~बिपुल सिजापति~
हाइवे छेउको एउटा घर नजिक पुगेपछि मेजर सौरभले सवारीको गति झार्दै लगभग दश कि.मि. को रफ्तारमा लगे । गति कम भएको कारणले कर्णेल सागरले मेजरलाई हेरे । मेजरको शिर दायाँ पट्टि सडक पारिको घर तिर मोडिएको थियो । सागरले पनि त्यतै हेरे । अगाडी देखिएको घरको रौनक लुटिएको थियो, जर्जर दीनहिन उभिएकी बिधवा जस्ती । मेजरले मन्टो घुमाउँदा कर्णेलले पनि त्यही घरलाई हेरिरहेको देखेर अप्ठेरो माने ।“कुमार जर्साबको घर,” मेजरले टीठलाग्दो स्वरमा भने । त्यो घरले उनलाई अतीततमा डोर्यायो ।
कर्णेलले प्रतिक्रियामा भने, “बुझ्यौ मेजर, हामी सेनाका मान्छे शत्रुका व्यारेक र बंकर उडाउनु नै वीरता सम्झन्छौँ, शत्रुको शिर गिँड्नु नै पराक्रम सम्झन्छौ युद्धमा वीरगति पाउनु नै आफ्नो सौभाग्य ठान्छौ, तर त्यसो होइन । कानको दायाँबायाँबाट सुसेलि मार्दै जब गोली हुत्तिन्छ र निधारमा गोलीको टिका लगाएर जब दायाँबायाँ पोजिसन लिएर बसेका आफ्ना साथीहरु ढल्न थाल्दछन् तब मस्तिष्क शून्य हुन्छ, रगतमा लावा घुल्छ । त्यस बेला मार्ने या मर्ने बाहेक दिमागले अन्य कुरा सोच्नै सक्दैन भने देशप्रेम र देशभक्तिका लागि लडिएको भन्नु आफैलाई झुठो बोल्नु मात्र हो मेजर । ”
“त्यसो भए शौर्य के हो त सर ?”
“लिसन मेजर ………….” लेफ्टिनेन्ट कर्णेल सागर भरखर सै.प्र.(सैनिक प्रहरी) बाट सैनिक कानुन विभागको सहायकमा नियुक्त भएर आएका थिए । सैनिक कानुन विभागका प्रभुख जर्नेल दिगम्बरको टेवल अगाडीको टेवलमा एउटा फायल थियो । ले.क. सागर टेवलको अर्को छेउमा सतर्क उभिएका थिए । “दिस ईज द फायल सागर, आइ वान्ट यु टु गो थ्रु इट । हाम्रो बिभागको नाको लागि यो एउटा महत्वपूर्ण मिसन हो र यसलाई कुनै पनि तरिकाले सुल्झाउनु पर्ने भएको छ । यसमा सेनाको गरिमाका साथसाथै धेरै महत्वपूर्ण व्यक्तिको क्यारियरको पनि सवाल छ । एज यु गो डिप इन टु इट, यु विल अण्डरस्ट्याण्ड द नर्म एण्ड सेन्सिटिभिटि अफ द केस ।”
“आइ डु अण्डरस्ट्याड सर,” सागर तन्किए ।
“सागर, यो हाम्रो लागि चुनौतीको विषय हो । एकातिर जिम्मेवारी छ भने अर्कोतिर यसै सङगठनका चुनिएका अफिसर्सहरुको करियरको पनि सवाल छ । एण्ड आइ होप द्याट यु क्यान डु इट । अर्को हप्ता पेशी छ, तिमी तयार हुनु ।” रातभरि फायल अध्ययन गरेपछि सागरलाई निन्द्रा परेन । सेनाको महत्वपूर्ण सूचना चुहावटका कारण व्यारेकबाट हतियार लुटिएको थियो र त्यही हतियारको प्रयोगबाट अनेक स्थानमा उपद्रो मच्चिरहेको थियो । यसै सम्बन्धमा क्षेत्रीय मुख्यालयबाट यस मामिलामा मुछिएका व्यक्तिहरुलाई कोर्ट मार्शलको लागि नजरबन्द र थुनामा व्यारेक भित्रै राखिएको थियो । यसरी थुनामा पर्नेमा यसैसँग गाँसिएका प्रमुख आरोपि एक नौजवान क्याप्टेन हेमन्तको थिए । व्यावसायिक रुपमा भन्दा पनि सागर क्याप्टेनसँग भावनात्मक रुपमा जोडिएका थिए । क्याप्टेन हेमन्तलाई आफैले तालिम दिएका थिए र उनको हुनेवाला ससुरा फौजका जल्दाबल्दा बहालवाला जर्नेल कुमार थिए, जो सागरका पनि प्रशिक्षक थिए ।क्याप्टेनले यस्तो अपराध गर्न सक्ने कुरामा सागर विश्वस्त थिएनन् तर पनि सेनाको महत्वपूर्ण जानकारी चुहावट भएको थियो जुन् ठूलो अपराध थियो ।
सागर सोच्दै थिए, “कुनै पनि अपराध हुन तीन तत्वको आवश्यकता पर्दछ, मनसाय, साधन र मौका र अपराधलाई यिनै तीन सूत्रको आधारमा अनुसन्धान गरिन्छ । अपराध गर्न सक्ने मनसाय कस्को हुन, सक्छ, कसलाई अपराध गर्न सुलभ साधन उपलब्ध छ र कसलाई मौका उपलब्ध हुनसक्छ यी कुरालाई अनुसन्धाकर्ताले ध्यान दिन्छ भने अपराधबाट सबैभन्दा धेरै फाइदा कसलाई पुग्छद ती व्यक्तिलाई शङकाको घेरा राखेर अनुसन्धान गरिन्छ । फायलको अध्ययन पश्चात् कुनै सूत्रले कसैलाई शंकास्पद देखाएको थिएनँ तर यसको अदृश्य सूत्र तथा देखिएको परिवेशले क्याप्टेन हेमन्त तर्फ नै हलुका सङकेत गरेको थियो तर यसलाई प्रमाणित गर्न निक्कै गाह्रो थियो । कुनै सवुद कुनै प्रमाण, कुनै साक्षी, कोही देखिजान्ने या सुनिजान्ने थिएनन् । यो मुद्दा मेरै कार्यक्षमता माथि धारिलो तरबार बनेर झुण्डिएको छ ।”
सागरले व्यारेकमा नजरबन्दका रुपमा रहेका क्याप्टेन हेमन्तलाई साँझ आफ्नो क्वाटरमा सोधपुछको लागि झिकाए । सेनाको अनुसाशन र मर्यादाको पालना गर्दै क्याप्टेन हेमन्तलाई ठीक समयमा सागरको क्वाटरमा सिपाहीहरुले लिएर आए र सागरको ढोकाको कलबेल बजाए । ढोका खुल्नासाथ सिपाहीहरुले सलाम ठोके र क्याप्टेन हेमन्तले पनि तन्किएर सलाम गरे, “सलाम सर, गुड इभनिङग ।”
“गुड इभनिङग क्याप्टेन, कम इन एण्ड ह्याव योर सिट ।” ले.क.सागरले ढोका खोलेर अगाडीको सोफातिर इसारा गर्दै हेमन्तलाई जवाफ दिएका थिए ।
“तपाईहरु मैले बोलाए पछि आउन सक्नुहुन्छ,” हेमन्तलाई लिएर आउने सिपाही तर्फ उन्मुख भएर सागरले भने । सिपाहीहरुले आदेशमा सलामा ठोकेर गए । कोठा भित्र सोफामा क्याप्टेन हेमन्तको कामकुरा छिनिएकी कुमार जर्साबकी छोरी रश्मी बसेकी थिइन् । उनलाई देखेर हेमन्त अकमक्क परे ।
“रिल्याक्स क्याप्टेन्, रश्मी तिमीलाई भेट्न आएकी थिइन्, मैले नै रोकेको हुँ,” सागरले ढोका लगाउँदै भने, “ह्वाट डु यु प्रिफर फर ड्ङिक्स, क्याप्टेन ?”
“एनि थिङग सर,” हेमन्तले जवाफ फर्काए तर रश्मीको उपस्थिति उसको लागि आश्चर्यको विषय बनेको थियो । “यु नो क्याप्टेन, यो “एनि थिङग“ जुन छ नि, यसले मानिसको मानसिक स्तरको परिचय दिन्छ । आर्मिमा हरेक तालिममा दृढ निश्चय र चयनको लागि प्रशिक्षित गराईन्छ । बट हाउ फार आइ नो यु, सिंगल मल्ट अन द रक इज योर फेवरेट ड्ङिक्स, एम आइ राइट क्याप्टेन ?”
“य..यस सर, द्याट्स माइ व्लेण्ड ।”
“ओ के, ह्यर यु गो,” सागर डिङकस् बनाउन गए ।
“रश्मी कस्तो छ तिमीलाई ?”
“म ठीक छु हेमन्त । तिमीलाई कस्तो छ ?” हेमन्त केही बोलेनन् । औंलामा उनिएको कामकुरो छिनिदाको औंठी घुमाइ रहे ।
“हेमन्त, तिम्रो बारेमा मैले धेरै दिन सोचेँ, म एक फौजिको छोरी भएको हुनाले फौजको असर मेरो रगतमा पनि बगेको छ । म फौजकै माहौलामा जन्मे, हुर्केँ त्यसैले मैले एक फौजीलाई जीवन साथीको रुपमा चयन गरेँ । त्यसैले तिम्रो केसको कुनै निर्णय नभए सम्म म तिमीसँग विवाह गर्न सक्दिन । मेरो लागि देश पहिलो कुरा हो र अन्य कुरा पछिका ।”
“बट रश्मी…”
“लेट मी फिनिस हेमन्त, तिमी यो नजरबन्दबाट बेदाग ननिस्किएसम्म म तिमीलाई अपनाउँन सक्दिन । त्यसैले यो इङ्गेजमेन्ट रिङ्ग म यही सागर अंकलको जिम्मामा छाडेर जाँदैछु ।” रश्मीले कोठाको आग्नेय कोण तर्फ राखिएको म्यानबाट किरिट निकालिन र टुप्पोमा औंठी घुसारेर किरिटलाई त्यही ठड्याएर बाहिर निस्किन् । हातमा दुईवटा डिङकस् बोकेका सागरले बाहिर निस्कदै गरेकी रश्मीलाई निक्कै बेर नियाली रहे ।
“ह्यर ईज योर डिङक क्याप्टेन, सागरको हातबाट गिलाँस लिँदा हेमन्तको अनुहारको रङग उडेको थियो ।“के सोच्दैछौ क्याप्टेन ?” सागरले सोधे ।
“म परिस्थितिलाई बुझ्ने कोसिस गर्दै छु सर, मैले कता के गल्ती गरेँ बुझ्नै सकिरहेको छैन ।”
“परिस्थिति विगतमा गरिएका हरेक स–साना कामका पत्रपत्र खाँदिएर बन्ने अवस्था हो । तिमी जे सुकै कर्म गर त्यो कर्म फल बिनाको छैन क्याप्टेन, कुनै कर्मको फल ढिला त कुनै कर्मको फल चाँडो मात्र प्राप्त हुन्छ तर अवश्य प्राप्त हुन्छ ।” हेमन्त बोलेन, चुपचाप सुन्दै बस्यो ।
“वेल क्याप्टेन, भोलि तिम्रो पेशी छ, तिमिसँग मेरो ईमोसनल अट्याचमेन्ट छ तर एक फौजी भएको नाताले कोर्टमा मबाट कुनै आशा नराख्नु । म भावनालाई भन्दा कर्तव्यलाई सन्मान गर्छु ।”
“म बुझ्छु सर ।” ले.क. सागरको क्वाटरमा राती अबेरसम्म बत्ती बलिरहेको थियो ।
“अल राइज” को आवाजसँगै कोर्ट मार्शलको लागि सैनिक पोशाकमा न्यायाधिस छिरे र कोर्टमा शून्यता छायो । जजले बचाव पक्षका (डिफेन्स) सैनिक वकिललाई पहिले आफ्नो धारणा राख्न आदेश दिए । बचाव पक्षका सैनिक वकिलले विभिन्न तर्कहरु पेस गरे, सबुत प्रमाणहरुको आधारमा क्याप्टेन हेमन्त निर्दोष भएको दलिल पेस गरे । बचाउपक्षको तर्क पश्चात् न्यायाधिसले सागरलाई हेरेर भने, “योर विटनेस, प्लीज ।”
सागरले सारांशमा मुद्दाको विवरण सुनाए पश्चात् भने, “योर अनर, सेनाको कामकारवाहीको बारेमा मैले यहाँ धेरै भन्नुको कुनै फाइदा छैन तर हतियार लुटिनुमा प्रत्यक्ष या अप्रत्यक्ष रुपमा कन्ट्रोल रुममा ड्युटिमा बस्ने अधिकृत अवश्य संलग्न छ । सेनाको प्रारम्भिक चरणको अनुसन्धानले पनि यही देखाएको छ । म क्याप्टेन हेमन्तलाई केही सोध्ने अनुमति चाहन्छु सर ।” न्यायाधिशको अनुमतिमा क्याप्टेन हेमन्तलाई कठघरामा (विटनेस बक्समा) ल्याईयो ।
“क्याप्टेन त्यस दिन कन्ट्रेल रुमको ड्युटि अफिसर को थियो ?”
“म थिएँ । ?”
“हतियार लुटन जो व्यारेक भित्र पसे, के त्यो सम्भव थियो ?”
“थिएन सर ।”
“कति कारणले सम्भव थिएन ?”
“बाहिरी घेरा र सेन्ट्रिलाई नतोडी भित्र आउन सम्भव थिएन् ।”
“योर अनर, व्यारेकको मूल ढोका भन्दा पचास मिटर अगाडी सुरक्षाको लागि हतियारबन्द सेनाका जवान राखिएको हुन्छ, जसलाई बाहिरी घेरा (आउटर रिड.) भनिन्छ । एज यु नो, व्यारेकमा पस्नको लागि सामान्यतया पासवर्डको व्यवस्था हुन्छ र सेन्ट्रिले शङका लागेमा पासवर्ड सोधेर चेकजाँच गर्ने गर्छ । यस घटनामा ब्यारेकका लागि बन्दोवस्तीको सामान लिएर आएको ट्र्क कब्जा गरिन्छ, चालकलाई यातना दिएर चालकसँग पासवर्ड लिए पश्चात उसको हत्या गरिन्छ अनि सो पासवर्डको सहायताले पहिलो सुरक्षा घेरा तोडिन्छ, ट्रक भित्र छिर्छ र सेन्ट्रिलाई समेत पासवर्ड भनेर ब्यारेकमा आततायी छिर्छन् । दिस ईज द स्टोरि अफ दिस इन्सिडेन्ट ।”
“बाटोमा ट्रक कब्जा भयो, कुनै ठूलो कुरा भएन, बाटोमा बाधा देखेर ट्रकको गति कम हुन्छ र त्यही मौकामा चारैतिरबाट घेरेर ट्रक कब्जा गरिन्छ । राइट क्याप्टेन ?”
“यस सर ।”
“ट्रक चालकलाई कति बेला पासवर्ड दिइएको थियो ।”
“अघिल्लो व्यारेकबाट सामान लिएर निस्कनु भन्दा पाँच मिनेट अगाडी ।”
“कस्ले दिएको ?”
“मैले नै फोनमा दिएको थिएँ ।”
“तिम्रो वरिपरि कोही थिए ?”
“कोही थिएनन्, मैले आफ्नै कार्यकक्षबाट कल गरेको थिएँ ।”
“ल्याण्ड लाईन या सेलफोनबाट ?”
“सेलफोनबाट सर, यही आदेश थियो, कल ट्याप हुने सम्भावनाले गर्दा ।”
“चालक बाहेक अरु कसैलाई पासवर्ड दिएका थियौ ?”
“नो सर ।”
“पासवर्ड कसरी लिक भयो त ?”
“मलाई थाहा छैन सर, मैले कसैलाई लिक गरेको छैन ।”
“क्याप्टेन, तिम्रो निधारभरि पसिना देखा परेको छ ।”
“गर्मीले होला सर ।”
“सायद तिमी नर्भस छौ ।”
“छैन सर ।”
“इट मिन्स यु आर नट नर्भस ?”
“एग्ज्याक्टली सर ।”
“हुँ, कहिल्यै युद्धलाई अनुभव गरेका छौ ?”
“म हाईटि र लेवनानमा खटिएर आएको छु सर, युद्ध के हो मलाई राम्ररी थाहा छ ।”
“मृत्युलाई नजिकै बाट नियालेका छौ, आइ मिन कोही आफन्त या नजिकको साथिको मृत्यु ?”
“मैले थुुुप्रै अनुभव गरेको छु सर र म मर्न डराउँदिन । यो ज्यान सेना र देशको शौर्यको लागि अर्पण गरेको छु सर ।”
“शौर्य ! तिमीलाई थाहा छ क्याप्टेन शौर्य भनेको केहो ?” सागरले सबुतका लागि जम्मा भएका मध्ये एक गोली निकाले र क्याप्टेनको नजिकै गएर भने, “लुक एट दिस बुलेट क्याप्टेन, साठी ग्रामको पित्तलको खोका भित्र मात्र पन्ध्र ग्राम गनपाउडर भरिएको छ । तर यो गनपाउडर जलाउनको लागि जुन औंला ट्र्गिर दबाउछ, त्यो औंलामा नै तिम्रो सम्पूर्ण विवेक टिकेको हुन्छ, यो माटो जसलाई तिमीले कुल्चेर उभिएका छौ त्यसको इज्जत टिकेको हुन्छ । घरमा प्रार्थना गरेर बसिरहेका परिवारको आशा टिकेको हुन्छ र तिमीलाई बन्दुक थमाएर बसेका करोडौं देशवासीको भविष्य टिकेको हुन्छ ।”
“यु नो क्याप्टेन, द्यर इज भेरी थिन लाइन बिट्विन ट्र्गिर एण्ड विज्डम एण्ड नो वन नोज व्हिच वन क्लिक फस्ट । फयारिङग पिन प्राइमरमा ठोकिन लाग्ने नानो सेकेण्डले एउटै निर्णय गर्छ, ज्यानको । ज्यान तिम्रो पनि हुनसक्छ, ज्यान दुस्मनको पनि हुनसक्छ ।”
“युद्धमा ज्यान लिनु पनि सौर्य हो, ज्यान दिनु पनि सौर्य हो । यसको चमकको अगाडी लाखौँ चट्याङगको चमक पनि फिक्का हुन्छ । कसैको एक गल्तीले आज लुटिएको गोलाबारुदबाट कैयौं जनाको ज्यान गईसकेको छ भने लाखौँ निर्दोष ज्यानहरु जोखिममा छन् । हाम्रो सानो लापरवाहीको कारणले गर्दा उनीहरु अनाहकमा मर्नेछन् । टेल मि क्याप्टेन, हु ईज अकाउन्टेवल ?”
“आई ह्याभ नो आइडिया सर ।”
“ओ.के. पासवर्डको सहायताले उनीहरुले पहिलो घेरा तोडन सफल भए तर सेन्ट्रिलाई कसरी ढाले ?”
“मलाई थाहा छैन सर ।”
“क्याप्टेन यो दुर्घटनामा तिमी मात्र एक केन्द्रिय व्यक्ति हौ जसको कारणले नै यो घटना घटेको छ । आज तिमी आफ्नो साथिहरुबिच अलोकप्रिय छौ, सबैले तिमीलाई घृणा गर्छन् । यहाँ सम्मकी, तिम्री प्रेमिका समेत तिमीलाई दागी देखेर छाड्न तत्पर छिन् भने कति सम्म आफूलाई निर्दोष ठान्छौ ?”
“मैले केही गरेको छैन सर, मलाई गर्न जरुरी पनि छैन ।”
“पासवर्ड कसले सेट गरेको थियो ।”
“मैले सेट गरेको थिएँ ।”
“चालकलाई दिने च्यालेन्ज र त्यसको उत्तर कसले सेट गरेको थियो ?”
“मैले गरेको थिएँ ।”
“च्यालेन्जको बारेमा कसलाई जानकारी थियो ।”
“कुमार जर्सावलाई जानकारी थियो ।”
“प्वाइन्ट टु बि नोटेड योर अनर ।”
कोर्टमा एकछिन मुर्दा शान्ति छायो ।(सेना, प्रहरीका काम कारबाहीका बारेमा अनजान पाठकको लागि ः सेना तथा प्रहरीले सुरक्षा प्रबन्धको लागि सुरक्षासँग सम्बद्ध अफिसर तथा जवानहरुलाई रातको समयमा तथा विशेष अवस्थामा व्यारेक भित्र आवत जावत गर्न पासवर्ड, च्यालेन्ज र जवाफ श्रृजना गरेको हुन्छ र भित्र पस्न खोज्दा सो पासवर्ड सोधिन्छ र भनेमा मात्र भित्र पस्न दिइन्छ । पासवर्ड भने पनि सेन्ट्रिलाई शङ्का लागेमा च्यालेन्जमा सेट गरिएको कुरा सोधिन्छ र आगन्तुकले त्यसको समेत जवाफ समेत भन्नु पर्दछ )
“सो इन्ट्र्ेस्टिङ केस, तर सरले शौर्यको बारेमा केही बताउनु भएन ।” “व्यारेक लुटिएको घटनामा, दुवै दोषीलाई कारबाही भयो तर थाहा छ मेजर, सबै भन्दा ठूलो सजायँ जर्साबको घरको पन्ध वर्ष देखि काम गर्दै आएको अर्दलीले जर्साबलाइ दियो, त्यत्तिका अफिसर्सहरुको अगाडी घृणाले जर्सावको मुखमा थुकिदिएर । यसैलाई म शौर्य मान्दछु, बिना फायरिङ, बिना बुलेट हासिल गरेको शौर्य ।”
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)