~नयनराज पाण्डे~
मेरो निर्माणधीन चलचित्रको कथा यस्तो थियो– ‘सहरमा प्रभात र अजय नामका दुई आत्मीय मित्रहरू छन् । सँगै कलेज पढ्छन् । एउटै कक्षामा एउटै विषय पढ्छन् । प्रभातकी आमा शान्तिदेवी र अजयका पिता दलबहादुर दुई भिन्न आदर्श र चिन्तन बोकेका दुई राजनीतिक पार्टीका प्रमुखहरू हुन् ।
शान्तिदेवीको पार्टी सरकारको नेतृत्वमा छ र दलबहादुरको दल प्रतिपक्षमा । देशको राजनीतिमा त्यतिबेला समस्या उत्पन्न हुन्छ, जब दुवैका पुत्र अर्थात् अजय र प्रभात देशको फोहर राजनीति र अभिभावकहरूको कठोर अनुशासनबाट आजित भएर काठमाडौंबाट भाग्छन् । छोराहरू भाग्नुको दोष शान्तिदेवीले दलबहादुरमाथि र दलबहादुरले शान्तिदेवीमाथि लगाउँछन् । विवाद चुलिन्छ । व्यक्तिगत झगडाले राजनीतिक रूप लिन्छ ।
अन्तत: दलबहादुरले अनेक षड्यन्त्र गरेर शान्तिदेवीको सरकार नै गिराइदिन्छन् । दुई पार्टी नेताबीचको ब्यक्तिगत टकरावले मुलुकमा राजनीतिक संकट उत्पन्न हुन्छ । त्यसको असर मुलुकको प्रशासनमा पनि पर्छ । नीति निर्माणमा असर पर्छ र विकाश गतिविधिसमेत अवरुद्ध हुन्छ । आआफ्नो घर छाडेर भागेका अजय र प्रभात फेला नपरुन्जेल मुलकुको समस्याले निकास नपाउने स्थिति बन्छ । तर अजय र प्रभात भने सारा खबरबाट बेखबर भएर मोजमस्ती गर्दै गाउँगाउँ बरालिइरहन्छ ।
अन्तत: सहरमा एउटा जादूगरको प्रवेश हुन्छ । जादूगर पहिला नेपाल प्रहरीमा सिपाही थियो र विभिन्न षड्यन्त्रमा परेर जागिरबाट निष्कासित भएको थियो । त्यसपछि उसले जादू देखाएर आफ्नो परिवारको पेट पालिरहेको थियो । देशमा उत्पन्न विषम परिस्थितिले जादूगरलाई पिरोल्छ र ऊ नेताद्वयका छोराहरूको खोजीमा निस्कन्छ । उसले धेरैपटक अजय र प्रभातलाई फेला पार्छ । तर हरेकपटक अनेक जुक्ति निकालेर केटाहरू फुत्किन्छन् । दुई युवक र जादूगरबीच लुकामारी धेरैपटक जारी चलिरहन्छ ।
भाग्ने, लुक्ने र मोजमस्ती गर्ने क्रममा अजय र प्रभात बेलाबेलामा डरलाग्दो समस्यामा पर्छन् । तर प्रत्येकपल्ट समस्या पर्दा कताकताबाट राजेश हमाल टुप्लुक्क आइपुग्छन् । जादू गरेझैँ । उनैले खलनायकहरूलाई सिध्याएर दुई मित्रलाई एकपछि अर्को विषम परिस्थितिबाट उद्धार गर्छन् । अजय र प्रभातलाई पनि ढुक्क हुन्छ । जे परे पनि आफूलाई जोगाउन राजेश दाइ आइहाल्छन् भन्ने आत्मविश्वास जाग्छ उनीहरूमा र झन् चिन्तामुक्त हुन्छन् ।
अनेक दौडधुपपश्चात् जादूगरले अजय र प्रभातलाई समातिछाड्छ । उनीहरूकै कारणले मुलुकले दु:ख पाइरहँदा पनि उनीहरूले युवा मोजमस्ती गर्दै भागिरहेकोमा लामै व्याख्यान दिन्छ । व्याख्यानबाट प्रभावित भएर दुवै युवा काठमाडौं फर्किन्छन् । आफूजस्ता युवाहरूलाई संगठित गरेर आफ्नै बाउआमाका पार्टीविरुद्ध आन्दोलन गर्छन् । अन्तत: दलबहादुरले प्रभातलाई र शान्तिदेवीले अजयलाई समाप्त पार्ने योजना बनाउँछन् । भाडाका गुन्डाहरू तैयार गरिन्छन् । गुन्डा र नायकहरूबीच द्वन्द्व चल्छ ।
खलनायकहरूसितको द्वन्द्वमा आफूहरू पराजित हुने निश्चित भएपछि अजय र प्रभातले राजेश हमाललाई पुकार्छन् । समस्या पर्दा सधैँ समाधान गर्न कताकताबाट टुप्लुक्क आइपुग्ने राजेश हमाल यसपटक आइदिँदैनन् । त्यसपछि जादूगरले सम्झाउँछ— यो यथार्थ हो । जीवनमा सधैँ राजेश हमाल आएर तिमीहरूको भागको लडाइँ लडिदिँदैन । यो लडाइँ तिमीहरू आफैंले लड्नुुपर्छ ।’
अन्तत: जादूगरको भनाइबाट जोसिएर प्रभात र अजय मिलेर क्लाइमेक्समा खलपात्रहरूलाई पराजित गर्छन् । देशमा त्यसपछि नयाँ शक्तिको रूपमा नयाँ पार्टी उदाउँछ । शान्तिदेवी र दलबहादुर पाखा लाग्छन् । द इण्ड ।
कथासार यही हो ।
मलाई किन किन यो सिनेमा हिट हुन्छ भन्नेमा पूर्ण विश्वास थियो । मेरो विचारमा यसमा कमेडी, एक्सन, ड्रामालगायतका मसला त थियो नै सँगसँगै एक खालको सामाजिक सन्देश पनि थियो । यो मेरो विचार थियो कि भ्रम । थाहा भएन । तर, म ढुक्क थिएँ । यो विचार थियो भने रुमानी विचार थियो र भ्रम थियो भने आनन्ददायक भ्रम थियो । घाटा केही थिएन । दुवै स्थिति मेरा लागि उत्साहजनक थिए ।
यो कथा सञ्चार मन्त्रालयमा दर्ता पनि भइसकेको थियो । निर्माण इजाजत पनि लिइसकेको थिएँ । सन्चार मन्त्रालयको कुनै कुनामा यसको पटकथा अझै पनि कतै पुरिइरहेको हुनपर्छ ।
कताकताबाट सिनेमा निर्माण गर्न इच्छुक एकजना निर्माता पनि भेटिइसकेको थिएँ । उनी नेपालका ‘क’ श्रेणीका ठेकेदार थिए । उनले एक दिन घरमै बोलाएर मलाई सिनेमाको निर्देशकका रूपमा साइनिङ अमाउन्ट पनि दिए । उनको घर भव्य थियो । सानोतिनो दरबारजस्तो । उनकी श्रीमतीले कम्तीमा तीस चालीस तोलाको गहना लगाएकी थिइन् । दुइटा महँगा कारहरू पनि थिए उनको घरको कम्पाउन्डमा । निर्माता दह्रै पाइयो भनेर मेरो मन पनि मख्ख थियो ।
केही दिनमै नेपालका त्यतिबेलाका चल्तीका संगीतकारलाई बम्बई लगेर सिनेमाका पाँच थान गीत पनि रेकर्ड गराइयो । यसअघि नै सिनेमाका कलाकारहरूको चयन भएर करिश्मा मानन्धरलगायत केही कलाकारहरूलाई अनुबन्धित पनि गरिसकिएको थियो । बम्बईबाट फर्किएलगत्तै पचास दिनको सुटिङ सेड्युलमा सिनेमा सक्ने योजना बनिसकेको थियो ।बम्बईबाट फर्केलगत्तै मैले निर्मातालाई फोन गरेँ । उनले यसपटक अर्कै घरमा बोलाए । यो घर पनि सुन्दर थियो, तर पहिलाजति भव्य थिएन । यसपटक उनकी श्रीमतीका जीउमा दस–बाह्र तोला गहनामात्र थिए ।
‘यसपल्ट एउटा ठेक्कामा घाटा लाग्यो । घर बेच्नुपर्यो । एउटा गाडी पनि बेचेँ । सिनेमाको सुटिङ एक महिना सार्नुपर्यो ।’ निर्माता महोदयको कुरा सुनेर म केही निराश भएँ । पत्रपत्रिकामा सिनेमा सुटिङको डेट पनि घोषणा गरिसकिएकाले अलिअलि नरमाइलो पनि लागेको थियो मलाई । तर निर्माता नै तयार नभएपछि छायांकनको मिति नसारी सुखै भएन ।
एक महिनापछि फेरि उनले घरमा बोलाए । दोस्रो घर पनि उनले बेचिसकेका थिए । तेस्रो घर सानो थियो । तर चिटिक्क परेको थियो । घरअगाडि गाडी भने थिएन । एउटा नयाँ बाइक आँगनमा तैनाथ थियो ।
श्रीमतीको शरीरमा गहना थिएन । ‘अर्को ठेक्कामा पनि घाटा लाग्यो । दोस्रो घर र गाडी पनि बेच्नुपर्यो । सिनेमाको सुटिङ अलिक पछाडि सार्नु पर्यो ।’ चौथो भेटमा उनी डेरामा सरेका थिए । निकै निराश थिए । गालामा झप्प दाह्री थियो । मैले सोधेँ, ‘के भो दाइ ?’अत्यन्तै कमजोर आवाजमा भने, ‘मेरो त सर्वस्व गयो भाइ । ठेक्कामा नराम्रो धोका पाइयो । घरबार सबै गुम्यो । जहानले पनि छोडेर गइन् । सिनेमा नबनाऊँ अब ।’
तर मलाई अब प्रतिष्ठा जोगाउनु थियो । यही सिनेमाका लागि लगभग एक वर्ष खर्च भइसकेको थियो मेरो । कसोकसो फेरि अर्को निर्माता फेला परे । मेरो सिनेमाको कथाले प्रभावित भएर उनले साइनिङ अमाउन्टका लागि मलाई घट्टेकुलोस्थित एउटा घरमा बोलाए ।
म निर्धारित समयमै निर्माताले बोलाएको ठाउँमा पुगेँ । निर्माता महोदय त्यतिबेला एउटी युवतीसित कफी खाँदै बसेका थिए । विमला रहेछ युवतीको नाम । विमलाका केही दाँत उछिट्टिएका थिए । निधारमा चोटको कालो दाग पनि थियो । विमला शब्दैपिच्छे मस्किन्थिन् । तर उनमा सुन्दरता कतै देखिनँ मैले । ठिक्क एग्रिमेन्ट पेपरमा सही गर्ने बेलामा निर्माता महोदयले प्रस्ताव राखे, ‘अरू कलाकारमा जसलाई लिए पनि नो मतलब । हिरोइनचाहिँ विमला नै हुनुपर्छ । चिन्ता नगर्नु भाइ, यिनी र काजल एउटै बारमा डान्स गर्छन् । यिनको डान्स काजलको भन्दा खतरा छ ।’
‘अनि एक्टिङ नि ?’ सोधेँ मैले ।‘एक्टिङ त तपाईँले गराइहाल्नुहुन्छ,’ यसपटक विमला आफैँले भनिन् ।
‘सिनेमामा मेरो नाम शिल्पा राख्नुपर्छ ।’म ट्वाँ परेर कहिले एग्रिमेन्ट पेपर र कहिले प्रस्तावित नायिका शिल्पाजीको अनुहारतिर हेर्न थालेँ । नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाउको अनुहारजस्तै भयो मलाई । अन्तत: क्विक डिसिजन लिएँ मैले । सोचेँ, सिनेमामा अजय र प्रभातका दुई हिरोइन छन् । एउटीमा करिश्मालाई लिएर अर्कीमा यही दँतुली शिल्पालाई लिउँला । कथानकमा केही परिवर्तन गरेर शिल्पालाई दुर्घटनामा परेर कुरूप भएकी केटीको रूपमा स्ट्याब्लिस्ड गरुँला ।
‘हुन्छ ।’
अन्तत: मैले लाचार भएर जवाफ दिएँ । एग्रिमेन्ट पेपरमा हस्ताक्षर भयो । साइनिङ अमाउन्ट बुझेँ मैले । शिल्पाले चिया बनाएर ल्याइन् । चिया खाएँ । विचित्रको बेस्वादको चिया । झन्डै बान्ता भएन मलाई ।
उछिट्टिएका छेचरा दाँत देखाएर शिल्पाले भनिन्, ‘सरी डाइरेक्टर साब । किचनमा चिनी र सर्फको बट्टा सँगै थियो । चिनी भनेर सर्फ पो हालिछु ।’
एक हप्तापछि शुभमुहूर्तको डेट पक्का भयो । म अत्यन्त उत्साहित भइसकेको थिएँ । मेरो एक वर्षदेखिको सपना साकार हुने स्थितिमा पुग्नै लागेको थियो । फिल्मी पत्रिकाका केही सम्पादक र रिपोर्टरहरूलाई सिनेमाको नियमित समाचार छाप्नका लागि पैसा पनि बाँडिसकिएको थियो । एउटा साप्ताहिकमा निर्माताको अन्तर्वार्ता पनि प्रकाशित भइसकेको थियो । एकजना पत्रकारले समाचारको ठेक्का लिएका थिए । सिनेमाको समाचारका लागि यसरी ठेक्का दिने चलन अहिलेजस्तो त्यतिबेला पनि कायम थियो । ठेक्का पाउने पत्रकारको नाम सञ्चार सल्लाहकार या प्रचारप्रसार संयोजक यस्तै केही नामले सिनेमाको क्रेडिट टाइटलमा पनि उल्लेख गरिन्थ्यो ।
शिल्पा मैयाँ निर्माता महोदयको गाडी चढेर नियमित जिम जान थालेकी थिइन् । मलाई भने उनले शरीर हैन, दाँत बनाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । तर निर्माताले उनको त्यही दाँतमा महान् सौन्दर्य देखिरहेका थिए । त्यसैले मैले दाँत बनाउने सल्लाह दिने जोखिम मोल्न सकिनँ ।
शुभमुहूूर्तको अघिल्लो दिन निर्माताले बोलाए मलाई । उनी यतिबेला पनि शिल्पाकै कोठामा थिए । म पुग्दा शिल्पा सुँक्कसुँक्क रोइरहेकी थिइन् । उनको निधारमा अर्को चोट थपिएको थियो । निर्माताले गम्भीर भएर भने मसित, ‘डाइरेक्टर साब, अलिक समस्या पर्यो । मुहूर्त केही दिन पर सार्नुपर्ने भयो ।’
म बसेको सोफामुनिको जमिन केही फिट भासिएजस्तै लाग्यो मलाई । मैले प्रश्नवाचक दृष्टिले निर्मातातिर हेरेँ । उनले खुइय्य गर्दै भने, ‘अलिक लफडा भो । यिनलाई हिरोइन बनाउन लागेको कुरा यिनको सिरिमानले थाहा पाएछ । हिजो डान्सबारमै पुुगेर भक्कु पिटेछ यिनलाई ।’
‘अब के गर्ने सर ? सुटिङ रोक्नुपर्ने भयो त ?’ मैले लाचार भएर सोधेँ ।
मलाई त्यतिबेला जोडजोडले रुन पनि मन लागेको थियो । तर एउटै कोठामा निर्देशक पनि रुने र नायिका पनि रुने । यो कुरा त्यतिबेला अलिक सम्भव भइरहेको थिएन ।
‘हैन, केही दिनलाई मात्र सुटिङ रोक्ने हो । त्यसपछि चालु गर्ने ।’ निर्माताले आश्वस्त गराए मलाई ।
‘तर उहाँलाई फेरि सिरिमानले गोदे भने नि ?’ मैले आशंका प्रकट गरेँ । मनमा भने अर्को डर पनि बसेको थियो, ‘उसलाई किन हिरोइन बनाइस्’ भनेर त्यसको श्रीमान्ले मलाई नै भकुर्यो भने नि ?
त्यसपछि निर्माताका तर्फबाट गजबको प्रस्ताव आयो । एकदमै अनौठो, अप्रत्यासित र खतरनाक प्रस्ताव– ‘डाइरेक्टर साब, शिल्पाको डिभोर्स गराइदिनुपर्यो । त्यसपछि टन्टै साफ ।’
‘डिभोर्स ? मैले ? यो त सिरिमान र
सिरिमतीबीचको कुरा हो । यसमा मैले के गर्न सक्छु ?’ मैले लाचारी प्रकट गरेँ ।
‘तपाईँ नेपालगन्जको मान्छे । त्यसमाथि कानुुन पढेको । गुलरियातिर पनि तपाईँले चिनेका तपाईँका साथीभाइ वकिलहरू पक्कै होलान् । यिनको सिरिमान पनि गुलरियाकै हुन् । तपाईँले यिनलाई गुलरिया लगेर जिल्ला अदालतमा पारपाचुके मुद्दा दायर गराइदिनुपर्यो ।’
मेरो ओठमुख सुक्यो । यो के भाउँतो आइलाग्यो प्रभु ? तर, मलाई कुनै प्रभुुले यो समस्याबाट तत्काल उद्धार गर्लान् भन्ने विश्वास थिएन । मुलुककै रक्षा गर्न राजकीय रूपमै तोकिएका पशुपतिनाथ त साँढेको डरले मन्दिरबाट बाहिर निस्कन सकेका थिएनन् । अरू झिनामसिना प्रभुहरूको के हैसियत !
अन्त्यमा, निर्माता महोदयको अप्रिय वाणी वातावरणमा प्रतिध्वनित भयो र धेरै बेरसम्म मेरो कानमा गुन्जायमान भइरह्यो, ‘शिल्पा हिरोइन हुन पाइनन् भने सिनेमा पनि बन्दैन ।’
बर्दिया पुगेँ म । गुलरिया । नायिका शिल्पासहित । निजको पारपाचुके गराउन । अब के लफडा हुने भो भनेर मनमा ढ्यांग्रो बजिरहेको थियो । स्थानीय एक वकिल मार्फत छोडपत्रको निवेदन तयार भयो । तर यतिन्जेल गुलरिया बजारभरि शिल्पाको छोडपत्रको हल्ला फैलिसकेको रहेछ । शिल्पाका श्रीमान् त्यस भेगका तगडै होटल व्यवसायी रहेछन् । हामी बसेको होटलमा गुलरियाभरिका दादाहरूले घेरा हालिसकेका थिए । तर, नायिका भने हिम्मतिली रहिछन् । काठमाडौंको डान्सबारमा नाच्दानाच्दै अनेकलाई नचाउन पनि सिपालु भइसकेकी रहिछन् उनी । डरभर अलिकति पनि थिएन । एक्लै सबैको सातो खाने गरी मुखमुखै लागिरहेकी थिइन् । पाखुरा सुर्किरहेकी थिइन् । जाने जतिका तथानाम गाली गरिहेकी थिइन् । धाराप्रवाह । मैले जीवनमा महिलाले यतिविधि फोहर गाली गरेको यसअघि देखेकै र सुनेकै थिइन् । जगत्को रूपरंगबाट कति अनभिज्ञ रहेछु म ! कति नादान रहेछु म !
केही सीप नलागेपछि शिल्पाको श्रीमान्ले रुँदै पत्नीको खुट्टैमा छाँद हाले, ‘तिमीले जे गर विमला । म अब केही भन्दिनँ । तर मलाई नछोड ।’
तर गुलरियाकी विमला त अब काठमाडौं डान्सबारकी शिल्पा भइसकेकी थिई । महत्त्वाकांक्षा र ग्ल्यामरको मोहले उसको विवेकलाई शून्य बनाइसकेको थियो । एक छिनपछि दुुइटा कलिला बालक र बालिका पनि आए । छ सात वर्षका । उनीहरू पनि रुन थाले ।
‘मम्मी, हामीलाई छाडेर नजानुस् ।’
उफ् ! मुटुु धोबीले निचोरेको रुमालझैँ निचोरियो मेरो । नायिकाका त छोराछोरी पनि रहेछन् ।
नायिकाको हठको अगाडि कसैको केही जोड चलेन । पग्लिएन उसको मन । छोडपत्रको निवेदन दर्ता भयो । त्यतिबेलै अदालत परिसरमा नेपालगन्ज पढ्दाताका मेरा मित्र भेटिए । उनले जिल्ल पर्दै भने– ‘ओहो, तपाईँजस्तो मान्छेले अर्काको घरबास उजाड्न खोज्नुभएको ? घरमा त्यति सोझी भाउजू हुँदाहुँदै यो नकच्चरीसित कहाँ फस्नुभएको तपाईँ ?’
आधा घन्टा लाग्यो मलाई उनलाई सम्झाउन ।
निवेदन दर्ता भइसकेको थियो । केही दिनमै पारपाचुके हुने निश्चित देखियो । साँझ नाइटबसबाट काठमाडौं फर्कियौँ नायिका र म ।
पन्ध्र दिनपछि नायिका आफैँले मलाई फोन गरिन्, ‘सर, मैले डिभोर्स पाएँ नि । हजुरलाई पनि थ्यांक्यू । हजुरको यो गुन म कहिल्यै बिर्सने छैन ।’
निर्माताले पनि फोन गरे । ‘ज्योतिषलाई साइत देखाइसकेँ मैले । यही आउने पूर्णिमाको दिनबाट सुटिङ सुरु भयो भने फिलिम हिट हुने निश्चित छ रे । तयारी गर्नुस् ।’
त्यही दिन निर्माण नियन्त्रकले पनि फोन गरेर उत्साहजनक कुरा सुनायो, ‘अतिथि भूमिकाका लागि राजेश हमाललाई तयार गराएँ मैले । उहाँले हामीलाई दस दिनको टाइम दिने पक्का भो ।’
‘ओहो, उसो भए राजेशजीलाई स्टोरी सुनाउनुपर्ला नि त ।’
मैले बढ्तै उत्साहित भएर बोलेँ फोनमा ।
‘राजेश हमाललाई कहाँ कथा सुनाउनुपर्छ र ? रोलसोलजस्तो भए पनि मतलब हुन्न राजेश दाइलाई । पैसा भए पुग्छ । डेढ लाखमा कुरो फिक्स भएको छ । भोलिसम्म साइनिङ अमाउन्ट दिनुपर्छ ।’
निर्माण नियन्त्रकले आत्मविश्वाससाथ भन्यो । म पनि ढुक्क भएँ । तर त्यतिबेला मलाई हल्का अनुमान पनि थिएन, आफूले अभिनय गर्ने सिनेमाको कथै नसुन्ने राजेश हमाल एक दिन नेपाली सिनेमाको महानायक कहलिनेछन् ।
साउन्डका लागि नागरा, छायांकन स्थलको साउन्ड रेकर्डिङका लागि स्पुल टेप, १६ एमएमका कोड्याक कम्पनीका दस थान नेगेटिभ । बेबी, सोलार लाइट र तिनका राता, पहेँला, निला फिल्टर जेलहरू, रिफ्लेक्टर र मेकअपका सामानहरू, हिरोइनका नक्कली बिग र छाती ठूलो देखाउने स्पन्जसेट, राजेश हमालको जुँगा, निर्देशकको रूपमा मैले लगाउने ह्याट सबै कुराको बन्दोबस्त भइसकेको थियो । पर्सि मुहूर्त गर्ने र त्यही दिन केही सामान्य दृश्यहरूको छायांकन गरेर त्यसको चौथो दिन युनिट छायांकनका लागि पोखरा जाने पक्कापक्की भयो । अघिल्लो दिन फेरि निर्माताको फोन आयो ।
‘डाइरेक्टर साब, भोलि पाटन गएर मंगलराज गुरुलाई भेटौँ ।’ ज्योतिष मंगलराज जोशीको घरमा पुग्यौँ हामी । निर्माताले आफ्नो जन्मकुण्डली नै बोकेर गएका रहेछन् । मंगलराज जोशीका अगाडि हात जोडेर भने, ‘लौ गुरुजी, सिनेमा बनाउन लागेको छु । हिट बनाइदिनुपर्यो ।’
ज्योतिष मंगलराज जोशीले ग्रह नक्षत्रको हिसाबकिताब गरे । विभिन्न जोडघटाउ गरे । ‘शनिको दोष चलिरहेको रहेछ तपाईँलाई । यस्तो बेलामा शुभकार्य नगरे हुने ।’
मंगलराजको कुरो सुनेर निर्माताको अनुहार कालोनिलो भयो । सिनेमाको लगानी डुब्छ भन्ने आभास भयो क्या रे उनलाई । मैले नै हत्तपत्त स्थितिलाई सम्हाल्दै सोधेँ, ‘केही उपाय त होला नि गुरुजी ।’
‘भगवान् शिव, हनुमान र सूर्यको उपासना गर्नुपर्छ ।’
‘गुरुजीले जेजे भन्नुहुन्छ, सबै गर्छु । सिनेमा सुपरहिट बनाइदिनुस् गुरुजी ।’
निर्माताले गुरुजीसित याचना गर्दै थिए । मलाई भने मनमनै रिस उठिरहेको थियो । मनमनै मैले निर्मातालाई हकारेँ, ‘सिनेमा निर्देशकको कारणले हिट हुने कि तेरो गुरुजीको कारणले ?’
त्यही दिन मंगलराजले भनेबमोजिम निर्माता र म महाँकाल मन्दिरमा आयौँ । त्यहाँ रहेको शनिको मूर्तिमा फलामको कालो पालामा काँचो तेल, कालो कपडा, कालो तिल र कालो मास चढायौँ ।
मंगलराजले भनेबमोजिम आगामी बिहीबारको दिन लगनखेलस्थित बटुक भैरवबमा सिनेमाको मुहूर्त हुने निश्चित भयो । तर साँझपख भने अर्को हप्ताको बिहीबार मुहूर्त हुने खबर आयो । निर्माताले भने, ‘शिल्पाको मिन्स भएछ । मिन्स भएको बेलामा कसरी मुहूर्त गर्नु ?’
‘तर सर, मुहूर्तमा उहाँ नभए पनि हुन्छ नि । अरू कलाकार भैहाल्छन् ।’
‘मैले त शिल्पाकै लागि सिनेमा बनाउन लागेको । उनीबिनाको मुहूर्त पनि के मुहूर्त ?’ निर्माताले भने ।
मुहूर्त भयो । निर्माताले बटुक भैरवको पूजा गरे । हालै डिभोर्स गरेर प्रसन्न भएकी शिल्पा मैयाँले नरिवल फोडिन् । मैले ‘एक्सन’ भनेँ । एक दुईवटा सामान्य पासिङ सटहरू लिएपछि त्यो दिनको सुटिङ सकियो । पोखराको लागि बाँकी सुटिङ युनिट चार दिनपछि हिँड्ने भए पनि आवश्यक पूर्वतयारीका लागि म, निर्माण नियन्त्रक र निर्माता भने भोलि नै प्लेन चढेर पोखरा जाने भएको थियौँ ।
‘भोलि बिहान फस्ट फ्लाइटको तीनवटा टिकट बुक गरिसकेको छु,’ निर्माताले ढुक्क बनाएका थिए मलाई ।
भोलिपल्ट म र निर्माण नियन्त्रक दुवैजना निर्धारित समयमै एयरपोर्ट पुग्यौँ । टिकट हामीसित थिएन । निर्माता भने तोकिएको समयमा आउँदै आएनन् । दुई घन्टा बितिसक्दा पनि आएनन् । मैले र निर्माण नियन्त्रकले पालैपालो उनको घरमा फोन गर्यौँ । तर फोन उठेन । उनकी नायिका शिल्पाको डेरामा पनि फोन गर्यौँ । त्यहाँको फोन पनि उठेन ।
करिब तीन घन्टापछि शिल्पाको डेराको फोन निर्माताले उठाए । मैले केही भन्नुअघि नै उनले आफ्नो कुरा राखें ।
‘डाइरेक्टर साब, एउटा लफडा भो । शिल्पाको लोग्नेले छोराछोरी शिल्पालाई दिन्न भन्छ । छोराछोरीलाई आमासित भेट्न नदिएर कतै लुकाएर पो राखेको छ । तपाईँको एकजना राम्रो वकिल साथी छ भन्नुभएको हैन ? लौ न, शिल्पाको तर्फबाट एउटा बन्दीप्रत्यक्षीकरणको रिट हाल्न लगाउनुपर्यो ।’
‘अनि सुटिङ ?’
मैले रुन्चे आवाजमा सोधेँ ।
‘हुन्छ । सुटिङ हुन्छ । अवश्य हुन्छ । शिल्पाले मुद्दा जितेपछि । शिल्पाको जिन्दगीको सबाल हो यो । जिन्दगीभन्दा ठूलो त सिनेमा हैन नि ।’
हो, जिन्दगीभन्दा ठूलो सिनेमा हैन । हुँदै होइन । यो तथ्यको विपक्षमा मसित कुनै तर्क थिएन । म चुप लागेँ । बस्, मेरो मुखबाट एउटै आवाज निस्क्यो– ‘धत् !’
‘कट् ? सरले किन कट् भन्नु भा ?’ निर्माण नियन्त्रकले सोध्यो ।
‘हैन, मैले कट् भनेकै छैन,’ मैले भनेँ ।
‘सरले कट् नै भन्नुभएको हो,’ उसले जिद्दी गर्यो ।
‘मैले कट् भनेकै छैन,’ मैले पनि उसरी नै जिद्दी गरेँ ।
‘हैन, तपाईँले कट् नै भन्नु भाको हो । मैले आफ्नै कानले सुनेको ।’ मैले त्यसपछि अरू जिद्दी गरिनँ । मैले त्यहीँको पिसियोबाट आफ्नो पुरानो वकिल मित्रलाई फोन गरेँ ।
‘यार, एउटा रिट हाल्नुपर्ने भो ।’
‘कस्तो रिट ?’
‘बन्दीप्रत्यक्षीकरणको ।’
प्रकाशित: माघ २, २०७२
(स्रोत : कान्तिपुर – कोसेली)