~लारा राई~
आज मलाई पुनः आरुका फूलका स्मृतिहरु दोहोर्याउन मन लागेको छ। त्यसो त जन्मदेखि नै मेरो सम्बन्ध आरुका गुलाफी फूलहरुसँग रहेको छ। किनकी,मेरो जन्मताका हाम्रो पुरानो घरको आँगनको डिलमा ड्याम्म गुलाफी आरुका फूल फूलेका थिए रे ! क्रमशः कयौं साल त्यो बोट गुलाफी हुँदै कति बसन्त पार गरे हेक्का रहेन तर अनायसै आज मलाई ती फूलहरुको मोह जागेको छ। भावनात्मक सम्बन्ध जागृत भएको छ।
समय र उमेरसँगै मैले जब फूलहरुलाई प्रेम गर्न थालें हुँला संभवतः त्यही आरुका गुलाफी फूललाई मैले महत्व दिएको हुनुपर्छ। एउटा नजानिंदो आकर्षण ! त्यसैले यतिका वर्षपश्चात् शरद दाइको पत्र हात लाग्दा केही वर्षअघि फूपुले मेरो लागि रोज्नुभएको ठिटोप्रतिको मेरो अरुचि पनि त्यही आर्कषण र आशक्तिको आसय हुनसक्छ या स्वंय म आफै भ्रममा थिएँ। आजपर्यन्त फूपुको गुनासो छ- उहाँले रोज्नुभएको लाहुरे ठिटोसँग मैले किन बिहे गरिनँ- थाहा छैन खै! कुन्नि किन अहिलेको मितिसम्म चाहिं।
समयान्तरमा-
कम्प्युटरअघि घण्टौं किबोर्डसँग नरम औंलाहरु खेलाइरहनुको के तुक हुनसक्छ ? मेरो अघिल्तिर इलेक्ट्रोनिक प्रणय-पत्र छ। पत्रभरि आरुका गुलाफी फूलहरुको महक र होलीका रंगिन स्मृतिहरु समेटिएका छन्। एउटा परिचित चेहरा आगन्तुक बनेर मभित्र चिहाउने धृष्टता गर्दैछ जोसँग, जीवनका सुरुआतहरु त्यही आरुका बोटमुनि खेलेर अनि बोटमा लागेका स-साना चिचिलाहरु चोरेको अनुभव संगालकी थिएँ। त्यही ब्यक्ति, हरियो गाढा सैनिक पोशाकमा आज अप्रत्यासित ढंगले इ-मेलमा पत्र बनेर मेरो धरातलमा उभिएको छ।
पत्रमा लेखिएको छ-
प्रिय निरु,
बैनीको साथीलाई बैनी नै सम्झिनु पथ्र्यो होला तर मैले धृष्टता गरें सायद, तिमीलाई रोजेर। आवेशको निर्णय होइन मेरो, हृदयको कुनामा वर्षौंदेखि कतै अल्झिरहेको प्रणय निवेदन हो। सत्य भनुँ, तिमीसँग वर्षौदेखि नजानिंदो ढंगले बल्झेको प्रेमभन्दा अरु के हुनसक्छ र ! अतः अनायसै होलीमा रंगिएको तिम्रो त्यो सिउँदोलाई वास्तविकतामा परिणत गर्न चाहन्छु, निर्णय तिम्रो हातमा छ।
-शरद दाइ।
प्रेम-भावनाले ओतप्रोत उहाँको पत्रको पुच्छारमा लेखिएको ‘शरद दाइ’ मलाई कताकता अस्पुष्ट हाँसो लाग्छ। सायद ठीकै त हो। हो त नि ! साथीको दाइ आफ्नै दाइ होइन र – शरद दाइ, मेरो बालसखी रमाको दाइ। अतः यो पत्रको प्रतिक्रिया उहाँप्रति कस्तो हुनुपर्छ मैले सोच्न सकिरहेकी छैन। बस् होलीका क्षणहरु मेरो मष्तिष्कमा घुमिरहेका छन्………………….
फागुन महिना- होलीको अपरान्ह ! होली खेल्ने मुडमा भाइले ल्याएको रंगको पोका बोकेर म सोझै रमाको घर हानिएँ। सधैं गइरहेको घर, स्वभाविकरुपले सरासर भित्र गएँ म। घरभित्र कोही देखिएनन्। रमा पनि देखिन घरमा। न त घरका अन्य सदस्यहरु नै। अपराह्नको समय कतै बाहिर गए वा होली खेल्न गए होलान्। ढोका त खुल्लै छ। लाग्यो, कोही त अवश्य छ घरभित्र। नभन्दै शरद दाइ घोप्टिएर टेबलमा केही लेख्दै हुनुहुँदोरहेछ। उहाँको ठिक पछि उभिन पुगें अनि- ‘होली’ भन्दै रातो रंगको प्लाष्टिकको पोका नै उहाँको टाउकोमा खन्याइदिएँ। अप्रत्यासित मेरो उपस्थिति र रंग घोप्ट्याइले उहाँ बेस्कन तर्सनुभयो। रातो रंगले फुस्रो भएको उहाँको अनुहार देखेर मज्जाले म हाँसिरहेकी थिएँ। के झोंक चल्यो या रिसाउनुभयो, तत्कालै शरद दाइले बाँकी बचेको रंग खोसेर मेरो टाउकोभरि खन्याइदिनु भयो। रातो रंगले मेरो सिउँदो भरियो। अनि, अनायसै………….उहाँका हातहरु मेरो गालामा मुसारिन पुगे। अप्रत्यासित त्यो घटनाले दुवै झस्कियौं। रंगले होइन, लाजले म रातो भएर भागेको त्यो क्षण र होलीमा सिउँदो रंगिएको त्यो संयोगलाई आज वास्तविकतामा परिणत गर्न चाहन्छु भनेर पत्र लेख्नुहुन्छ शरद दाइ।
यो प्रणय निवेदनलाई म के भनुँ ?
स्वीकारोक्ति !
स्वीकारोक्ति होइन भनुँ त अदृश्य उपश्थितिको आभास बर्षौं संगालें सायद मैले पनि। त्यसो त, होलीका उक्त क्षण पश्चात् रमाको घर जान बिल्कुलै छोडेकी हुँ। रमाले गुनासो गरिरहन्थी-”हिजोआज तँ हाम्रो घर किन आउन छोडिस् हँ ?” निरुत्तर थिएँ म। आफैंभित्र अलिकति डराइरहेंकी थिएँ, कतै शरद दाइले केही त भनेनन् घरमा ? त्यसैले रमाको घर जान छोडेकी थिएँ ।
अनेकौं यामसँगै एकादेशको कथा भइसक्यो।
परदेशीसँगको मंगनीको प्रसंगसँगै ती होलीका क्षणहरु पनि। वास्तवमा, त्यो केटी, बाल्यकालदेखि परिवारको विछोडको पीडा देख्दै आएकी छे। उसले परदेशीसँग विहे गर्न चाहिन। हरेकको जीवनमा यो लागू नहोस् तर मैले साँच्चै नै परदेशीसँग बिहे गर्न चाहिनँ। मेरो निर्णयप्रति फूपु आज पनि चुक्चुकाउनुहुन्छ। के कमि थियो – त्यो लाहूरे ठिटोसँग। लाहूरेसँग बिहे गर्नु भनेको हाम्रो संस्कारभित्र वर्षौदेखि चलिआएको एउटा परम्परा नै हो तर परम्पराको नाममा एउटा अपरिचित अनाम ब्यक्तिसँग आफ्नो खुशीहरु साट्न चाहिनँ मैले। हार्दिक इच्छा घरमा सबैको थियो, मैले त्यो ठिटोसँग घरजम गर्नुपथ्र्यो। अलिक अटेरी थिएँ क्यार ! त्यहि अटेरीपन हो म परिवारको विरुद्ध गएँ। सैनिकको छोरी भएर मैले त गर्व गर्नुपर्ने हो तर खै ! मैले त्यसो गर्न सकिन, कुन्नि ! किन- हुनसक्छ, घरमुलीविहीन शुन्यघरमा चाडबाड आउँदा शून्यतामा टोल्हाएर आँखाको बलेसीबाट यदाकदा झर्ने आमाको आँसुहरु सम्झेर सायद मलाई परदेशीसँग विहे गर्न मन लागेन।
तर अनौंठो एउटा संयोग !
कुन र कस्तो जिजिविषाले लोभ्यायो होला शरद दाइलाई- भूगोलको एउटा अनकण्टार द्वन्द्वग्रस्तक्षेत्रमा लड्दैरहेछन् यतिबेला शरद दाइ पनि सैनिक बनेर। सुनेकी हुँ कता, कता उहाँलाई पहिल्यैदेखि नै नेपाल आर्मीमा ज्वाइन हुने रहर थियो। उहाँको त्यो सपना अनि रहर त युद्ध सुरु हुनु अगावैको हो। अहिलेचाहिं कस्तो लाग्दैछ कुन्नि ! भोलिको र्सूय पनि देख्न पाउने हुन् कि, होइनन् शरद दाइले तर प्रणय पत्र लेख्छन् युद्धको मैदानबाट। सायद, मन नै त हो नितान्त निजी क्षणहरु कस्ले बाँच्न चाँहदैन र ? चाहे छापामार नै किन नहोस् ! जिन्दगीका बेग्लै अनुभूतिहरु हरेकका मनभित्र नजानिँदो ढंगले उम्रिंदोरहेछ।
टुग्याउँनीमा-
समस्त नेपालीको साझा चिन्ताजस्तै मेरो पनि साझा चिन्ता र सवाल छ भलै, जनयुद्धमा म होमिएकी नहुँला’रे ! वास्तवमा, यो मुलुकको नागरिक मात्रै होइन, सैनिकको भावी श्रीमती बन्ने तपाईँको यो निमन्त्रणामा सोध्न मन लाग्यो आज मलाई- “शरद दाइ, युद्ध केका लागि- कस्का लागि र किन ?” मान्छेहरु, किन मारिरहेछन् मान्छेलाई नै ? ध्वस्त अनि विकृत किन बनाउँदैछन् सृष्टिका सुन्दर सिर्जनाहरुलाई ? खैर ! अन्तहीन युद्ध होइन होला। कुनै दिन टुंगिनेछ यो युद्ध। हो, एकदिन अवश्य टुंगिएला पनि यो युद्ध तर विडम्बना कहिले टुंगिएला – हिजोआज, यो आँगनमा किन रगतको होली खेलिँदैछ र सिउँदोको रंग पोखिँदैछ ?
सपनीमा हररात ऐंठन हुन्छ। फेरि-
साथीको दाइ, मैले तपाईलाई आफ्नै दाइ सम्झनुपर्ने होइन र ? तर नढाँटी लेख्नुपर्दा, प्रत्येक फागुको होलीको आगमनसँगै आँगनमा फुल्न लागेका वैँशालु आरुका गुलाफी फूलसँगै आफूलाई दाँजेर एक्लै, कयौं पल एकान्तमा फूल्दै, झर्दै रहें। त्यो धरातल जहाँ-आरुका फूलका स्मृति अनि होलीका क्षणसँगै तपाईको हातको त्यो न्यानो स्पर्श……एउटा अदृश्य उपस्थितिको आभाष…….तपाईँबाहेक, त्यो अरु कस्को हुन सक्छ र ? यद्यपि, फूल्न नपाउँदै सपनाहरु आरुका फूलझैं कति झरिरहेका छन् अझै पनि भूइँभरि, भरि…..। डरपोक र गलत पनि हुनसक्छु म त्यो अर्थमा। जेहोस यदि काल, परिस्थिति अनुरुप सार्वभौम मान्यताभित्र मानवीय अलग सोच र संवेदनाहरु पनि स्वीकार्य हुन्छन् भने, यो फागुनी मौसममा, त्यो अटेरी केटी तपाईको अंगालोमा, सँच्चै हराउन चाहि’ रे ! शरद दाइ, तपाईकै शब्दमा-’के त्यसैलाई एउटा नजानिंदों प्रेम भनिन्छ ?’
अस्तु।
March 17th, 2009
(स्रोत : Mysansar.com)