~सन्दिप बडाल~
अचानक उर्लेका हृदयका भावनालाई,
रोक्न असक्षम भएझैं लाग्छ
अनायासै बढेको मनको उष्णतामा,
विस्तारै पग्लिंदै गएझैं लाग्छ
खै कहाँ हरायो मेरो अटलता, मेरो अडिगता?
हृदयको अस्तित्व बदलिँदै गएझैं लाग्छ
विस्तारै पग्लिंदै गएझैँ लाग्छ
वातावरणले खासै महत्व राख्न छोड्यो,
ओठमा खुसी त्यसै खेलीरन्छन
मौसमको उत्साह केहि बाँकी रहेन,
आँखामा सपना बाह्र यामै फुलीरन्छन
अनौठो तरिकाले मौलाएका भावहरू,
विस्तारै अग्लिंदै गएझैँ लाग्छ
अनायासै बढेको मनको उष्णतामा,
विस्तारै पग्लिंदै गएझैं लाग्छ
रोक्न असक्षम भएझैं लाग्छ
समयको सीमाना सबै टुटीसक्यो,
चार प्रहर एक, एकै चार लाग्छ
आधारभूत आकांक्षाले ठाउँ छोडीसक्यो,
अनौठा कल्पनामै मन अल्झीराख्छ
कुना-काप्चामा छरिएका भावना,
विस्तारै सग्लिंदै गएझैँ लाग्छ
अनायासै बढेको मनको उष्णतामा,
विस्तारै पग्लिंदै गएझैं लाग्छ
रोक्न असक्षम भएझैं लाग्छ
-५ अक्टोबर, २०१०
(स्रोत : रचनाकारको ब्लगबाट सभार)