~अमर नेम्बाङ लिम्बू~
द्वन्दकालको एक भयानक रातमा
सन्त्रासपूर्ण नङ्ग्राहरू गाडेर
व्यक्तिको बाँच्नुपर्ने स्वतन्त्रतालाई
अतिक्रमण गर्दै
सर्वस्वसहित अस्मिता लुटिएको थियो
हाम्रो प्यारो घरको।
जुन घटनाको छाल-उपछालमा हुत्तिएर
जिउनपुगेका छौँ आज हामी,
टाढो भूगोलको एक कुनामा
सम्झनाको झोलामा
नोस्टाल्जियाको एक एक टुक्रा घर बोकेर।
यसरी नै छरपस्ट भएका छन्
हाम्रा सपना र् विपनाहरू ,
एक हेमन्तको रातमा
हावाले बेस्सरी उडाएका पातपतिंगरहरू जस्तै।
जहाँ जहाँ जान्छौँ हामी
त्यहीँ त्यहीँ बस्छौँ सम्झनाको घर बनाएर
चौरीमा एउटा तन्ना ओछ्याएर
एकछिन बसेजस्तै ।
परदेशमा हुँदा कहिले काहीँ
छातीमा छाम्छौँ हामी
हाम्रो प्रिय घर हरायो कि भनी ?
लाग्छ हामीले वाध्यतावश छोडेर आए पनि
सूर्यले अझै न्यानो राप
दिन छाडेको छैन होला
हाम्रो प्यारो घरलाई ।
अझै रातभर खेल्दैछन् होला
जून र ताराहरू
हाम्रा घरआँगनवरिपरि।
अझै प्रत्येक दिन त्यहाँ
थकाई मार्न आउँछन् होला
मोहनीमय गोधुली साँझहरू ,
हँसिला रसिला गाउँलेका मायाहरू ।
अझै बोलाइरहेछ हामीलाई
विपनामा र सपनामा पनि
हाम्रो प्यारो घर र देशले।
त्यसैले फर्कन चाहन्छौँ हामी
आफ्नै प्यारो जन्मभूमिमा
जहाँ अधुरो प्रेम र टुक्रिएका निद्राहरू जोडिएर
एउटा नयाँ सपना बन्नसकोस् ,
जहाँ सिलौटी पहाड र हिमाललाई
दिनदिनै हेर्नसकौँ हामी
जहाँ घोसे मुन्टो लाएर बसेको
हाम्रो बुढो घर फेरि जुर्मुराएर उठ्नसकोस्
जहाँ चल्लाहरूले आफ्ना माउमुनि ओतिएर
न्यानोपनको अनुभूति प्राप्त गरे जस्तै
हामीले पनि आफ्नो घरमा ओतिएर
सदा न्यानोपनको अनुभूति प्राप्त गर्नसकौँ
जहाँ हाम्रो जन्मभूमिमा
स्वतन्त्रता ,समानता र शान्तिको सास फेर्दै
युग युगसम्म बाँच्नसकौँ हामी ।
न्यूयोर्क