~लाल श्रेष्ठ~
बसको यात्रा आरामदायी भै’राख्या थियो। बसको ढोकामा कण्डक्टर र खलाँसी उभिरहेका थिए। अरू यात्रीहरू आ-आफ्ना सिटमा आरामले बसेका थिए। म पनि एउटा सिटमा त्यसरी नै बसेको थिएँ।
दुईजना केटाहरू अमलेखगञ्जबाट गाडीमा चढे। उनीहरू गाडीभित्र के घुसेका मात्र थिए, एक्कासी ह्वास्स रक्सीको गन्ध आयो। दुवैले डण्डीमा समाएर सुरक्षित उभिए। अहिलेको पहिरन न हो, छोटो टी-शर्ट नाइटोभन्दा माथि पुग्यो। त्यसै त फुत्त खस्न-मात्र बाँकी रहेको पाइन्ट झन् तल झ-यो। यसो आँखा डुलाएँ दुवैको हालत उस्तै थियो। वसमा यात्रा गरिरहरेका सबैल ती दुवैका गुप्ताङ्गका रौं प्रष्टै देखे। कसैले केही बोलेनन् बरू ती केटाहरूको मुखबाट निस्केको दुर्गन्धसमेत आरामले पचाएर वसे सबैजनाले।
केटाहरूको हरेक सम्वाद ‘दाँत झार्ने’, ‘मार्दिने’, ‘रेट्दिने’ र ‘बोरामा हालेर फाल्दिने’ जस्ता शब्दहरूको वरिपरि सीमित थियो। एउटाले ‘साइली’लाई फोन गरेर भरे बेलुका आइपुग्छु भने। दुबैले जोड-जोडले बोले र बोलिरहे, जोड-जोडले मात्तिएको हाँसो हाँसे र हाँसिरहे। उनीहरूको बोली र हाँसोमा कुनै लगाम थिएन। भलादमीजनलाई अश्लिल लाग्ने सबका सब शब्दहरू यात्रुहरूले अघाउञ्जी सुने। ड्राइभर, कण्डक्टर र खलाँसी कसैले पनि केटाहरूलाई त्यस्तो कुरा नबोल भनेनन्। यात्रुहरूले पनि तिम्रो गुप्ताङ्ग र रौं छोप भनेनन्, रक्सी खानेलाई बाहिर निकाल भनेनन्, अश्लिल शब्द नबोल भनेनन् केवल मौनता साधे। केटाहरूले बक्नु बकिरहे, जात्रा देखाउनु देखाइरहे। लाग्छ यी सबै कुरा हेर्ने, सुन्ने, सुँघ्ने र सहने बानी म जस्ता बसमा यात्रा गर्ने सबै भलादमीजनले बसालिसकेका छन्।
के गर्नु खै? यस्तै छ ‘नियम’।
(स्रोत : “लालीगुराँस” बिद्युतीय साहित्यिक पत्रिका – अङ्क ४, अप्रिल २०१०)