व्यङ्ग्य निबन्ध : धाँधली

~डा. टीकाराम पोखरेल~Dr Tikaram Pokharel

सुनसान मध्यरात । उनी मस्त निन्द्रामा थिए । हठात् उठेर खै को नि के–के बर्बराउन थाले । श्रीमतीले आवाज मात्र सुनिन्, कुरा बुझिनन् । कुरा नबुझेपछि श्रीमानलाई घच्घच्याउँदै सोधिन्– ‘हजुरलाई के भयो हँ ?’

श्रीमतीको आवाजले उनी झल्याँस्स ब्युँझे र भने– ‘धाँधली भो धाँधली । हो ममाथि धाँधली भो ।’ उनी निरन्तर कराइरहे– ‘धाँधली, धाँधली, धाँधली…।’

श्रीमानजी यसरी मध्यरातमा बर्बराएको देखेर श्रीमती डराइन् । उनले आत्तिँदै सोधिन्– ‘कहाँ, कसले धाँधली ग¥यो, के धाँधली भो ?’

‘जताततै धाँधली, यतै धाँधली, उतै धाँधली, त्यतै धाँधली, सबैतिर धाँधली ।’ उनले झ्याल बाहिरको अन्धकारतिर देखाउँदै भने ।

श्रीमान् बर्बराएको देखेर सुरुमा श्रीमती डराए पनि एकछिन पछि भने उनलाई पनि श्रीमानसँग झोक चल्यो । ‘तपाईं होसमा त हुनुहुन्छ ?’ श्रीमतीले अलि ठूलो स्वरले भनिन् ।

‘म होसमा छु । बरु होसमा त त्यो छैन जसले ममाथि धाँधली गर्यो ।’ यसरी उनले आफू होसमै भएको दाबी प्रस्तुत गरे ।

एकैछिनमा उनी दारा किट्न थाले । उनले हतार हतार आफ्नो मोबाइल खोजे । सहयोगीको नम्बर दाबे । ‘तुरुन्त पत्रकार बोला ।’ सहयोगीलाई उनले आदेश दिए ।

मध्यरातमा किन पत्रकार बोलाउनु भनेको हो, सहयोगीलाई थाहा थिएन, न त किन पत्रकार बोलाउनु भनेर आफ्ना विधातालाई सोध्ने आँट नै थियो सहयोगीसँग । अन्धकार रातमा अन्धकार एजेण्डामै पत्रकारलाई बोलाउन थाल्यो विचरा सहयोगी ।

‘ल उहाँको पत्रकार सम्मेलन हुँदैछ ।’ मध्यरातमा पत्रकारहरूका कानमा यस्तै आवाज आउन थाल्यो ।
पत्रकार सम्मेलन किन गर्न लागेको हो, पत्रकारलाई पनि थाहा थिएन । तैपनि मध्यरातमा पत्रकार सम्मेलन हुने भो भनेपछि पक्कै पनि गम्भीर विषयमा नै पत्रकार सम्मेलन हुनुपर्छ भन्ने ठान्दै पत्रकारहरू पनि हस्याङ्फस्याङ् गर्दै पत्रकार सम्मेलनस्थल पुगे ।

पत्रकार पुग्दा नपुग्दै उनी पनि दुईचार जना सहयोगी अगाडि पछाडि लगाएर पत्रकार सम्मेलनस्थल पुगे ।

०००

पत्रकार मित्रहरू,

हामीमाथि ठूलो धाँधली भो, हामी भनेको मतलब ममाथि धाँधली भो । मैले दुई ठाउँबाट परीक्षा दिएँ । तर एक ठाउँबाट पात्र बल्लबल्ल पास भएँ । त्यो एक ठाउँबाट पनि गुल्टिन गुल्टिन लागिसकेको थिएँ तर अन्तिममा पास मार्कसम्म आयो । म एक ठाउँबाट पाससम्म भए पनि मेरी छोरी भने गुल्टेको गुल्टेकै भई । मेरी बुहारी पनि चिप्ली । भाइ पनि जिप्ट्यो । उता भूतपूर्व सम्धीले पनि पो आलु खायो । आसेपासे त झन जम्मै सोतरै भए । त्यत्रो हेलिकप्टर दौड गरेर दिएको परीक्षाको परिणाम यस्तो आलु नै आलु कसरी आउँछ ? तपाईँहरू आफैँ विचार गर्नुस् त ।

पत्रकार मित्रहरू, तपाइँहरूलाई त्यस्तो भ्रम नहोस् कि हामीले परीक्षामा खाली उत्तरपुस्तिका बुझायौँ । हामीले परीक्षामा पूराका पूरा उत्तरपुस्तिकाका पाना भरेका हौँ । उत्तरपुस्तिकाको एकपेज पनि खाली छोडेको छैन । त्यसैले परीक्षा सकिनासाथ परीक्षा राम्रो भयो भनेर हामीले परीक्षा सञ्चालकलाई धन्यवाद पनि दिएकै हौँ । हेलिकप्टर दौडमा हामीले देखेको दृष्य हेर्दा हामीलाई पूर्ण विश्वास थियो कि हामी पास मात्र हुने होइन पूराका पूरा डिस्टिङ्सन ल्याउँछौँ । तर हामी माने कि ममाथि रातारात धाँधली भो । हाम्रा उत्तरपुस्तिकामा हामीले भरेका अक्षरहरू रातारात हाम्रा विपक्षीका उत्तर पुस्तिकामा सारेर हाम्रा उत्तर पुस्तिकाका पाना खालि गरिए । उता हाम्रा विपक्षीका उत्तर पुस्तिकाका पानाहरू भने हामीले लेखेका अक्षरहरूले भरि पारिए । प्रतिगामीहरूले हामीमाथि गर्नसम्म घात गरे ।

यो प्रतिगामी काम गर्न देशी विदेशी, राष्ट्रिय अन्तर्राष्ट्रिय मात्र होइन सारा ब्रमाण्ड र अन्तरीक्षमा भएका शक्ति समेत लागे । राष्ट्रिय अन्तर्राष्ट्रिय ग्राण्डडिजाइनमा भएको यो काममा हाम्रै सेना, प्रहरी र कर्मचारीहरूले समेत सहयोग गरे । अरु दृष्य अदृष्य शक्ति पनि हाम्रो विरुद्धमा एकजुट भए । रात, दिन, किला, काँटी, ट्युब, टायर सबै हाम्रो विरुद्धमा एकमत भए । हामीले परीक्षा सकिनासाथ तत्कालै उत्तरपुस्तिका परीक्षण सुरु हुनुपर्छ भन्यौँ तर परीक्षा सकिनासाथ रात प¥यो । रात परेकाले तत्काल उत्तरपुस्तिका परीक्षण संभव भएन भनियो । हामीप्रति रातले कुदृष्टि नराखेको भए त्यो एक दिन रात नपरेको भए पनि त हुन्थ्यो ? हामीलाई धाँधली गरेर फेल गराउन जबर्जस्ती रात पारियो । गाडीले समेत हामीमाथि धाँधली गर्यो । धाँधली गर्नकै लागि त्रिपुरेश्वरमा गाडी आफैँ पल्ट्यो । त्यति मात्र कहाँ हो र बाटामा मिल्काइएको काँटी किलाले समेत हाम्रो प्रतिनिधिको मोटरसाइकलको हावा खुस्काइदिएर धाँधलीको मतियारको काम गर्यो ।

पत्रकार मित्रहरू, मेरा आसेपासेमाथि मात्र धाँधली भएको भए पनि म सहने साहस गर्थेँ होला । तर म र मेरो परिवार माथि नै धाँधली गरेर मलाई फेल गराएपछि म कसरी सहूँ ? त्यसैले यो परीक्षा परिणाम म स्वीकार गर्दिन । माने ममाथि राष्ट्रिय अन्तर्राष्ट्रिय ग्राण्डडिजाइन अन्तर्गत जुन धाँधली भएको छ म यसको भण्डाफोर गर्दछु । माने म यो परिणाम बहिष्कार गर्दछु । छानविनको माग गर्दछु । हाम्रा विपक्षीले हाम्रा उत्तरपुस्तिकाबाट चोरेर लगेका अक्षरहरू फेरि हाम्रै उत्तरपुस्तिकामा सारेर मलाई दुवै ठाउँबाट डिस्टिङ्सनमा पास गराउने र मेरा छोरी, बुहारी, भाइ र आसेपासेलाई कम्तिमा प्रथम श्रेणीमा पास भएको घोषणा गर्ने हो भने म छानविन परिणाम स्वीकार गर्छु । अन्यथा म छानविन परिणाम पनि स्वीकार गर्दिन । मैले अहिले नै भन्द्याछु । अब छानविन समिति गठन गरी त्यो छानविन समितिले मैले भनेजस्तो प्रतिवेदन नदिएसम्म म आजैबाट पास भएकाहरूसँग सम्बन्ध विच्छेदको घोषणा गर्दछु । धन्यवाद !

०००

सारगर्भित मन्तव्य सकेर उनी बाटो तताउने तयारीमा लागे । मध्यरातमा निस्केका उनका सारगर्भित वाणीहरूले समाचारमाध्यम रङ्गिए । धेरैलाई मध्यरातको मसला भयो । तर उनका यो सारगर्भित मन्तव्यको मर्म नबुझेको एउटा पत्रकारले प्याच्च उनीमाथि प्रश्न गर्यो– ‘धाँधली भएको भन्ने ठोस प्रमाण त दिन सक्नु भएन नि, यस्ता तपशिलका कुरा गरेर पनि धाँधलीको पुष्टि गर्न सकिन्छ र ?’

बाटो लागि सकेका उनी प्रश्न गर्ने पत्रकारतर्फ फरक्क फर्के र आक्रोशित मुद्रामा भने– ‘हो यही हो धाँधलीको प्रमाण । जसले हामीले बोलेको कुरामा प्रश्न राख्छ त्यो धाँधलीको मतियार हो । हामीसँग धाँधलीको प्रमाण खोज्नु नै धाँधलीको भएको बलियो प्रमाण हो । बुझ्नु भो तपाईँ पनि धाँधलीको एउटा मतियार हो । नत्र हामीसँग यसरी धाँधलीको प्रमाण तपाईँ कसरी माग्ने आँट गर्नुहुन्थ्यो ?’ उल्टै उनले प्रश्न गर्ने पत्रकारमाथि धाँधली प्रश्न फ्याँके ।

उनको धाँधली पत्रकार सम्मेलन सकियो । प्रश्न सोध्ने पत्रकार जिल्ल पर्यो । उनी चाहिँ कोट मिलाउँदै माने जुँगा मुसार्दै आफ्नो दरबारतर्फ लागे ।

काठमाडौं

(स्रोत : Fitkauli)

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.