछि २०६९ मा एकैपटक दुईवटा समालोचना विधाका दुईवटा कृति ‘समको पौराणिक नाट्यकौशल’ र ‘कर्मयोगी देवकोटा महाकाव्यको विश्लेषण’ बजारमा ल्याए ।

यसरी जम्मा पाँचवटा कृतिमध्ये तीनवटा समालोचना विधामा आएको हिसाबले उनलाई समालोचनाकार भनेर भन्न सकिने भएपनि कथा र व्यङ्यलेखकका रुपमा पनि उनले आफूलाई चिनाएका छन् । उनका फूटकर समालोचनाहरु पनि मैले पढ्ने अवसर पाएको र मेरै सम्पादनमा प्रकाशित अंशु साहित्यिक पत्रिकामा पनि उनको एउटा समालोचना छाप्ने मौका पाएको थिएँ । यहाँ अन्य धेरै कुरा गर्नुभन्दा पनि विषयवस्तुमा प्रवेश गर्नु उपयुक्त ठान्दछु ।

व्यङ्ग्यकार मैनालीको व्यङ्ग्य संग्रह ‘भ्रष्टाचारको भाङ’ मा उनले विविध शीर्षकमा कुल सैंतिसवटा व्यङ्ग्यहरु संग्रहित गरेका छन् । तैपनि म यहाँ शीर्षकगत हिसाबले तिनको संक्षिप्त टिप्पणी गर्न चाहन्छु जुन यसप्रकार छ ः—
मान्छे शीर्षकको निबन्धमा निबन्धकारले मान्छेभित्र विद्यमान विभिन्नखाले प्रवृत्ति केलाउँदै खाने, खुवाउने अनि आफू हसुर्ने र अरुलाई रुवाउने दुष्ट प्रवृत्तिको चर्चा गरेका छन्भने ताप्के शीर्षकमा उनले कुनै चिजको सदुपयोगबाट मात्र त्यसको सार्थकता झल्किन्छ भन्ने कुरालाई पुष्टि गर्न विगतमा जनयुद्धका नाउँमा नेपालमा भएको नरसंहारको सिलसिलामा नेपाली नेपालीबीच भएको मारकाटको चित्रण गरेका छन् । त्यसैगरी सत्य शीर्षकमा सत्य तीतो भएपनि स्थायी हुन्छ र असत्य तत्कालका लागि मिठो लाग्न सक्छ तर त्यो चिरस्थायी हुँदैन तर मान्छे तत्कालको मिठोका लागि असत्यकै पछि लाग्दछ भन्ने कुरालाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गरेका छन् । बन्दको प्रवन्धमा उनले हाम्रो देशमा हुर्किएको बन्द संस्कृति अनि हाम्रा राजनीतिक नेतृत्वहरुको दक्षिणप्रतिको झुकाव, सत्ताप्राप्तिका लागि राष्ट्र, राष्ट्रियता र जनतालाई बिर्सिएर बाहिरी शक्तिको ईशारामा नाच्ने प्रवृत्तिप्रति तीखो व्यंग्य कसेका छन् ।

पुस्तककै शीर्षक रहेको भ्रष्टाचारको भाङ् शीर्षकको निवन्धमा हाम्रो समाजमा व्याप्त विभिन किसिमका विकृति, बिसंगतिहरुप्रति व्यंग्यबाण कस्दै उनले आधुनिकताका नाउँमा छोठा र पारदर्शी कपडाको अंग नछोप्ने पहिरनले उत्पन्न गराउने मद र उन्मादले भित्रिएको छाडा संस्कृति र त्यसले निम्त्याएको आपराधिक गतिविधि तथा कर्तव्यच्यूतनाप्रति गुनासोयुक्त तीर मारेका छन् । त्यसैगरी जहाँ पुगेको हुन्न सदाचार त्यहाँ पहिलेदेखि नै डेरा जमाएर बसेको हुन्छ भ्रष्टाचार भनेर सदाचारमाथि भ्रष्टाचारको दबदबा भएको कुरा प्रष्ट्याएका छन् । त्यसैगरी टोपी, टोपी, टोपी शीर्षक अन्तर्गत व्यंग्यकारले टेबुलमा टोपी राखेर आफू बेपत्ता हुने नेता कर्मचारी, आँखामा लाउने चस्मा टाउकामा लाउने युवा युवती, पुरुष आँखालाई आकर्षित गर्न लगाउने बेलामा छोटा कपडा लगाउने अनि घरिघरी कपडा तन्काएर अंग छोप्न खोजेकोझैं देखाउने युवतीप्रति कसिलो व्यंग्य प्रहार गरेका छन् भने टोपीलाई शक्तिको प्रतीक बनाउँदै उनले टोपी लाउनेले जेसुकै कुकृत्य गरेपनि हुन्छ भन्ठान्ने गलत प्रवृत्तिप्रति पनि उनले घोचपेज गर्दै हाम्रो स्वाभिमानको प्रतीक टोपीलाई बिदेशी टोप अर्थात् प्रभुत्ववादले नराम्रोसँग गाँजेको दुखेसो पनि पोखेका छन् ।

त्यसैगरी महान् साहित्यकार शीर्षकको निबन्धमा साहित्य सिर्जनाभन्दा शक्ति सिर्जाबाट स्वघोषित वरिष्ठ साहित्यकार बन्न खोज्ने प्रवृत्तिप्रति व्यंग्यको वञ्चरो प्रहार गरेका छन् भने पत्रकार जय जयकार तथा बन्ने हो कि राष्ट्रपति शीर्षक अन्तर्गत राम्रोलाई को नराम्रो र नराम्रोलाई राम्रो बनाउन सक्ने पत्रकारिताप्रति व्यंग्य गर्दै यिनै पत्रकारको माध्यमबाट एकाएक चम्किन खोज्ने राजनीतिज्ञहरुप्रति आक्रोस पोखेका छन् । शक्तिशालीको पुच्छर बनेर शक्तिशाली निबन्धहरुमा सत्ताकालागि एकले अर्कोलाई समाप्त पार्ने खेलको चर्चा गरेका छन् । चिन्तन ममभित्रको शीर्षकमा विदेशी संस्कारभित्र पसेर हामी ममझैं भएको गुनासो गर्दै उनले लंका ट्राभल ह्वेन् हनुमानमा हनुमान अर्थात् चम्चे प्रवृत्तिको वर्णन गरेका छन् । त्यसैगरी अक्षरको खेतीमा एन.जी.ओ., आए.एन.जी.ओ. का नाउँमा गरिने डलरको खेतीप्रति असन्तुष्टि प्रकट गर्दै प्र को प्रपञ्च तथा प्रचारको अचारमा कामभन्दा प्रचारवाजीका भरमा बाँचेका र सप्रिएकाहरुप्रति व्यंग्य गरेको पाइन्छ ।

निबन्धकारले अर्को निबन्ध काली त काली ने हो वा शीर्षक अन्तर्गत कुर्शीको खेल, विदेशी संस्कृतिको बोलवाला लगायत समाजमा व्याप्त विकृति विसंगतिप्रति कटाक्ष गरेका छन् अचम्मको पोकोभित्र आफ्नो स्वार्थपूर्तिका लागि राष्ट्रियतको समेत सौदाबाजी गर्ने दास प्रवृत्तिको चर्चा गरेका छन् । त्यस्तै मपाईंत्वको रागले ग्रसित समाजको वस्तुस्थितिको चर्चा राम्रो म शीर्षकमा गरेका छन्भने साधक सम्मान मण्डली शीर्षकको निबन्धमा उनले साधक सम्मानमा सिर्जनशीलताभन्दा खुसामदवाद हामी भएकोप्रति चिन्ता व्यक्त गरेका छन् । त्यसैगरी प्रजातन्त्र दिवस शीर्षकको निबन्धमा नेपालमा प्रजातन्त्र जे भनेपनि त्यो हात्तीका देखाउने दतका रुपमा मात्र सिमित छ भन्दै प्रजातन्त्र हुनेखाने वर्गका लागि मात्र आउको कुरा व्यक्त गरेका छन् । आत्मकथा रक्सीको शीर्षकमा रक्सीलाई चाकडीको माध्यम, प्रगतिको भ¥याङ र अधोगतिको मार्गका रुपमा चित्रित गर्न खोजेका छन् । अचम्मको उल्लू शीर्षकभित्र निबन्धकारले जातीय अधिकारका लाग आन्दोलितहरु अरुकै बुद्धी र ईशारामा संचालित त छैनन् ? भनेर शंका व्यक्त गर्न खोजेका हुन् कि झैं लाग्छ भने छर्काछिर्कीमा चाहिं देशमा व्याप्त अकर्मण्यता, महँगी साथै साहित्यिक क्षेत्रमा झाँगिएको भाटगिरी र आडम्बरी प्रवृत्तिलाई उधिन्ने प्रयास गरेको पाइन्छ ।

त्यसैगरी कृष्ण धनम् प्रधानम् शीर्षकको निबन्धमा निबन्धारले धन जस्तोसुकै प्रक्रियाबाट आर्जन गरिएको किन नहोस् धनका समु सच्चरित्रता, मानवता र इमान्दारिताजस्ता कुराहरुमा पाखा लाग्नेगरेको यथार्थको उद्घाटन गरेका छन्भने संभवामी युगेयुगे शीर्षक अन्तर्गत नेपाली जनतालाई एक अर्कामा जुधाएर अर्को शक्तिले नाजायज फाइदा लुटिरहेको छ भन्दै उनले गान्धीपन हरायो र दादागिरी फस्टायो भनेर गुनासो पोखेका छन् । नाम शीर्षकमा निबन्धकारले नाम कमाउने प्रतिस्पर्धामा मानिसले मानवता, विवेक, ईमान्दारिता र आफ्नो मौलिक संस्कार गुमाउँदै गएको कुराप्रति गुनासो पोखेका छन् । कोही राम्रो काम गरेर नाम कमाउने मान्छे पनि भएको तर अधिकांश मानिसहरु अरुको बद्नम गरेर नाम कमाउँछन् त कोही अर्धनग्नता, अति श्रृंगारिकताको माध्यमबाट नाम कमाउँछन् भन्ने कुरा उल्लेख गरेका छन् ।
घुम्रिएको चाउचाउमा आधुनिकता र विश्वव्यापी करणले मौलिकता हराउँदै गएकोप्रति चिन्ता व्यक्त गरिएको छ । त्यसैगरि नयाँ लोकतन्त्रको उपहारका रुपमा महँगी प्राप्त भाएकोप्रति व्यंग्य गरेका छन् । त्यस्तैगरी हैन के कस्तो छ ? शीर्षकमा ग्लोबलाइजेसन अर्थात् सबै कुराको अन्तर्राष्ट्रियकरणको चर्चा गरेका छन् भने साहित्यकार बन्ने धोको निबन्धमा साहित्यकार बन्न केबल लेखेर मात्र नहुने, प्रकाशनगृहहरुमा पहुँच पनि हुनुपर्छ र लेखनमा ताकत पनि चाहिन्छ भन्न खोजेको देखिन्छ । त्यस्तै आत्मतत्वाय स्वाहा शीर्षकमा निबन्धकारले आफू साहित्यकार बनेको र त्यसमा पनि समालोचनाको क्षेत्रमा लागेर सत्य बोल्ने हुँदा दुःख पाएको र प्रचाररात्मक बन्न नसकेर पछि परेकोमा पछुतो मानेका छन् ।

निबन्धकारले मान्छे मात्र मान्छे शीर्षकअन्तर्गत मान्छेले मानवीयता विर्सिएर खुट्टा तान्ने प्रवृत्ति हावी भएको कुरा देखाएका छन् । त्यस्तै यमराज सन्मुखे नेता उवाचमा सत्तामोह नेताको एकमात्र अभीष्ट रहनेगरेको अनि संस्था कथा पुरस्कार व्यथामा साहित्यकारहरु पनि सृजनाभन्दा चाकडी गरी पुरस्कार तथा साहित्यिक संघसंस्थाको पद हासिल गर्न तम्सिने प्रवृत्तिप्रति व्यंग्यकारमा दिक्दारी पैदा भएको कुरा उद्घाटित गरेका छन् । त्यसैगरी जनतका नाममा स्वाहा शीर्षकमा राजनीतिमा उस्तादीकरण मौलाएको र जनतालाई चुनावको बेला निरन्तर नमस्कार गरी ठूलो बनाएर आफ्नो दुनो सोझ्याउने र पछि जनतालाई विर्सिने परिपाटीप्रति व्यंग्य कसेका छन्भने अन्तिम निबन्ध सत्य र ज्ञानको शत्रुतामा पुस्तकमा उल्लेखित राजनीतिक चरित्र र राजनीतिज्ञको व्यवहारिक चरित्रमा अन्तर रहेको कुरा उल्लेख गरेका छन् ।
यसरी निबन्धकारले अलग शीर्षकमा आफ्ना निबन्धहरुलाई अलग अलग शीर्षकमा व्यवस्थित गरेका भएपनि कतिपय शीर्षकका निबन्धहरुमा कुराको चुरोभने एकअर्कोसँग खाने खालका देखिन्छन् । निबन्ध संग्रहभित्र निबन्धकारले हाम्रो समाजमा ब्याप्त सामाजिक, सांस्कृतिक, आर्थिक सबै प्रकारका विकृति विसंगतिप्रति व्यंग्यवाण चलाएका छन् । उनले यस संग्रहलाई आफैंले व्यंग्य संग्रह भनेकाले यसभित्र हास्य खोज्नु युक्तिसंगत नहोला । प्रस्तुत कृति विषयवस्तु र भावका दृष्टिले स्तरीय र सशक्त हुँदाहुँदै पनि शैलीगत हिसावले जटिल र दुर्वोध देखिन्छ ।

त्यसो त व्यंग्य भन्नु ठाडो गाली अवस्य होइन । व्यंग्य भन्नेबित्तिकै कुनै कुराप्रति घुमाएर अप्रत्यक्ष रुपमा गरिने प्रहार हो । तथापि व्यंग्य प्रहार गर्ने लालसामा निवन्धकारले वाक्यहरुलाई अलिक् जेलजाल पार्ने र प्रहार गर्न खोजेको ठाउँमा स्पष्टसँग प्रहार गर्न अल्मलिएका हुन् कि जस्तो देखिन्छ । प्रस्तुतिको जटिलताले गर्दा सामान्य पाठकहरुलाई उनका निबन्धहरुले आकर्षित नगर्न सक्तछन् । यसप्रकार निबन्धमा केही शैलीगत जटिलता देखिएता पनि समग्रमा हेर्दा उनका निबन्धहरुको भाव पक्ष भने सशक्त छ । व्यंग्यले समेट्नुपर्ने विषयवस्तुहरुलाई उनले समेट्न सकेको देखिन्छ ।

समग्रमा भन्नुपर्दा केही शैलीगत जटिलताहरुलाई सुधार गर्दै सरलता र सर्वोध्यताप्रति ध्यान दिने हो भने मैनाली समालोचनाकार मात्र होइन सशक्त व्यंग्यकारका रुपमा पनि उदीयमान् बन्न सक्ने संकेत देखापरेको छ । आशा गरौं उनका आगामी व्यंग्य निबन्धहरु त्यसरी नै अझ परिस्कृत र परिमार्जित रुपमा पाठकसामु आउनेछन् । नेपाली व्यंग्य साहित्य विधाका एक हस्तीका रुपमा उनलार्य अनुभूत गर्न पाइयोस् भन्ने शुभकामना पनि व्यक्त गर्न चाहन्छु ।

ganeshmarmik@gmail.com

(स्रोत : Tarunkhabar)

This entry was posted in पुस्तक समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.