~अनमोल मणी~
जन्मोत्सवको भोज मनाएर खुसीहुनेहरु
होस गर
छिट्टै व्युँतिनेछन् हत्या गरिएका निर्दोष आत्माहरु
र खुले आम मारिने छ यौटा निरंकुश राजा ।
पाता कसेर काटिएका र गोलीले उडाइएका छोराहरु
वा जबरजस्ती नङ्ग्याएर ओछ्याइएका छोरीहरु खोज्दै
हातमा निर्दोष आफन्तका तस्वीर बोकेर
सकुशल फिर्तिको आहृवान गरिरहेका आफन्तहरु
रुँदारुँदा आँशु पनि सकिएर
निरस बनेका आँखा लिएर दरबारमार्ग हिँडिरहेका बेला,
वैंशालु छोराछोरीको झझल्को टाँसेर आँखामा
दोहोरो भिडन्तमा मारिएको जबरजस्ती सही छाप गरेर
लास बुझेको सम्झिँदै अनसनको तयारी गरिरहँदा
फेरि पनि सरकारी लाठी र बुटको चोट खेपेर थाप्लामा
दोषीमाथि कारवाहीको नारा लगाइरका बेला
भएको छ यौटा निरंकुश भोज
यो बेला टुक्रा टुक्रा व्युँतेर चिहानबाट
फस्फोरस बालेर हड्डीको
राँकेभूत भएर आउन सक्छन् उनीहरु
र भन्नेछन् हरियो बाँसको झाँङ मुनी
राजदरबारको दक्षिण ढोकामा उभिएर-
‘महाराज!
हाम्रो आत्माले घेरिसकेको छ यो दरबार
होसियार भाग्ने कोशिस नगर्नु !’
र निर्दोष आत्माहरुको आक्रमणबाट मारिनेछ
यौटा निरंकुश राजा ।
ठीक त्यही बेला
दरबारकी महारानीको वर्ीय कटकटिएको फरिया
पखाली रहेको सिपाही
वर्षौँदेखि न्यास्रो बसिरहेकी
आफ्नी श्रीमती सम्भिझँदै
इतिहास बन्न लागेका चमेराहरुको गुँड हेर्दै भन्नेछ
राजदरबारको दक्षिण दक्षिण ढोकामा उभिएर-
‘साला गद्दार!
ढोके, हुक्के र छाते भएर होइन
नागरिक भएर म मेरो स्वाभिमान बाँच्न चाहन्छु ।’
र पड्काउनेछ उसले निशाना ताकेर
दरबारको मूल ढोका तिर खिया लाग्दै गएको
आफ्नो हातको पुरानो बन्दुक ।