~श्रीराम राई~
‘हाम्रोमा त अम्बक छ । खोइ त विक्रम, तिमेरूको ?’ सुबोधले सोध्यो । विक्रमले केही भनेन । फेरि सुबोधले भन्यो, ‘हैन यो के गरेको ? अम्बकको बोटमुनि चप्पल र बोतलहरू पो छन् त । कसले राख्यो हँ ?’
‘मैले मात्रै हैन के । अरू साथी पनि थिए । कसले धेरै अम्बक झार्ने भनेर चप्पलको झटारो हानेको । हाम्रोमा त सबै बोटबाट अम्बक झार्छौं । खाँदो खान्छौं । खान नसकेको टोकेर फाल्छौं,’ विक्रमले जवाफ दियो ।
‘हैन, कुनै–कुनैमा त चोट पनि लागेको छ त । ढुंगाले पनि हानेर झार्छौ कि के हो ? हाम्रामा अझै कति धेरै अम्बक छन् । तर हामी कहिल्यै झटारोले अम्बक झार्दैनौं । तिमीहरूलाई रूखका फलफूल टिप्ने तरिका नै थाह रहेनछ,’ सुबोधले भन्यो ।
‘हामी त जे पायो त्यसैले झार्छाैं । कहिले भाटाले हान्छौं । कहिले ढुंगाले हानेर झार्छौं । अम्बक टिप्न पनि केको गाह्रो ?’ विक्रमले घमन्ड देखायो ।
‘लु सुबोध, आजी बाजी खेल्ने है ? जसले ढुंगाले धेरै अम्बक झार्छ उसले थोरै झार्नेलाई तीन ढ्याम हान्ने ल ?’ विक्रमले प्रस्ताव राख्यो ।
‘किन अम्बकै झार्ने बाजी खेल्नु ? अरू नै खेल खेल्दा पनि भइहाल्छ नि । हामीले यसरी फलफूल झारेर खेर फाल्नु हुँदैन,’ सुबोधले सम्झायो । ‘बाजी खेल्न त हुत्ति पनि हुनुपर्यो नि । तिमी मसँग बाजी खेल्नै सक्दैनौ,’ विक्रमले केहीजस्तो मानेन । सुबोधका कुरालाई हावामा उडाइदियो । ‘सारै पो भन्यौ है । लु न त लु एकचोटि खेलौं,’ सुबोध पनि हार्न चाहेन । ‘देख्यौ त ? तिमीले भन्दा मैले धेरै अम्बक झारें । तिमीले त बल्ल दुई दाना झार्यौ । मैले बाजीमा जिते पनि तिमीलाई ढ्याम हान्दिनँ । हामी सँगैसँगै पढ्ने साथी–साथी हौं । हामी सधैं मिलेर खेल्नुपर्छ । मिलेर पढ्नुपर्छ । कहिल्यै झगडा गर्नु हुँदैन,’ सुबोधले सम्झायो ।
‘विक्रम, मैले लगाएको यो ज्याकेट पनि अम्बक बेचेको पैसाले किनेको हुँ । जाडोमा कति न्यानो भएको छ मलाई । दिदी र म अस्ति बिदाको दिन तीन तीनचोटि अम्बक बेच्न दिक्तेल गएका थियौं । दिदीलाई पनि एउटा सुइटर किन्यौं । वर्ष दिनलाई पुग्ने कापी पनि किनेका छौं,’ सुबोधले आफ्नो खुसीको कुरा सुनायो ।
‘आमाले मलाई पनि किनिदिनुहुन्छ रे ज्याकेट,’ विक्रमले आफूलाई कमजोर देखाउन चाहेन । उसले नभएको फुइँ लगायो । ‘तिम्रो आमा–बुवा के काम गर्नुहुन्छ ? के गरेर पैसा कमाउनुहुन्छ हो ?’ सुबोधले सोध्यो ।
‘हाम्री आमा छिमेकीकोमा गएर काम गर्नुहुन्छ । आज पनि माथिल्लो घर खला लिप्न जानुभएको छ । बाबु डोको–नाम्लो बुनेर बेच्नुहुन्छ । यसरी उहाँहरूले पैसा कमाउनुहुन्छ,’ विक्रमले बतायो ।
‘अनि विक्रम, तिमीहरूकोमा पनि पाहुना आउनुहुन्छ होला नि । कहिलेकाहीँ आफू पनि पाहुना जानुपर्छ । मजस्तै तिमी पनि मावल जान्छौं नि, होइन ?’ सुबोधले सोध्यो । ‘अँ, हाम्रो घरमा पनि कहिलेकाहीँ पाहुना आउनुहुन्छ । म कहिलेकाहीँ मावल र दिदीकोमा जाने गर्छु ।’ विक्रमले सहमति जनायो ।
‘केके कोसेली लान्छौ त ?’ सुबोधले सोध्यो । ‘पसलबाट मिठाई, बिस्कुट आदि किनेर लान्छौं । कहिलेकाहीँ सेल–अनर्सा पनि लान्छौं । पोहोर मंसिरमा पनि गएका थियौं,’ विक्रमले आफ्नो कुरा फटाफट बतायो ।
‘फलफूल भनेको हाम्रो जीउ स्वस्थ र बलियो बनाउने औषधि हो । समयअनुसारको फलफूल खाइरहनुपर्छ । फलफूलको सधैं जतन गर्नुपर्छ । धेरै भए बेचेर आम्दानी बढाउन सकिन्छ । तिमीलाई मैले भनेको कुरा कस्तो लाग्यो ?’ सुबोधले खुसी हुँदै सोध्यो ।
‘हुन्छ सुबोध । म अबदेखि कहिल्यै फलफूल खेर फाल्दिनँ । सधैं तिमीजस्तै राम्रो काम गर्छु । आमा–बुवासित कापी किन्ने भनेर कहिल्यै कचकच गर्दिनँ । पाएको पैसाले लुकीलुकी चाउचाउ र बिस्कुट पनि किनेर खाँदिनँ । तिमीले आज मेरो आँखा खोलिदियौ । तिमीलाई धेरैधेरै धन्यवाद १’ विक्रमले खुसी हुँदै भन्यो । आफ्नो कुरा मानेकोमा सुबोध पनि निकै खुसी भयो ।
प्रकाशित: फाल्गुन ३०, २०७२
(स्रोत : कान्तिपुर – कोपिला)