~पवन भण्डारी “किरण”~
पूर्वमा रक्तिम लालिमा
रक्तरन्जित आभा पोख्दै
मेरो धर्तीमा टेक्दै थियो।
सयपत्री र लालुपातेसँ,
साइनो तोड्दै मैले
माधवी उद्यानमा
भर्तीको रसिद काटें।
म सधै अज्ञात रहें,
उद्यान भुसुना र उडुसले तृप्त थियो,
कमजोर र सीधा पालुवालाई
निमोठिन्थ्यो, लाचार पारिन्थ्यो
र हर्कुलसहरूलाई
पालनपोषण गरिन्थ्यो
ताकि–
उनीहरू सधै उद्यानमा
निर्धक्क तान्डव नृत्य नाँचिरहुन !
त्यही उद्यान
जहाँ–
जनसाहित्यलाई
निरूत्साहको धूलो चटाइन्थ्यो
बुर्जुवा पाहुना र निर्णय
सर्वमान्य हुन्थ्यो।
एकलास बनमा कोइली रूँदै,
मेरो निश्शेष भविष्य कोर्ने
ब्वाँसाहरूलाई थुक्दै थियो,
जसरी नि म तिनीहरूबाट
आरोप लात खाएर निकालिएँ
सुषुप्त ढुंगामूर्तिसरी आसिनहरूलाई
ढोगें, रोएँ , कराएँ तर–
आडम्बर र अबुझपनले छताछुल्ल
माधवी र परीहरूले
मलाई स्वीकार्न र बुझ्न
कदापि चाहेनन् !
अन्ततः भरपुर थुकिएपछि
चाट्ने काम गरियो मलाई,
ढलमुनि म थिएँ
माथि, रासलीलामा मुग्ध–
राजाहरू थिए
जो इस्पातका मुटु भिर्नमा,
गर्व गर्थे र मच्चिन्थे !!
एकवर्षे भर्ती जीवन र,
एकवर्षे काराबास भोगेर
माधवी उद्यानबाट म
गौंथलीसरी उड्दै गुणमा फिरें।
मेरो जीवनको अमूल्य पाटो
अमूल्य बनाएँ मैले !
निर्धालाई निमोठ्नु र
दह्रालाई पाल्नु भन्ने शुभेक्षा–
मनमनै दिएर आएको छु
कमजोर हुनु मेरो गल्ती थियो
त्यसैले त लात खाएको छु !
ती काला छिडीहरु बिर्सिएर
दूर देशको उद्यानमा
पुरस्कृत बनाएर मलाई,
लागिने भएकोमा–
शोक नगर माधवी र राजाहरु
जसरी भए पनि
एक पटक,
फर्किएर पक्कै आउने छु
मेरो पहिचान तिमीलाई दिन !
सिस्नो र खोले खाएर
सिंगो शैशवकाल बिताएको हुँ
त्यसैले त भन्दै छु
इतिहास लेख्नु छ भोलि
म तिमी होइन
र तिम्रो चेलो पनि होइन
म त जन्मदै
चे र मिस्त्रालको–
सन्तान भएर जन्मिएको
वीर पुरुष हुँ।
मंसीर ५, २०६२
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक १७ – २०६७ चैत्र ०२ गते, बुधबार)