~आर. आर. चौलागाईं~
तिमी सङ्घर्षका गीतहरू लेख्दै जाऊ
म पालैसित सङ्गीत भर्दै जान्छु
तिमी हतियारमा साँध लगाउँदै जाऊ
म ब्वाँसाहरूका गर्धन रेट्दै जान्छु ।
तिमी खाँटी मटितेल खन्याउँदै जाऊ
म सलाईका काँटीहरू कोर्दै जान्छु
तिमी राक्षसका बस्तीहरू जलाउँदै जाऊ
म विद्रोहका राँकाहरू उकास्दै जान्छु ।
तिमी बन्दुकहरू सफा गर्दै जाऊ
म प्रत्येकमा गोलीहरू भर्दै जान्छु
तिमी वैरीहरूका मुटु ताक्दै जाऊ
म लाग्ने गरी घोडा दबाउँदै जान्छु ।
तिमी विजयका राता झन्डाहरू गाड्दै जाऊ
म रगतको मसीले अझ रङ्गाउँदै जान्छु
युद्धको समाप्ति नभएसम्म
म हरबखत तिमीलाई सघाउँदै जान्छु ।
————–
नौलो बिहानी
(कवितासङ्ग्रह)
२०३७ फाल्गुण
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)