~कल्पना खनाल~
आमा-
वर्ष है दिनको यो ठूलो चाड, तीज है आयो नी
वर्षा है मासको खोलाले मीठो, गीत है गायो नी
झल्झली आउँथ्यो आँखामा मेरो, यही मुहार गाजलु
सम्झी नै रहन्थ्यो मनले मेरो, यही आँखा मायालु
छोरी-
म पनि खोज्थें सधै नै आमा तिमीलाई भेटन
आँखाको डीलमा अडी नै रहने यी आँसु पुछन
सासुको खटन, घरको धन्दा, के गर्नु भ्याईन
आँखाको आँसु आँखैमा सुक्यो, आउनै पाईन
असार बित्यो, साउन बित्यो, दुःख नै दुःखमा
यो पालि तीज परेछ प्रभु, भदौको मुखमा
छिनमै हर्ष छिनमै चिन्ता, क्यै आसा पलायो
माइत जान पाउँछु कि भन्ने, क्यै आसा पलायो
दुबै दिनमा आउँछु भनी सासुलाई मनाएँ
तीजैले भेट गरायो हाम्रो, लौ आमा म आएँ
कल्पना खनाल
काठमाडौं
०००००
August 29th, 2009
(स्रोत : Mysansar.com)