कथा : सिद्धान्तवादी

~अनमोलमणि~Anmolmani

अपवाद नै भन्नु पर्छ उनलाई अमेरिका जाने सोख थिएन।

नेपालीका लागि अमेरिका ‘नशा’ लागेका बेला पनि उनलाई अमेरिका जान मन नलाग्नु अपवाद नै थियो। जानु नजानु उनको इच्छा। तर विनयध्वज अमेरिका नगएपछि सहरमा उनको निकै चर्चा भयो।

उमेरले ४५ छिचोलिसकेको थियो। शारीरिक तन्दुरुस्तीका लागि उनी प्रत्येक विहान चिसो हावामा हिंड्थे। बाटोमा कोही न कोही चिनेको मान्छे भेटिहालिन्थ्यो। उनीहरुलाई विनयध्वजको सञ्चो विसन्चो भन्दा अमेरिका नजानुमा बढी चासो थियो। भैट्यो कि अमेरिका नजानुको कारण सोधी हाल्थे। उत्तर नसकिँदै उनीहरु भन्थे—’तपाईले अमेरिका नगएर ठीक गर्नु भएन विनय जी।’

यी सब कुरालाई उनले त्यस्तो ठूलो वास्ता पनि गरेनन्।

विनयध्वज सामान्य व्यक्ति हुन्। राजनीतिको नाम चलेको नेता पनि होइनन्। न कुनै नेताको फेर समातेर बनोका पत्रकार हुन्। उनलाई हतियार खरखजना वा मान्छे बेच बिखनको आरोप पनि छैन। निस्कलंक छवि छ। सरकारी जागिरे हुन्। आस्था र विचारका आधारमा वामपन्थी। आर्थिक हिसाबले सामान्य मध्यम स्तरका खान पुग्ने नेपाली सरह। समाजमा उनी राम्रै परिचित छन्। अमेरिका नजाने उनको यो निर्णयले थप चर्चा दिएको थियो।

बामपन्थी वा प्रजातन्त्रबादी सबैसग नजिक थिए। प्रत्येक भेटमा, मोबाइलमा र टेलिफोनमा उनका ती साथीभइ भन्थे, ‘बामपन्थी भएकैले राजनीतिक आस्था नमिलेर अमेरिका नजाने? बल्ल यो उमेरमा मौका मिलेको छ। त्यही मौका पनि तपाई गुमाउँदै हुनुहुन्छ। ल ठीकै छ तपाई आफ्नो लागि त जानु भएन। यी छोराछोरी, स्वास्नी, बुढी आमालाई हेरेर उनीहरुको भविष्यका लागि त जानु पर्छ। हैन अमेरिका नजान तपाईले यहाँ त्यस्तो के देख्नु भएको छ?’

कोही उनलाई सम्झाए जसरी भन्थे—’मेरी फूपू एक पटक अमेरिका गएकी थिइन्। टन्न कमाइन्। उनले त्यहाँबाट प्रसस्त चिजहरु लिएर आइन्। उनले ल्याइदिएको फौसिल घडी र क्यामेरा अझै मसँग सुरक्षित छ। कति खपालु रहेछ। उनी अमेरिका जाँदा बाबु बुस त्यहाँका प्रेसिडेन्ट थिए। उनी पनि वामपन्थी थिइन् तर कसैसँग आस्थागत पूर्वाग्रह राखिनन्। त्यो पनि हामीले अमेरिकासग टक्कर गर्न खोजेर के फाइदा? पहिले त भातभान्साको जोहो गर्नु पर्‍यो नि। जानुस् जानुुस् तपाई अमेरिका जानुस्। अहिले त ओबामा त्यहाका प्रसिडेन्ट छन्।’

‘मेरो भाइ एक पटक अमेरिका गएको थियो। उसले त्यहाँबाट ल्याएको यौटा मूर्ति साँच्चै भगवानजस्तो छ’, त्यही सम्झाउने मध्येको एउटाले भन्यो, ‘मैले कोठाको मन्दिरमा राखेको छु। अहिले पनि उस्तै चमकमा बोल्ला झै लाग्छ। मेरी श्रीमति सधैँ त्यसलाई पूजा गर्छिन्। साह्रै ओरिजिनल रहेछ।’

अर्को यौटाले आफ्नो काकाले अमेरिकाबाट ल्यापटप र ठूलो मेगा पिक्सल भएको क्यामरा जडित मोबाइल ल्याएको बतायो। अमैरिकाबारे आफूले बुझे जति व्याख्या सुनाउनेहरु पनि प्रसस्तै भेटिए। कतिले चाहिँ ओहायो, वासिङटन डिसी, होनेालुलु लगायत ठाउँको बारेमा पढेको व्याख्या सुनाए। विनयध्वज साहित्यमा पनि रुचि राख्ने भएकाले एउटा साहित्यकारले चाहिँ अमेरिकी लेखकका कथा, कविता, उपन्यास र उत्तर आधुनिकताको चर्चा जाने जति सुनायो।

विनयध्वज यी सबैका कुरालाई चुपचाप सुन्थे। उनी सबैका प्रश्नको उत्तर दिनु पर्छ भन्ने ठान्दैन थिए। चढ्दो बुढेसकालमा पनि उनी बालसुलभ मुस्कुराइदिन्थे र कुराको कुनै अर्को पोयो फुकाउन तिर लाग्थे।

विनयध्वजले आफूलाई कुनै दिन अमेरिका जाने अवसर मिल्छ भनेर सोचेका थिएनन्। जब उनलाई मौका मिल्यो उनी नजाने निर्णय गरे। कारण कसैलाई थाहा थिएन।

उनी अमेरिका नजानुको कारणबारे कोही भन्थे, ‘विनयध्वज जर्जबुसका विरोधी हुन्, अमेरिकाका विरोधी हुन्। कट्टर बामपन्थी भएकाले उनलार्ई सद्दाम हुसेनलाई दिएको फाँसी मन परेको छैन। लादेन माथिको आरोप मन परेको छैन। अमेरिकाले पैसामाथि टेकेर सबैमाथि गरेको राज मन परेको छैन। अफगानस्तान र लेबनानमा गरिएको वम आक्रमण मन परेको छैन। अरु देशका क्रान्तिकारी पार्टीलाई आतंककारीको सुचीबाट नहटाएको मन परेको छैन। अमेरिकालाई उनी पूँजीबादीहरुको साम्राज्य भन्छन्। त्यसैले उनी अमेरिका गएनन्।’

कोही भन्थे, ‘उनलाई मुटुको विमारी छ। लामो विमान यात्रा गर्न सक्दैनन्। जसले गर्दा उनलाई अमेरिका यात्रा रोक्नु परेको छ।’ कोही चाहिँ उनले भिसा नै नपाएको चर्चा गर्थे। उनीहरु विनयध्वजलाई अमेरिका जाने अफर नै नआएको तर्क अगाडि सार्थे। अमेरिकामा उनको चिनेजानेका कोही नभएकाले उनी आत्तिएर नजान खोजेको शंका गर्नेहरु पनि थिए।

‘उनलाई राम्रो अंग्रेजी आउँदैन’, तिनै मध्येको कसैले चियागफमा भन्यो, ‘सञ्चार समस्या हुने डरले उनी अमेरिका जान हच्किएका हुन्। नत्र को जादैन अमेरिका।’

कसैको शंका अलि फरक थियो। अधवैँसे उमेरमा पनि उनकी श्रीमति वैँशालु छिन्। त्यसैले उनी श्रीमति छोड्न चाहँदैनन्। उनी श्रीमतिलाई औधि माया गर्छन्। छोरा छोरीलाई पनि औधी माया गर्छन्। त्यही मायाले उनलाई अमेरिका जान रोकेको छ।

नियध्वजलाई अमेरिका जाने अवसर आएको साँच्चो थियो। भीसा नै नलागेकेा भन्नेहरुका कुरा वर्षका लागि भिसा पनि लागेको थियो।

भीसा लागेकेा दिन घरका सबै खुसी भए। खवर सुनेको साँझ छोराले केही साथीहरुलाई ठमेलको डान्सबारमा पार्टी नै दियो र राती अबेर घर फर्क्यो। छोरीले सबै साथीहरुलाई खबर एसएमएस गरी र आफ्नो प्रिपेड मोबाइलको १ हजार रुपियाको रिचार्ज कार्ड सकी। श्रीमतिले पहिले आफ्ना आमाबाबुलाई ज्वाई अब अमेरिका जाने खबर सुनाइ। त्यसपछि त्यो शुभखबर थाहा पाउने प्राथमिकतामा भाइहरु, दिदी बहिनीहरु, उसका मिल्ने संगीहरु, केही पुराना केटा साथहिरु अनि छिमेकी महिलाहरु परे। खबर यति छिटो फैलियो कि विनयध्वजको अमेरिका जाने भिसा लाग्यो भन्ने थाहा नपाउने त्यहाँ कोही भएनन्।

घर परिवार कोही दुखी थिएन। छोरी बाबुलाई सी अफ गर्न हवाइ अड्डा जाने कुरा सोचिरहेकी थिई। उसले यी सबै कुरा आफ्ना सबै साथीहरुलाई पनि बताइ। उनको अमेरिका नजाने खबरले छोरी निकै दुखी भई। यस कुराले छेारीलाई कुनै गौरव बनाएन। ऊ निराश भई। छोराले जानु पर्ने अडि्ड राख्यो र त्यो साँझ फेरि केही साथीहरुसँग ठमेलकेा डान्सबारमा रात वितायो। ‘हाम्रो सुड्डो अमेरिकाको भिसा लाग्दा पनि नजाने भनेर कस्तो लफडा पो गर्दैछन् भन्या’, उसले साथीहरुसँग भन्यो—’अरुलाई कसरी जाउँ भइराछ। भीसा लाग्नेलाई जान मन छैन। यो अमेरिका पनि अचम्मै पो रैछ नि?’

अमेरिका नजाने धारणा सुनेर श्रीमति बढी नै बेखुसी हुँदै बोली—’तपाईले किन यो अवसर गुमाउँदै हुनुहुन्छ म बुझ्दिन। कि तपाई हामीलाई माया गर्नु हुन्न कि तपाईको दिमाग विग्रँदै छ? तपाईलाई कसैले अमेरिका नजाउ भनेर भड्काएको त हैन?’ यस्तो विवाद घरमा दैनिकजस्तो भयो। त्यसपछि विनयध्वजको अमेरिका नजाने निर्णय व्यक्ति, परिवार, घर र उनको समाजमा राम्रो चर्चाको विषय बन्यो। त्यसको कारण भने कसैले पत्तो पाएन।

विनयध्वज बाहिरबाट जति विनम्र थिए भित्र पनि त्यस्तै थिए। आफ्नो सिद्धान्तमा अडिग थिए। उनीसँग कामबादी सिद्धान्त थियो। उनी कसैसँग झुक्दैन थिए। उनी कार्यालयमै पनि नबोलाएसम्म नमस्कार गर्न कै लागि हाकिमको कोठामा छिर्दैन थिए। चाप्लुसी र तारिफ उनी बेकार र कृतिम ठान्थे।

उनलाई चिनेको ठान्नेहरु चाहिँ विनयध्वज अलि झोँक्की र लहडी स्वभावको छ भन्थे। कोही उनलाई आफ्ना सहयोगीहरुसँग कुन्ठित छ भन्थे। सहयोगीकै इर्ष्या गर्छ तर बाहिर देखाउँदैन भन्ने उनीहरुको तर्क थियो।

शैकै न कतिलाई लागेको थियो, उनको व्यक्तित्वमा केही न केही खोट अवश्य छ। कोही भन्थे श्रीमतिको व्यवहारले उनी निकै दुखी छन्। उनकी श्रीमतिका धेरै केटा साथीहरु छन्। र त्यो कुरा उनलाई राम्ररी थाहा छ। उनले श्रीमति र बच्चाहरु प्रति देखाउने माया देखावटी मात्र हो। भित्र भित्रै कुन्ठित छन्। उनको पारिवारिक र दाम्पत्य जीवन ठीक छैन।

कोही उनलाई मुटुको समस्या भएकाले तत्काल कुनै निर्णय गर्न सक्दैनन् भन्थे। कोहीचाहिँ तत्काल निर्णय गर्न नसक्नुमा उनको मुटु भन्दा बढी दिमागको कमजोरी हो भन्थे। कोही भन्थे बुढेसकाल लाग्दै गएकाले उनलाई जोर्नी र हडि्ड दुख्ने समस्या बढ्दै गएको छ। उनी ढाडका पनि रोगी छन्। बलले काम राम्ररी गर्न सक्दैनन्। कोही भन्थे यो उमेरसम्म पनि केही गर्न सकिन भन्ने हीनभावनाको ग्रन्थी उनमा बढेको छ।

अनुमान कति सही थिए कसैलाई पत्तो थिएन। तर अमेरिका नजाने निर्णपछि उनले तनाव महसुस गरेको चाहि सबैले पत्तो पाएका थिए। महानगरमा उनको घर थिएन। भाडाको बसेका थिए। मध्ययम स्तरको कमाइ थियो। एक्लो कमाइले चार जनाको परिवार धानिँदै आएको थियो। छोरा छोरी दुवै विहे गर्ने उमेरका भइसकेका थिए। यी सबै हेरेर उनकी श्रीमतिले भनेकी थिइन्—’तपाइँ कुनै हालतमा अमेरिका जानुुस्। यौटा घर बनाउनु पर्छ। छोराछोरीको विहे गरिदिनु पर्छ। तपाई अमेरिकाबाट फर्केको दिन हाम्रो सान नै फरक हुन्छ। हाम्रो दुखको दिन सकिन्छ। सबैतिर झलमल हुन्छ।’ तर अमेरिका नजाने आफ्नो निर्णयमा कुनै फेर बदल र पुर्नविचार गरेका थिएनन्।

‘सिद्धान्तबादी विनयध्वजजी के छ खबर?’, कार्यालयबात फर्किदै गर्दा एक दिन यौटाले बाटोमा प्याच्च भन्यो—’हैन लादेनलाई समर्थन गर्न लाग्नु भयो कि के?’ यो सुनेर त्यसको चुच्चो परेको नाक भत्किने गरी बज्रमुक्का दिउँ दिउँ लाग्दा लाग्दै पनि उनले जवाफ जरुरी सम्झेनन्। उनले यस विषयमा वहस गर्नु जरुरी ठानेनन्। उनले कुराको कुनै प्रतिवाद गरेनन्।

विनयध्वजले अमेरिका नजान गरेको निर्णयको खुब आलोचना भयो। यी चर्चा बारे उनको परिवार, ससुराली, अरु आफन्त र टोलबासी कोही बेखवर थिएनन्। उनको निर्णयको समर्थक उनी एक्लो थिए। उनी बाहेक कोही उनको पक्षमा देखिएनन्। सबैको व्यवहारमा व्यङ्गय मिसिन थालेको उनले महसुस गरे। त्यसमा उनकी श्रीमति पहिलो नम्बरमा परिन्। प्रत्येक दिन प्रत्येक क्षण प्रत्येक कुरामा उनी अमेरिका नगएको छेडखान जोडिन थाल्यो। यस्तै विवादले घरको सम्बन्ध प्राय किचलोमा बदलियो। कार्यालयमा हाकिमदेखि पियन सम्मले त्यही कुराले घोचिरहन्थे। कम बोल्ने उनको बानी नै थियो, अझ अमेरिका नजाने निर्णपछि कार्यालयमा उनी झन् कम बोल्न थाले। चिया पसल क्यान्टिन कहिँ पनि जान छाडे। साथीभाइसँगको संगत विस्तारै पातलिँदै गयो। अमेरिका नजाने निर्णय उनका लागि यस्तो सुल भयो कि त्यसले सधैँ चसक्क झड्का दिइ रहन्थ्यो। पीडा महसुस कम गर्न उनले कार्यालयको आफ्नो टेबुलबाट ग्लोब हटाएर टेबुलमुनी राखे जुन ग्लोबमा अमेरिकाको नक्सा प्रष्ट देखिन्थ्यो।

‘आखिर मान्छे के चाहन्छ? समाज के चाहन्छ? व्यक्ति कसको निर्णयमा चल्छ? व्यक्तिको चेतना समाज हो कि ऊ मात्रै? कि चेतना दौलतको रासमा मात्र हुन्छ?’, आफ्नो निर्णयको बहसमाथि यस्तै अनेक तर्कना सोचे—’यो समाजका मान्छेहरु किन मान्छेको आस्थामाथि निर्धक्क खेल्छन्। मान्छेको निजत्वमाथि किन मान्छेले नै प्रहार गरेर उसको निजत्व छिया छिया पार्छ र किन उपहास गर्छ मान्छेको विश्वास र प्रेमको? मान्छेलाई निरिह बनाउन किन मान्छे नै लागि रहेको छ? नदेखिएको ओ भगवान! किन भ्रममा राख्छौ मान्छेलाई? किन यस्तै साना तिना निहुँमा अल्झाइ राख्छौ मान्छेको चित्त?’

अमेरिका किन मान्छेको गिदिमा टाँसिएको छ नुरप्रतापले बुझेनन्। मान्छे प्रेमिका वा समाजका लागि भन्दा पहिले आफ्नो लागि बाँच्छ भन्ने किन अरुले बुझेनन् भन्ने कुर उनको दिमागमा नाचिरह्यो। उनलाई कोलम्बस किन नेपाल आएन भन्ने लाग्यो। एक मनले सोचे—’शायद कोलम्बस नेपाल यात्रामै थियो। यस्तै मान्छेहरुको पेलाइमा अमेरिका पुग्यो र अमेरिका पत्ता लगाएको घोषणा गरिदियो।’

उनलाई लाग्यो, विकासशील देशका मान्छे कुनै विकसित देशमा जाने यस्तै त्यान्द्राहरुमा अल्झेका छन्। उनलाई लाग्यो हामी हुस्सु छौँ। कतिसम्म हुस्सु छौँ भने आफ्नो हातको घडी हेरेर आफैलाई समय बताइ दिने मान्छेलाई महान् भन्छौँ र उसको बुद्धिको तारिफमा समय खर्चिन्छौँ। हामी खुट्टा बेच्छौँ र जुत्ता किन्न हतारिन्छौँ। टाउको काट्छौँ र टोपीको धाक लगाउँछाँै। यस्ता तर्कनाका भुवादार बादलहरुमा उनी निकै दिन मिसिए र सँगसँगै उडे। कार्यालय, घर, बाटो जता जाँदा पनि उनी यस्तै कुरा सम्भि्कन्थे। मध्यम वर्गका दुखीहरुको सुख खोज्ने बहानाबारे कल्पिरहन्थे।

कार्यालयबाट फर्केपछि शुक्रबारको एक साँझ विनयध्वज एक्कासी सुटकेश प्याक गर्न थाले। श्रीमतिले नचाहेरै ठस्केर सोधिन्—’किन तपाईँ हामीसँग रिसाएर कतै जाँदै हुनुहुन्छ? कि सरुवा भयो?ठीकै छ, अमेरिका जानु भएन अब जहाँ मन लाग्छ जानुस्। नाथे एउटा ज्यान हामी पनि पाल्न सकुँला।’

उनले टाउको नउठाइ मसिनो स्वरमा भने—’होइन म भोलि अमेरिका उड्न आँटेको। १ लाख ऋण गरेर टिकट ल्याइ सकेँ। २ बजेको फ्लाइट छ।’

श्रीमति अनुहार उज्यालो पारेर चकित परिन्। मानौँ यो निर्णय उनको लोग्नेले जीवनमा गरेको सबैभन्दा उत्कृष्ट निर्णय हो। यस पटक उनले कसैलाई फोन वा त्यसबारे खवर गर्ने आँट गरिनन्। बेलुका छोराछोरीले पनि थाहा पाए। उनीहरु दुखी भएनन्। जति नजाने निर्णय सुन्दा भएका थिए। छोराले मनमनै सोच्यो—’अब भोलि फेरि ठेमल जाने भइयो।’ छोरीले त्यस्तो कुनै योजना बनाइन।

भोलिपल्ट श्रीमति र छोराछोरी उनलाई एयरपोर्टसम्म छोड्न गए।

टोलमा फेरि हल्ला चल्यो विनयध्वज अमेरिका उडे। हिजो अमेरिका नजाने निर्णय गर्दा किन गएन भन्ने चर्चा जसरी चलेको थियो गएको समाचार पनि त्यसैगरी चल्यो। गएपछि ‘जानु नै रहेछ त किन यति ढिलो गर्‍यो’ भन्ने अर्को शंकाको परिचर्चा भयो। सबैले फोन गरेर उनकी श्रीमतिलाई सोधे—’नजाने निर्णय गरेको मान्छे भिसा सकिन लागेको यो अन्तिम समयमा किन अमेरिका उड्नु भयो? नजानुको कारण के रहेछ। अहिले फेरि जानुको कारण त्यस्तो के बनेछ?’

श्रीमति चाहिँसँग पनि त्यसको कुनै जवाफ थिएन। विनयध्वज अमेरिका नजानुको कारण उनले बुझेकी थिइनन्। न अहिले एक्कासी उड्नुको कारण नै थाहा पाएकी थिइन्। उनले मात्रै सोचिन्—’अब मेरो पनि दिन खुल्ने भयो।’

विनयध्वज अमेरिका गएको एक सातासम्म पनि टोलमा उनको अमेरिका यात्राको चर्चा चलिरहेको थियो। श्रीमतिले एकसाता पछि बजारबाट भित्ताभरिको एउटा विश्व नक्सा किनेर ल्याइन् र दराज छेउको भित्तामा झुण्ड्याइन। जहाँ विश्वका देशहरुको चित्र थियो र आकार देखिन्थ्यो। अझ अमेरिकाको चित्रचाहिँ सबैभन्दा प्रष्ट देखिन्थ्यो ।

November 14th, 2009

(स्रोत : Mysansar.com)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.