~विश्वराज अधिकारी~
मेलै फोनमा भने- सुन्दर जी, तपाँईलाई यो थाहा पाएर आश्चर्य लाग्ला वा नपत्याउनु होला, तर यो साँचो कुरा हो, मैले, मेरो वाइफ उषालाई डिभोर्स गर्दै छु वा भनौ हामी कानूनी रुपमा नै छुट्टिदै छौ। डिभोर्सको प्रक्रिया आउने महिनाको एक गते शुरु गर्दै छु। र यो कुरा उषालाई पनि थाहा छ।
मेरो कुरा सुनेर सुन्दर जी हाँस्नु भयो। हास्दै भन्नु भयो ‘गणेश जी, आज न त अप्रिल महिनाको एक तारिक हो न त गाइ जात्र नै, अनि किन यस्तो हाँसो लाग्दो कुरा गर्नु भएको? झगडा भएर छुट्टिएको सुनेको थिएँ। आपसी अविश्वास ज्यादै बढेर छुट्टिएको सुनेको थिएँ। पर पुरुष वा स्त्रीसँग सम्बन्ध राखेकोले पति पत्नि छुट्टिएको सुनेको थिएँ। तर पत्नीले अति नै माया गर्दा गर्द पनि पतिले छुट्टिन खोजेको भने सुनेको थिन, आजसम्म। उमेरको पहाड चढेर, पचासौं टाकुरा नाघ्दा के यस्तो उटपट्याङ्ग कुरा सुन्नु परेको, मैले। त्यो पनि उषा भाउजु जस्तो मान्छे, जसले तपाँईलाई अति नै माया गर्ने मात्र होइन , तपाँईले जे भने पनि, त्यो पूरा गर्न हरदम तयार रहनु हुन्छ, को बारेमा। उषा भाउजु जस्तो शिक्षित र स्मार्ट वाइफलाई कसैले डिभोर्स गर्ने कल्पना समेत पनि गर्न सक्तैन। तपाँई मसँग पक्कै पनि मजाक गर्दै हुनु हुन्छ। शनिवारको यो दिन, बिहानीको यस्तो रमाइलो बेलामा किन यस्तो मजाक गर्न मन लागेको होला तपाँईलाई? मजाक गर्न मन लागेको भए अरु नै कुनै विषयमा गरेको भए हुन्थ्यो नि, उषा भाउजुको बारेमा नै किन गर्नु परेको होला।’
सुन्दर जीको कुरा सुनेपछि गंभिर हुँदै मैले भने- सुन्दर जी यो हाँसो ठट्टा होइन, गंभिर कुरा हो। तपाँई मेरो सर्वाधिक प्रिय र घनिष्ट मित्र भएकोले तपाँईलाई भनेको यो कुरा। यस बारे अरु कसैलाई पनि थाहा छैन। छोरा छोरीहरुलाई पनि भनेको छैन। उषाका माइतिका मानिसहरुलाई पनि……………….।’
मैले विषयको वजनलाई दर्शाए पछि सुन्दर जी अलि गंभिर हुनु भयो। केही क्षण चुप लाग्नु भन्नु अनि भयो ‘किन, के भयो र त्यस्तो, गणेश जी? अलि प्रष्ट पार्नु हुन्छ कि?’
गणेश जीको सहानभूति मिस्रित जिज्ञासाले मलाई हौसला भिले झै भयो। मैले भने- हेर्नुस त, त्यस्तो पनि हुन्छ कतै? सबै कुरा उनको, उषाको इच्छा अनुसार हुनु पर्ने। सबै कुरा उनले भने अनुसार चल्नु पर्ने। मैले के तरकारी खाने, उषाले निर्धारित गर्नु पर्ने? म कति बजे सुत्ने, उषाले निर्धारित गर्नु पर्ने। म कति बजे उठ्ने उषाले निर्धारण गर्नु पर्ने? मेरो सम्पूर्ण दिनचर्या उषाको इच्छा अनुसार निर्धारित हुनु पर्ने।
मैले फेरि भने – मनै त हो, मलाई कहिले अबेर रातिसम्म फिल्म हेर्न मन लाग्छ। उषाको बिचारमा त्यसरी अबेर रातिसम्म फिल्म हेर्न हुँदैन रे। अबेर रातिसम्म जागा भए पछि निद्रा खल्बलिन्छ र बिरामी भइन्छ। हरेक दिन नियमित रुपमा राति ९ बजे नै सुत्नै पर्ने। होइन, किन उनले, मैले गर्ने हरेक क्रिया कलापलाई मेरो स्वास्थ्यसँग जोड्नु परेको? म त छक्क पर्छु यस्तो पनि कतै हुन्छ त? कसैको स्वतन्त्रतालाई बन्धक नै बनाउने किसिमको कहिँ माया हुन्छ त?
सुन्दर जी शान्त भएर मेरो कुरा सुन्दै हुनु हुन्थ्यो। मैले भने- म सँधै खान्न तर कहिले काहिँ …………..। मलाई वाइन मन पर्छ, खास गरी रेड वाइन खान मन पराउँछु म। माइनरले पो खानु हुँदैन? म के माइनर हो र? उमेर पुगेको, वस्यक हुँ, त्यो पनि पचासको हाराहारिको। तर उषा वाइनसम्म पनि खान दिनन्न। भन्छिन रक्सी खाए भने लिभर कमजोर हुन्छ र मान्छे चाँडै मर्छ। रक्सी खाएर थुप्रै मानिस मरेका छन। उषाले त्यसरी रोक्ता रोक्तै पनि मैले आधा गिलास वाइन खाए भने त्यो दिन घरमा ठूलो झगडा भयो, भन्नु भए हुन्छ। मैले जति सम्झाए पनि क्यै लाग्दैन। मैले एक हजार चोटी उषालाई भनिसकेको छु, हेर, कहिले काहिँ रक्सी खाएर मान्छे मर्ने होइन बरु जथाभावी रक्सी खाएर मर्ने हो। अम्मली जस्तो भएर, हरेक दिन, बढी बढी रक्सी खाएर मर्ने हो। उमेर नपुगेका केटा केटीहरुले पो खान हुन्न। तर उनको ढिपीको अगाडि कसैको केही जोर चल्दैन। उल्टो बरु के भन्छिन, थाहा छ सुन्दर जी, तपाँईलाई? भन्छिन मैले उनको कुरा नटेरेको हुनाले अरु कसैले उनलाई नटेरेको रे। उनको कुरा कसैले पनि खाँदैनन् र सबैले हावामा उडाई दिन्छन रे, मेरो कारणले गर्दा। यसरी हरेक कुरामा नियन्त्रण गर्न थाले पछि उनलाई कसले टेर्ने त? जे कुरामा पनि किच किच गर्ने उनको बानी देखेर त एउटा ज्यादै चलेको गीतका केही पंक्तिहरु याद आउँछ – केही चोटले ज्ञानी हुन्छ धेरै चोटले बानी हुन्छ …………त्यस्तै भएको छ। उनले हरेक कुरामा किच किच गरेको हुनाले नै छोरा छोरीहरुले पनि नटेरेका हुन, खासमा। हुनत छोरा छोरीहरु ठूला भई सेकका छन् र आफ्नी आमाको स्वभाव बुझ्छन पनि। तर मलाई भने खपि नसक्नु भएको छ किनभने सबैभन्दा बढी गुनासो उनलाई मै सँग छ। र मैले उनले भनेको हरेक कुरा सिरोधार्य गर्ने पर्छ। तपाँई, पत्याउनु हुन्छ? हुन त कतिपय कुराहरु भन्न पनि सकिँदैन र भन्न पनि ………………….कहिले काहिँ यस्तो पनि हुन्छ कि…………………. म सुतेको बेडमा उषा सुत्तिनन्, छेउको सोफामा सुत्छिन। र त्यसरी सुत्नुको पछाडि पनि उनीसँग आफ्नै किसिमको कारण छ। के भनौ म, उनले भनेको त्यसरी सुत्नुको पछाडिको कारण, तपाँईलाई। सुनेर पनि तपाँईलाई हाँसो लाग्ने छ। म बिरामी पर्छु रे। उषाको मनोविज्ञान कस्तो रहेछ भनी घोरिनु होला तपाँई, यस्तो कुरा सुनेर। तर म भने अब हारिसके, थाकिसके। फेरि, उषाले मेरो लागि गरेका त्यस्ता कुराहरुको उनीसँग आफ्नै किसिमका उचित तर्कहरु छन्। उचित तर्कहरु, उनको बिचारमा ……..। र त्यो उचित तर्क के हो भने उनले मेरो लागि जे जति कुराहरु गरेको हो त्यो केवल मेरो फाइदाका लागि हो रे। मेरो भलाईको लागि हो रे। मलाई धेरै माया गरेकोले हो रे। तर उषाले मलाई गरेको ती भलाईहरुबाट म थाकिसके। उनको मप्रतिको माया प्रेम मेरो लागि बुझिनस्कनु भएको छ। थामिनस्कनु भएको छ। बुझ्नु भयो सुन्दर जी, मेरो पनि त आफ्नो इच्छा छ। आफ्नो स्वतन्त्रता छ। मेरा हरेक गतिविधिहरु उषाद्वारा नियन्त्रित हुने हो भने मेरो स्वतन्त्रता खोइ, मेरो स्वाभिमान खोइ? के हो त मेरो स्वत्व? होइन, उषाले यी कुराहरु बुझ्नु पर्ने हो, किन न बुझेको होला? सुन्दर जी, कति कुराको गुनासो गर्ने तपाँईसँग? गरेर साद्दे छैन। यो तरकारी खानु हुँन्छ, त्यो तरकारी खानु हुँदैन। अनि, उनले राम्रा देखेका कुराहरु मात्र राम्रा? राम्रा नराम्राको निर्धारण उनको इच्छा अनुसार हुने। अब त यस्तो लाग्न थाल्यो कि उनले मेरो लागि त्यसो गर्नु मप्रतिको उनको प्रेम बोलेको होइन उनको मन भित्र रहेको उनको अहम् बोलेको हो, कसैको पनि कुरा नखाने उनको घमण्ड बोलेको हो। सबै माथि मेरो नियन्त्रण रहोस भन्ने उनको महत्वाकाँक्षा बोलेको हो। उनको घमण्डले, उनको अहम्ले उनको महत्वाकांक्षाले मेरा हरेक क्रियाकलापप्रति नियन्त्रण राख्न उनलाई अभिप्रेरित गर्दछ।
मेरो भनाई सकिए पछि म एक छिन चुप लागे। म चुप लागेको मौकाको उपयोग गर्दै सुन्दर जीले भन्नु भयो ‘उषा भाउजुले तपाँईलाई यथार्थमा माया गरेको हो, के, मान्नुस न। कस्तो………., किन नबुझेको होला तपाँई जस्तो समझदार, व्यवहारिक व्यक्तिले? वहाँको त्यस्तो सच्चा मायालाई वहाँको घमण्डसँग जोडेर नहेर्नुस न, गणेश जी। तपाँई त ………………………………।’
मैले सुन्दर जीको भनाई पूरा हुन दिन। अलि उत्तेजित हुँदै भने – उषाले त्यसरी हरेक कुरामा किचकिच गर्दा मलाई असह्य हुन्छु र भन्छु पनि, उषा, अब त अति भयो। मलाई गार्हो भयो तिम्रो यस्तो हरेक कुरामा नियन्त्रण गर्ने बानी देखेर। मैले यसरी भन्दा उषाले के भन्छिन, थाहा छ सुन्दर जी? भन्छिन म तपाँईको अर्धाङ्गिनी हो। तपाँईको आधा शरीर। तपाईको आधा शरिरमाथि मेरो अधिकार छ किनभने त्यो शरीरको आधाभाग मेरो हो। त्यसकारण तपाँईको लागि राम्रो नराम्रो को लेखाजोखा मैले नगरे कसले गर्ने? के सडकको मानिसले आएर गर्ने? अनि सडकका मानिसले तपाँईको राम्रो नराम्रोको लेखाजोखा राख्छन जस्तो लाग्छ तपाँईलाई? होइन, माया गरेको पनि किन नबुझेको होला तपाँई जस्तो, आफूलाई पढेलेखेको, जान्ने सुन्ने छु भन्ने मान्छेले?
सुन्दर जी सान्त भएर मेरो कुरा सुन्दै हुनु हुन्थ्यो। मलाई केही नभन्ने केवल मेरो कुरा सुन्ने मनस्थितिमा वहाँ रहेको देखेर मैले फेरि भने – सुन्दर जी, मलाई त कहिले काहिँ हाम्रो समाजले राखेको पत्नी भनेको पतिको अर्धांगिनी हो भन्ने मान्यता पनि बकमफूसे लाग्छ। पटक्कै अर्थ न बर्थको। दुई अलग अलग शरीर एउटै कसरी हुन्छ? दुई अलग अलग शरीरको शारीरिक आवश्यकता अलग अलग हुन्छ, विचार, चाहना अलग अलग हुन्छ। पूरै मनोविज्ञान नै अलग हुन्छ। यस्तो स्थितिमा दुई अलग अलग शरीरलाई एउटै कसरी मान्ने? के, मैले खाना खाएमा उषाको पेट भरिन्छ? अथवा उषाले खाएमा के मेरो पेट भरिन्छ? अनि, तपाँईको वाइफले खाएमा तपाँईको पेट भरिन्छ होला, त? यी सबै आधारहीन कुराहरु हुन। म पत्याउँदिन यस्ता कुराहरु। तपाँईलाई कस्तो लाग्छ, सुन्दर जी, हँ?
मेरो प्रश्न सुनेर सुन्दर जी एकै छिन अकमकिनु भएको जस्तो लाग्यो मलाई। वहाँ निकै बेर शान्त बसे पछि मैले फेरि भने – किन, चुप लाग्नु भयो नि, सुन्दर जी? मैले घचघच्याएको जस्तो अनुभव गर्दे सुन्दर जीले भन्नु भयो ‘गणेश जी, तपाँईको वा तपाँईहरुको समस्या अलि गंभिर छ, मेरो बिचारमा। केही सोंच बिचार गरेर नै भन्नु पर्ला जस्तो छ, हुन्दैन? ल त अहिलेलाई यति।’ यति भनेर सुन्दर जीले फोन राखिदिनु भयो।
सुन्दर जी सँग अस्ति शनिवार कुरा गरे पछिको कुरा हो, शुक्रवार साँझमा मैले नै सुन्दर जीलाई फेरि फोन गरे। फोनमा मेरो आबाज सुन्ने बित्तिकै सुन्दर जीले भन्नु भयो ‘गणेश जी, मैले तपाँईलाई फोन गर्नै आँटेको थिएँ, तपाँईको फोन आई हाल्यो। जे होस राम्रो नै भयो। गणेश जी, खासमा मैले के भन्न तपाँईलाई फोन गर्न थालेको थिएँ भने म हिँजो विहिवार दिउँसो अफिसबाट बिदा लिएर तपाँईको घर गएको थिएँ। म त्यो दिन, तपाँईको घर जाने बारे उषा भाउजुलाई भनेको थिन, झन तपाँईलाई त भन्ने कुरा नै आएन। त्यो दिन, विहिवार तपाँईको घर गएको बेला उषा भाउजुलाई निकै सम्झाएँ। निकै लामो कुरा भयो त्यो दिन, म र उषा भाउजु बीच। तपाँईका गुनासाहरु मैले तपाँईले भनेको जस्तो नपारेर मैले आफूले नै भनेको जस्तो भान पारेर भने, उषा भाउजुलाई। तपाँईका गुनासहरु पनि सन्दर्भ मिलाएर भने। समसामायिक कुराका रुपमा प्रस्तुत गरे। पतिका यी कुराहरु पत्नीहरुलाई मन पर्दैन, पत्नीका यी कुराहरु पतिहरुलाई मन पर्दैन जस्तो पारेर अप्रत्यक्ष रुपमा वहाँलाई बोध गराए, आग्रह गरे यस्तो नगर्नुस त्यस्तो नगर्नुस भनेर। मायाको पनि आफ्नै सिमा हुन्छ भन्ने कुरा, उषा भाउजुलाई प्रष्ट पारिदिएँ। हरेक व्यक्तिलाई आफ्नो स्वाभिमान प्यारो हुन्छ र आफ्नो हरेक कुरामा कसैको हस्तक्षेप उसले बर्दास्त गर्न चाँहदैन र गर्दैन पनि, चाहे त्यो हस्तक्षेप जुन सुकै बाहामाना गरिएको किन न होस। मेरो लामो कुरा सुने पछि उषा भाउजुले मसँग लामो तर्क बितर्क गर्नु भएन। एक छिन टोलाएको जस्तो गरेर मतिर हेर्नु भयो मात्र। म पनि शान्त थिएँ। मैले धेरै कुराहरु गरिसकेको थिएँ, भनिसकेको थिएँ। खासमा उषा भाउजुलाई भन्ने थप कुराहरु मसँग थिएन पनि। हामी शान्त भएर एक अर्काको मुखा मुख गर्ने क्रममा उषा भाउजुले मतिर हेर्दै भन्नु भयो ‘सुन्दर बाबु, माया गर्नु पनि अपराध हुँदो रहेछ। मैले वहाँलाई माया नगरे कसले गर्ने त? मैले वहाँलाई माया गर्नु र गर्न पाउनु मेरो अधिकार हो। किन न बुझेको होला वहाँले? सुन्दर बाबु, तपाँई त्यतिकै भेट्न भनेर हाम्रो घरमा आउनु भएको होइन। वहाँ………. का गुनासाहरु बोकेर आउनु भएको हो। तपाँईका ती शब्दहरु आफ्ना होइन, केवल ध्वनी मात्र तपाँईको हो। उषा भाउजुको कुरा सुनेर म छक्क परे। मैले वहाँलाई भने – भाउजु जे जति कुरा मैले गरे ती कुराहरु गणेश जीले मलाई भनेर मैले तपाँईलाई सुनाएको होइन। यी शब्दहरु मेरा आफ्ना हुन। मेरो कुरा उषा भाउजुले पत्याएको मलाई लागेन। म शान्त थिएँ। वातावरण पनि शान्त थियो। त्यो शान्त वातावरणमा एक्कासी परिवर्तन आयो। उषा भाउजु डाँको छाडेर रुन थाल्नु भयो। मैले वहाँ रोएको सुने मात्र।’
फोनमा कुरा गर्दा गर्दै हामी एकै छिन रोकियौ। दुबैतिरबाट केही क्षण कुरा कानी भएन। त्यो मौनतालाई तोड्दै मैले भने – सुन्दर जी, के गरौ? मैले डिभोर्सको प्रोसेस अगाडि बढाउने बिचार गरिसके त।
मेरो बिचार सुनिसके पछि सुन्दर जीले भन्नु भयो ‘तपाँईको जे बिचार…………………………..।’
केही भन्न बाँकी नै थियो जस्तो पार्दै सुन्दर जीले मलाई सोध्नु भयो ‘अनि, डिभोर्स गर्नुको कारणको रुपमा के उल्लेख गर्नु हुन्छ नि, गणेश जी?’
मैले उत्तर दिएँ – मलाई धेरै माया गरेको हुनाले।
– विश्वराज अधिकारी
(स्रोत : रचनाकारको ब्लगबाट सभार )