कविता : एउटा नयाँ यात्रा

~यशोदा अधिकारी~Yasoda Adhikari

गणतन्त्रको ओछ्यानबाट उठेर
एउटा विहानी
खाजा सामलको कुम्लो च्यापेर
असजिलो भर्‍याङ् उक्लँदैछ
आकाशमा फुलेको
गणतन्को फूल टिपेर
कपालमा सिउरिनु
विहानीको लक्ष्य ।

हतारमा देखिने
त्यो विहानीले
अपूर्ण र पुरानै झोला बोकेर
नयाँ यात्राको ढोका खोल्यो
उदाएको छैन
विहानीमा सूर्य
खुलेका छैनन् ढोकाहरु
झयालहरु र
मूल द्वारहरु ।

विहानीले उही पुरानै
झोला बोकेर यात्रा थाल्यो
झोलामा के थियो ?
विहानीले फर्केर हेर्ने
प्रयास गरेन ।

विहानीले पुरानै झोला बोकेसम्म
खस्दैनन् ताराहरु
उदाउने छैन प्रचण्ड सूर्य
रात दुखेको पीडा
विहानीमा छामेर
परेड खेल्छन् ताराहरु
खै किन फेर्दैन विहानी
त्यो पुरानो झोला ?
विसाउँदैन पनि
विहानीमा सूर्य उदाउन
अरुले थमाएदिएको
त्यो पुरानो झोला फालेर
विहानीले थाल्नुपर्छ
अर्को यात्रा
सहास र मर्यादाको यात्रा ।

मेच्छे-१ काभ्रे
हाल : काठमाडौं

(स्रोत : कविता कुसुम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.