~टेकेन्द्र अधिकारी~
हामी जहां छौं
हामीले पाइला टेकेको धर्ती यही हो
हामी लडेको माटो यही हो
पूर्खाले प्राणको बाजी लगाएर
जोगाएको अस्तित्व पनि यही हो
सुदूर क्षितिजमा चम्केको जून देखेर
आशाको तन्द्रामा जीवन काट्दै
हामीले हेरेको क्षितिज त्यही हो
मुटुभन्दा प्यारो माटो हुन्छ
माटोको अस्तित्व खोज्दै भौतारिंदा
मान्छेले आफ्नोपन गुमाउंछ
मान्छेभित्रको सच्चा मान्छे हराउंछ
देश दुखेको बेला, आत्मा रोएको बेला
क्षितिजपारिबाट भविष्यले गिज्याउंछ
तर, देशको क्यानभास कोर्ने यो घडीमा
क्षितिजको आवाज सुन्दैनन् कसैले
भीडमा, बस्तीमा, गाउंमा, सहरमा
बुझ पचाउनेहरूकै भीड सक्रिय छ
भागबण्डाको चर्चासंगै मुलुकमा
तेरो-मेरोको अस्तित्व खोज्ने होड छ
मनले मनसंगै प्रश्न गर्छ-
कतै हाम्रै क्षितिजको अन्तिम भोजको
संकेत त होइन यो ?
राजीति लासमाथि बसेर अट्हास र्छर्दै
अस्तित्वको क्षितिज च्यात्ने घोषणा गर्छ
तैपनि क्षितिज चुपचाप छ
आकृति बनाउ“दै टुक्रिएका बादलले
डायनोसरको नियति सम्झाउंछन्
तर पनि आशाको धरहरा जीवित छ
धर्ती दुखेको बेला, क्षितिज फाटेको बेला
सुन्दर भविष्यको कल्पना हुंदैन रहेछ
रूखका हांगाबाट छिरेका प्रकाशपुञ्जले
छिद्रछिद्रमा देशको नियति बोलिहेछन्
सांच्चै हामीले खोजेको, हामीले रोजेको
यो मुलुकको क्षितिज यस्तै हो त ?
अंहं होइन, कदापि होइन
अन्योलको घुम्टोले बेरिएर
आशाभन्दा बढी निरासाको थुक निल्दै
सुन्दर भविष्यको कल्पना असम्भव छ
ए ! क्षितिजका रक्षकहरू हो !
जाग ! अब मुठ्ठी कसेर उठ !
त्रि्रो क्षितिजको रक्षाका लागि
धर्ती र माटोको अस्तित्वका लागि
किनकि कालो रातसंग डराउंदै
क्षितिज र माटोको अस्तित्व मेटाएर
भोको पेट र नाङ्गो आङ देखाएर
फगत राजनीति हेर्न सक्दैनौ हामी
न राष्ट्रिय अस्मिता साट्न सक्छौं
न त सुदूर क्षितिज नै बेच्न सक्छौं
टेकेन्द्र अधिकारी,
विराटनगर
April 4th, 2009
(स्रोत : Mysansar.com)